बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ठाकुरले ओलीसँग गरेको त्यो बाचा...

सत्ता समीकरणको खेलमा जसपा नेपाल तटस्थ
शुक्रबार, २७ चैत २०७७, १४ : ३९
शुक्रबार, २७ चैत २०७७

काठमाडौँ । सत्ता समीकरणका लागि दलहरुबीच छलफल जारी छ । सत्ता गठबन्धन निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तहमा रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भने प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेको ‘भद्र सहमति’ कै कारण सरकार परिवर्तनको खेल पछिल्लो समय सेलाउँदै गएको छ ।

स्रोतका अनुसार जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीसँग नेकपा एमालेको विरुद्धमा नजाने सहमति गरेका छन् । उक्त सहमतिबारे जसपा नेपालका अन्य शीर्ष नेतासमेत बेखबर छन् ।

जसपा नेपालका अध्यक्ष ठाकुर भने त्यसलाई सहमति भन्न चाहँदैनन् । यद्यपि उनले ओली सरकारको पक्ष वा विपक्षमा भन्दा पनि कुनै पनि पक्षमा समर्थन नगर्ने विषयमा ओलीसँग आफ्नो समझदारी भएको बताएका छन् ।

रातोपाटीसँग अध्यक्ष ठाकुरले भने, ‘प्रधानमन्त्री ओलीले सुरुदेखि सरकार आउनुस् भन्नुहुन्थ्यो, हाम्रो माग पूरा नभएसम्म सरकारमा आउँदैनौ भनेर हामीले जवाफ दियौँ, त्यसपछि सरकारलाई बाहिरबाट समर्थन गर्नुस् भन्नुभयो, हामीले त्यो पनि हुँदैन भन्यौँ । अनि त्यसपछि मलाई समर्थन नगरे अरुलाई पनि समर्थन नगर्नुस्, तटस्थ बसिदिनुस् भन्नुभयो, हामीले कसैलाई समर्थन गर्दैनौं तटस्थ बस्छौँ भनेर उहाँलाई बचन दिएका छौं ।’

 


पछिल्लो समय अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीसँग नियमित छलफलमा छन् । जसपा नेपालले राखेको माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक भएपछि अध्यक्ष ठाकुरले नेकपा एमालेले नेतृत्व गरेको सरकारको विरोधमा जाने सहमति गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार अध्यक्ष ठाकुरसँग वार्ता गर्ने क्रममा प्रधानमन्त्री ओलीले तीनवटा प्रस्ताव गरेका थिए । ओलीको पहिलो प्रस्ताव जसपालाई सरकारमा आमन्त्रण थियो । उनले दोस्रो विकल्पका रुपमा सरकारमा सामेल नभए पनि बाहिरबाट एमाले सरकारलाई समर्थन गर्न ठाकुरसमक्ष प्रस्ताव गरेका थिए । यी दुवै विकल्प अमान्य भएको अवस्थामा ओलीले ठाकुरलाई अन्य कुनै दललाई समर्थन नगर्न प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार ठाकुरले तेस्रो विकल्प रोजेको स्रोत बताउँछ ।

 


प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा जसपा नेपालले ओलीको विरोधमा मत नदिने स्रोतको दावी छ । त्यसो त, अध्यक्ष ठाकुरले पनि प्रधानमन्त्री ओलीले आफूहरुको माग पूरा गर्ने प्रक्रिया सुरु गरिसकेको कारण आफूहरु अहिले सरकारको विरोधमा जान नसक्ने बताउँदै आएका छन् ।

जसपा नेपालका कार्यकारिणी सदस्य मनिष सुमन भने जसपा नेपालले ओलीलाई मात्र होइन, कुनै पनि पार्टीलाई विरोध नगर्ने नीति लिएको बताउँछन् । ओलीलाई मात्र होइन, जसपा नेपालले माओवादी र काँग्रेसलाई पनि विरोध नगरेको उनको भनाइ छ ।

 


प्रधानमन्त्री ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रक्रिया प्रधानमन्त्री ओलीले सुरु गरिसकेको बताउँदै उनले भने, ‘यो अवस्थामा सरकारको विरोध गर्न नैतिकताले पनि दिँदैन, त्यही भएर ओलीको विरोध नगर्ने भनेको होला ।’

तर यस बारेमा पार्टी तहबाट भने जसपा नेपालले कुनै निर्णय गरेको छैन । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने बताउँदै आएका छन् ।

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीलाई ‘प्रतिगमनकारी’ भन्दै आएका छन् । ओलीले संविधानलाई मिचेर संसद विघटनजस्ता कदम चालेका कारण कुनै पनि हालतमा समर्थन गर्न नसकिने उनको भनाइ छ ।

जसपा नेपालका अर्का अध्यक्ष ठाकुरले ओलीसँग ‘भद्र सहमति’ गरिसकेको र अर्का अध्यक्ष यादवले ओलीसँग कुनै पनि हालतमा सहकार्य हुन नसक्ने बताउँदै आएको अवस्थामा पार्टीभित्र विवाद पनि बढ्दै गएको छ । सत्ता सहयात्राबारे विवाद बढेकै कारण पार्टीको समायोजन लगायतका विषय अहिले जसपाभित्र ओझेलमा पर्न थालेको छ ।

जसपा नेपालका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले ओलीको सरकारलाई विरोध नगर्ने कुरा महन्थ ठाकुरको निजी विचार हुनसक्ने बताए । ‘यो पार्टीको आधिकारिक विचार होइन,’ उनले भने, ‘ओलीसँग कुनै पनि सहमति गर्नुभन्दा पहिले पार्टीमा छलफल हुनुपर्ने हो तर त्यस प्रकारको कुनै छलफल नभएको हुनाले महन्थ ठाकुरले ओलीसँग गरेको सहमति उहाँको व्यक्तिगत निर्णय हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले ‘प्रतिगामी’ कदम चाल्दा त्यसको विरोधमा जसपा नेपाल सडकमा आएको बताउँदै उनले भने, ‘त्यो प्रतिगमनकारी कदम सर्वोच्च अदालतले उल्टाइदिएको हो, ओलीले त्यसलाई स्वीकार गरेका छैनन्, आफूले ठिकै गरेको भन्दै आइरहेका हुनाले ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन भन्ने नै पार्टीको मान्यता हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप