बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनए निर्वाचन : महिलाको नेतृत्व लिन तयार जुनु गुरुङ, यस्ता छन् योजना

शनिबार, १६ असोज २०७८, १६ : ०७
शनिबार, १६ असोज २०७८

उनले दक्षिण कोरियामा समस्यामा परेका कैयन् नेपाली महिलाहरुको उद्दारमा सहयोगी भूमिका खेलिन् । जो समस्यामा थिए, उनीहरुलाई कानुनी र आर्थिक सहयोगदेखि पुनर्स्थापनाका सवालमा उल्लेखनीय भूमिका खेलिन् । महिलाको सशक्तीकरण र उनीहरुले पाउने अधिकारको विषयमा उनले निरन्तर आवाज उठाइरहिन्, त्यो सबै गर्ने एउटा पात्र थिइन्–जुनु गुरुङ ।

नेपालको लमजुङ जिल्लामा जन्मिएर सन् २००६ देखि दक्षिण कोरिया पुगेकी उनले ‘महिलाका लागि महिला’ (वमन फर वमन) नामक संस्थाबाट नेपाली महिलाहरुको हकहितका लागि धेरै काम गरिन्, सोही संस्थाबाट अहिले पनि महिलाको पक्षमा विभिन्न काम भइरहेकै छन् । उनै अभियन्ता जुनुले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाल संघ (एनआरएनए) आईसीसीको महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन् । आफ्नो उम्मेदवारी घोषणासँगै संसारभरका एनआरएनएहरुबाट सकारात्मक प्रतिक्रिया पाएको बताउने उनी आफू विजयी बन्नेमा ढुक्क छिन् ।

सन् २०१४ सम्म महिलाका लागि महिला संस्थाको अध्यक्ष हुँदा आफूले कोरियामा हजारौं समस्यामा महिलाहरुलाई सहयोग गरेको उनी सगौरव बताउँछिन् । ‘त्यतिबेला महिलाहरुका अनेक समस्या थिए’ उनले रातोपाटीसँग भनिन्, ‘म्यारिज ब्यूरोबाट कोरिया पुगेका महिलाहरूमा समस्या हुँदा उनीहरुको हकहितका लागि लड्ने काम हामीले गर्यौँ । महिला र पुरुष समेत बिरामी हुँदा सेल्टरको व्यवस्था तथा उपचारमा धेरै सहयोग सहयोग गरेँ ।’ उनले अगाडि भनिन्, ‘कोरियन भाषाको कक्षा पनि सञ्चालन गरेँ । बेरोजगारलाई जागिरको प्रबन्ध गर्नेदेखि कानुनी समस्यामा परेकालाई सहयोग गर्ने, मुद्दा लडिदिने जस्ता काम मैले गरेँ ।’

कोरियामा संस्थासँगै रेस्टुरेन्ट र मार्टको व्यवसाय समेत गर्दै आएकी उनी महिलाको लागि महिला संस्थाको अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेपछि एनआरएनए अभियानमा होमिएकी थिइन् ।

उनी सन् २०१५–१७ मा एनआरएनए कोरियाको उपाध्यक्षमा भइन् । त्यसपछि एसिया प्यासिफिक क्षेत्रको महिला संयोजक (२०१७–१९) रहिन् भने हाल एनआरएनए आईसीसीको मानार्थ सदस्य रहेकी छन् ।  गैरआवासीय महिलाहरुको हकहितका सवालमा थप केही गर्ने अठोटका साथ अहिले आईसीसी महिला संयोजकमा उम्मेदवार बनेकी हुन्, जुनु । महिला अधिकारको क्षेत्रमा काम गरेर नथाकेकी उनी अझै एनआरएनए अभियानबाट केही गर्न सकिन्छ कि भन्नेमा आफूलाई दृढ आत्मविश्वास रहेको बताउँछिन् । यो अभियानमा लाग्दै गर्दा धेरै एनआरएनएको हौसलाले थप उत्साहित बनेको उनी बताउँछिन् ।  आईसीसी महिला संयोजकमा उनी कुल आचार्यको टिमबाट चुनाव लड्न लागकी हुन् ।

उनै जुनुको उम्मेदवारीका सन्दर्भमा रातोपाटीले गरेको छोटो कुराकानीः

उम्मेदवारी घोषणापछि कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

विगतमा मैले दक्षिण कोरियामा रहेर महिलाहरुको हकहितका लागि काम गरेकै कारण त्यहाँको सरकारले मानार्थ नागरिकता दिएको छ । प्राविधिक रूपमा कोरियन नागरिक भएपनि मेरो मन नेपालमै छ र नेपालीकै हकहितका लागि दत्तचित्त छु । विगतमा गरेको कामको आधारमा एनआरएनए आईसीसी महिला संयोजकको रुपमा पनि तपाईंले धेरै गर्न सक्नुहुन्छ र हामी सहयोग गर्छौ भनेर विश्वभरबाट एनआरएनए साथीहरुले भन्नु भएको छ । जुनु, गुरुङ निष्पक्ष महिला हो तपाईँले नेतृत्व गर्नुपर्छ भनेर भन्नु भएको छ । सबैको राम्रो प्रतिक्रिया र सहयोग गर्ने बचनका कारण निकै उत्साहित भएको छु ।

एनआरएनए आईसीसी महिला संयोजकमा चुनाव लड्दै गर्दा तपाईंको चुनावी एजेण्डा के–के छन् ?

पहिलो कुरा त विश्वभरका गैरआवासीय नेपाली महिलाहरूको सञ्जाललाई विस्तार विस्तार गर्ने योजना बनाएको छु । एनआरएनए नेपालीहरूको साझा संस्था भएकाले संस्थालाई गतिशील र सबैको अपनत्व ग्रहण योग्य बनाउनु लागिपर्नेछु । मध्यपूर्वमा रहेका महिलाहरूको अवस्था अन्य क्षेत्रका भन्दा बढी चुनौतीपूर्ण रहेको छ, म नेतृत्वमा गएमा प्राथमिकताका साथ उनीहरूको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।  महिलाहरूको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रका लागि कोष संकलन समेत गर्नेछु ।

विगत म महिलाको लागि महिला संगठनमा रहँदा धेरै काम गरेँ । समस्यामा परेका महिलाहरुको उद्दार, सहयोग र उनीहरुको कानुनी समस्यामा धेरै सहयोग गरेको थिएँ । विदेशमा रहेका नेपाली महिलाहरुको समस्या केही कम भएजस्तो देखिएपनि गर्नुपर्ने धेरै छन् ।  एसियामा आफ्नै खाले समस्या छन्, युरोप, ओसेनिया, अमेरिका जस्ता रिजनमा महिलाका समस्या छुट्टै छन्  । ती सबै समस्याहरूको समाधान गर्नेगरी प्रभावकारी ढंगले काम गर्ने मेरो प्रयास हुनेछ । मुख्य कुरा महिला तथा युवाहरुको क्षमता विकास र उद्यमशीलतालाई नै मैले प्राथमिकतामा राखेको छु । 

एनआरएनएमा महिलाको सहभागिता बढाउन कसरी काम गर्नुहुन्छ ?

जतिबेला कोरियामा महिलाका लागि महिला साझा संस्था हामीले कोरियामा दर्ता गर्यौँ । हाम्रो उदेश्य नै महिलालाई सहयोग गर्ने र उनीहरुलाई बलियो र सशक्त बनाउने भन्ने नै थियो । अहिले म महिला संयोजकमा उठ्दै गर्दा महिलाको सशक्तीकरण र विविध विषयमा कसरी बढीभन्दा बढी सहयोग गर्ने भन्ने नै हो । म विगतमा एनआरएनए एसिया प्यासिफिकको महिला संयोजक हुँदा महिलाको सहभागिता न्यून थियो । पुरुषहरु ५० जना भएको ठाउँमा महिला २ जना पनि हुने थिएनन् । मैले आफ्नो कार्यकालमा महिलाको उपस्थिति बढाउन तीज विशेष कार्यक्रम होस् या महिलालाई संगठित गर्नेगरी अनेकन् अभियानात्मक कार्यक्रम किन नहोस्, त्यो अभियानपछि एनआरएनएमा महिलाको सहभागिता ह्वात्तै बढ्यो । यसैगरी अब विश्वभरका महिलालाई संस्थामा तान्नेगरी कार्यक्रम बनाउँछु । उनीहरुको पीडा व्यथा सुन्ने संयन्त्र बनाउँछु । संस्थाप्रति अपनत्व फिल गराउनतिर लाग्नेछु ।  समस्या परे एनआरएनए महिला विभाग छ नि भन्ने गरी काम गर्छु ।

विदेशमा महिलाको समस्या कस्ता हुने रहेछन् ?

समस्या त देशअनुसार फरक फरक हुन्छ । मिडलइस्टको कुरा गर्दा श्रमिकमाथि शोषणको कुरा धेरै आउँछन् । मृत्यु, अंगभंग जस्ता समस्याहरु पनि छन् । यसमा सरकारी तहबाटै पनि धेरै पहल हुन जरुरी छ।  युरोपतिरको कुरा गर्दा खान लाउन पुगेकाहरू नै भएपनि त्यहाँ पुगेपछि विविध समस्या हुन्छ । समस्या सानो ठूलो जे भएपनि त्यसलाई समाधानतिर लाग्ने हो । समस्यामा परेकालाई सहयोग गर्न फन्ड कलेक्सन गर्ने, महिलाहरु संगठित हुने लगायतका कार्यहरु गर्नेछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप