आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रानी नाकामा कोरोनाको जोखिम : संक्रमित हुनेहरुको संख्या ह्वात्तै बढ्यो

शुक्रबार, २३ पुस २०७८, १७ : १२
शुक्रबार, २३ पुस २०७८

पछिल्ला दिनमा पूर्वी नेपालको प्रमुख सीमा नाका विराटनगरको रानीबाट नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण देखिने क्रम ह्वातै बढेको छ । पुस १४ अघि सो नाका भएर नेपाल प्रवेश गर्नेमा शून्यको अवस्थामा रहेको कोरोना संक्रमण पछिल्ला दिनमा ह्वातै बढेको हो ।

रानी नाकाबाट नेपाल प्रवेश गर्नेहरूमा दैनिक दुई देखि तीन जनासम्म कोरोना संक्रमण पुष्टि हुने गरेको छ ।  रानी सीमा नाकामा रहेको विराटनगर महानगरपालिकाको हेल्थ डेस्कको तथ्याङ्कअनुसार पुस १४ गतेपछि आजसम्म रानी नाका हुँदै नेपाल प्रवेश गर्ने १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा कोराना पुष्टि भएका मध्ये भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएको नेपाल फर्किएका पाँच नेपाली र नेपाल घुम्न तथा आफन्तकोमा आएका १० जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि पुस ४ गत एकजना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दैनिक १ सय जना बढीको एन्टिजेन परीक्षण गर्दा दैनिक दुई देखि तीन जनामा कोरोना संक्रमण भेटिने गरेको रानी हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले बताए । ‘पछिल्ला दिन भारतबाट नेपाल प्रवेश गर्ने भारतीय मध्ये धेरै जस्तोमा पोजेटिभको केश देखिन थालेको छ’ यादवले भने, ‘गएको मंगलबार यता लगातार रुपमा कम्तिमा दुई जनासम्म पोजेटिभ केश फेला पर्ने गरेका छन् ।’ यादवका अनुसार शुक्रबार मात्र १ सय जनाको एन्टिजेन परीक्षण गर्दा दुई भारतीयमा कोरोना पुष्टि भएको बताए ।

भारतको सुपोल र पूर्णिया जिल्लाका २६ वर्षीय पुरुष र १७ वर्षीय एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको छ । उनीहरुलाई कोरोना पुष्टि भएपछि भारतीय प्रहरीको समन्वयमा भारत फर्काइएको यादवले बताए । भारतमा पछिल्ला दिनहरुमा संक्रमणको दर बढेपछि यसको असर नेपालमा पनि देखा पर्न थालेको उनको भनाइ छ ।

रानी नाकामा भएको एन्टिजेन परीक्षणमा पछिल्लो चार दिनमा संक्रमितहरुको संख्या लगातार बढ्दै गएको उनले बताए । भारततर्फबाट लामो दुरीबाट आएका, भारतमा बास बसेकाको अनिवार्य एन्टिजेन परीक्षण गर्ने गरिएको यादवले बताए । तर सीमा पारको बजार जोगवनी किनमेल गर्न जाने नेपालीहरुको भने एन्टिजेन परीक्षण गर्ने गरिएको छैन । 

संक्रमण दर बढेसँगै भारतबाट आउनेहरुको एन्टिजेन परीक्षणलाई अनिवार्य गरिएको छ । एन्टिजेन परीक्षणपछि नेगेटिभ रिपोर्ट आउनेलाई मात्र नेपाल प्रवेश दिइने गरिएको छ । बिहान ८ बजे, साँझ साढे पाँच बजेसम्म शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप