शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले विभाजन : कर्णालीमा नेकपा एकीकृत समाजवादीको पक्षमा देखिएन लहर​

स्थानीय तहका १,४८४ एमाले जनप्रतिनिधिमध्ये ३५१ ले मात्र रोजे नेकपा एकीकृत समाजवादी
बुधबार, २३ भदौ २०७८, १२ : ४५
बुधबार, २३ भदौ २०७८

एमालेभित्र विवादको जड बनेको कर्णालीमा एमाले विभाजनपछि दुवै दलले संगठनको लेखाजोखा गर्न थालेका छन् । कर्णाली प्रदेशमा न एमालेले विभाजनको असर रोक्न सक्यो न त एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले नै पकड मजबुत देखाउन सक्यो ।

०७४ मा स्थानीय तहको निर्वाचनका बेलामा माधवकुमार नेपालको खेमामै रहेर जितेका धेरैजसो जनप्रतिनिधि एमाले विभाजनपछि पनि एमालेमै बसेका छन् । कर्णालीका १० जिल्लाका ७९ वटा स्थानीय तहमध्ये २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो । एक हजार ४८४ निर्वाचित जनप्रतिनिधिमध्ये ३५१ जनाले मात्र नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका छन् ।

​प्रदेशसभामा एमालेबाट निर्वाचित ३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सल्यान, दैलेख, कालिकोट, डोल्पा लगायतका केही जिल्लामा नेकपा एकीकृत समाजवादीमा न्यून जनप्रतिनिधि खुलेका छन् भने सुर्खेत लगायतका अन्य जिल्लामा पनि एमालेलाई दल विभाजनको ठुलो धक्का भने लागेन ।

कुन जिल्लाबाट कति जनप्रतिनिधिले रोजे नयाँ दल ?

सुर्खेत 

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत जिल्लामा एकीकृत समाजवादीले खासै राम्रो उपस्थिति जनाउन सकेन ।

स्थानीय तहको निर्वाचनमा एमालेबाट यो जिल्लाका स्थानीय तहमा ३ जना प्रमुख÷अध्यक्ष, ४ जना उपप्रमुख÷उपाध्यक्ष, ४३ वडा अध्यक्ष, ४६ महिला सदस्य, ४२ दलित महिला सदस्य, ९० अन्य सदस्य र ९ दलित अल्पसंख्यक सदस्य गरी २३७ जना जनप्रतिनिधि बनेका थिए । जसमध्ये १० जना वडाअध्यक्ष र पाँच जना अन्य सदस्य गरी १५ जना जनप्रतिनिधिले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

निर्वाचन कार्यालयका अनुसार समाजवादी रोज्नेहरूमा वीरेन्द्रनगर नगरपालिकाबाट ९ जना, चौकुने गाउँपालिकाबाट ३, पञ्चपुरी नगरपालिकाट २ र भेरिगंगा नगरपालिकाबाट एक जना छन् ।

दैलेख

दैलेख जिल्लामा नेकपा एकीकृत समाजवादीले आफ्नो केही प्रभाव देखाए पनि सोचेजस्तो परिणाम भने हासिल गर्न सकेन ।

११ स्थानीय तह रहेको यो जिल्लामा एमालेबाट प्रमुख÷अध्यक्ष ७, उपप्रमुख÷उपाध्यक्ष ७ लगायत २९० जना जनप्रतिनिधि निर्वाचित रहेकामा ६२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

१४ जना प्रमुख तथा उपप्रमुख मध्ये ८ जना एमालेमै रहे भने अन्यले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

एमाले छाडेर समाजवादी रोज्नेमा महावु गाउँपालिका अध्यक्ष जंगबहादुर, शाही, उपाध्यक्ष प्रेम कुमारी बुढा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, ठाटीकाँध गाउँपालिकाका उपप्रमुख सुस्मिता सिंह लगायतका जनप्रतिनिधि छन् ।

केही समय अघिसम्म नेकपा एकीकृत समाजवादीमा खुलेर लागेकी चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी उपप्रमुख तारा शाही (खत्री) एमालेमै रहिन् ।

दैलेखमा कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा, प्रतिनिधिसभा सदस्य पार्वती विशुन्खे लगायतका नेताहरुले नेकपा एकीकृत समाजवादीबाट नेतृत्व गरिरहेका छन् भने यसअघि माधव नेपाल गुटबाटै केन्द्रीय राजनीतिमा उदाएका विष्णु रिजाल अहिले एमालेमा खुलेर होमिएका छन् । दैलेखबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजबहादुर बुढा पनि एमालेमै छन् ।  

सल्यान

नेकपा एकीकृत समाजवादीका प्रदेश संयोजकसमेत रहेका प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा भने समाजवादीले राम्रो नतिजा पाएको छ ।

यस जिल्लाबाट स्थानीय तहको निर्वाचनमा १५१ जना जनप्रतिनिधि एमालेबाट विजयी भएका थिए । एमालेबाट ४ जना प्रमुख÷अध्यक्ष, ३ जना उपप्रमुख÷उपाध्यक्ष, २७ वडाअध्यक्ष, २८ महिला वडा सदस्य, २५ दलित, ५८ अन्य, ६ दलित अल्पसंख्यक निर्वाचित बनेका थिए । जसमध्ये ७६ जनाले एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका छन् ।

​सल्यान निर्वाचन कार्यालयका निमित्त सूचना अधिकारी तेजेन्द्रकुमार चन्दले रातोपाटीलाई दिएको जानकारीअनुसार १÷१ जना अध्यक्ष÷उपाध्यक्ष, १९ जना वडा अध्यक्ष र ५३ जना सदस्य लगायत ७६ जनाले नेकपा एकीकृत समाजवादीलाई रोजेका छन् ।

कपुरकोट गाउँपालिकाबाट उपाध्यक्ष तीला बुढासहित दुईजना वडाध्यक्ष, चारजना वडा सदस्यसहित सातजना, त्रिवेणी गाउँपालिकाबाट एक वडा अध्यक्षसहित ६ जना, छत्रेश्वरी गाउँपालिकाबाट एक वडा अध्यक्षसहित पाँच जना, शारदा नगरपालिकाबाट तीन वडा अध्यक्षसहित १६ जनाले समाजवादी रोजेका छन् ।

त्यस्तै सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउने, तीनजना वडाध्यक्षसहित ११ जना, बागचौर नगरपालिकामा तीन जना वडाध्यक्ष, दार्मा गाउँपालिकाबाट एक वडाध्यक्ष, कुमाख गाउँपालिकाबाट एक वडाअध्यक्षसहित चार जना, बनगाड कुपिण्डे नगरपालिकाबाट तीन वडाअध्यक्षसहित आठजना र कालीमाटी गाउँपालिकाबाट तीन जना सदस्यले पनि समाजवादी पार्टी रोजेका हुन् ।

जुम्ला

०७४ को निर्वाचनमा जुम्लामा एमालेबाट अध्यक्षमा १, उपाध्यक्षमा १, वडाध्यक्ष १७, वडा सदस्य ४५, महिला सदस्य १८, दलित महिला सदस्य १३ गरी ९५ जनप्रतिनिधि निर्वाचित भएका थिए । तीमध्ये ४४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले दिएको जानकारी अनुसार उपाध्यक्षमा जितेकी सिंजा गाउँपालिकाकी जन्मकन्या खत्री, ११ जना वडाअध्यक्ष लगायत ४४ जनाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी आफु एमालेमै रहेको बताउँछन् ।

मुगु

एमालेबाट १ प्रमुख,  ४ उपप्रमुख, २१ वडाअध्यक्ष, २२ महिला वडा सदस्य, २२ दलित महिला सदस्य, ४९ वडा सदस्य, ५ दलित वा अल्पसंख्यक गरी १२५ जना जनप्रतिनिधि रहेकोमा एमाले विभाजनपछि २८ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

मुगु जिल्ला निर्वाचन कार्यालय प्रमुख धनबहादुर बडुवालका अनुसार नेकपा एकीकृत समाजवादीमा एक जना उपाध्यक्ष, पाँच जना वडाअध्यक्ष, १९ जना सदस्यले सनाखत गराएका छन् ।

डोल्पा

हिमाली जिल्ला डोल्पामा एमालेबाट ४ स्थानीय तहमा प्रमुख÷अध्यक्ष, ३ वटा स्थानीय तहमा उपप्रमुख÷उपाध्यक्ष, ४३ वडाअध्यक्ष, ४७ महिला वडा सदस्य, १९ दलित महिला सदस्य, ८५ अन्य वडा सदस्य, १२ दलित वा अल्पसंख्यक गरी २१३ जनप्रतिनिधि निर्वाचित भएका थिए । दल विभाजनपछि ४२ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

स्थानीय तहको निर्वाचनमा डोल्पाको ठुलोभेरी नगरपालिका प्रमुखमा एमालेका गणेशबहादुर शाही विजयी भएका थिए  भने ५ जना वडा अध्यक्ष, २६ वडा सदस्य पनि ठुलोभेरीबाटै एमालेले जितेको थियो । तीमध्ये सबैले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेको बुझिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाबाट एक जना वडा सदस्य र मुड्केचुल्ला गाउँपालिकाबाट पनि एक जना वडा सदस्यले नयाँ दल रोजेका छन् ।

रुकुम पश्चिम

नेकपा माओवादीको आधार ईलाका मानिएको रुकुम पश्चिममा एमाले कमजोर छ । यहाँ स्थानीय तहको निर्वाचनमा जम्मा २९ स्थानमा मात्र एमालेले जितेको थियो । ५ वडाअध्यक्ष, ६ महिला वडा सदस्य, ६ दलित र १२ अन्य वडा सदस्यमा निर्वाचित एमाले जनप्रतिनिधिमध्ये ३ जनाले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

कालिकोट

स्थानीय तहको निर्वाचनमा एमालेबाट १४४ जनप्रतिनिधि निर्वाचित कालिकोटमा ६५ जना जनप्रतिनिधिले एमालेको साथ छाडेका छन् ।

जिल्ला निर्वाचन कार्यालय कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकृत धनबहादुर मल्लका अनुसार शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाई, उपाध्यक्ष पम्फा कुमारी शाही, खाडाचक्र गाउँपालिकाका उपप्रमुख विजया विष्ट, नरहरी गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट लगायतका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । 

हुम्ला

हुम्ला निर्वाचन कार्यालयका अनुसार यो जिल्लाका ४ जना वडा सदस्य र १ जना जिल्ला समन्वय समिति सदस्य गरी ५ जनाले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

०७४ को निर्वाचनमा यहाँबाट एमालेका ५० जनप्रतिनिधि निर्वाचित भएका थिए । प्रमुख÷अध्यक्षमा १, उपाध्यक्ष÷उपप्रमुखमा १ र १० जनाले वडाअध्यक्ष लगायत ५० जना जनप्रतिनिधिमध्ये अदानचुली गाउँपालिकाको कार्यपालिकाका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य, गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमीले समाजवादी दल रोजेका छन् ।

जाजरकोट

जाजरकोटमा ०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट १५० जना जनप्रतिनिधि चुनिएका थिए । तीमध्ये १० जनाले  एकीकृत समाजवादी रोजेका छन् ।

३ जना प्रमुख÷अध्यक्ष, ३ जना उपप्रमुख÷उपाध्यक्ष, २३ जना वडा अध्यक्ष लगायत अन्य सदस्यहरुमा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये छेडागाड नगरपालिकाका–१ का वडा अध्यक्ष गणेश प्रसाद सिंह, २ का अध्यक्ष बालकृष्ण बुढा लगायत १० जनाले नयाँ दल रोजेका हुन् ।

स्थानीय तहमा नेकपा एकीकृत समाजवादीका जनप्रतिनिधि

सुर्खेत: १५

दैलेख: ६३

जाजरकोट: १०

कालिकोट: ६५

हुम्ला: ५

मुगु: २८

जुम्ला:४४

रुकुम पश्चिम: ३

सल्यान: ७६

डोल्पा: ४२

        जम्मा: ३५१

प्रदेश सभा सदस्यमा

देवी ओली

चन्द्रबहादर शाही

पदमबहादुर रोकाया

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप