शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी सम्झौता टेबल नगर्न सभामुखलाई आग्रह

मङ्गलबार, २२ भदौ २०७८, १२ : ५८
मङ्गलबार, २२ भदौ २०७८

पत्रकारहरूका विभिन्न ६ वटा संगठनहरुले एमसीसीका पदाधिकारीको नेपाल भ्रमण र आसन्न संसद अधिवेशनबाट एमसीसी पास गर्नेगरि भइरहेका गतिविधिको विरोध गरेका छन् ।

साथै उनीहरुले सभामुख र सांसदहरुलाई एमसीसी सम्झौता संसदमा टेबल नगर्न र एमसीसीको पक्षमा मत नदि आग्रह गरेका छन् ।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत,प्रगतिशिल पत्रकार संघका अध्यक्ष उदय जिएम, जनपत्रकार संगठनका संयोजक शेरबहादुर विश्वकर्मा,प्रेस सेन्टर नेपालका सचिव भीमबहादुर विक,देशभक्त पत्रकार संघका संयोजक तेजेन्द्रकुमार प्रसाईं र अखिल नेपाल पत्रकार युनियनका संयोजक यज्ञ दंगालले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अन्तरगत नेपाललाई प्रदान गरिने अनुदान सहयोग अमेरिकी सरकारको इण्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत रहेको र नेपालमा आफ्नो सैनिक अखडा राखेर चीनलाई घेर्ने रणनीति रहेको स्पष्ट भइसकेको बताएका छन् ।

उनीहरुले एमसीसी अन्तर्गतका परियोजना सञ्चालन गर्दा दक्षिणी छिमेकी भारतको समेत स्वीकृति लिनुपर्ने, सम्झौतासँग नेपालको संविधानलाई अधिनस्थ बनाउने, बौद्धिक सम्पत्तिमाथि एमसीसीकै अधिकार रहने, लेखा परीक्षणको अधिकार समेत नेपाललाई नहुने, परियोजनालाई आवश्यक सामग्रीहरु अमेरिकाबाट नै खरिद गर्नुपर्ने, असुरक्षित महसुस भएमा एमसीसीले एकतर्फीरुपमा सम्झौता भङ्ग गर्नसक्ने लगायतका कैयौँ प्रावधानहरु राष्ट्रघाती भएको बताएका छन् ।

‘यसर्थ, नेपालको राष्ट्रिय हितविपरीतको यो सम्झौता खारेजीका लागि हामी जोडदार रुपमा माग गर्दछौं । साथै एमसीसीका पदाधिकारीको हुन लागेको भ्रमण र आसन्न संसदको अधिवेशनबाट एमसीसी पास गर्ने गरि भइरहेका समग्र गतिविधिको हामी घोर विरोध गर्दछौं । र, एमसीसी सम्झौता संसदमा टेवल नगर्न र एमसीसीको पक्षमा मत नदिन हामी प्रतिनिधि सभाका सभामुख र सांसदहरुलाई विशेष आग्रह गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा सम्झौता स्वीकार गर्नु नेपालका लागि आत्मघाती कदम हुने भन्दै आफ्नो मृत्युपत्रमा आफैले हस्ताक्षर गर्नुसरह हुने भएकाले सम्पुर्ण देशभक्त नेपालीहरुलाई एमसीसी सम्झौता खारेजीका लागि आन्दोलित हुन आव्हान समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप