शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाद टुंगिनासाथ एनआरएनएको निर्वाचन कार्यतालिका आउने, कात्तिक ३ गते नै चुनाव

शुक्रबार, ०१ असोज २०७८, २१ : ३७
शुक्रबार, ०१ असोज २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले हाल देखिएको विवाद समाधान हुनासाथ १० औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन कार्यतालिका सार्वजनिक हुने स्पष्ट पारेको छ । संस्थापनले निर्वाचन प्रतिनिधि गोलमाल गरेको आरोपसहित असन्तुष्ट समूहका तीन जनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि हाल निर्वाचन प्रक्रिया बन्द गर्न मन्त्रालयबाट निर्देशन भएसँगै अब निर्वाचन के होला भन्नेबारे एनआरएनए वृत्तमा चासो उत्पन्न भइरहेको बेला समितिले शुक्रबार विज्ञप्तिमार्फत सो जानकारी दिएको हो ।

‘निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्नासाथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ’, समितिको विज्ञप्तिमा भनिएको छ ।  

निर्वाचन सम्पन्न गर्नका लागि संघले अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति बनेर सो समितिले गत जुलाईदेखि काम गरिरहेको उल्लेख गरिएको छ ।  जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरूलाई नियाल्दै आएको निर्वाचन समितिले विवाद समाचार गरेर आगामी २० अक्टोबर (कात्तिक ३ गते) नै चुनाव गराउने जनाएको छ ।

समितिका अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ भने हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम भइरहेको छ।  

गैरआवासीय नेपाली संघको इतिहासमै पहिलोपटक अनलाइन प्रणालीमार्फत हुने निर्वाचनको स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको पनि समितिले जनाएको छ । ‘प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ । अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरुले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो अनिवार्य पठाउनुपर्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘सबै मतदाताहरूलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ ।’

निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड गर्न पनि अनुरोध समितिले गरेको छ ।  पौडेल नेतृत्वको एनआरएनएको निर्वाचन समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहेका छन् ।  यस्तै सदस्यहरूमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिवी ढकाल (यूके), डा.विष्णुमाया परियार (अमेरिका), डा.देवकाजी डंगोल (कतार), डा.गणेश गुरुङ (नेपाल) रहेका छन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप