शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कति छन् एमालेका केन्द्रीय सदस्य ? महासचिवलाई नै थाहा छैन

शनिबार, ०९ असोज २०७८, १२ : ४४
शनिबार, ०९ असोज २०७८

नेकपा एमालेले आफूलाई दक्षिण एसियाकै व्यवस्थित पार्टी दाबी गर्दै आएको छ । देशैभरिका सबै सदस्यको रेकर्ड व्यवस्थित रहेको दाबी एमाले नेताले गर्दै आएका छन् । तर, अहिले पार्टीका केन्द्रीय सदस्यहरुकै संख्या कति हो भन्ने तथ्य स्वयं महासचिव ईश्वर पोखरेललाई नै थाहा छैन ।

असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुने एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत गर्न महासचिव पोखरेलले ५३ पृष्ठ लामो संगठनात्मक प्रस्ताव तयार पारेका छन् । सो प्रस्तावमा महासचिव पोखरेलले केन्द्रीय कमिटीको सदस्य संख्यामा प्रश्नवाचक चिन्ह लगाएका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले आफ्नो संगठनात्मक प्रस्तावमा भनेका छन्, ‘दसौं राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरिएको विधान महाधिवेशनको समय पार्टी केन्द्रीय कमिटीका सदस्यहरुको संख्या २११(?) रहन पुगेको छ ।’ अब ०७१ असार–साउनमा सम्पन्न नवौं महाधिवेशनयता नेकपा एमालेका केन्द्रीय सदस्यको खास संख्या कति हो भन्नेबारे महासचिव पोखरेलले स्थायी कमिटीको बैठकमा पेश गरेको तथ्यांकका आधारमा हिसाब–किताब गरौं–  

पदाधिकारी : २०७१ साउन १ गते सम्पन्न नवौं महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव उपमहासचिव र सचिवसमेत गरी १३ जना पदाधिकारी निर्वाचित गरेको थियो । निवर्तमान अध्यक्ष झलनाथ खनाल र अध्यक्षमा पराजित माधव नेपाल (बरिष्ठ नेताद्वय) लाई समेत जोड्दा एमालेको पदाधिकारी संख्या अर्थात ‘कोर लिडरसीप’ १५ सदस्यीय थियो ।

पदाधिकारीमा अध्यक्ष ओली अल्पमतमा परेका थिए । केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङसमेत ६ जना मात्र संस्थापन पक्षमा थिए । माधव नेपाल पक्षबाट युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य गोकर्ण विष्ट र योगेश भट्टराईसहित ७ जना थिए । यसमा झलनाथ खनाल र माधव नेपाललाई समेत जोड्दा पदाधिकारीको शक्ति सन्तुलन ९÷६ थियो । विधानमा पाँचजना उपाध्यक्ष रहने भनिए पनि ४ जना मात्रै उपाध्यक्ष रहे । पछि वामदेव गौतम माधव नेपाल पक्षमा लागेपछि पदाधिकारी टिम ओलीको पक्षमा ५ र नेपालको पक्षमा १० हुन गयो ।  

  

थपिएका केन्द्रीय सदस्य :  नेकपा एमालेको नवौं महाधिवेशनले १२३ पूर्ण र ४४ जना वैकल्पिक सदस्य गरी १६७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । त्यसपछि विभिन्न समयमा १२ पूर्ण र ९ वैकल्पिक गरी २१ जना केन्द्रीय सदस्य मनोनित भए ।

०७३ फागुनमा मेची महाकाली अभियानका क्रममा अध्यक्ष ओलीले १२ पूर्ण र १० वैकल्पिक गरी २२ जना मनोनित गरे । माओवादीसँग पार्टी एकता गर्ने बेलामा ०७५ जेठ २ मा ४६ जना सदस्यहरु मनोनित भए । र, माओवादीबाट एमाले अलग भएपछि ०७८ फागुन २८ गते पूर्वमाओवादीका बादलसहित २३ जना एमालेको केन्द्रीय कमिटीमा मनोनित भए । यो सबै जोड्दा केन्द्रीय सदस्यहरुको कुल संख्या २७९ जना पुग्छ ।

घटेका केन्द्रीय सदस्य : एमालेमा केन्द्रीय सदस्यहरु थपिएका मात्रै छैनन्, घटेका पनि छन् । यसबीचमा दुर्घटना, कोरोना लगायतका विभिन्न कारणबाट ६ जना केन्द्रीय सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनाथ ढकाल, रवीन्द्र अधिकारी, महिन लिम्बु, दिनेशचन्द्र यादव, पशुपति चौलागाई र योगनारायण यादव छन् ।

एमाले उपाध्यक्ष भइसकेकी विद्यादेवी भण्डारी राष्ट्रपति बनेका कारण उनी केन्द्रीय सदस्य छैनन् । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाका कारण अर्को एक सीट घटेको छ । त्यसैगरी केन्द्रीय कमिटीमा रहेका एकजना प्रदेशका सभामुख बनेका छन् भने दुईजना राजदूत बनेका छन् । त्यस्तै राधाकृष्ण मैनाली र प्रल्हाद गिरीले पहिल्यै एमाले छाडिसकेका छन् ।

पछिल्लो समय माधव नेपाल नेतृत्वको  पार्टीमा ५५ जना केन्द्रीय सदस्यहरु गएका छन् । यसरी मृत्यु हुनेदेखि पार्टी छाड्नेम्मको संख्या जोड्दा ६८ पुग्छ । एमालेको कुल सदस्य संख्या २७९ मा ६८ जना घटाउँदा २११ हुन जान्छ । तर, महासचिव पोखरेलले आफ्नो प्रतिवेदनमा २११ संख्यालाई प्रश्नवाचक चिन्हभित्र राखेका छन् ।

गणितीय भ्रम

त्यसो त निर्वाचन आयोगले एमालेको केन्द्रीय कमिटीको संख्या २०३ लाई मानेको छ । माधव नेपालको पार्टीलाई सनाखत गर्ने र वैधानिकता दिने क्रममा निर्वाचन आयोगले आफ्नो रेकर्डमा रहेको २०३ सदस्यीय कमिटीलाई नै आधार मानेको थियो ।

यदि आयोगको अभिलेखलाई आधारमा मान्ने हो भने एमालेमा हाल कायम रहेको संख्या १३५ (२०३–६८)  मात्रै छ भनेर मान्नुपर्ने हुन्छ । तर, यसमा अर्को गणित पनि छ । माधव नेपालले पार्टी फुटाउन लागेको सुइँको पाएपछि एमालेले आयोगमा २६५ सदस्यीय केन्द्रीय कमिटीको विवरण पेश गरेको थियो । यदि यो संख्यालाई आधार मान्ने हो भने हाल एमालेको केन्द्रीय सदस्यहरुको संख्या (२६५–६८) १९७ कायम हुन जान्छ ।

उता माधव नेपाल समूहमा ५५ केन्द्रीय सदस्य लागेको भनिए पनि सोमप्रसाद पाण्डे, राजेन्द्र कुमार राई लगायत तीन जनाले सनाखत गर्न पाएका छैनन् । उनीहरुलाई पनि जोड्ने हो भने माधव नेपालतिर लागेका केन्द्रीय सदस्यहरुको संख्या ५८ मान्नुपर्ने हुन्छ । यसो गर्दा एमालेका केन्द्रीय सदस्यहरुको संख्या पुनः हेरफेर हुन जान्छ ।

माधव नेपालतिर कति गए ?

एमाले महासचिव ईश्वर पोखरेलको प्रतिवेदन अनुसार अध्यादेशबाट पार्टी फुटाएर माधव नेपालतिर लाग्नेहरूमा केन्द्रमा ५५ जना छन् । निर्वाचन आयोगमा प्रस्तुत २६५ सदस्यलाई आधार मान्ने हो भने माधव नेपालको पक्षमा २० प्रतिशत पुग्छ । तर, १४ सांसदको कारवाही सदर हुने हो भने २० प्रतिशतका आधारमा निर्वाचन आयोगबाट गरिएको विभाजन अवैधानिक ठहर हुन सक्छ ।

महासचिव पोखरेलले २६५ को १० प्रतिशत माधव नेपाल पक्षले पुर्याएको तर, १४ जनाको कारवाही सदर हुँदा माधव नेपालको पक्षमा २० पतिशत नपुग्ने बताइरहँदा आयोगले चाहिँ २०३ केन्द्रीय सदस्यलाई आधार मानेको छ । यो संख्याको २० प्रतिशत पुर्याउन ४१ जना केन्द्रीय सदस्य चाहिन्छ, जुन १४ सांसदमाथि कारवाही भए पनि पार्टी विभाजनका लागि पुग्ने संख्या हो ।

महासचिव पोखरेलका अनुसार स्थानीय तहका जनप्रतिनिधिहरुमा पार्टी असर १० प्रतिशत भन्दा कम छ । तर, पार्टी सदस्य र समर्थकका बीचमा भने विभाजनको असर नगन्य रहेको महासचिव पोखरेलले  आफ्नो संगठनात्मक प्रस्तावमा उल्लेख गरेका छन् ।

एक छिनलाई मानौं, महासचिव पोखरेलले भनेजस्तै एमालेका केन्द्रीय सदस्यहरुको संख्या २११ छ । उसो भए निर्वाचन आयोगमा रेकर्ड रहेका दुई संख्या ( २०३ र २६५) मध्ये कुनलाई फलो गर्ने ? अनि अब माधव नेपालको पक्षमा लागेर रिक्त रहेका ५५ सदस्यमा महाधिवेशनअघि पदपूर्ति गर्ने कि नगर्ने ? अथवा मृत्यु भएका र  राजनीतिक नियुक्तिमा गाएकासमेत जोड्दा खाली रहेको ६८ सिटमा पदपूर्ति गर्ने कि दसौं महाधिवेशनसम्म यत्तिकै राख्ने ? यी प्रश्नहरु एमालेभित्र उब्जिएका छन् ।

प्रस्तावित विधानले तोकेको संख्या : नेकपा एमाले विधान संशोधन कार्यदलका संयोजक विष्णु पौडेलले तयार पारेको विधान संशोधनसम्बन्धी प्रस्तावमा २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको छ । एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव,  दुई उपमहासचिव र सात सचिव राख्ने पौडेलको प्रस्ताव छ ।

गोदावरीमा विधान अधिवेशन सकेपछि एमालेले त्यहीँबाट २२५ सदस्यीय केन्द्रीय कमिटी बनाउँछ या दशौं महाधिवेशनपछि मात्र यो लागू हुन्छ ? अहिले नै स्पष्ट छैन । एमालेमा हाल कायम रहेका २११ सदस्यलाई  प्रस्तावित विधान अनुसार नै २२५ बनाउने हो भने १४ जना केन्द्रीय सदस्य थप्नुपर्ने हुन्छ ।

 


 

यस्तो छ– एमाले केन्द्रीय सदस्यको हिसाब  

नवौं महाधिवेशन (२०७१ साउन) बाट निर्वाचित केन्द्रीय सदस्य– १६७

पहिलो चरणमा मनोनित– २१

०७३ फागुनमा मनोनित– २२

पार्टी एकताको पूर्वसन्ध्या (०७५ जेठ २) मा थपिएका– ४६

पूर्वमाओवादीबाट पछि थपिएका– २३

कुल सदस्य संख्या– २७९ जना

मृत्यु– ६

प्रदेशको सभामुख– १

राजदूत –२

पार्टी छाडेका– २ ( आरके मैनाली, प्रल्हाद गिरी)

पार्टी फुटाएर गएका – ५५

हालको अवस्था : २७९–६८ .  २११

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप