रातोपाटी ब्रिफिङ : राजनीतिमै सक्रिय रहने रामचन्द्र पौडेलको घोषणा

आज मिति २०७८ साल पुस महिनाको ८ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–
१. रामचन्द्र पौडेल राजनीतिमै रहने
काँग्रेस नेता रामचन्द्र पौडेलले अझै राजनीतिमै सक्रिय रहने घोषणा गरेका छन् । सहकर्मीहरूले चुनाव नलडी जोगिएर बस्नुपर्छ भनेपछि मात्रै आफू चुनावी प्रतिस्पर्धामा सहभागी नभएको उनको भनाइ छ । उनले यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम मात्रै भएको एक वक्तव्यमार्फत उनले बताएका छन् ।
२. जिम्मेवारीबाट बिदा भयो प्राधिकरण
भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणको काम गर्न गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएको छ । बिहीबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालय परिसरमा ‘हस्तान्तरण तथा बहिर्गमन’ कार्यक्रम गर्दै प्राधिकरणले आफ्नो दायित्व र जिम्मेवारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,शहरी विकास मन्त्रालय लगायतलाई हस्तान्तरण गरेको छ ।
३. प्रचण्डको दस्ताबेज तयार
राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन् । सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीले बैठक बोलाएको बुझिएको छ ।
४. सरकारमाथि खनिए ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका छन् । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका हुन् ।
५. सेयरबजार
लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार नेप्से सूचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ बिन्दुमा उक्लिएको हो । गत बुधबार ९२ अंक माथिले नेप्सेमा वृद्धि आएको थियो ।
६. कोरोना अपडेट
पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । सोही अवधिमा २६३ जना निको भएका छन् ।
यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ भने कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार पुगेका छन् । संक्रमितमध्ये हालसम्म करिब ८ लाख ९ हजार जना निको भएका छन् ।
७. शोभराजका मुद्दा
बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चाल्र्स शोभराजको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् ।
८. लाग्ला त महाभियोग ?
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने सङ्केत गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण भएको सङ्केत पाएको बताएका हुन् ।
९.रञ्जु दर्शनाले छाडिन् पार्टी
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।
१०. यो पनि..
प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणका लागि प्रस्ताव पेस भएको छ । सत्तारुढ दलभित्रै प्रदेशको नामकरणमा मतभिन्नता देखिएको छ । बिहीबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको हो ।
शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई घचघच्याएको छ ।
नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै
तीन किलोमिटर सडक : ठेकेदार फेर्दा पनि देखिएन बन्ने छाँटकाँट
गणेशजीको बार आज कुन राशिलाई कति लाभदायी ?