जसपामा अन्तरिक द्वन्द्व बढ्दै, बैठक प्रभावित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालमा आन्तरिक द्वन्द्व बढ्दै गएको छ । सत्ता साझेदारीका बारेमा पार्टीका नेताहरुबीच मतभेद देखिएको सो पार्टीमा लामो समयदेखि आन्तरिक बैठकसमेत प्रभावित हुँदै आएको छ ।
जसपा नेपालका नेताहरु एकीकरण अघिकै दलमा विभाजित रहेर आन्तरिक छलफल गरिरहेका छन् । पछिल्लो समय जसपा नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन भने राजनीतिक स्वार्थका आधारमा विभाजित हुँदै साविकको समाजवादी पार्टी र राजपा नेपालका नेताहरु छुट्टाछुट्टै छलफल र बैठकमा जुटेका छन् ।
जसपा नेपालले चैत ५ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएको थियो । तर अन्तिम समयमा आएर उक्त बैठक स्थगित गरिएको थियो । त्यही दिन बिहान बसेको पदाधिकारी बैठकमा सत्ता साझेदारीका विषयमा विवाद बढेपछि कार्यकारिणी समितिको बैठक स्थगित गरिएको हो ।
पछिल्लो समय जसपा नेपालभित्र सत्ता साझेदारीका लागि एमालेलाई रोज्ने वा काँग्रेस–माओवादी केन्द्रलाई भन्नेबारे मतभेद छ । महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु एमालेसँग सहकार्य गर्नका लागि इच्छुक देखिएका छन् भने उपेन्द्र यादव, डा. बाबुराम भट्टराई लगायतका नेताहरु काँग्रेस–माओवादीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् ।
सोही मतभेदका बीच जसपा नेपाल शुक्रबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आयोजना गर्ने तीन दलीय बैठकमा सामेल हुँदैछ । तर उक्त बैठकमा पार्टीका तर्फबाट कस्तो अडान राख्ने वा के–कस्ता प्रस्ताव गर्ने भन्नेबारे जसपा नेपालले आन्तरिक छलफलसमेत गरेको छैन ।
पार्टी निकट स्रोतका अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर रहेका कारण जसपा नेपालको बैठक बस्न नसकेको हो ।
पार्टीका कार्यकारिणी सदस्य रामसहाय यादव भन्छन्, ‘पार्टीका शीर्ष नेताहरु काठमाडौँभन्दा बाहिर बाहिर रहेको कारण बैठक बस्न नसकेको हो । नेताहरु काठमाडौँ फर्किदै हुनुहुन्छ, त्यसपछि सल्लाह गरेर बैठक बस्नेछ ।’
धनुषामा पार्टीको प्रशिक्षण कार्यक्रम चलेको र त्यसमा केही नेताहरु व्यस्त भएका कारण पार्टीको कार्यकारिणी समितिको बैठकमा केही विलम्ब भएको उनको भनाइ छ ।
सोही पार्टीका अर्का नेता डा.सुरेन्द्र झा पार्टीको बैठक बस्न आवश्यक देखिएको तर नेताहरु बाहिर रहेका कारणले ढिलो भएको बताउँछन् । पार्टीका समायोजनका काम पनि ठप्प रहेको भन्दै उनले त्यसका लागि बैठक बस्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
सेन्सर पास भएसँगै ‘सक्किगोनि टीम’को ‘लाज शरणम्’ बुधबार नै रिलिज हुने
-
कास्कीमा भरुवा बन्दुकसहित एक जना पक्राउ
-
माधव नेपाल र आरती लामाबिच बैठकमा भएको के हो ?
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
अवैध सालको काठसहित दुई जना पक्राउ