बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ओमिक्रोनको सङ्कट बढ्दै गर्दा के गर्दैछ सीसीएमसी ?

सीसीएमसी भन्छ, ‘तत्काल कडाई गर्ने योजना छैन’
बिहीबार, ०८ पुस २०७८, १९ : १३
बिहीबार, ०८ पुस २०७८

ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न थालेपछि भारतको राजधानी दिल्लीस्थित दिल्ली सरकारले क्रिसमसका लागि भनेर कुनै पनि कार्यक्रम नराख्न र नगर्न निर्देशन नै जारी गर्‍यो । क्रिस्चियन धर्मावलम्वीहरुको ठुलो पर्व क्रिसमसकै पूर्वसन्ध्यामा यस्तो निर्देशन जारी गर्नुको एक मात्रै उद्देश्य दिल्लीमा नयाँ भेरियन्टको सङ्क्रमण फैलनबाट रोक्नु रहेको थियो । 

तीव्र गतिमा फैलिइरहेको कोभिड १९ को नयाँ भेरियन्टको सङ्क्रमण नेपालमा पनि बढ्न थालेको छ । दिल्लीमा क्लबहरू बन्द गर्ने, क्रिसमसको कुनै कार्यक्रम नराख्न निर्देशन जारी हुँदै गर्दा नेपालमा भने सङ्क्रमण नियन्त्रणका लागि राम्रो पूर्व तयारी समेत गरिएको छैन । सङ्क्रमण फैलिएको देशबाट नेपालमा आएका नेपाली वा विदेशी नागरिकहरूको अनुगमन र निगरानीसम्म राम्रो छैन । 

केही दिनअघि मात्रै अध्यागमन विभागले एक विज्ञप्ति जारी गर्दै ६७ देशबाट नेपालमा आउने नागरिकहरूलाई अनिवार्य होटल क्वारेन्टिनमा बस्नैपर्ने सूचना जारी गरेको थियो । तर त्यसको केही समयमै कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले उक्त ट्राभल एडभाइजरीलाई निष्क्रिय बनाइदियो । आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर अध्यागमन विभागले सूचना निकालेको भन्दै उक्त निर्णय कार्यान्वयनमा नजाने स्पष्ट पार्‍यो । 

गएको शुक्रबार अध्यागमन विभागले अधिकांश अफ्रिकी मुलुक र केही युरोपेली तथा एसियन मुलुकबाट नेपाल आउने यात्रुहरुलाई अनिवार्यरुपमा आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा बस्नैपर्ने सूचना जारी गरेको थियो । त्यसैगरी ७ दिनको होटल क्वारेन्टिनपछि पिसिआर रिपोर्ट नेगेटिभ आएको अवस्थामा मात्रै घर जान पाउने र घरमा पनि अनिवार्यरुपमा ७ दिन होटल क्वारेन्टिनमा बस्नैपर्ने व्यवस्था गरेको थियो । 

तर विभागले सूचना जारी गरेको केही समयमै सीसीएमसीले सूचना निकालेर होटल क्वारेन्टिनमा बस्नेबारे कुनै नयाँ निर्णय नभएको भन्दै विभागको ट्राभल एडभाइजरी कार्यान्वयनमा नजाने स्पष्ट गरेको थियो । 

सीसीएमसीले यसअघिको निर्देशन अनुसार नै एकमात्रा मात्रै खोप लगाएकाहरुलाई अनिवार्यरुपमा १४ दिन होटल क्वारेन्टिनमा बस्न भनिएको र सङ्क्रमणको लक्षण देखिएकाहरूलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था गरिएको बताएको छ । सीसीएमसीका प्रवक्ता सुनिता नेपालका अनुसार यसअघिको निर्णयमा कुनै पुनर्विचार भएको छैन र क्वारेन्टिनको व्यवस्था यसअघिकै व्यवस्था अनुसार नै हुनेछ ।

दिल्ली सरकारले क्रिसमसको कार्यक्रम नगर्न तथा डिजे, क्लब लगायतका कार्यक्रम नगर्न भनिरहँदा नेपालमा भने खुलेआम नाइट क्लब, पार्टी लगायतका कार्यक्रमको आयोजना भइरहेको छ ।

ओमिक्रोन सङ्क्रमणको खतरा रोक्न कस्तो पूर्व तयारी छ त भन्ने रातोपाटीको प्रश्नमा सीसीएमसीको प्रवक्ता सुनिता नेपालले भनिन्, ‘अहिले हामीले गरेको पूर्व तयारी भनेको सङ्क्रमण रोक्न नदिनका लागि सतर्कता र स्वास्थ्य मापदण्डको पालना गराउने भन्ने नै हो । नेपालमा ओमिक्रोनको सङ्क्रमण धेरै नभएकाले तत्कालै क्लबहरू बन्द गराउने वा लकडाउन गर्ने स्थिति आइसकेको छैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले पुस महिनाभित्र ६६ प्रतिशत जनतालाई कोभिड १९ विरुद्धको खोपको दोस्रो मात्रा समेत लगाइसक्ने प्रतिबद्धता जनाएकाले उक्त प्रतिबद्धता पूरा गर्न सीसीएमसी लागिपरेको नेपालले बताइन् । उनले भनिन्, ‘कोभिड सङ्क्रमणलाई रोक्ने एक मात्रै उपाय भनेको तत्कालका लागि खोप नै हो । त्यही भएर हामी प्रधानमन्त्रीज्यूको प्रतिबद्धता अनुसार पुस महिनाभित्र ६६ प्रतिशत जनतालाई खोप दिने गरी काम गरिरहेका छौँ ।’

त्यसबाहेक सीसीएमसीले स्वास्थ्य मापदण्ड पूर्णरुपमा कार्यन्वयन गराउन मातहत निकायलाई निर्देशन र आवश्यक सहयोग तथा समन्वय गरिरहेको सीसीएमसीले जनाएको छ । अनिवार्यरुपमा मास्क तथा स्यानिटाइजरको प्रयोग, अत्यधिक भीडभाड हुन नदिने लगायतका सतर्कताका लागि केन्द्रले काम गरिरहेको प्रवक्ता नेपालले बताइन् ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले पनि निगरानीमा राखेको ६८ देशबाट आउने नेपाली तथा विदेशी नागरिकका लागि के गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको र अहिले नै कुनै निर्णय गरिहाल्ने अवस्थामा सीसीएमसी नपुगेको प्रवक्ता नेपालले बताइन् । 

अहिले ओमीक्रोनको सङ्क्रमण बढी भएका देशबाट आउने नागरिकलाई अनिवार्य क्वारेण्टाइनमा राख्दै निगरानी गरिएको सीसीएमसीले जनाएको छ । त्यसका लागि सीसीएमसीले डिसीसीएमसी, स्थानीय तह, प्रहरी, सेना आदिसँग समन्वय गरिरहेको नेपालले बताइन् । 

केही देशमा ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको भए पनि नेपालमा स्थिति भयावह नभएको कारण तत्कालै लकडाउन गर्ने वा क्लबहरू बन्द गरिहाल्ने अवस्था नरहेको प्रवक्ता नेपालले रातोपाटीलाई बताइन् । यद्यपि आम नागरिक र सरोकारवालाले अनिवार्यरुपमा स्वास्थ्य मापदण्डको पालना भने गर्नैपर्ने प्रवक्ता नेपालले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप