शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ : एमालेबाट निर्वाचित १६२ जनाले रोजे नेकपा एकीकृत समाजवादी

मङ्गलबार, २२ भदौ २०७८, २१ : ३२
मङ्गलबार, २२ भदौ २०७८

प्रदेश १ का १४ जिल्लाका १६३ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन आयोगले तोकेको समय सीमाभित्र नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीका पक्षमा उनीहरुले सनाखत गरेका हुन् ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमाभित्र प्रदेश १ बाट दुई जिल्ला समन्वय समितिका प्रमुख र तीन उपप्रमुखसहित १६३ जना एमालेका जनप्रतिनिधिले नयाँ पार्टी रोजेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

यस्तै, ताप्लेजुङ, धनकुटा र इलाम जिल्ला समन्वय समितिका उपप्रमुखले पनि नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । इलाम जिससका उपप्रमुख चित्रकला बराइली, धनकुटा जिससका उपप्रमुख बंगला राई र जिसस ताप्लेजुङका उपप्रमुख देवीमाया नेपालीले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

प्रदेश १ बाट पाँच जना जिल्ला समन्वय समिति सदस्यले एमाले छोडेर समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

स्थानीय तहमा राम्रो उपस्थिति रहेको नेकपा एमालेका अधिकांश जनप्रतिनिधि विभाजनको पक्षमा लागेनन् । प्रदेश १ बाट दुई नगरपालिकाका प्रमुख र दुई उपप्रमुखले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् । इलामको सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले नयाँ पार्टी रोजेका हुन् । यस्तै, भोजपुर नगरपालिकाका उपप्रमुख ममिता राई र खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका छन् ।

प्रदेश १ को तीन गाउँपालिका अध्यक्ष र तीन जना उपाध्यक्षले नेकपा एमाले परित्याग गरेका छन् । इलामको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, तेह्रथुमको आठराई गाउँपालिकाका प्रमुख मानबहादुर लिम्बु र उदयपुरगढी गाउँपालिका प्रमुख मानबहादुर केप्छाकी मगर नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।

भोजपुरको टेम्केमैयुम गाउँपालिकाका उपाध्यक्ष इन्द्रावती राई, ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेलले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

प्रदेश १ का विभिन्न स्थानीय तहका ३४ जना वडाध्यक्ष एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् ।

ताप्लेजुङका २१ जना एमाले जनप्रतिनिधिले नयाँ पार्टी रोजेका छन् । ताप्लेजुङबाट पाँच जना वडाध्यक्ष एमालेबाट नेकपा एकीकृत समाजवादीमा गएका छन् । मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, सोही गाउँपालिका–३, खाम्लुङका वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मैवाखोला गाउँपालिका–२ ढुङ्गेसाँघुका वडाध्यक्ष सुरेन्द्र लिम्बू, आठराई त्रिबेणी गाउँपालिका–४ चाँगेका डम्बरबहादुर लिम्बू र फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपाने नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् ।

पाँचथरबाट निर्वाचित एमालेका ११ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन् । पाँचथरको कुम्मायक–२ का वडाध्यक्ष भक्तबहादुर बिक र फालेलुङ १ का वडाध्यक्ष श्रीप्रसाद जबेगुले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।

इलामका ५८ जना एमाले जनप्रतिनिधिले नयाँ दल रोजेका छन् । इलामको सूर्योदय नगरपालिकाका ९ जना वडाध्यक्ष नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमालेबाट विजयी भएका १० मध्ये ९ वडाध्यक्ष नयाँ दलमा सामेल भएका हुन् । यस्तै माइजोगमाई गाउँपालिकाका एक जना वडाध्यक्षले पनि एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तेह्रथुमको मेन्छयायम गाउँपालिका–५ का शिवनाथ खापुङले पनि नयाँ पार्टी रोज्दै सनाखत गरेका छन् । तेह्रथुमबाट दुई जना एमाले जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् ।

यता, धनकुटामा जिसस उपप्रमुखसहित ८ जनाले एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरे । पाख्रिवास–४ का वडाध्यक्ष सोभित निरौला, साँघुरीगढी गाउँपालिका–३ का अध्यक्ष राजकुमार राई र शहिदभूमि गाउँपालिका–३ का वडाध्यक्ष योगेन्द्र राईले एमाले त्याग्दै नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।

​भोजपुरबाट षडानन्द नगरपालिकाका कार्यपालिका सदस्यहरु सुमन राई र गोविन्द बिकले एमाले छोडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् । भोजपुर नगरपालिकाका उपप्रमुखसहित ६ जना नयाँ पार्टीमा लागेका हुन् ।

खोटाङ जिल्लामा जिसस प्रमुखसहित ११ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । बराहपोखरी–४ का वडाध्यक्ष भुवलराज राईसहित विभिन्न पालिकाका वडा सदस्यहरु नेकपा एकीकृत समाजवादीतर्फ लागेका हुन् ।

ओखलढुंगामा एक जना कार्यपालिका सदस्यले मात्र नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । सोलुखुम्बुमा नेकपा एकीकृत समाजवादीका पक्षमा कुनै पनि जनप्रतिनिधिले सनाखत नगराएको जिल्ला निर्वाचन कार्यालय प्रमुख नम्रता चुडालले जानकारी दिइन् ।

यता उदयपुरमा त्रियुगा नगरपालिकाका प्रमुख र उदयपुर गाउँपालिकाका अध्यक्ष, ५ जना वडाध्यक्षसहित २८ जनाले एमाले छोडेर नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन् । उदयपुरगढी–७ का वडाध्यक्ष कर्णमाया मगर, कटारी–९ का वडाध्यक्ष बेगबहादुर आले, लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष गुरुमणि कुमाई, त्रियुगा नगरपालिका–३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी र त्रियुगा–१३ का वडाध्यक्ष पशुपति चौधरीले एमालेबाट नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

प्रदेश १ को सबैभन्दा धेरै जनघनत्व भएका जिल्ला झापा, मोरङ र सुनसरीमा नेकपा एमाले विभाजनको प्रभाव न्यून देखिएको छ । यी जिल्लामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु नगन्य संख्यामा मात्र नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एक जना जिल्ला समन्वय समिति सदस्य पदम लिम्बु र शिवसताक्षी गाउँपालिका–७ का वडाध्यक्ष नविन इजम लगायत विभिन्न स्थानीय तहका जम्मा ७ जनाले नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन् । 

यता मोरङमा पनि चार जना वडाध्यक्ष र चार जना वडासदस्यसहित ८ जनाले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

सुनसरीका स्थानीय तहका पाँच वडा सदस्य र इटहरी नगर कार्यपालिका एक सदस्यसहित ६ जनाले एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप