शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक तस्विर, चार सन्देश !

शुक्रबार, ११ असार २०७८, १६ : ३३
शुक्रबार, ११ असार २०७८

काठमाडौं । नेपाली काँग्रेसको उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आसन्न महाधिवेशनमा एक ठाउँमा उभिने संकेत देखाएका छन् । शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा भएको छलफलपछि सभापतिका दाबेदार नेतात्रयबीच आफू एक ठाउँमा उभिने प्रयत्न गरिरहेको बताए ।

गत सोमबार निधि निवास बानेश्वरमा छलफल गरेका नेतात्रयबीच शुक्रबार दोस्रो चरणको छलफलपछि  सार्वजनिक रुपमा एक ठाउँमा उभिने सम्भावना बढेको बताएका हुन् । उनीहरुबीच शक्ति सन्तुलन भने कसरी हुन्छ प्रष्ट भएको छैन । यद्यपि निधि सभापति, सिंह प्रधानमन्त्री र कोइरालालाई १५ औँ महाधिवेशन सभापतिमा ल्याउने गरी उनीहरुबीच छलफल भइरहेको चर्चा छ ।

निधिले सभापति शेरबहादुर देउवासँग छलफलमा पनि तत्काल प्रधानमन्त्री हुन आफूलाई हतार नभएको भन्दै सभापतिमा समर्थन गर्न आग्रह गरेका थिए । तर देउवा आफै सभापतिमा दोहोरिन कसिएपनि निधिले नयाँ समीकरण बनाउन शशांक र प्रकाशमान छलफल अगाडि बढाएको देखिन्छ ।

पार्टी एकताबद्ध बनाउन एक ठाउँमा

महामन्त्री शशांक कोइरालाले आफूहरुका बीच नयाँ समीकरण निर्माणको सहमति हुने सम्भावना प्रवल रहेको बताए । बैठकपछि उनले भने, ‘हामीबीचको छलफलको मुख्य दुई एजेण्डा छ । राष्ट्रिय राजनीति र पार्टीको १४ औँ महाधिवेशनका विषयमा छलफल गरौँ । नयाँ समीकरण निर्माणका लागि हाम्रोबीचमा सहमति हुने सम्भावना प्रवल हुँदै गएको छ ।’

पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि तीन नेता एक ठाउँमा उभिएको उनको भनाइ छ । ‘पार्टीलाई एक जुट बनाएर हामी अगाडि जाने चाहन्छौं । अधिवेशनमा हामी तीन जना एकै ठाउँमा छौँ । सभापति र महामन्त्री को  हुने भनेर हामी निर्णय गछौँ । हामी तीन जना एकै टीममा रहेन एकदमै सम्भावना छ,’ उनी भन्छन् ।

यस्तै उपसभापति निधिले पनि एकै स्वरका साथ सभापतिको उम्मेदवार अगाडि सार्ने जिकिर गरे । उनले भने, ‘सभापतिको उम्मेदवार एक भ्वाइसका साथ आउँछ ।’

निधिका अनुसार देश र पार्टीका लागि आवश्यक नीति र एजेण्डामा सहमति भए पदाधिकारीमा पनि सहमति हुन गाह्रो छैन । उनले भने, ‘आसन्न महाधिवेशनमा एउटै टीम बनाउने हाम्रो चाहना हो । नेपाली काँग्रेसलाई एकताबद्ध बनाउन हाम्रो कतव्र्य सम्पादन गर्न सजग भएका छौँ ।’

छलफलपछि पूर्व महामन्त्री सिंहले पनि छलफल सकारात्मक दिशामा अगाडि बढेको बताए । उनले भने, ‘समय आएपछि नेतृत्वको विषयमा पनि टुंगो लाग्छ । एक/दुई सिटिङमा सबै कुरा हुँदैन । हाम्रो छलफल सकारात्मक दिशातिर गइरहेको छ ।’

१४ औं महाधिवेशनलाई स्वस्थ, निष्पक्ष गराउन र सबैलाई समेटेर लैजाने विषमा आफूहरूबीच छलफल भइरहेको बताए ।  ‘छलफललाई निरन्तरता दिएर अरु साथीहरुलाई सहभागी गराउने कुरामा हामी सोच्दै छौं । हामी सबैलाई समेटेर लैजाने प्रयासमा छौं,’ सिंह भन्छन् ।

नेतात्रयको प्रयासमा कार्यकर्ता खुसी

निधि निवासको छलफलपछि जिल्ला–जिल्लाबाट फोन गरेर नेता कार्यकर्ताले आफूहरुको पहलमा साथ दिने तयार गरेको बताइरहेको सिंहको भनाइ छ ।

‘तपाईंहरुले यसमा गम्भीर भएर लागेर पार्टीका संस्थापक नेता (बिपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधि)ले पार्टीलाई पुर्याएको ठाउँमा पुर्याउनुस् भन्ने धेरैको चाहना छ । तपाईंको प्रयासमा हाम्रो साथ समर्थन रहन्छ,’ सिंहले कार्यकर्ताको भनाइ उद्दृधत गर्दै सुनाए ।

यस्तै निधिले पनि आफूहरुको प्रयासबाट पार्टीका कार्यकर्ता खुसी भएको बताए । ‘हाम्रो पहलबाट सबै खुसी छन् । जिल्ला जिल्लाबाट तपाईहरु मिलेर पार्टीलाई नेतृत्व गर्नु पर्यो । एकताबद्ध भएर नेपाली काँग्रेस आउने कुरामा तपाईंले अग्रसरता लिनुभयो भन्ने उहाँको फिलिङ्स छ,’ निधि भन्छन् ।

यी कुराहरुलाई हार्दिकता र गम्भीरता पूर्वक लिएको र काँग्रेसका आम कार्यकर्ता र लोकतन्त्रवादी एक्सप्रेशन छलफलको मुख्य आधार बनाएको निधिको भनाइ छ । उनले भने, ‘सबै सन्तुष्ट हुने किसिमले हामी अगाडि बढ्छौँ । सबैले काँग्रेस एकताबद्ध भएर आओस् भन्ने चाहेको छ । हाम्रो चहना र मुख्य ध्येय त्यही हो । त्यसैका लागि साझा धारणा कसरी बनाउने भनेर छलफल भइरहेको छ ।’

नयाँ गुट र परिवारवाद

आफूहरुबीचको छलफल पार्टीमा नयाँ गुट बनाउन नभइ पार्टीलाई एक बनाउन भइरहेका निधिको भनाइ छ । नेतात्रय पार्टीमा नयाँ गुट जन्माउन खोजेको अभ्यासरत रहेको भनिएका बेला निधिले त्यसलाई अस्वीकार गरे । उनले भने, ‘अलग अलग गुटका मान्छे एक ठाउँमा आएको गुट तोड्नका लागि हो । नयाँ गुट बनाउनका लागि होइन ।’

यस्तै नेता सिंहले आफूहरुको छलफललाई परिवारवादको रुपमा व्याख्या गर्न नमिल्ने पनि बताए । ‘हामी आफैं सक्रिय राजनीति गरेर चुनाव लडेर आएका हौं । कसरी परिवारवाद भन्न मिल्छ ?,’ उनी भन्छन्, ‘अरु अरुलाई भन्दा सुहाउँछ । हाम्रो पृष्ठभूमिबाटै थाहा हुन्छ । हामी लिगेसीबाट आएको भन्ने कुरा होइन  ।’

साझा धारणाको खोजी

नेपाली काँग्रेसको १४ औं महाधिवेशन, आगामी निर्वाचन, सर्वोच्चमा न्यायिक सुनुवाइ प्रक्रियामा रहेको प्रतिनिधिसभा विघटन मुद्दाबारे साझा धारणा बनाउन छलफल भएको निधिको भनाइ छ ।

शेरबहादुर देउवाले सरकार बनाउन बहुमत सदस्य हस्ताक्षर दिँदा पनि राष्ट्रपतिले अस्वीकार गरी संसद विघटन गरेपछि सर्वोच्चमा मुद्दा छ । सरकारले आगामी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छ ।

यस्तै काँग्रेसले आगामी भदौ १६–१९ का लागि महाधिवेशनको मिति निर्धारण गरेको भएपनि क्रियाशील सदस्यताकै विवाद टुंगिन सकेको छैन ।

निधिले भने, ‘यी विषयमा हाम्रो साझा धारणा बनोस् । हामी तीनै जनाले नेपाली काँग्रेस र देशमा लागि कसरी राम्रो गर्न सक्छौं भन्ने विषयमा छलफल भइरहेको छ ।’

निधिले अब आफूहरुले पार्टीका सबै नेताहरुसँग छलफल गर्ने बताए । ‘१३ औं महाधिवेशनमा उम्मेदवार बनेका शेरबहादुर देउवाजी, रामचन्द्र पौडेलजी र कृष्णप्रसाद सिटौलाजीसँग पनि हामी छलफल गर्छौं,’ निधि भन्छन्, ‘नेपाली काँग्रेस केन्द्रीय समितिका भएका साथीहरुसँग पनि हाम्रो छलफल हुन्छ । हामी राष्ट्रिय र पार्टी राजनीतिमा साझा धारणा बनाउन लागि परेका छौँ ।’

जनता र अन्तर्राष्ट्रिय जगत सबैले एकताबद्ध काँग्रेस खोजेको निधिले बताए । ‘नेपालको संविधान डिरेल भएको छ । राज्यका सबै अंगमाथि प्रहार भएको छ । त्यो कसरी लिकमा आउँछ भन्ने नै हाम्रो चिन्ता हो । त्यसका लागि नेपाली काँग्रेस एकताबद्ध  हुन आजको आवश्यकता हो । त्यो हामी तीनै जनाले बोध गरेका छौं,’ निधि भन्छन् ।

यस्तै नेता सिंहले काँग्रेस, राष्ट्र र लोकतन्त्रको हितमा कसरी हामी अगाडि बढ्दा राम्रो हुन्छ भन्ने कुरामा फोकस गरेर छलफल भइहेको बताए । त्यसका लागि पार्टीका एकता र साझा धारणाको खाचो रहेको उनको पनि भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप