बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेरि कोरोना बढेपछि सीसीएमसीसीकाे बैठकमा के–के भयाे छलफल ?

शुक्रबार, २३ पुस २०७८, १८ : २८
शुक्रबार, २३ पुस २०७८

कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) छलफल भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे छलफल भएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए  ।

गृहमन्त्री खाणका अनुसार बैठकले कोरोनाको बढ्दो संक्रमणलाई नियन्त्रण र रोकथामका लागि थप सजकता अपनाउने निर्णय गरेको छ । निर्माणाधिन स्वास्थ्य संरचना तुरुन्त बनाउने र बोर्डरबाट भित्रिने नेपालीहरुको पिसिआर र एन्टिजेन टेस्टको दायरा बढाउने गरेर निर्णय भएको उनको भनाइ छ । पिसिआर टेस्ट कोरोना पुष्टि भए संक्रमितलाई आइसोलेशनमा राख्ने निर्णय भएको खाणले बताए । 

उनका अनुसार बैठकमा सीमा नाका र हवाइ उठान बन्द गर्ने विषयमा छलफल भएको छ । उनले भने, ‘कोरोना बढेको बढेकै छ । यसको नियन्त्रणका लागि नाका बन्द र हवाइ उठान पनि स्थगित गर्नुपर्ने हुन सक्छ । आज छलफल भएको छ । निर्णय भएको छैन ।’ 

यस्तै स्वास्थ्यमन्त्री विरोध खतिवडाले पनि सीमा नाकामा कडाइ गरिने बताए । उनले भने, ‘नाकामा कडाइ गछौं । कोरोना संक्रमितलाई होल्डिङ सेन्टरमा राख्छौँ । होल्डिङ सेन्टरको क्षमता वृद्धि गरिरहेका छौं ।’

सबै प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ । ‘त्यसलाई छिटोभन्दा छिटो बस्न लायक बनाउँछौं । त्यहाँ बस्ने खाने खर्चको व्यवस्थापन गर्छौं,’ मन्त्री खतिवडाले भने । 

उनका अनुसार विदेशबाट आएकाहरुको विमानस्थलमै कोरोना परीक्षण गरिने छ ।  बैठकपछि स्वास्थ्यमन्त्री खतिवडाले रातोपाटीलाई भने, ‘कोरोना संक्रमण भेटिए क्वारेन्टिनमा राखिने छ । यस्तै खोप लगाएको मान्छे कार्ड बोकेर हिडने चेतना जगाउने कुरा भएको छ ।’माघ पहिलो हप्ताबाट क्रमशः बुस्टर डोज दिइने बताए ।

पछिल्ला दिनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ ।  शुक्रबार मात्र ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार नै स्वास्थ्य मन्त्रालयले २४ जनामा ओमिक्रोनको संक्रमण  पुष्टि भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप