बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : वामदेव फर्किँदा माधवलाई अल्टिमेटम (भिडियोसहित)

शुक्रबार, १८ असार २०७८, १९ : ५१
शुक्रबार, १८ असार २०७८

आज २०७८ असार १८ गते शुक्रबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकानील ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा २०७५ जेठ ३ कै अवस्थामा एमाले केन्द्रीय समिति बैठक, राष्ट्रपतिकहाँ बुझाएको हस्ताक्षर फिर्ता लिन खनाल–माधव पक्षलाई सोमबार साँझ पाँच बजेसम्मको समय; लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीद्वारा राजीनामा, आफूलाई झुक्याएर सरकारमा समावेश गरेको आरोप; प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस सकियो, आइतबार सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने लगायतका छन् ।

१. एमाले केन्द्रीय समिति बैठक : वामदेव फर्किए, माधवलाई दबाब 

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ २ कै अवस्थामा पार्टीको केन्द्रीय समिति बैठक आयोजना गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको बैठकले खनाल–नेपाल पक्षलाई राष्ट्रपति समक्ष बुझाएको हस्ताक्षर फिर्ता लिनका लागि सोमबार साँझ पाँच बजेसम्मको समय दिएको छ । बैठकमा अध्यक्ष ओलीले माधवकुमार नेपाललाई आफूले बिहीबार साँझ फोन गरेको तर नेपालले कुरा गर्नै नमानेको जानकारी दिए ।


२. लुम्बिनी प्रदेशकी  राज्यमन्त्री सुमन शर्मा रायमाझीद्वारा राजीनामा

लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । उनले आफूलाई झुक्याएर सरकारमा समावेश गरेको आरोपसमेत लगाएकी छन् । जनता समाजवादी पार्टीका सांसदका रुपमा प्रदेश सरकारमा सहभागी भएकी उनले आफ्नो पार्टीले प्रदेश सरकारलाई समर्थन नगरेका कारण पार्टीको समर्थन र सहयोग विना प्रदेश सरकारमा रही निरन्तरता दिन नसक्ने भन्दै राजीनामा दिएको उल्लेख गरेकी छन् ।

३. प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस सकियो

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा शुक्रबार प्रधानमन्त्रीका तर्फबाट कानुन व्यवसायीको बहस सकिएको छ । शुक्रबार संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट ११ जना कानुन व्यवसायीले बहस गरेका छन् । आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस हुनेछ । सभामुखका तर्फबाट बहस गर्ने कानुन व्यवसायीका लागि इजलासले दुई घण्टा समय तोकेको छ ।​


४. पाँच विद्यार्थी संगठनले सरकारविरुद्धको आन्दोलन जारी राख्ने

विभिन्न राजनीतिक दलसम्बद्ध पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निर्णय गरेका छन् । शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले तीनदिने विरोध कार्यक्रम घोषणा गरेको छ । जसअनुसार असार १९ गते शनिबार ७७ जिल्लामा मसाल जुलुस प्रदर्शन गर्ने, २० गते विद्यार्थी आन्दोलनका पूर्व अध्यक्षहरूसँग अन्तरक्रिया गर्ने, २१ गते संविधान रक्षाका लागि काठमाडौंको माइतीघर मण्डल र उपत्यकाबाहिर पनि प्रदर्शन गर्ने उनीहरुले प्रेस नोटमार्फत जानकारी दिएका छन् ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले आन्दोलन घोषणा गरेका हुन् ।​


५. पार्टी एकताको जिम्मा आफूलाई दिन ओली समक्ष वामदेवको प्रस्ताव

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफूलाई पार्टी एकताको जिम्मा दिन पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्ताव गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका गौतमले आफू पार्टीमा फर्किसकेको र अब कतै नलागेर पार्टी एकताका लागि पहल गर्नुपर्नेमा जोड दिए । बृहत् कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एकै ठाउँमा ल्याउनुपर्ने उनको भनाइ छ ।


६. बाढीपहिरो र डुबानमा परी हालसम्म ३४ जनाको मृत्यु, २४ जना बेपत्ता

जेठ ३० गते यता देशभर बाढी पहिरो र डुबानमा परी हालसम्म ३४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । विभिन्न जिल्लामा बाढी, पहिरो तथा डुबानमा परी १९ पुरुष, ९ महिला तथा ६ बालबालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी तनहुँमा छन् । तनहुँमा १० जनाको मृत्यु भएको हो ।

 बिपी स्वास्थ्य प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त नगरे सत्याग्रह : डा.गोविन्द केसी

स्वास्थ्य शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले बिपी स्वास्थ्य प्रतिष्ठानका चार पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उनले प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशकलाई बर्खास्त नगरे सत्याग्रहमा उत्रिने चेतावनीसमेत दिएका छन् । प्रतिष्ठानलाई डुबाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रुपमा सम्बन्धन दिन निरन्तर नाजायज दबाब दिइरहेको उनको भनाइ छ ।

८. निर्वाचनका लागि ७ अर्ब ७२ करोड निकासाको तयारी

अर्थ मन्त्रालयले प्रतिनिधिसभा निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासाको तयारी गरेको छ । शुक्रबार मन्त्रालयले आयोगलाई उक्त परिमाणमा खर्चका लागि सहमति प्रदान गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन विचाराधीन रहेकै अवस्थामा सरकारले खर्चको अख्तियारीसहित बजेटको व्यवस्था गरेको हो ।

९. र, यो पनि

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि अब ७ घण्टाको सुनुवाई बाँकी छ । ७ घण्टाको सुनुवाईपछि इजलासले फैसला तयार पार्नेछ ।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले विभिन्न सात प्रस्ताव पारित गरेको छ ।


क्यानाडा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग गरी डेढ करोडभन्दा बढी रकम लिएर ठगी गर्दै आएका २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अभिनेत्री सुपुष्पा भट्ट र निर्माता रौनक विक्रम कँडेलले शुक्रबार आपसमा विवाह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप