शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई ‘गो अहेड’ भन्ने बामदेव एकाएक ‘यूटर्न’

भैँसेपाटीमा गौतमसँग ओलीको २ घण्टा लामो छलफल, नेकपाभित्र तरंग
मङ्गलबार, १३ साउन २०७७, २२ : ५४
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवादमा आफ्नो धारणा स्पष्ट गर्न केही अघि नै तयारी अवस्थामा थिए, उपाध्यक्ष बामदेव गौतम ।  सो विषय समाचारको रुपमा बाहिर आएको पनि थियो । तर, साउन ६ गते उनको निजी सचिवालयले वामदेव गौतमले पार्टीभित्र विकसित परिस्थितिबारे वक्तव्य जारी गर्ने भनी आएका हल्ला निराधार भएको भन्दै उनले आफ्ना कुरा बैठकमै राख्ने बताएको थियो । तर सचिवालयले यस्तो बताएको सातै दिनमा मंगलबार गौतमको लिखित धारणा आयो ।

पार्टीभित्रको विवाद मिलाउन भन्दै गौतमको ६ बुँदे लिखित प्रस्ताव मात्र आएन, उक्त प्रस्तावले कोरोना र आफ्नो स्वास्थ्यको कारण हतपत बालुवाटारबाट ननिस्किने प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास भैंसेपाटीसम्म पुर्यायो । जुन आश्वासन र भरोसाका साथ गौतमको लिखित प्रस्ताव आयो, त्यही भरोसालाई कायम राख्न ओली गौतम निवास पुगेको बुझ्न कठिन छैन ।  भैँसेपाटी पुगेर ओली गौतमसँग दुई घण्टा कुराकानी गरेर फर्किएका छन् । 


प्रधानमन्त्री ओलीलाई सहज हुने गरी गौतमले अघि सारेको ६ बुँदे प्रस्तावले नेकपाभित्रै तरंग पैदा परेका छ भने अस्थिर स्वाभावका उनले कुन नियतका साथ यस्तो प्रस्ताव ल्याए भन्नेबारे पनि चासो उत्पन्न भएको छ । 
गौतमको प्रस्तावअनुसार प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर ओली प्रधानमन्त्री र एकताको महाधिवेशनसम्म अध्यक्ष रहने उल्लेख छ ।  यस्तै प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने उनको प्रस्ताव छ । त्यति मात्र होइन, उनले प्रधानमन्त्री ओलीको काममा पार्टीले कुनै हस्तक्षेप गर्न नहुने पनि आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् । 


तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व भने पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने उनको प्रस्ताव छ । यस्तै प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नति र सरुवाका लागि पनि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्न तथा पार्टीको सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा सवैधानिक निकायमा नियुक्त गर्न पनि उनले सुझाएका छन् ।
उनले लिखित रुपमै यस्तो प्रस्ताव ल्याउँछन् भन्नेबारे कार्यकारी अध्यक्ष प्रचण्डले कल्पना पनि गरेका थिएनन् । किनभने हिजो उनीसँग उनकै निवासमा भएको छलफलमा यी कुराहरुको बारेमा केही पनि चर्चा नगरेको एक नेताले रातोपाटीलाई बताए । 

तर आज दुबै अध्यक्षसामु गौतमबाट अचानक यस्तो लिखित प्रस्ताव आएपछि प्रचण्ड–माधव नेपाल पक्ष सशंकित भएको छ । 

ओलीविरुद्ध गौतमको पछिल्लो कदम
गौतम आफ्नै यसअघिको अभियान र प्रस्तुतिबाट यूटर्न हुँदै अहिलेको अवस्थामा आइपुगेका हुन् । गौतमले यसअघि प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउन सशक्त अभियान चलाएका थिए । प्रचण्ड पक्षका एकजना स्थायी कमिटी सदस्यले भने, ‘स्थायी कमिटीको बैठक बस्नुअघिदेखि नै ओलीलाई प्रधानमन्त्री र पार्टीको अध्यक्ष पदबाट हटाई अगाडि बढ्नुपर्ने भनि खुमलटारमा गएर सबभन्दा बढी क्रान्तकारी कुरा गर्ने उहाँ नै हुनुहुन्थ्यो । ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट आजको आजै हटाउनुपर्ने कुरा उहाँको हुन्थ्यो । बरु अध्यक्ष प्रचण्डले हतार गर्नुहुँदैन भनि भन्नुहुन्थ्यो ।’

ती नेताको भनाइको पुष्टि गौतमले नै विभिन्न समयमा आफ्ना सचिवालयमार्फत सार्वजनिक गरेको सूचनाबाट पनि हुन्छ ।


गौतमले असार ४ गते जारी गरेको एउटा प्रेस नोटलाई हेरौं । तीन बुँदे सो प्रेस नोटमा उनको सचिवालयले ओलीको कार्यशैलीमाथि अनगिन्ती असहमति रहेको उल्लेख गरेको थियो । असन्तुष्टिहरु समयक्रममा बहिर आउने जिकिर गर्दै वामदेव गौतम ओलीविरुद्धको कित्तामा अडिग रहेको प्रष्ट पारिएको थियो ।  त्यतिबेला प्रधानमन्त्री ओलीको शैलीको विरोध गर्दै स्थायी कमिटीका सदस्यहरुले बैठकको माग गरिरहेका थिए भने प्रचण्ड र माधवकुमार नेपालसँग पनि ओलीको राम्रो सम्बन्ध थिएन । 

गौतमको सचिवालयको त्यही प्रेसनोटमा उल्लेख थियो, ‘एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न । सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउँदैछ । वामदेवलाई पनि त्यहीँ भेटिँदैछ ।’

यहीबीचमा गौतम सरकारमा जान लागेको हल्ला पनि चलेपछि सचिवालयले यसको पनि खण्डन गरेको थियो ।  ‘सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरुका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस्, प्रेस नोटमा उल्लेख थियो । उनको निजी सचिवालका अधिकांश प्रेस नोट पत्रकार विश्वमणि सुवेदीको फेसबुकबाट सार्वजनिक हुने गरेको छ । विश्वमणी उपाध्यक्ष गौतमको निजी सचिवालयमा रहेको बताइँदै आएको छ । 

त्यसैगरी, सुवेदीमार्फत नै असार १६ गते अर्को प्रेसनोट सार्वजनिक भयो । त्यसमा प्रष्ट रुपमा लेखिएको छ कि उपाध्यक्ष गौतम प्रधानमन्त्रीको राजीनामा माग्ने मध्येको हो । सो प्रेस नोटमा भनिएको छ, ‘स्थायी कमिटीको बैठकमा गौतम भने, ‘‘एमाले नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ भन्नेमा म विश्वस्त छु । अहिले यस्तो काम गर्ने बेला होइन ।’’  आज पनि वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने तुरुप फ्यालियो, उहाँले मान्नुभएन ।’ पत्रकार सुवेदीले वामदेवको सन्दर्भका आफूमार्फत आएका कुरालाई आधिकारिक मान्न समेत सञ्चारकर्मीलाई भन्दै आएका छन् । 

यस्तै असार १४ मा गौतमले जारी गरेको प्रेस नोटमा पनि ओलीको आलोचना गरिएको छ । ओली र आफूबीच भएको कुराकानीका क्रममा ओलीलाई पार्टीभित्र छलफल गरेरमात्रै निर्णयमा पुग्न र आवश्यक परे केन्द्रीय समिति बैठक बोलाउन समेत सुझाएको बताएका छन् ।  यसबाहेक पनि विभिन्न समयमा गोतमले कहिले सचिवालय त कहिले अन्य माध्यमबाट ओलीकाे आलोचना गर्दै आएका थिए । 


यसरी ओलीविरुद्ध हात घोएर लागिपरेका ओली एकाएक युटर्न हुन पुगेका हुन् । त्यतिबेला स्थायी  गौतमले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए र अहिले प्रधानमन्त्री र अध्यक्ष पद कुनैबाट राजीनामा दिनुपर्दैन भनेका छन् । त्यतिबेला पत्रकार सुवेदीले गौतमको भनाईलाई उल्लेख गर्दै आधिकारीक मान्न भनेका थिए भने आज पनि गौतमको प्रस्तावलाई फेसबुकमा राख्दै यो भनाइ ‘आधिकारिक हो’ भनेका छन् । 

प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई सरकारमा ल्याउन लागेको र उनले गुट बदलेको समाचार आएपछि गौतमको सचिवालले असार २० गते खण्डन गर्दै भनेको थियो, ‘नेकपाभित्र विकसित घटनाक्रमा क. वामदेव गौतम यथास्थान भूमिकामा हुनुहुन्छ । कसैमा भ्रम नरहोस् ।’

वैशाख १७ को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने प्रस्ताव गरेका थिए । त्यसपछि वैशाख २० गते नै बसेको सचिवालयको अर्को बैठकले उपयुक्त समयमा प्रतिनिधिसभाको सदस्य बनाउने निर्णय गरेको थियो । 


सरकारले नयाँ नक्सा जारी गर्दा गौतमले पार्टीको निर्णयको आधारमा नयाँ नक्सा जारी भएको बताएका थिए । जेठ ७ गते एक प्रेस नोट सार्वजनिक गर्दै उनले भनेका थिए, ‘नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले शुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको सबैमा स्मरण गराउन चाहन्छु । यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु ।’

उनले केपी ओलीमाथि टिप्पणी गर्दै भनेका थिए, ‘अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ । तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ ।’

यही कुरा अध्यक्ष प्रचण्डले साउन ९ गते भन्दा पार्टीमा बबाल भयो । प्रधानमन्त्री अ‍ोलीले चित्त मात्रै दुखाएनन् उनका प्रेस सल्लाहकार सूर्य थापाले त्यसको लामो खण्डन पनि गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पनि त्यसविरुद्ध टिप्पणी गरेका थिए । जब बामदेव गौतमले दुई महिनाअघि नै नक्सा सार्वजनिक गर्ने कुरा पार्टीको निर्णय अनुसार भएको भनेका थिए ।

२०७४ मा भएको चुनावमा बर्दिया १ बाट चुनाव हारेका उपाध्यक्ष गौतमले त्यसपछि पटक पटक प्रतिनिधिसभामा आउने प्रयास गर्दै आएका छन्।  कहिले रोल्पा, कहिले काठमाडौं त कहिले पर्सा । यस्तै डोल्पा, र कास्कीबाट चुनाव लड्ने चर्चा पनि चल्यो तर चुनाव नजित्ने भएपछि उनी पछाडि फर्केका थिए । 

यसरी भए यूटर्न 
हिजोसम्म ओलीको विरोध गर्ने र कार्यकारी अध्यक्ष प्रचण्डलाई गोअहेड भन्ने गौतमले एकाएक कसरी पछाडी हटे ? त्यो कुराको चर्चा सर्वत्र रहेको छ । नेकपा अध्यक्ष प्रचण्डले हिजो आफ्नो निवासमा दिनभरि छलफल गरे । केही स्थायी कमिटीका सदस्यहरुसँग छलफल गर्नुको साथै सचिवालयहरु झलनाथ खनाल, माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा, वर्षमान पुन, प्रदीप ज्ञवालीलगायतहरुसँग छलफल गरेका थिए । 


सबैले अध्यक्ष अ‍ोलीसँग एकपटक छलफल गर्ने र त्यो छलफलबाट सहमति नभए बहुमतको आधारमा निर्णय गर्दै अगाडि बढ्ने सुझाव प्रचण्डलाई दिएका थिए । त्यसपछि अध्यक्ष सिधै बामदेव गौतमको निवास पुगेका थिए । 
त्यहाँ अध्यक्ष प्रचण्डले ओलीसँग भइरहेको छलफलको बारेमा ब्रिफिङ गरेका थिए । सो क्रममा उनले मंगलबार तय स्थायी कमिटीको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे पनि राय मागेका थिए ।  पहिलादेखि ओलीको राजीनामा माग्ने गौतमले त्यो दिन पनि प्रचण्डलाई अब बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्नुपर्छ भनि सुझाव थिएका थिए । 

गौतमको ‘गो अहेड’ भन्ने जवाफ पाएपछि प्रचण्डले आफ्नो निवासमा फर्केर निकटका केही नेताहरुसँग थप छलफल गरेका थिए । र, मंगलवार तय स्थायी कमिटीको बैठक नरोक्न निष्कर्ष निकालियो ।
यो कुरा प्रधानमन्त्री अ‍ोलीसम्म पुग्यो । उनले यो टीमलाई कमजोर गर्नका लागि तत्कालै वामदेव गौतमलाई सम्पर्क गरे । स्रोतले भन्यो,  ‘ओलीले मंगलवार बस्ने स्थायी कमिटीको बैठक जसरी रोक्नु पर्यो भने आग्रह गरेका थिए ।’ सुरुमा त गौतमले ओलीले नै पार्टीलाई निकास दिनुपर्ने सुझाएका थिए । तर ओलीले आफूलाई सहयोग गर्न पटक पटक आग्रह गरेपछि गौतम लचक भएका थिए । सोही योजना मुताविक गौतमले ओलीलाई सहयोग हुने गरी दुइटै अध्यक्ष सामु आज ६ बुँदे लिखित प्रस्ताव ल्याएका हुन् । सो प्रस्ताव ल्याउनलाई ओलीले प्रधानमन्त्री बनाउनेलागयतका केही आश्वासन समेत दिएको स्रोतको दाबी छ ।

ओली निकट एक नेता भन्छन्, ‘ओलीले गौतमलाई जे गरेर भएपनि प्रधानमन्त्री बनाउने आश्वासन दिनुभएको छ । वैशाख २० गते सचिवालयले गरेको निर्णयलाई कार्यान्वयन गराउने आश्वासन प्रधानमन्त्री अ‍ोलीले दिनुभयो ।’ ओलीले निकटस्थहरुसँग प्रचण्डलाई प्रधानमन्त्री बनाउनु भन्दा गौतमलाई बनाउनु ठीक हुने भन्ने गरेको स्रोतको दाबी छ । 


प्रधानमन्त्री ओलीले दिएको आश्वासन अनुसार नै गौतम गौतमको ६ बुँदे मात्रै आएको छैन, नेकपाभित्र समीकरण पनि बदलिने अवस्थामा पुगेको छ । यहीबीचमा ओली गौतमलाई थप आस्वस्त पार्न गौतमको निवास पुगे ।
अ‍ोली निकट एक नेताले भने, ‘प्रधानमन्त्री ओलीले गौतमलाई विश्वासमा लिन उनको निवासमा जानु भएको हो ।’ 

ओलीसँगको छलफलमा गौतमले आपसी खिचातानीले पार्टी बदनाम भइरहको भन्दै सहमतिको बिन्दु पहिल्याएर अघि बढिनुपर्नेमा जोड दिएका थिए । गौतमले पार्टीमा विभिन्न समयमा भएका निर्णय कार्यान्वनयमा ल्याउन पनि अध्यक्ष ओलीलाई स्मरण गराएका थिए । आफूले पार्टीमा राखेको फरकमतको बारेमा ध्यानाकर्षण गराउँदै पार्टीमा भएका निर्णयहरुलाई कार्यान्वयनमा नल्याउँदा पनि समस्या उत्पन्न भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप