मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

माधव पक्षलाई सोमबारसम्म हस्ताक्षर फिर्ता लिन आह्वान

शुक्रबार, १८ असार २०७८, २० : ००
शुक्रबार, १८ असार २०७८

नेकपा एमालेले माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ पाँच बजेसम्म राष्ट्रपतिकहाँ बुझाएको हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ । आज बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । माधव नेपाल पक्षका सांसदहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भन्दै हस्ताक्षर बुझाएका छन् ।

उनले बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्बद्ध पक्षहरूलाई जानकारी गराउने निर्णय गरेको पनि बताए । उनले भने – ‘आजको बैठकले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनुभएको वर्तमान सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपति समक्ष पुग्नु र त्यसमध्ये केही साथीहरू मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, राष्ट्र र जनताको चाहाना, हित केही सँग पनि मेल खाने विषय होइन । त्यो हस्ताक्षरलाई आउने सोमबार साँझ ५ बजेसम्म फिर्ता लिएर आन्दोलनको एकतामा योगदान गर्नका निम्ति हामीले आव्हान गरेका छौँ । र त्यस्तो अनधिकृत हस्ताक्षर बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेका हस्ताक्षरको कुनै मान्यता हुन नसक्ने, अर्थ, वैधता हुन नसक्ने पनि सम्बद्ध सबैमा जानकारी गराउने निर्णय गरेका छौँ ।’

बैठकले पार्टी एकतालाई सुदृढ पार्नका लागि नेता कार्यकर्तालाई आव्हान गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान दिन नेता, कार्यकर्तामा आव्हान गरिएको छ । प्रवक्ता ज्ञवालीले भने – ‘यो पार्टीको एकतामा यो मुलुकको लोकतन्त्र, कम्युनिस्ट आन्दोलन र राष्ट्रको भविष्य पनि धेरै हदसम्म जोडिएको हुनाले  यो पार्टीको एकतालाई सुदृढ गर्न हामीले पुनः एकचोटी सबै नेता, कार्यकर्ताहरूलाई आव्हान गरेका छौँ । अहिले पार्टीभित्र देखा परेका केही समस्याहरूका कारणले देशभर जनतामा निराशा छ र विपक्षीहरूमा उत्साह छ । सबै नेता, कार्यकर्ताहरूलाई हाम्रो पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभारालाई जनचाहाना, कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान गर्न आव्हान गरेका छौँ ।’

त्यस्तै, आजको बैठकले कोरोनाभाइरसविरुद्धको खोप अविलम्ब उपलब्ध गराउन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको छ । बैठकले पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य उपचारको जिम्मा लिएकोमा पार्टी अध्यक्षलाई धन्यवाद पनि दिएको छ । अब बैठक भोलि ३ बजे पुनः बस्ने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप