मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

एमालेलाई ‘एककोषीय’ बनाउने प्रयास

पार्टीभित्रको दुई लाइन संघर्षलाई ‘किचकिच’ को संज्ञा
मङ्गलबार, १२ असोज २०७८, ०९ : ४१
मङ्गलबार, १२ असोज २०७८

देशको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले अहिले प्रथम विधान महाधिवेशनको सँघारमा छ । एमालेलाई कस्तो बनाउने भन्ने नीति तय गर्न असोज १५–१७ ललितपुरको गोदावरीमा तीन हजार बढी एमालेजन भेला हुँदैछन् । एमालेको यो आन्तरिक ‘कर्मकाण्ड’ बारे पार्टीभित्र र बाहिरसमेत चासो बढेको छ ।

विधान महाधिवेशनमा तीनवटा दस्तावेजमाथि छलफल गर्ने एमालेको तयारी छ । पहिलो– अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको ६९ पृष्ठको राजनीतिक प्रतिवेदन । दोस्रो– महासचिव ईश्वर पोखरेलले तयार पारेको ५३ पृष्ठ लामो संगठनात्मक प्रस्ताव र तेस्रो– विष्णु पौडेलले तयार पारेको ४७ पृष्ठको विधान संशोधन प्रस्ताव । यी तीनवटै प्रस्तावहरू पारित गर्नु  र संगठनात्मक जिम्मेवारीको विन्यास गर्नु एमालेको विधान महाधिवेशनको उद्देश्य हो ।

छलफलकै क्रममा रहेका यी तीनवटा दस्तावेजले अब नेकपा एमालेको राजनीतिक कार्यदिशा कस्तो हुनेछ, उसको संगठनात्मक स्वरुप कस्तो हुनेछ र पार्टी सञ्चालन विधि कस्तो हुनेछ भन्ने दिशानिर्देश गर्नेछ । देशभरिका अगुवा नेता–कार्यकर्ताको जमघटले एमालेमा नयाँ उर्जा थपिने र पार्टीमा स्पष्ट दिशानिर्देश हुने अपेक्षा एमालेजनमा देखिन्छ ।

तीन नेताले तयार पारेका दस्तावेजमाथि स्थायी कमिटीमा पटक–पटक छलफल भइसकेको छ । त्यसपछि केन्द्रीय कमिटीको बैठकमा तीन दिनसम्म ‘ग्रुप डिस्कसन’ भएको छ । केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नमा तीनै नेताले  केन्द्रीय कमिटीमा जवाफ पनि दिइसकेका छन् ।

केन्द्रीय कमिटीको तीन दिने बैठक सकिएपछि सोमबार पुनः बसेको एमाले स्थायी कमिटीको बैठकले पार्टी संरचनालाई जेठ २ मा फर्काउने सहमति कार्यान्वयनको मोडालिटी तयार पार्न भीम रावलको संयोजकत्वमा नयाँ कार्यदल बनाएको छ । र, रावलको प्रतिवेदन आएलगत्तै तीनवटै दस्तावेजलाई परिमार्जन गरेर असोज १५ गते गोदावरीमा प्रस्तुत गर्ने एमालेको तयारी छ ।

यहाँ एमालेका दस्तावेजमा केके छ भन्नेबारे चर्चा गर्न खोजिएको छैन । बरु, एमालेको संस्थापन पक्षमा रहेको पार्टी संगठनलाई हेर्ने जबज विरोधी ‘एकमनावादी’ सोचका विषयमा सैद्धान्तिक प्रकाश पार्ने प्रयास गरिएको छ ।

पार्टी फुट्दा विजयोत्सव !

एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लाग्ने गरेको आरोप के हो भने उनी समग्र पार्टीभन्दा बढी गुटमा रमाउने नेता हुन् । नवौं महाधिवेशनमा अध्यक्ष भइसकेपछि पनि उनले पार्टी चलाएनन्, गुट चलाए । स्टालिनको जस्तै ‘एकमना पार्टी’ बनाउने कोशिस गरे । पार्टीमा मात्रै, ओलीले सरकार सञ्चालन र राज्यका निकायमा समेत उनले त्यस्तै नीति लागू गर्ने प्रयास गरे । आफ्ना गुटका मानिसलाई च्याप्ने र विपक्षीलाई ‘पाँडे पँजनी’ गर्ने नीति उनले पार्टी र सरकार दुबै ठाउँमा लागू गर्ने कोशिस गरे ।

एमालेमा तेस्रो धारका नेताको विश्लेषण के छ भने ओलीको यही ‘एकमनावादी’ नीतिले गर्दा अन्ततः नेकपा फुट्यो, एमाले चोइटियो, संसद विघटन भयो, संघ र प्रदेशका सरकारहरु ढले, काँग्रेस सरकारमा पुग्यो र सिंगै नेकपा एमालेलाई क्षति भयो । यस्तो हुनुमा प्रचण्ड र माधव नेपाल पक्ष पनि दोषी होलान्, तर अध्यक्ष र प्रधानमन्त्री भएको नाताले केपी ओली अरुभन्दा बढी दोषी छन् ।  

तेस्रो धारका नेताहरुले यस्तो आरोप लगाइरहँदा ओलीले चाहिँ आफ्नो कार्यशैलीमा कमजोरी देखेका छैनन् । आफूले ठीक काम गरेको दाबी उनले छाडेका छैनन् । संसद विघटनलाई उचित कदम ठानिरहेकै छन् ।

पार्टीभित्रको अन्तरविरोध र बहसलाई ओलीले ‘किचकिच’को संज्ञा दिने गरेका छन् । ‘किचकिच गर्नेहरु’ ले छाडेपछि नेकपा एमाले झन् बलियो बनेको र नयाँ पालुवा हालेको विश्लेषण ओलीले ०७७ पुसदेखि अहिलेसम्म निरन्तर गरिरहेका छन् । पार्टी फुटेकोमा ग्लानि र आत्मालोचना हैन, विजय भाव देखिन्छ ।

अन्तरविरोधदेखि अन्तरविरोधसम्म !

एमालेको विधान महाधिवेशन कस्तो परिस्थितिमा हुँदैछ त ? यसका केही वस्तुगत पृष्ठभूमिहरू छन् । जस्तो– बहुमतको सरकार ढलेर एमाले सडकमा आइपुगेको स्थिति छ । प्रदेशमा पनि एमालेका सरकारहरु ढलिरहेका छन् । नेकपा फुटेको छ र त्यसपछि एमाले पनि चोइटिएको छ । दुई चोटि गरिएको संसद विघटन बहादुरी हो कि गल्ती हो भनेर छुट्याउनुपर्ने स्थिति छ । सर्वोच्च अदालतको भण्डाफोर गर्ने कि सम्मान गर्ने भन्ने प्रश्न छ । संसदमा भइरहेको अवरोध ठीक कि बेठीक भन्ने प्रश्न पनि एमालेसामु खडा भएको छ ।

सत्तामा भएको पार्टी सडकमा आइपुग्नुमा माधव नेपाल र प्रचण्डको मात्रै दोष थियो वा केपी ओलीबाट पनि गल्ती भएको थियो ? यसको पनि द्वन्द्वात्मक भौतिकवादी समीक्षा गर्नुपर्ने ठाउँमा छ एमाले ।

अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेका दस्तावेजमा पार्टीको ‘साझा बुद्धि’ भन्दा पनि केपी ओलीको ‘निजी विचार’ हावी भएको गुनासो एमालेजनबाटै सुनिँदैछ । नवौं महाधिवेशनयताका सबै समस्या ‘माधव समूह’ को टाउकोमा थोपरेर दस्तावेजमा ओलीलाई एकमात्र ‘सत्यवादी हरिश्चन्द्र’ देखाउन खोजिएको आरोप छ । केन्द्रीय कमिटीको बैठकमा घनश्याम भुसालले तीनै दस्तावेजमाथि ‘रिजर्भेसन’ प्रकट गरेको अवस्था छ । अर्का नेता भीम रावलले संगठनात्मक जिम्मेवारीका विषयमा असन्तुष्टिहरु व्यक्त गरिरहेका छन् ।

एमालेभित्र जेठ २ र १० बुँदे सहमतिको मुद्दा उठाइरहेका भीम रावल, घनश्याम भुसाललगायत तेस्रो धारका नेताहरुको मात्र असन्तुष्टि मुखरित भएको छैन, पूर्वमाओवादी खेमाले पनि ‘प्रेसर ग्रुप’ को भूमिका खेल्न खोजेको देखिन्छ । प्रदेश २ को समूहगत छलफलमा यो प्रकट भएको छ । यदि नेकपा एमाले नेकपाकै निरन्तरता हो भने माओवादीका आएका नेताहरु हिजो जुन पदमा थिए, त्यही पदमा राखिनुपर्ने पूर्वमाओवादी समूहको माग छ । उता बादल, लेखराज भट्ट लगायतका नेतालाई दिइएको जिम्मेवारी जेठ २ को मर्म अनुसार नभएको भन्दै पूर्वएमालेभित्र प्रश्न उठेको छ ।

अन्ततः प्रचण्ड र माधव नेपालहरुले छाडेर गए पनि नेकपा एमालेमा फेरि नयाँ अन्तरविरोध र नयाँ अन्तरसंघर्ष देखा परेको छ । विधान महाधिवेशनमा एकातिर ‘पूर्वमाओवादी’ र अर्कोतर्फ ‘नवौं महाधिवेशनको अल्पमत पक्ष’ ले बेग्लाबेग्लै ‘विचार समूह’ ब्यूँताउने संकेत देखिएको छ । ओली समूहभित्रै पनि गोकुल बास्कोटा र महेश बस्नेतहरुबीच अन्तरविरोध छँदैछ । अन्ततः एमाले उही पुरानै ‘अन्तरविरोधपूर्ण’ अवस्थामा रुमल्लिने लक्षण देखिएको छ ।

‘दुई लाइन संघर्ष’ लाई हेर्ने गलत नजर

कम्युनिस्ष्ट ‘फिलोसोफी’ले के भन्छ भने पार्टीभित्र सधैं दुई लाइन संघर्ष हुन्छ । अन्तरविरोध नै भए भने पार्टी जीवन समाप्त हुन्छ । पार्टीभित्र फरक विचारहरु हुन्छन्, तिनलाई सम्मान गर्नुपर्छ ।

त्यसैगरी एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद (जबज) ले त झन बहुलवादलाई स्वीकार गरेको छ । कम्युनिस्ट पार्टी र राज्य दुबैमा लोकतान्त्रीकरणको वकालत गरेको छ जबजले । त्यसैले जबजको सिद्धान्त मान्नेहरूले त झनै पार्टीभित्रको अल्पमत पक्षलाई दबाउनुहुँदैन । ‘बहुमतको सत्ता, अल्पमतको विपक्ष’ जबजको मान्यता नै हो ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनयता जबजले भनेको बहुलतावादमा भन्दा स्टालिनले अभ्यास गरेको ‘एकमनावाद’ मा ‘इन्जोय’ गर्ने नेताका रुपमा प्रस्तुत भएको देखिन्छ । हुन त आठौं महाधिवेशनमा एमालेलाई लोकतान्त्रीकरण गर्ने भन्दै बहुपदीय प्रणालीमा लैजाने प्रस्ताव ओलीले नै अघि सारेका हुन् । जब ओली पार्टीको सत्तामा आए, उनले बहुपदीय प्रणालीप्रति अरुचि देखाए । सरकार सञ्चालन र संसदलाई हेर्ने मामिलामा पनि ओलीमा बहुलवादप्रति अरुचि देखिएको छ ।

केपी ओलीको यही विचार उनको राजनीतिक प्रतिवेदन र महासचिवको संगठनात्मक प्रस्तावमा पनि प्रकट भएको देखिन्छ । महासचिव पोखरेलले आफ्नो प्रस्तावमा बहुपदले बहुकेन्द्र जन्माएको र पार्टीजीवनको लोकतान्त्रीकरणको क्रममा अराजकता र गुटबन्दी बढेको निश्कर्ष निकालेका छन् । ओलीको प्रतिवेदनले पनि पार्टीभित्रको जनवाद र लोकतान्त्रीकरणलाई भन्दा ‘अनुशासन’ मा बढी जोड दिएको छ ।

पार्टीभित्र देखिएका असन्तुष्टि र अन्तरविरोधलाई हेर्ने केपी ओलीको नजर कस्तो छ भन्ने केही उदाहरण हेरौं–         

२०७७ पुस ५ गते पार्टीमा सल्लाह नै नगरी संसद विघटन गरिसकेपछि पुस ९ गते बालुवाटारमा आयोजित आफ्नो गुटको बैठकमा ओलीले भनेका थिए–

‘किन संसद् विघटन गर्नुप¥यो ? अरु थुप्रै कुरा छोडिदिनुस् । यही किचकिच, यही झमेला । पार्टीभित्र सधैँ हिँड्न खोज्यो, खुट्टा समाउने । हिँड्न खोज्यो, अल्झाउने । हिँड्न खोज्यो, धराप थाप्ने । हिँड्न खोज्यो, अल्झो लगाउने । देश हाँक्नुपर्ने बेलामा, देशलाई अगाडि बढाउनुपर्ने बेलामा सरकारलाई पनि अगाडि बढ्न नदिने । सरकारलाई गतिशील ढंगले हाँक्नुपर्ने बेलामा पार्टी, त्यो पार्टी अल्झिनुपर्ने । केमा भन्दा दिनैपिच्छेका गफ फिट्नेहरूका कुरामै अल्झिनुपर्ने । उनीहरू गफ फिटेर बस्छन्, त्यसैमा अल्झिनुपर्ने ।’

अन्ततः ०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि नेकपा फुट्यो र माओवादी अलग भयो । त्यसको ६ महिनापछि एमाले फुट्यो र माधव नेपाल–झलनाथ खनालहरुले केपी ओलीको साथ छाडेर गए । तर, पार्टीको विभाजनमा आफ्नो गुटको विजय देखेका ओलीले गत भदौ १२ गते ललितपुरको महालक्ष्मी नगरपालिकामा आयोजित युथ फोर्सको कार्यक्रममा सगर्व भने, ‘एक–दुई पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एक–दुईवटा पात पहेंलिएर झर्छन्, अर्को टुसो आउँछ । अहिले हेर्नुस् त कमिटीहरुको टुसा पलाएको ! नयाँ–नयाँ पालुवा पलाउँदैछन् । नयाँ–नयाँ हाँगा हाल्दैछन् !’

तर, दुर्भाग्य ! एमालेभित्र ‘नयाँ–नयाँ टुसा’ पलाउँदा अन्तरविरोधका टुसाहरु पनि सँगसँगै पलाउँदैछन् । माओवादीलाई खेदाइयो, माधव नेपालहरुको टुसो पलायो । अब फेरि पूर्वमाओवादी र तेस्रो धारवाला टुसाहरु पलाएका छन् । गोकुल बास्कोटा र महेश बस्नेतका बेग्लाबेग्लै टुसा पलाइरहेका छन् । प्रदेश २ मा रघुवीर महासेठका कारण बेग्लै टुसो पलाएको छ । अन्तरविरोधका अनेकन टुसाहरु पलाइरहेका छन् । स्टालिनको जस्तो पार्टी बनाउने ओलीको चाहनामा यी टुसाहरुले बाधा पुर्याइरहेका छन् । बारम्बार घोचिरहेका छन् ।

 


 

कुनै पनि पार्टी एक कोषीय जीव (अमिबा) जस्तो हुँदैन । पार्टीभित्र विभिन्न विचारहरु हुन सक्छन् । अन्तरविरोधहरु हुन सक्छन् । निर्वाचनबाट नेतृत्व चुनिने विधिमा गइसकेपछि पार्टीभित्र अल्पमत र बहुमतले बैधानिकता पाउँछ । तर, पार्टीभित्र अन्तरविरोध भयो भन्दैमा अल्पमत पक्षलाई हेप्ने, किनारा लगाउने अनि एउटा गुटको मात्रै पार्टी बनाउन खोज्ने हो भने त्यस्तो पार्टीले कसरी समग्र देशको नेतृत्व गर्न सक्छ ? यो प्रश्न यतिबेला एमालेसामु तेर्सिएको छ ।

पार्टीभित्रको फरक मतलाई ‘एक–दुईवटा पात हुन्, झरे पनि फरक पर्दैन’ भन्ने हो भने पार्टीभित्र फरक मत त फेरि पनि जन्मिइरहन्छन्, तिनलाई के गर्ने ? जस्तो– नेकपा फुटेपछि ओलीले पार्टीभित्र माओवादीको किचकिच सुन्नु परेन । तर, पूर्वएमालेकै किचकिच सहनुपर्यो ।

अहिले माधव नेपालहरु पार्टी छाडेर गए, तैपनि भीम रावल र घनश्याम भुसालहरुले ‘किचकिच’ गरिरहेकै छन् । प्रभु साह, लेखराज भट्टहरुले किचकिच गरिरहेकै छन् । के अब पार्टीमा नयाँ ‘टुसा’ पलाउनका लागि यी ‘किचकिचे’ हरुलाई पनि पेल्ने त ? यसमा केपी ओलीको थ्यौरीले के भन्छ ?

मानौं, भीम रावल र घनश्याम भुसालहरुलाई पनि किनारा लगाइदिऔं, त्यसपछि नेकपा एमाले शान्त र गतिशील बन्ला त ? बन्दैन । त्यसपछि ओलीले महेश बस्नेत र गोकुल बास्कोटाहरुको ‘किचकिच’ सहनुपर्छ । उनीहरुलाई पनि हटाइएला, पार्टीमा अरु ‘किचकिचे’हरु जन्मन्छन् । ओली समूहमै रहेका विष्णु पौडेल, सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा र प्रदीप ज्ञवालीहरुले पनि ‘किचकिच’ गरे भने उनीहरुलाई के गर्ने ?  

पार्टीमा जति ‘टुसा’ पलाउँदै जान्छन्, त्यति नै ‘किचकिच’ पनि टुसाउँदै जान्छ । यो समाजको नियमै हो । राजनीतिशास्त्रको नियमै हो । एमाले मात्र होइन अरु पार्टीमा पनि यस्तो देखिन्छ । नेपाली काँग्रेसमा पनि त्यस्तै छ, तर पार्टी फुटेको छैन, चलेकै छ । तर, आफूलाई दक्षिण एशियाकै लोकतन्त्रवादी दाबी गर्ने नेकपा एमालेका अध्यक्ष ओली आफूलाई जबजवादी भन्दाभन्दै पनि ‘एकमनावाद’ र ‘गुटवाद’ मा बढी रुची राख्ने नेताका रुपमा चित्रित छन् । ओलीको ‘फिलोसोफी’ नै यस्तो देखिन्छ कि उनी ‘किचकिच’ विनाको पार्टी चाहन्छन् । ‘किचकिच’ बिनाको संसद चाहन्छन् । उनी एमालेलाई बहुलवादी होइन, एककोषीय बनाउन चाहन्छन् ।

तेस्रो धारको दोधार

नवौं महाधिवेशनमा केपी ओलीको गुटमा नरही माधव नेपालतिर लागेका केही नेताहरु अहिले एमालेभित्र तेस्रो धारका रुपमा परिचित छन् । उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई अनि स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त एमालेका तेस्रो धारका नेता हुन् ।

तेस्रो धारका नेताहरुले माधव नेपाललाई नरोजी एमालेमै बस्ने निर्णय किन गरे ? उनीहरु केपी ओलीसँग असहमति हुँदाहुँदै एमालेमा रहेको बताउँछ । एमाले र केपी ओलीलाई पर्यायका रुपमा हेर्नुहुँदैन भन्ने उनीहरुको जिकिर छ । तर, एमालेको विधान अधिवेशनमा पेश गर्ने दस्तावेजहरु र संगठनको संरचना हेर्दा एमाले र केपी ओली एकअर्काका पर्याय देखिन्छन् । यो अवस्थामा तेस्रो धारले अबको विधान महाधिवेशनमा आफूलाई कसरी प्रस्तुत गर्छ, त्यो रोचक पाटो हो ।

केपी ओलीबारे तेस्रो धारका नेताहरुको बुझाइ के हो ? यसमा घनश्याम भुसाल र भीम रावलले फरक–फरक लाइन लिएको देखिन्छ । भुसालले खासगरी दस्तावेजमा रहेको सैद्धान्तिक–वैचारिक प्रश्नमाथि आपत्ति जनाएका छन् । भीम रावलले चाहिँ संगठनको जिम्मेवारी र इञ्चार्जहरु तोक्दा ओली गुटबाट पक्षपात भएकोमा आपत्ति प्रकट गरेका छन् ।

एमाले अध्यक्ष ओलीले भीम रावलको व्यवहारिक मागलाई तत्काल सम्वोधन गर्दै उनैको संयोजकत्वमा कार्यदल बनाएका छन् । तर, घनश्याम भुसालले उठाएको सैद्धान्तिक–वैचारिक पाटोमा भने ओलीले खासै वास्ता गरेको देखिँदैन ।

आखिर एमालेको तेस्रो धारका नेताहरुको खास मुद्दा के हो ? एमालेलाई कस्तो बनाउने भन्नेबारे सैद्धान्तिक–वैचारिक विमति हो या ओलीसँग बार्गेनिङ गरेर पार्टीमा आफ्नो पदीय पोजिसन सुरक्षित गर्ने मात्र हो ? अथवा दुबै हो कि ? यसबारेमा एमालेको तेस्रो धार आफैंमा ‘बहुकेन्द्र’ बनेको देखिन्छ ।

केपी शर्मा ओलीसँग बार्गेनिङ गरेर आफ्ना आकांक्षाहरु सुरक्षित गर्नु क्षणिक उदरस्थ प्रश्न मात्रै हो । मुख्य कुरा त पार्टीलाई लोकतान्त्रिक, जनवादी एवं बहुलवादी दृष्टिकोणले हेर्ने कि ओलीको चश्मा लगाएर एककोषीय अमिबाजस्तो नजरले हेर्ने ? एमालेमा देखिएको मुख्य समस्या नै यहीँनेर हो ।

तपाईंहरू किचकिच गर्नुहुन्छ भने......

केपी ओली वैचारिकरुपमा मात्र होइन, इमान र जमानका हिसाबले पनि प्रतिवद्ध देखिँदैनन् । जस्तो– विगतमा उनले गरेका सहमतिहरु पालना नगरेर धोका दिने गरेको इतिहास छ । वामदेवलाई संसदीय दलको नेता बनाउन दिएको वचन होस् या प्रचण्डसँग आलोपालो सरकार चलाउने लिखत, ओलीले आफ्नो वचन इमान्दारितापूर्वक निभाएका छैनन् ।

पछिल्लो समय ओलीले दोहोर्याएर पार्टी अध्यक्ष नबन्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीमा पनि युवालाई ठाउँ दिनुपर्छ भनेका थिए । तर, आगामी दशौं महाधिवेशनमा सहजरुपमा नेतृत्व हस्तान्तरण गर्नुको साटो ओली पुनः पार्टी अध्यक्ष बन्न इच्छुक देखिएका छन् ।

२०७७ असारमा बालुवाटारमा बसेको नेकपाको बैठकमा ओलीले भनेका थिए, ‘म त नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने भनेर आउने महाधिवेशनबाट पार्टी नेतृत्वमा आउँदिनँ र संसदीय निर्वाचन पनि लड्दिनँ भनेको हो । तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु ।’

वैचारिक प्रश्न फेरि पनि उही नै छ– प्रचण्ड र माधव नेपालहरुले किचकिच गरे, गए । अब भीम रावल, घनश्याम भुसाल र प्रभु साहहरु पनि त्यस्तै ‘किचकिचे’ नै हुन् कि ? अब यिनलाई पनि विदाइ गरेर एमालेलाई केपी शर्मा ओलीको एकल ईच्छामा चल्ने एककोषीय पार्टी बनाउने कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुण बराल
अरुण बराल
लेखकबाट थप