केन्द्रीय संस्करण
राजनीति

गच्छदार समूहको महाधिवेशन स्ट्राटेजी : देउवालाई साथ, निधिलाई सुझाव

काँग्रेसमा कति छ गच्छदारको शक्ति ?

person explore access_timeभदौ ७, २०७७ chat_bubble_outline0

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न महाधिवेशन नजिकिँदा भावी नेतृत्वको विषयलाई लिएर संस्थापन र इतर पक्षबीचमा ध्रुवीकरण तीव्र बनिरहेको छ ।  १४ औँ महाधिवेशनपछि पनि आफ्नै नेतृत्वलाई निरन्तरता दिने रणनीतिक योजनाका साथ सभापति शेरबहादुर देउवा अघि बढेका छन् । तर संस्थापन पक्षबाटै देउवाई चुनौती दिन उपसभापति विमलेन्द्र निधि पनि अघि सरेको अवस्था छ । यता इतरपक्षमा पनि नेतृत्व हत्याउने चर्को होडबाजी छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालाको आकाङ्क्षा पनि चुलिइसकेको छ । यता १३औँ महाधिवेशनमा देउवा र पौडेलको विकल्पमा खडा भएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पार्टीमा बदलिन सक्ने सम्भावित समीकरणलाई नियालिरहेका छन् । 


यस्तै नेता अजुर्ननरसिंह केसी र डा. रामशरण महत योग्यता, क्षमता र योगदानको हिसाबले आफूहरु पनि सभापतिको स्वाभाविक उम्मेदवारको भएको रूपमा प्रस्तुत गरिरहेका छन् । काँग्रेसमा युवा नेताहरु पनि १४ औँ महाधिवेशनमा जबर्जस्त स्पेसको खोजीमा छन् । तर काँग्रेसमा यतिबेला संस्थापन पक्षमा देउवाको विकल्पमा निधि खडा हुन खोजेपछि हलचल मच्चिएको छ ।

देउवाले निधिलाई फकाउन विधानमा दुई कार्यकालभन्दा बढी सभापति बन्न नपाउने व्यवस्था सम्झाउँदै १५औँ महाधिवेशनमा सघाउने आश्वासन अघिसारेका छन् । तर देउवाबाट १३ औँ महाधिवेशनका बेला पनि यस्तै आश्वासन पाएका भन्दै यतिबेला कार्यान्वयन गर्नुपर्ने निधिको जोड छ ।

संस्थापन पक्षमा देखिएको वर्तमान परिदृश्यपछि ०७४ असोज २९ गते फोरम लोकतान्त्रिकलाई काँग्रेसमा विलय गराएका विजयकुमार गच्छदारको भूमिबारे काँग्रेसजनमा चासो बढेको छ । किनभने देउवाका लागि निधिपछि बलियो सारथिका रूपमा गच्छदारलाई हेरिन्छ । केन्द्रीय समिति र विभाग गठनमा देउवाले गच्छदारका मानिसलाई ठाउँ पनि दिएका छन् ।

यता गच्छदार राम्रो चुनावी रणनीतिकार मानिन्छन् । महाधिवेशन गच्छदार समूह प्रतिनिधिको उपस्थित देउवाका लागि महत्त्वपूर्ण हुनेछ । पार्टीभित्र हरेक मुद्दामा संस्थापन पक्षमा पनि उभिँदै आएका गच्छदारको आगामी रणनीति काँग्रेस कार्यकर्ताले निकालिहेका छन् ।

त्यसमा पनि संस्थापन पक्षमा देउवा र निधि टकरावकै अवस्थामा पुगे गच्छदारको उपस्थित अर्थपूर्ण रहनेमा दुई मत छैन । तर अवसरवादी चरित्रका गच्छदार कति बेला युटर्न हुन्छन् भन्न मुस्किल छ । पार्टी विभाजन हुँदा गच्छदारले देउवालाई सहयोग गरेका थिए । बीचमा छाडेर गए उनी फेरि काँग्रेसमा फर्किएका थिए । पछि काँग्रेस पनि छोडेर मधेस केन्द्रित राजनीतिमा होमिएका गच्छदारलाई पुनः देउवाले उपसभापति पद दिएर काँग्रेसमा भित्र्याएका थिए । 


गच्छदारको साथ निधिलाई कि देउवालाई ?

संस्थापन पक्षमा अहिलेसम्म गच्छदार समूहको पहिलो रोजाइमा देउवा देखिन्छन् । रामजनम चौधरीको अभिव्यक्तिमा त्यसको सङ्केत गर्छ । ‘पहिले शेरबहादुर दाइ र विमलेन्द्र निधिजीको गएको महाधिवेशनमा के के सहमति भएको हो हामीलाई थाहा छैन । अहिलेको अवस्थामा मिलेरै जाउ भन्ने हाम्रो सुझाव, भनाइ र अनुरोध पनि हो,’ उनले रातोपाटीसँग भने ।

उमेरका हिसाबले चौधौँ महाधिवेशनलाई आफ्ना लागि सबैभन्दा अनुकूल भएको निधिको तर्कप्रति रामजनमको विमति देखिन्छ ।  उनले भने, ‘शेरबहादुर दाइको टिममा विमलेन्द्रजीले जुन चासो राख्नुभएको छ  । उमेर साथ दिँदैन भन्ने कुरा गर्नुभएको छ । तर राजनीतिमा उमेर बाधक मैले देखेको छैन । कुनै पनि राजनीतिक दलमा ७० वा ८० वर्ष पुगेपछि राजनीति गर्न पाइँदैन भन्ने व्यवस्था गरिएको छैन ।’

अहिले ६५ वर्ष पुगेका निधि १५औँ महाधिवेशनमा ७० वर्षका हुनेछन् । तर उनले निधिदेखि गगन थापासम्मको आकाङ्क्षालाई राख्नु स्वाभाविक भनेका छन् । तर महाधिवेशनमा निधिले देउवासँग फेरि मिलेर जाँदा राम्रो हुने उनको भनाइ छ ।

‘त्यसका लागि हाम्रो तर्फबाट पनि शेरबहादुर दाइसँग मिलेर जाने कुरामा कोसिस रहन्छ । विजय दाइ पार्टी सभापतिमा उठ्ने कुरा छैन । त्यसैले हाम्रो भूमिका भनेको पुलको हुन्छ,’ गच्छदार समूहका रामजनमले भने, ‘यो बीचमा हामीले विमलेन्द्रजी र शेरबहादुरलाई सहयोग गरौँ । अहिलेको परिस्थितिलाई मध्यनजर गरी फेरि एक चोटि मिलेन्द्रजीले शेरबहादुर दाइसँग मिलेर जाँदा राम्रो हुन्छ भन्नेबारे हाम्रो धारणा र सुझाव छ ।’

यता गच्छदार समूहकै योगेन्द्र चौधरीले भने अन्तिम अवस्थामा देउवासँगको छलफलबाट महाधिवेशन रणनीति  तय हुने बताए । ‘विजय दाइले महासमिति बैठकमा ‘मेरो भूमिका पार्टीमा नेताहरुलाई जोड्ने हुन्छ’ भन्नु भएको थियो । महाधिवेशनमा पनि उहाँको त्यही भूमिका रहन्छ । यतिबेला पार्टी सभापतिसँग रहेर काम गरिराख्नु भएको छ । सभापतिलाई नै सघाइराख्नु भएको छ । अन्तिम अवस्थामा शेरबहादुर दाइसँगको छलफलबाट महाधिवेशनको कुरा तय होला ।’

गच्छदारले अहिलेसम्म यो लाइन वा त्यो लाइन भनेर आफ्नो समूहका कसैलाई निर्देशन नदिएको उनको भनाइ छ । योगेन्द्रले भने, ‘अहिले पार्टी सभापति बलियो बनाउनुपर्छ र पार्टी सभापतिलाई काम गर्ने माहोल बनाउनुपर्छ भन्नेमा विजय दाइ स्पष्ट हुनुहुन्छ । काँग्रेसलाई चलायमान बनाउने नेतालाई उहाँको समर्थन रहन्छ । कुनै नेता आम नेता कार्यकर्ताको चाहनाको विषय बन्यो भने विजय दाइ बाधक बन्नुहुन्न ।’

निधि र गच्छदार एउटै ठाउँमा उभिँदा काँग्रेसको राजनीति बलियो भन्ने र दुवै नेताको राजनीतिक भविष्य सुनिश्चित हुने उनको बुझाइ छ । 

यो कुरा दुवै नेताले राम्रोसँग बुझेको उनको भनाइ छ । तर भावी सभापतिका आन्तरिक तयारीका क्रममा निधिले संस्थापन इतर शीर्ष नेताहरुसँग भेटघाटमा पनि अहिलेसम्म गच्छदारसँग भने भेटेका छैनन् ।
योगेन्द्रले भने, ‘सबैको काँग्रेस बलियो बनाउने पहिलो सर्त हो । त्यसका लागि मधेसको जनसङ्ख्या निर्णायक छ । त्यसमा दुवै नेताले एकताको आवश्यकता बुझ्नु भएको छ । उहाँहरुले एक अर्कालाई सहयोग गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।’ 

तर गच्छदारको विगतले भने पार्टीमा जसको वर्चस्व रहन्छ उतै जाने चरित्र दर्शाउँछ । यतिबेला पनि गच्छदारले देउवालाई साथ दिनुको पछाडि आगामी राजनीतिक भविष्य सुनिश्चित गर्ने देउवाबाट वचन दिएको बुझिएको छ । 
ललिता निवास प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारको मुद्दा झेलिरहेका गच्छदारलाई जोगाउनुपर्ने देउवामाथि चुनौती छ । महाधिवेशनमा आफूसँग होल्ड गर्न देउवाले गच्छदारलाई जोगाउने वचन दिएको देखिन्छ ।


कति छ गच्छदारको शक्ति ?

गच्छदार समूहले ०७५ पुसमा सम्पन्न महासमिति बैठकमै २ जना महासमिति सदस्य पाएको थियो । ०७६ असोजको काँग्रेस केन्द्रीय समिति बैठकले ६ सयलाई महाधिवेशन प्रतिनिधि बनाउने, मोरङ, सुनसरी, कैलाली, बर्दिया, सप्तरी, सर्लाही, दाङ, पर्सा, झापा, बाँके र बारामा उपसभापतिसहित क्रियाशील सदस्यता र प्रभावका आधारमा अन्य पदाधिकारी र सदस्य सङ्ख्या दिएको थियो । 


प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा गच्छदार समूहले तत्कालीन फोरम लोकतान्त्रिकको एक हजार वा सोभन्दा बढी क्रियाशील सदस्यता रहेको निर्वाचन क्षेत्रमा उपसभापतिसहित बढीमा ९ सदस्य पाएको छ । 

तीन सयभन्दा कम क्रियाशील सदस्यता सङ्ख्या रहेको क्षेत्रमा सह-सचिवसहित २ सदस्य दिइएको छ । यही मापदण्डका आधारमा महानगर, उपमहानगर, नगर, गाउँ र वडा कार्यसमितिसम्मै समायोजन टुङ्ग्याइएको छ । तत्कालीन फोरम लोकतान्त्रिकको सङ्गठन ६३ जिल्लामा थियो ।

उसले ६३ जिल्लाबाट ७ सय महाधिवेशन प्रतिनिधि, २५ हजार क्रियाशील सदस्यताको माग गरेको थियो । जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा र बुथ कार्यसमितिमा उपसभापतिसहित कम्तीमा १० जना र भ्रातृ, भगिनी, शुभेच्छुक सङ्गठनमा केन्द्रदेखि वडा तहसम्म २५ प्रतिशत हिस्सा दाबी गरेको थियो । तर गच्छदार समूहले २२ हजार क्रियाशील सदस्यता पाएको छ । केन्द्रीय कार्यसमितिमा एक उपसभापतिसहित ११ केन्द्रीय सदस्यको उपस्थिति छ ।

भ्रातृ, भगिनी र शुभेच्छुक संस्थामा पनि त्यही अनुसार समायोजन भएको छ । आगामी महाधिवेशनमा आफूले यसअघि दाबी गरेको सङ्ख्याभन्दा बढी उपस्थित हुने गच्छदार समूहका केन्द्रीय सदस्य योगेन्द्र चौधरीको जिकिर छ । 


उनले भने, ‘पार्टी विधानमा भएको समावेशी व्यवस्थाले हाम्रो उपस्थिति बलियो हुन्छ । पार्टी एकताका लागि कम्प्रमाइज गर्दा हाम्रा धेरै साथीहरु छुट्नु भएको थियो । हामीलाई सक्रिय सदस्य पनि छुट्टै दिइएको छ । फेरि त्यस सङ्ख्यामै सक्रिय सदस्य थप भयो भने यसले हामीलाई राहत हुन्छ । अर्कोतिर अधिकांश साथीहरु काँग्रेस लिगेसी बोकेका हुनुहुन्छ । त्यसैले १ हजरभन्दा बढी महाधिवेशन प्रतिनिधि बन्नुहुन्छ ।’ अर्को केन्द्रीय सदस्य रामजनम चौधरीको पनि सोही दाबी छ ।


तत्कालीन फोरम लोकतान्त्रिका उपाध्यक्षसमेत रहेका चौधरीले महाधिवेशनमा आफूहरुको उपस्थिति निर्णय हुने भन्दै त्यसले पार्टीभित्रको बृहत् एकतामा पुलको काम गर्ने बताए । गच्छदारको थारु समुदायमा विशेष पकड छ । संस्थापन पक्षले तराई क्षेत्रबाट ठूलो संख्यामा प्रतिनिधि आउने अपेक्षा पनि राखेको छ । देउवाले यसलाई आफ्नो शक्तिका रूपमा रहेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.