शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए चुनाव : काँग्रेस र माओवादीको ‘सर्कुलर’ले हलचल

सत्ता गठबन्धन भर्सेस विपक्षी गठबन्धन
शनिबार, १६ असोज २०७८, २० : ५८
शनिबार, १६ असोज २०७८

गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी अक्टोबर २० मा हुने निर्वाचन थप रोचक बन्ने देखिएको छ । चुनाव नजिकिँदै जाँदा अध्यक्षका प्रत्यासी कुल आचार्यको पक्षमा काँग्रेस र माओवादी खुलेरै लागेका छन् ।  आचार्यको पक्षमा लाग्न काँग्रेस र माओवादी पार्टीले विश्वभरका आफू निकट एनआरएनएलाई आन्तरिक सर्कुलर नै जारी गरेपछि एनआरएनए चुनावको माहोल थप तातिएको हो । 

एनआरएनएमा आचार्यसँगै बद्री केसी र रविना थापा चुनावी मैदानमा छन् । आचार्य समूहले रविनाले अन्तिम समयमा आएर आफूलाई समर्थन गर्ने विश्वास लिँदै आएको छ भने केसीसँग मात्रै प्रतिस्पर्धा हुँदा आफू बलियो अवस्थामा रहने दावी गर्दै आएको छ । 

नेपालमा भएको सत्ता गठबन्धनअनुसार नै एनआरएनएमा पनि गठबन्धन गर्नुपर्ने नीतिका साथ काँग्रेस र माओवादी एक ठाउँमा उभिँदै आन्तरिक सर्कुलर गरेर चुनाव आफूअनुकुल बनाउने दाउमा देखिएका छन् ।   नेपाली काँग्रेस केन्द्रीय कार्यालयले असोज १५ गते विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकलाई आन्तरिक सर्कुलर पठाएर लोकतन्त्रवादी समूहलाई विजयी गराउन आग्रह गरेको छ ।

 लोकतन्त्रवादी समूहलाई विजयी गराउन तथा आवश्यक समन्वय गर्नका लागि काँग्रेसका तर्फबाट गठित पूर्णबहादुर खड्का नेतृत्वको समितिको बैठकको निर्णयअनुसार सर्कुलर गरिएको छ । सो सर्कुलरमा आचार्य नेतृत्वको प्यानललाई जिताउन आ–आफ्नो देशभित्र रहेका साथीहरुसँग आवश्यक समन्वय र सहयोग गर्नका लागि अपील गरिएको छ ।  साथै युरोप, एसिया, अमेरिका, अफ्रिका, मध्यपूर्व र ओशिनिया क्षेत्रका देशहरुमा पार्टीका तर्फबाट आवश्यक समन्वय गर्नका लागि केन्द्रीय नेताहरुलाई जिम्मेवारी समेत प्रदान गरिएको छ । 

युरोप क्षेत्रका लागि प्रकाशशरण महत र गगन थापा, एशिया क्षेत्रका लागि अर्जुन नरसिंह केसी र अर्जुनप्रसाद जोशी, अमेरिका क्षेत्रका लागि मिनेन्द्र रिजाल, अफ्रिका, मध्यपूर्व क्षेत्रका लागि गोविन्द भट्टराई र विश्वप्रकाश शर्मा, ओसिनिया क्षेत्रका लागि सुरेन्द्रराज पाण्डेलाई जिम्मेवारी प्रदान गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरित सर्कुलरमा उल्लेख छ । 

यसैगरी माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठकको निर्णयको मर्मअनुसार नेपालकै जसरी गठबन्धन बनाएर एनआरएनएमा कुल आचार्य समूहलाई जिताउन लागिपर्न प्रवासका कमिटीहरूलाई आन्तरिक सर्कुलर गरिसकेको छ । गत असोज ६ गते बसेको स्थायी कमिटीको बैठकअनुसार माओवादीको प्रवास समन्वय कमिटीले सो आन्तरिक सर्कुलर जारी गरेको स्रोतले बताएको छ । 

सोहीअनुसार विदेशमा रहेका माओवादी निकट नेपाली जनप्रगतिशील मन्चहरुले उम्मेदवार तय गर्नेदेखि आचार्यको पक्षमा माहोल बनाउनेसम्मका अभियान थालिसकेका छन् । माओवादी अध्यक्ष प्रचण्डले असोज ७ गते प्रवास सम्पर्क समन्वय समितिका इन्चार्ज नारायणकाजी श्रेष्ठलाई यसबारे आवश्यक निर्देशन दिएका थिए ।

प्रचण्डको निर्देशनमा भनिएको छ, ‘एनआरएनएको सम्मेलनलाई विधिसम्मत र उद्देश्यमूलक ढंगले सफल पार्न प्रवास समन्वय समिति र त्यसमार्फत संगठनहरुले सकारात्मक भूमिका खेल्नेछ । यसको नेतृत्व निर्माणको सन्दर्भमा वर्तमान सरकारमा रहेका राजनैतिक दलहरूको गठबन्धनसँगको एकता र सहकार्यको नीति लिइनेछ । पार्टी केन्द्रसँगको समन्वयमा यसबारेमा ठोस निर्णय लिने जिम्मेवारी प्रवास समन्वय समितिलाई दिइएको छ ।’ 

माओवादीले संघको भूमिका एवम् महत्वलाई दृष्टिगत गरी सदस्य बन्न योग्यता पुगेका संगठनका सदस्यहरुलाई एनआरएनएको सदस्य लिन समेत अनुरोध गरेको छ ।

एनआरएनएमा हलचल
काँग्रेस र माओवादी केन्द्रले प्रजातन्त्रवादी समूहलाई जिताउन आधिकारिक रुपमै पहल थालेपछि एनआरएनएमा हलचल भएको छ । विशेषगरी बद्री केसी समूहमा हलचल भएको हो । केसी समूहमा माओवादी निकट केही उम्मेदवार अझैपनि खुलेको अवस्थामा अब के गर्ने भन्नेबारे आन्तरिक छलफल सुरु भएको केसी निकट एक एनआरएनए अभियन्ताले बताए ।

केसी एमाले निकट रहेको बताइन्छ । काँग्रेस र माओवादी एकातिर हुँदा एमाले निकटका केसीलाई निकै सकस पर्ने बताइन्छ । केसी समूहले चुनाव आफ्नो पक्षमा पार्नका लागि काँग्रेस र माओवादी निकटका केही अभियन्तालाई आफ्नो पक्षमा तान्ने प्रयास गर्दै आएको छ । तर माओवादीले केसी पक्षतिर लागेका आफ्नो संगठन निकटका एनआरएनए अभियन्ताहरुलाई पार्टीको नीतिअनुसार लाग्न निर्देशन दिइसकेको बताइएको छ भने उनीहरु नफर्किएमा संगठनबाट कारबाही गर्नेलगायतका तयारी भएको स्रोतले बताएको छ । 

उसो त एनआरएनएमा प्रतिनिधि चयनमा देखिएको धाँधली लगायतको उजुरीबारे समेत टुंगो लागेको अवस्था छैन । एनआरएनएका केही अभियन्ताले परराष्ट्र मन्त्रालयमा दिएको उजुरीको टुंगो नलागेको हो । उजुरीको टुंगो समयमा नलाग्दा तोकिएको समयमा चुनाव हुने नहुनेमा स्वयम् उम्मेदवारले समेत आशंका व्यक्त गर्दै आएका छन् । 

स्मरणरहोस्, एनआरएनएमा आधिकारिक रुपमा दलीय प्यानल बनाएर चुनाव लड्न नपाइने व्यवस्था भएपनि राजनीतिक प्रभाव भने हावी हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप