बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठमा वार्ता हुनुअघि के-के भयो ?

शुक्रबार, २७ चैत २०७७, ११ : ५२
शुक्रबार, २७ चैत २०७७

काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणका लागि आज (शुक्रबार) तीन दलबीच संवाद हुँदैछ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अपरान्ह ३ बजे काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)बीच छलफल हुँदैछ ।

पार्टीको निर्णयअनुसार सभापति देउवाले माओवादी र जसपासँग संयुक्त छलफल गर्न लागेका हुन् । गत शुक्रबारको केन्द्रीय कार्यसमितिले केपी ओलीको राजीनामा माग्ने र नयाँ सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएको थियो ।

योबीचमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा अध्यक्ष महन्थ ठाकुरसँग एक चरण कुराकानी गरेपनि तीन दलबीच छलफल हुन सकेको थिएन ।

काँग्रेसको निर्णयपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच टेलिफोन संवाद भने भएको थियो । प्रचण्डले काँग्रेसका निर्णयको स्वागत गर्दै देउवालाई धन्यवाद दिएर संवाद टुंगिएको थियो ।

यस्तै प्रचण्डले जसपा अध्यक्ष ठाकुरसँग पनि टेलिफोन संवाद भएको थियो । समयको व्यस्तता देखाउँदा प्रचण्ड र ठाकुरबीच भेटघाटको वातावरण भने योबीचमा बन्न नसकेको थिएन । जसकारण माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिरहेको छैन । ओली सरकारमा रहेका माओवादीबाट निर्वाचित सांसदमाथि कारबाहीको डण्डा बर्साएको माओवादीले समर्थन फिर्ता लिने सकेको छैन ।

 


 

पार्टीभित्रको दबाब र आन्तरिक गृहकार्यपछि आज काँग्रेसको अग्रसरतामा पहिलोपटक त्रिपक्षीय छलफल हुनु लागेको हो । पार्टी निर्णयपछि एकहप्ता मौन देखिएका देउवाले आज बेलाइएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनभने, काँग्रेस उपसभापति विमलेन्द्र निधि विहीबार मात्र केही दिनको भारत बसाइपछि नेपाल फर्किएका छन् ।

 


केपी ओलीको पहिलो सरकार ढाल्न अग्रपंक्तिमा देखिएका निधिको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ०७३ मा तत्कालीन एमाले–माओवादी गठबन्धन तोड्न गेम चेञ्जर भूमिका खेलेका थिए । तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–काँग्रेस सहकार्य सम्भव पारेपछि नेपाली राजनीतिका उनी गेम चेञ्जरका रुपमा देखिएका थिए ।

चरम अविश्वासको तहमा झरेको काँग्रेस–माओवादी सम्बन्धलाई अविश्वसनीय रूपमै सहकार्यमा लगेर नयाँ सत्ता गठबन्धन बनाउने प्रमुख खेलाडी विमलेन्द्र नै थिए । यो पटक केपी ओली सरकार ढाल्न त्यति सहज भने छैन । ओली इत्तर गठबन्धनको सरकार बनाउन काँग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ४९ (५३ मध्ये चारजना पदमुक्त) र जसपाका ३४ (दुई निलम्बित) सांसदको मत चाहिन्छ ।

संसदको यो अंकगणितले ‘किङमेकर’ बनेको जसपालाई आ–आफ्नो पक्षमा पार्न एमाले र काँग्रेस– माओवादी केन्द्रले तानातान गरिरहेका छन् ।

 


जसपा भने जुन गठबन्धनमा गए पनि निर्णायक हुने देखिएको छ । यही कारणले ओलीतिर मिले महन्थलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र काँग्रेस–माओवादीतिर मिले बाबुरामलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राजपा नेताहरुले राख्न थालेका छन् । तर काँग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णयपछि माओवादी र जसपासँग छलफलमा जुटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप