शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई सुझाव : शक्तिकेन्द्रबाट जोगिनु, निधिलाई मिलाउनु

वागमती र गण्डकीका नेताको दाबी : चुनाव जितिन्छ
आइतबार, ०६ असार २०७८, १६ : ५९
आइतबार, ०६ असार २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गण्डकी र बागमती प्रदेशका नेताहरुले शक्तिकेन्द्रबाट सतर्क रहन सुझाव दिएका छन् । साथै, आगामी महाधिवेशनमा जित सुनिश्चित गर्न विमलेन्द्र निधिलाई सहमतिमा ल्याउन नेताहरुले देउवालाई सुझाएका छन् ।  

काँग्रेस सभापति देउवाले बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग आइतबार बूढानीलकण्ठमा आन्तरिक छलफल गरेका थिए । १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिन लागेका देउवाले आफू निकट दुई दर्जन केन्द्रीय सदस्यसँग छलफल गरेका हुन् ।

आगामी भदौ १६–१९ मा हुने महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने रणनीतिका साथ देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका छन् । यसक्रममा उनले शनिबार प्रदेश १ र २ का नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका थिए ।

प्रदेशका केन्द्रीय नेताहरुसँग छलफल थालेको दोस्रो दिन आइतबार देउवाले बागमती र गण्डकीका नेताहरुसँग छलफल गरे । आइतबारको छलफलमा बागमती प्रदेशबाट सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य डिना उपाध्याय, बहादुरसिंह लामा, श्याम घिमिरे, मोहनबहादुर बस्नेत, अम्बिका बस्नेत, शिव हुमागाईं, विश्वविक्रम थापा, किरण गिरीलगायत सहभागी थिए ।

यस्तै, गण्डकी प्रदेशबाट चीनकाजी श्रेष्ठ, शंकर भण्डारी, सुरेन्द्र पाण्डे, भूमिबहादुर (विश्व) गुरुङ, ध्रुव वाग्ले, दयाराम पाण्डेलगायत सहभागी थिए ।

देउवाले समर्थन गरे सभापतिमा उठ्ने आकांक्षा देखाउँदै आएका नेता गोपालमान श्रेष्ठ भने छलफलमा गएनन् । यस्तै,  कोरोना संक्रमति गोविन्द भट्टराई र कुमार खड्का पोखरामा रहेका छलफलमा सहभागी हुन सकेनन् ।

आइतबारको छलफलमा देउवा वर्तमान राजनीति परिस्थिति, ०७४ सालको निर्वाचनको विश्लेषण, आगामी चुनावमा पार्टीलाई बहुमत दिलाएर विश्राम लिने बताएका थिए । उनले पार्टीको विधानअनुसार दुई कार्यकाल सभापति हुन पाउने प्रावधान रहेकाले अब एक कार्यकाल दोहोर्याउने प्रस्ताव राखेका थिए ।

केन्द्रीय सदस्य मोहन बस्नेतका अनुसार वर्तमान परिस्थितिमा देउवा नै सभापतिको उम्मेदवार उपयुक्त हुने बैठकमा सहभागी सबै केन्द्रीय सदस्यको तर्क थियो । बस्नेतले रातोपाटीसँग भने, ‘वर्तमान परिस्थितिमा देउवा नै सभापतिको उम्मेदवार उपयुक्त हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्न सुझाव दिएका छौं ।’

देउवाको लचकता र सम्झौतामा आउन सक्ने व्यक्तित्व संविधान र मुलुकको अस्तित्व जगेर्ना गर्न आवश्यक रहेको केन्द्रीय सदस्य श्याम घिमिरेले बताए । उनले भने, ‘टावरिङ र कम्प्रोमाइजिङ पर्सनालिटी भएको नेताको आवश्यकता छ ।  त्यो आवश्यकता पूर्ति गर्ने नेपाली काँग्रेसभित्र शेरबहादुर देउवा नै हो । पार्टी, मुलुक, प्रजातन्त्र संविधान जोगाउने दायित्व छ । सबै पार्टीलाई मिलाएर जानु छ । यसका लागि उहाँ नै योग्य उम्मेदवार हो भन्ने कुरा भयो ।’

तर, विभिन्न शक्तिकेन्द्र आफू विरुद्धमा केन्द्रित कुरालाई खालमा राखी चुनावमा जान सुझाव दिएको उनले बताए । घिमिरेले अगाडि भने, ‘पार्टीमा सबैभन्दा बलियो देउवा नै हो । व्यक्तिगत रुपमा उहाँजत्तिको बलियो उम्मेदवार कोही छैन । विभिन्न शक्ति केन्द्र उहाँविरुद्ध केन्द्रित हुन सक्छन्, ख्याल गरेर चुनावमा जानुभयो भने परिस्थिति राम्रै रहन्छ ।’

यस्तै केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले पनि सहमति र सहकार्य गरेर जान सक्ने भएकाले देउवा नै सभापति बन्न उपयुक्त हुने निष्कर्ष आजको छलफलले निकालेको बताए । ‘उहाँको प्रस्तावमा हामी एक मतका साथ सहयोग गर्छौं भनेर सबैजनाले भन्यौं’ श्रेष्ठ भन्छन्, ‘सहमति र सहकार्य गरेर जान सक्ने पात्रका भएकाले उहाँ नै अगाडि बढ्नु उपयुक्त हुन्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

यस्तै, राप्रपाबाट सुनिलबहादुर थापासँगै काँग्रेस प्रवेश गरेका किरण गिरीले पनि सभापतिमा देउवालाई पूर्ण समर्थन र सहयोग रहने बताए । उनले भने, ‘सबैलाई समेटेर समन्वयात्मक ढंगले अगाडि लैजानुपर्छ । अहिले पार्टीभित्र देखापरेको गुट–उपगुटहरुलाई उचित व्यवस्थापन र सम्बोधन गर्दै जानुपर्नेछ । नेतृत्वमा देउवाप्रति पूर्ण समर्थन र साथ सहयोग रहन्छ ।’

शनिबार प्रदेश १ का केन्द्रीय सदस्यसँगको छलफलमा १३ औं महाधिवेशनपछि काँग्रेसमा जोडिएका विजयकुमार गच्छदारले पनि देउवालाई साथ दिने बताएका थिए ।

विमलेन्द्र निधिको विषयमा चर्चा

बैठकमा उपसभापति विमलेन्द्र निधिको दाबेदारीका विषयमा पनि कुरा उठेको थियो । निधिले शनिबार प्रदेश २ का नेतासँगको छलफलमा आफूलाई समर्थन गर्न देउवालाई आग्रह गरेका थिए । तर, १५ औं महाधिवेशनमा मात्र छोड्न नसक्ने देउवाको जवाफ थियो । निधिले पनि आफू सभापतिमा लड्न अडानबाट टसमस नहुने संकेत देखाएका थिए ।

आइतबार बागमती र गण्डकीका नेताहरुले निधिलाई सँगै लिएर जानुपर्नेमा जोड दिएका छन् । निधिलाई पार्टी सभापतिबाहेकको महत्वपूर्ण जिम्मेवारी दिने वा आगामी महाधिवेशनबारे कुनै सहमति गरेर जान देउवालाई उनीहरुको सुझाव थियो ।

निधिलाई  यथार्थ स्थितिबारे संस्थापन पक्षका सबै केन्द्रीय सदस्यले आफ्नो कुरा भन्नुपर्ने बताएको बस्नेतले बताए । उनले भने, ‘उहाँ (निधि)लाई पार्टी सभापतिबाहेकको महत्वपूर्ण जिम्मेवारी दिने र आगामी अधिवेशनबारे पनि केही सहमति गरेर जाने कुरा छ भने गरेर जाँदा उपयुक्त हुन्छ । अहिलेका लागि उम्मेदवार तपाईं (देउवा) हो । तपाईंलाई समर्थन गर्छौं भन्यौं ।’

यस्तै नेता श्रेष्ठले पनि निधिलाई सँगै लिएर जाने कुरा भएको बताए । ‘निधिजी पनि हाम्रै समूहको मान्छे । उहाँ उठेपछि त्यसले नकारात्मक असर पर्छ । उहाँलाई पनि सँगै लिएर जानुपर्छ भन्ने कुरा भयो  । उहाँलाई मनाउन प्रयास गर्नुपर्छ भन्ने कुरा साथीहरुले राख्नुभएको छ,’ उनी भन्छन् ।

१३ औं महाधिवेशनमा आफ्नो समूहमा सर्वसम्मत रुपमा सभापतिको प्रतिस्पर्धामा उत्रिएका देउवालाई १४ औं मा निधिले चुनौती दिन खोजेका छन् । संस्थापन इतर पक्षमा आधा दर्जन नेताले सभापतिमा दाबी गरेकाले निधिको दाबेदारीलाई देउवाले धेरै चुनौती ठानेको पाइँदैन । शनिबारको सवाल–जवाफमा पनि देउवाले सभापतिमा उठ्ने सबैको अधिकार भएको भन्दै निधिलाई पनि लड्न भनेका थिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप