शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठ बैठकको भित्री कथा : काँग्रेस खुल्यो, जसपाले हलो अड्कायो

शुक्रबार, २७ चैत २०७७, १८ : ३०
शुक्रबार, २७ चैत २०७७

केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर वैकल्पिक सरकार गठन गर्न नेपाली काँग्रेस अघि सरेको छ । नयाँ सरकार गठनको पहल स्वरुप शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)सँगको छलफलमा काँग्रेसले वैकल्पिक सरकार गठनको विकल्प नभएको भन्दै तीन दल मिलेर अघि बढ्न आग्रह गरेको हो । 

 


काँग्रेस सभापति देउवा ओली सरकारप्रति नरम रुपमा प्रस्तुत हुने गरेको आरोप पार्टीभित्र र बाहिरबाट लाग्दै आएकोमा पछिल्लो समय उनको सक्रियता र अभिव्यक्ति ठीक विपरित देखिएको छ । यस्तै आजको छलफलले वैकल्पिक सरकार निर्माणको पहलले गति लिएको बुझिएको छ । जसपा सहमतिमा आए यो पहलले सार्थकता पाउने देखिएको छ भने जसपामाथि निर्णय लिन दवाव समेत बढेको छ । 

शुक्रबार मात्रै पार्टी निकट निजामति कर्मचारी युनियन संघको कार्यक्रममा देउवाले ओली सरकारको विकल्प खोज्नुपर्ने भन्दै कडा अभिव्यक्ति दिएका थिए । सभापति देउवाले २०७४ को निर्वाचनपछि आफूले प्रचण्डलाई प्रधानमन्त्री बन्न गरेको आग्रह नमान्दा अहिले उनलाई ओलीले लात हानेको बताएका थिए । ‘मैले प्रचण्डलाई तपाई नै प्रधानमन्त्री बन्नु भनेको हो तर उनी उता गइदिए । तपाईं नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पाए प्रचण्डले अहिले आएर’, उनको भनाइ थियो । 

 


‘धेरै पटक प्राइमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई ? तपाईहरुलाई थाहा छ नि । खुट्टै नटेक्ने मान्छे ।  ओलीले लात हानेपछि ठिक्क भएको छ । अहिले म आफू प्राइमिनिस्टर हुन चाहेको पनि छैन । जो सुकै होस्’, सभापति देउवाको थप भनाइ थियो । आजको बूढानीलकण्ठ बैठकको सुरुमै देउवाले पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै वैकल्पिक सरकार बनाउनेबारे पहल गर्न र काँग्रेसलाई माओवादी र जसपालाई आग्रह गरेका थिए । देउवाले पार्टीले काँग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि आफू अरुको नेतृत्वमा सरकार बन्छ भने त्यसमा पनि तयार रहेको धारणा राखेका थिए । 

 


तर सो  छलफलमा जसपाले भने स्पष्ट कुरा नगरेको नेताहरुको भनाइ छ । ‘नयाँ सरकार गठनबारे नखुलेको काँग्रेस अब ओली सरकारलाई हटाउनै पर्ने पक्षमा प्रष्ट भएको छ, तर जसपाको आजको बैठकमा प्रष्ट कुरा आएन’ बैठकपछि एक नेताले भने, ‘जसपाको ग्रीन सिग्नल आएमा ओली सरकारको विकल्प तत्काल हुने देखिन्छ, अहिले हलो अड्काउने काम जसपाबाट भएको छ । 

 


ती नेताका अनुसार काँग्रेसले नयाँ सरकार गठनका लागि सघाउन माओवादी र जसपासँग खुला प्रस्ताव राख्दा जसपाले निर्णय गर्न केही दिनको समय माग गरेको थियो । तर, बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने देउवाको कुरालाई सकारात्मक रहेको भन्दै आफू सहकार्य गर्न तयार रहेको बताएका थिए ।

प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको समेत स्पष्ट पारेका थए । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा सकारात्मक छलफल भएको जसपाको पार्टी बैठक बसेपछि पुन ३ दलको बैठक बस्ने सहमति भएको जानकारी दिए । जसपाको एउटा समूह ओलसँगै सहकार्य गरेर जाने पक्षमा देखिएकाले अब उसमाथि कता लाग्ने भनेर कित्ता स्पष्ट पार्न दवाव परेको छ । 

 



करिब ४५ मिनेट चलेको बैठकपछि जसपा नेता महन्थ ठाकुरले सरकार बदल्ने औपचारिक प्रस्ताव बैठकमा आएको र यस विषयमा पार्टीमा छलफल गरेर निर्णय गर्ने बताए । उनले भने, ‘पहिलो पटक सरकार बनाउने औपचारिक प्रस्ताव आएको छ हामीले यस विषयमा कुनै छलफल गरेका छैनौं । हामीले छलफल गर्न बाँकी नै छ ।  हामी छलफल गरेर चाँडै यसबारेमा निर्णय लिन्छौं भन्ने कुरा राख्यौं ।’

बैठकमा काँग्रेस र माओवादी केन्द्रका नेताहरुले जेलमा रहेका नेता कार्यकर्ताहरु रिहाइबारे हाल ओली नेतृत्वको सरकारसँग राखेको माग सम्बोधन गर्न आफूहरु पनि तयार रहेको बताएको ठाकुरको भनाइ छ । यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा जसपाले सभापति देउवाले गरेको प्रस्तावबारे निर्णय गर्न केही समय मागेको सञ्चारकर्मीलाई बताए । 

बैठकमा काँग्रेसबाट सभापति देउवासँगै नेताहरु रामचन्द्र पौडेल, शशांक कोइराला, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ प्रकाश, कृष्णबहादुर महरा, देव गुरुङ जसपाबाट महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव राजेन्द्र महतो, अशोक राई, राजेन्द्र श्रेष्ठ सहभागी रहेका थिए । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप