बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी पास गर्ने षडयन्त्र’

मङ्गलबार, २२ भदौ २०७८, २० : १२
मङ्गलबार, २२ भदौ २०७८

सरोकारवालाहरूले सैन्य रणनीतिअनुसार एमसीसी सम्झौता अगाडि बढाएको भन्दै त्यसको खारेजीको विकल्प नभएको बताएका छन् । उनीहरुले अमेरिका नेपालको प्राकृतिक साधन–स्रोत कब्जा गर्न र नेपालीभूमि प्रयोग गरेर चीन घेर्ने रणनीतिमा रहेको बताएका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभावले मंगलबार राजधानीस्थित संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले इन्डो प्यासिफिक रणनीतिअनुसार एमसीसी सम्झौता लागु गर्न चाहेको बताए । उनले अमेरिकाले नेपालका बहुमूल्य प्राकृतिक साधन, स्रोतमाथि कब्जा जमाउन र चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी संसदबाट पास गराएर लागु गर्न चाहेको बताए । नेता गजुरेलले एमसीसी नेपाल र नेपालीको हितमा नभएको भन्दै खारेजीको गर्नुपर्ने बताउँदै त्यसमा राष्ट्रवादी नेपाली एक हुनुपर्ने बताए ।

नेकपा (माले)का महासचिव सीपी मैनालीले अमेरिकाले आफ्नो प्रतिष्ठा र प्रभावमा धक्का लागेकै कारण एमसीसी सम्झौता अगाडि सारेको बताए । उनले अमेरिकाले एमसीसीमार्फत सैन्य साझेदार बनाउन खोजेको भन्दै नेपाल स्वतन्त्र देश भएकोले यसबाट अलग रहनुपर्ने बताए ।


महासचिव मैनालीले अमेरिकाले नेपालीभूमिमा सैन्य अखडा बनाएर चीनविरुद्ध गतिविधि गर्न एमसीसी जबरजस्त संसदबाट पारित गराउन चाहेको बताए । उनले सरकारले एमसीसी संसदबाट पारित गराउन लागेको भन्दै खारेज गर्नुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले नेपालको कानुनभन्दा एमसीसी माथि राखिएको र एमसीसी लागु भए नेपालीहरुले अमेरिकी कानुन मान्नुपर्ने अवस्था आउने भएकाले खारेज हुनुपर्ने बताए । उनले अनुदानमा शर्त नहुने भएपनि एमसीसीमा अमेरिकाले नेपालको हित विरोधी शर्त राखिएको भन्दै खारेज गर्नुपर्ने बताए ।

संसदमा पारित गराए कानुन बन्ने र त्यो नेपालको कानुनभन्दा माथि हुने भन्दै पोखरेलले एमसीसीलाई खारेज गर्नुपर्ने बताए । उनले तत्कालिन (नेकपा) ले एमसीसीको अध्ययन प्रतिवेदनमा संशोधन गर्न सुझाव दिएको भएपनि अमेरिका तयार नभएको समेत बताए ।

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला अमेरिकाले नेपालीभूमि प्रयोग गरेर चीनविरुद्ध घेराउ गर्न एमसीसी जसरी पनि लागु गर्न चाहेको बताए । उनले एमसीसी लागु भए अमेरिका र चीनबीच बढ्ने द्वन्द्वको मार नेपाल र नेपालीलाई हुने बताए ।

नेपालका प्राकृतिक साधन र स्रोतमाथि कब्जा गर्ने र आफ्नो सैन्य रणनीतिमा नेपालमा सहभागी गराउने अमेरिकी योजना रहेको बताए । उनले सम्झौता राष्ट्रघाती भएको बताउँदै त्यसविरुद्ध आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको बताए । एमसीसी खारेजीको लागि संघर्षमा आउन सबैलाई बास्तालाले अपील समेत गरे ।

नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले एमसीसी सम्झौता नेपाल र नेपालीको हितमा नभएको भन्दै खारेज गर्नुपर्ने बताए । उनले एमसीसी संसदबाट पारित गरेर देशलाई अमेरिकी सैन्य अखडा बनाउन खोजेको भन्दै युवाहरु त्यसविरुद्ध उठ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप