शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सङ्क्रमण बढे स्मार्ट लकडाउन, ​बुष्टर खोप अघि बढाउने अनुमति

शुक्रबार, २३ पुस २०७८, १९ : ०३
शुक्रबार, २३ पुस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आफू संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठक बोलाई प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । 

त्यस अवसरमा उनले यसको सङ्क्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरुस्त बनाउन र सङ्क्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराउनु भयो । सङ्क्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए । बैठकले संघीय सरकारले बेहोर्नेगरी सङ्क्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले बेहोर्ने विषयमा पनि छलफल गरेको छ । मन्त्री खतिवडाले भने, ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढ्ने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । नाकाहरूलाई कसरी अझ चुस्तदुरुस्त बनाउने अनि एन्टिजेन परीक्षण गर्दा देखिएका बिरामीहरूको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका बिरामीहरूको थप परीक्षण बढाउने कुराहरू, उनीहरूको खाने, बस्ने सुविधाका कुराहरू । यी सबै पक्षमा कुरा भएको छ र खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यहीँ निर्देशन भयो ।’

बैठकमा कोभिड भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । सङ्क्रमितहरूको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए । बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप