बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष नेताहरुले प्रचण्डलाई भने, ‘गो अहेड’

सोमबार, १२ साउन २०७७, २० : ५१
सोमबार, १२ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको आन्तरिक विवाद झन पेचिलो बन्दै गइरहेको छ । स्थायी कमिटीको बैठक मंगलबार (भोलि)का लागि तय भएको छ । उक्त बैठकबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छैन । दुई अध्यक्षबीच छलफल भएपछि मात्र स्थायी कमिटीको बैठक बस्ने सहमति भएको छ । तर अहिलेसम्म अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन ।

यसअघिका बैठकहरु अध्यक्षद्वय बीचको छलफलमा सहमति जुट्न नसकेपछि स्थगित हुँदै आएको थियो । तर भोलिको बैठक स्थगित नहुने निष्कर्षमा प्रचण्ड–नेपाल समूह पुगेको छ । सोबारेमा प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा भोलिको बैठक स्थगित नगर्ने निष्कर्ष निस्किएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक बसाउन इच्छा देखाएका छैनन् । अध्यक्ष प्रचण्डले शीर्ष नेताहरुलाई आफ्नो निवासमा भने, मैले प्रधानमन्त्री ज्युसँग पटक पटक छलफल गरेको छु । तर उहाँ स्थायी कमिटीको बैठकप्रति कुनै चासो देखाउनु भएको छैन । यो तरिकाले पार्टी कसरी अगाडी बढ्छ ? पार्टीलाई अनिर्णयको बन्दी कहिलेसम्म बनाई राख्ने ?’

त्यसपछि शीर्ष नेताहरुले अन्तिमपटक प्रधानमन्त्री ओलीसँग कुरा गर्ने र बैठक सञ्चालनका लागि नमाने अगाडि बढ्ने सुझाव दिएको खुमलटार स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डले यो विवादमा तटस्थ देखिएका स्थायी कमिटी सदस्य रामबहादुर थापालाई बोलाएर पनि विहान छलफल गरेका हुन् । 

प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा थापा देखिएको छैन । अध्यक्ष प्रचण्डले उनलाई बोलाएर त्यस विषयमा छलफल गरेको बुझिएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टीमा गर्दै आएको बदमासीमा बारेमा जानकारी गराएका थिए ।

ओलीकै कारण पार्टी कसरी समस्यामा परेको छ भनि कुरा बादललाई सुनाएको स्रोतले जनाएका छन् । त्यसपछि बादलले प्रचण्डलाई अगाडि बढ्न संकेत गरेको बताइन्छ ।

विहान बादलसँग छलफल गरिसकेपछि अध्यक्ष प्रचण्डले झालनाथ खनाल र माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए । भोलि बस्ने स्थायी कमिटीको बैठक सञ्चलनका विषयमा उनीहरुबीच छलफल भएको थियो । उनीहरुले पनि अब पनि प्रधानमन्त्री ओलीको प्रतिक्षा गरेर नहुने भन्दै पार्टीमा कदम चाल्ने अवस्था आइसकेको निष्कर्ष निकालेका थिए ।

प्रधानमन्त्री ओलीले माने पनि नमाने पनि स्थायी कमिटीको बैठक बस्ने र सोही बैठकमा पार्टीमा देखिएका सम्पूर्ण विवादको समाधान गर्ने सोचमा उनीहरु पुगेको स्रोतको भनाइ छ । पटक पटक बैठक स्थगित हुँदा राम्रो सन्देश नगएको भन्दै तोकिएको समयमा बैठक बस्ने र बहुमतले निर्णय गर्दै अगाडि बढ्ने निष्कर्षमा पुगेको खुमलटार बैठकमा सहभागी एक नेताले बताए ।

यस्तै माधव र झलनाथ खनालसँग छलफल चलिरहेकै बेला स्थायी कमिटीका सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री वर्षमान पुन पनि खुमलटार छिरेका थिए । मन्त्री ज्ञवालीलाई पनि प्रधानमन्त्री ओलीसँग सहमति नभए कति दिनसम्म पार्टीलाई अनिर्णयको बन्दी बनाई राख्ने भन्दै बहुमतका आधारमा निर्णय गर्दै अगाडि बढ्नेको विकल्प नरहेको कुरा राखेका थिए । 

स्रोतका अनुसार त्यसको जवाफमा मन्त्री ज्ञवालीले सर्वसम्मति नभए बहुमतको आधारमा अगाडि बढ्नुभन्दा अध्यक्षद्धयबीच एउटा समझदारी बनेपछि मात्र अगाडि बढ्दा उचित हुने धारणा राखेका थिए ।

अध्यक्षद्वयको पहल र सहमतिमा पार्टी एकीकरण भएको र अब यसलाई कसरी जोगाउने त्यसमा गम्भीर हुन उनले आग्रह गरेको थिए । दुईजना अध्यक्षको बीचमा संवाद हुन जरुरी रहेको भन्दै उनले प्रचण्डलाई सुनाएका थिए ।

त्यसपछि अध्यक्ष प्रचण्डले नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग छलफल गर्नका लागि उनको निवास पुगेका थिए । उपाध्यक्ष गौतमसँग पनि भोलि बस्ने स्थायी कमिटीको बैठकबारे छलफल गरेका थिए । गौतमले पनि अब पार्टीलाई धेरै दिनसम्म अनिर्णयको बन्दी बनाउन नहुने भन्दै अगाडि बढ्न सुझाव दिएको प्रचण्ड निकट एक नेताले बताए ।

त्यसअघि प्रचण्डले आफ्ना पक्षका स्थायी कमिटीका केही सदस्यहरुसँग पनि आफ्नो निवासमा छलफल गरेका थिए । शीर्ष नेताहरुले प्रचण्डलाई‘ गो अहेड’को नीति लिन सुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप