मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसभित्रको एक महिना लामो विवाद अन्त्य, बूढानीलकण्ठमा जुट्यो सहमति

शुक्रबार, १० माघ २०७६, २२ : ४०
शुक्रबार, १० माघ २०७६

काँग्रेसभित्रको आन्तरिक समस्या समाधान भएको छ ।  शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको शीर्ष नेताहरुबीचको बैठकले लामो समयदेखि यथावत विवादलाई टुंगो लगाएको हो । 

पुस ११ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयमा केन्द्रीय महाधिवेशनबाहेक अन्य निर्णयहरु फेरि केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्ने सहमति भएको हो । 

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले लामो समययता जारी रहेको विवादमा शुक्रबार सहमति जुटेको भन्दै विवादित विषय पुन केन्द्रीय समिति बैठकमा लगेर टुंग्याइने जानकारी दिए । 

यस्तै महाधिवेशनलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउने, विधानको दफा ३५ को २ (घ) बाहेक क्रियाशील सदस्यता फुकुवासँग जोडिएका निलम्बित दफाहरू फुकुवा गर्न देउवा तयार भएका हुन ।

यस्तै केन्द्र र प्रदेश अधिवेशन हुनु एक वर्षअघि नै स्थानीय तहका सबै अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने विधानको उक्त प्रावधान निलम्बन गर्न पौडेल पक्ष राजी भएको छ ।  १३ औँ महाधिवेशनको सदर क्रियाशील सदस्यताको नामावलीको हार्ड र सफ्ट कपी उपलब्ध गराउनुपर्ने पौडेल पक्षको सुनाइ हुने भएको छ ।


यस्तै, १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको छानबिन समिति गठन गर्न पनि देउवा तयार भएका छन् । यस्तै नेविसङ्घको गठन, तरुण दलको कार्यकाल बढाएर समितिलाई पूर्णता दिनेदेखि पार्टीका विभागहरुको सङ्ख्या तथा गठन लगायतका विषयमा पनि सहमति भएको छ । 

विभाग र केद्रीय कार्यसम्पादन समितिमा ४० र तरुण दलमा ३५ प्रतिशत पौडेल पक्षलाई दिने समझदारी बनेको छ । यस्तै नेविसंघको तदर्थ समिति पनि ल्याउने निर्णय भएको छ ।  नेविसंघको विधान विपरीत ३२ माथिबाट नेविसंघ तदर्थ समिति ल्याइने भएको छ ।

यसैबीच काँग्रेसले आगामी माघ १३ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।  उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौड्यालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप