बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : प्रदेशसभामा अब ७ दल

लोसपा तेस्रो, एमाले घटेर माओवादी जत्रो !
बुधबार, २३ भदौ २०७८, १२ : ४०
बुधबार, २३ भदौ २०७८

जनकपुर । प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको संख्या ७ पुगेको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा एमाले र जसपा नेपाल विभाजित भएर दुईवटा नयाँ दल गठन भएका छन् । योसँगै प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको हो । यसअघि प्रदेशसभामा ५ दल थिए ।

प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालसँग ५५, नेकपा एमालेसँग २१, नेपाली काँग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीसँग एक जना सांसद थिए ।

अध्यादेश अनुसार एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जसपा नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टीका रुपमा दुई नयाँ दल अस्तित्वमा आएका छन् ।

जसपा नेपाल विभाजित भएसँगै महन्थ ठाकुर नेतृत्वमा बनेको लोसपामा १६ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । त्यस्तै नेकपा एमाले विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीमा १३ जना प्रदेश प्रदेशसभा सदस्यहरुले सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।

दुईवटा दल विभाजन भएपछि प्रदेशसभाको समीकरण पनि फेरिएको छ । अब प्रदेशसभामा जसपा नेपालका ३९, नेपाली काँग्रेसका १९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, नेकपा एकीकृत समाजवादीका १३, नेकपा माओवादी केन्द्रका ८, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

प्रदेश २ प्रदेशसभामा जसपा नेपाल पहिलो राजनीतिक शक्तिका रुपमा कायम छ । दोस्रो दलका रुपमा काँग्रेस छ भने लोसपा तेस्रो राजनीतिक शक्तिका रुपमा स्थापित भएको छ । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टी चौथो शक्ति बनेको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले भने समान सांसद संख्याका साथ पाँचौं शक्ति बनेका छन् ।

पार्टी विभाजन पश्चात निर्वाचन आयोगले विभाजित दलका जनप्रतिनिधिलाई भदौ २२ सम्म दल रोज्न समय दिएको थियो ।

प्रदेशसभाको निर्वाचनपछि तत्कालीन राजपा र संघीय समाजवादी पार्टी मिलेर प्रदेश २ मा सरकार बनेको थियो । पछि यी दुई दलबीच एकता भएसँगै जसपाको नेतृत्वमा एकल बहुमतको सरकार थियो भने बाँकी दल विपक्षमा थिए । तर पार्टी विभाजनपछि प्रदेश २ मा अहिले जसपा, नेपाली काँग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार छ भने नवगठित नेकपा एकीकृत समाजवादीसमेत सरकारमा जाने तयारीमा छ ।

प्रदेश २ को विपक्षमा अहिले नेकपा एमाले छ भने लोसपाले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने तयारी गरिरहेको स्रोत बताउँछ ।

कति जनप्रतिनिधिले रोजे लोसपा र एकीकृत समाजवादी ?

नेकपा एमाले विभाजनपछि प्रदेश २ को स्थानीय तहमा पनि जनप्रतिनिधिहरुको समीकरणमा फेरबदल भएको छ ।

जसपाबाट अलग्गिएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका पक्षमा प्रदेश २ का ८६६ जना जनप्रतिनिधिले सनाखत गरेका छन् । लोसपामा सबैभन्दा बढी महोत्तरीबाट स्थानीय तहका २५८ जनप्रतिनिधिले सनाखत गरेका छन् । जसमा ६ वटा पालिकाका प्रमुख, १० वटा पालिकाका उपप्रमुख र ४४ जना वडा अध्यक्ष र अन्य वडा सदस्य छन् ।

त्यस्तै, धनुषामा स्थानीय तहका १०९ जना जनप्रतिनिधिले लोसपा रोजेका छन्, जसमा एक पालिका प्रमुख र २ पालिकाका उपप्रमुख छन् ।

सप्तरीमा ९६, सिरहामा १२, रौतहटमा ८८, बारामा १३८ र पर्सामा २८ जना स्थानीय जनप्रतिनिधिले लोसपा रोजेका छन् ।

त्यस्तै नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीसमेत प्रदेश २ को स्थानीय तहमा मजबुत स्थितिमा देखिएको छ । नेकपा एमाले त्यागेर सबैभन्दा बढी रौतहटमा ८४ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । त्यस्तै, धनुषामा २ उपप्रमुख र ८ जना वडाअध्यक्ष सहित ४८ जना जनप्रतिनिधि र सर्लाहीमा ३ वडा अध्यक्षसहित ४८ जनप्रतिनिधिले सो पार्टी रोजेका छन् ।

बारामा ३२, महोत्तरीमा ६ जना जनप्रतिनिधि र सप्तरीमा ५ जना वडा अध्यक्षसहित २९ जना जनप्रतिनिधि, पर्सामा एक वडाअध्यक्ष सहित ५ जना वडा सदस्य र सिरहामा ६१ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

प्रदेश २ मा कुल ३१३ जना जनप्रतिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप