शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंहको स्थानमा सिटौला: देउवाविरुद्धको पहिलो हस्ताक्षरकर्ता डडेल्धुराका सभापति

पौडेल– सिटौलालाई ‘उत्साहित’ बनाउने जिल्ला सभापतिको साथ
बुधबार, २३ पुस २०७६, २० : ०५
बुधबार, २३ पुस २०७६

काठमाडौं । काँग्रेसको संस्थापन इतर पक्षले आफूहरुलाई बहुमत जिल्ला सभापतिको साथले उत्साहित बनाएको बताएको छ ।  जिल्ला सभापतिसँगको परामर्श बैठकपछि महामन्त्री शशांक कोइरालाको कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेले बहुमत जिल्ला सभापतिको साथले उत्साहित बनाएको प्रतिक्रिया दिएका हुन् । 

उनले भने, ‘पुस ११ गते बसेको बैठकले बहुमतका आधारमा लिएका निर्णय सच्याउनुपर्छ भन्ने हाम्रो मागमा बहुमत जिल्ला सभापतिको साथ पाउँदा हामी उत्साहित भएका छौँ ।’  पौडेल पक्षको उपस्थितिविना पुस ११ गतेको बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने,  क्रियाशील सदस्यता सम्बन्धि विधानका दफा निलम्बन गर्ने, पार्टीका विभागको संख्या बढाउने र कार्यकाल सकिएको तरुण दलको म्याद थप्ने निर्णय गरेको थियो । सोही निर्णय सच्याउन पौडल पक्षले दबाब दिँदै आएको छ । 

पौडेलले आफूहरुले जिल्ला सभापतिको परामर्श लिएको बताउँदै जिल्ला सभापतिले सभापतिलाई सोबारे जानकारी गराउने बताए । उनले भने, ‘हामीले जिल्ला सभापतिसँग परामर्श गरेका छौँ । यसबारे उहाँहरुले सभापतिसँग पनि परामर्श हुन्छ । सभापतिले पछिल्ला निर्णय सच्याउनु हुनेछ भन्ने विश्वास छ ।’ 

देउवाले बिहीबार बिहान १० बजे पौडल पक्षका जिल्ला सभापतिलाई आफ्नो निवास बूढानीलकण्ठमा लञ्च मिटिङका लागि बोलाएका छन् । यस्तै महामन्त्री कोइरालाले सभापति देउवाले निर्णय सच्याउने विश्वास व्यक्त गरे । 
सभापतिले निर्णय सच्याउनु भएन भने के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘अब सभापतिजीले निर्णय सच्याउनुहुन्छ भन्ने लागेको छ । सच्याउनु भएन भने आगामी दिनमा अन्य कदम चाल्छौँ ।’ 
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि निर्णय सच्याउनुको विकल्प नभएको बताए । उनले भने, ‘नेपाली काँग्रेसको परम्परा विपरित महाधिवेशन जस्तो अत्यन्त महत्वपूर्ण विषयमा निर्णय लिँदा बहुमतबाट निर्णय लिने कुरा मान्य हुँदैन । यस विषयमा सभापतिले आफैं पहलकदमी थाल्नुपर्छ  र विवाद समाधानतिर लाग्नुपर्छ ।’ 

सिंहको स्थानमा सिटौला
१३ औँ महाधिवेशनपछि पौडेल पक्षको पत्रकार सम्मेलनमा सिटौला  पहिलो पटक उपस्थित भएका हुन् । उनको उपस्थितिले पूर्वमहामन्त्री प्रकाशमान सिंह कर्नरमा परेका छन् । 

महामन्त्री कोइरालाको निवासमा पुस १२ गते पौडेल पक्षले निर्णय सच्याउन माग गर्दै आयोजना गरेको पत्रकार सम्मेलनमा सिंह र कोइरालाको बीचमा थिए पौडेल । आज भने सिंहको स्थानमा सिटौला देखिए । आज पौडलको दाँया सिटौला र बाँया कोइरालाको आसन थियो । सिटौलाले १३ औँ महाधिवेशनमा धोका दिएको भन्दै सिंहले यसअघि पौडेल पक्षमा हुने उनको उपस्थितिलाई सहजै स्वीकारेका थिएनन् ।

देउवाविरुद्धको पहिलो हस्ताक्षरकर्ता डडेल्धुराका सभापति

काँग्रेस संस्थापन इतर पक्षको जिल्ला सभापतिसँगको परामर्श बैठक सकिएको छ । पार्टी कार्यालय सानेपामा सोमबारदेखि सुरु भएको परामर्श बैठक बुधबार सकिएको हो । संस्थापन इतर पक्षको उपस्थिति बिना पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट भएका निर्णय सच्याउन पार्टी सभापति देउवालाई दबाब दिने उद्देश्यका साथ बैठकको अयोजना गरिएको थियो । 

जसको संयोजन वरिष्ठ नेता पौडेलले गरेका थिए । देउवाले गरेका निर्णयका विरुद्धमा पौडेलले जिल्ला सभापतिको साथ खोजेका थिए ।  जसमा उनलाई पहिलो साथ देउवाको गृहजिल्ला डडेल्धुराका सभापतिको कर्ण मल्लको रह्यो । 

देउवाको निर्णयविरुद्ध सानेपामा ४३ जिल्ला सभापति भेला भएका थिए । देउवाको निर्णयविरुद्ध पहिलो हस्ताक्षर मल्लले गरेका हुन् । उनी सानेपामा पनि सबैभन्दा पहिले पुगेका थिए ।  लामो समय देउवाको स्वकीय सचिव रहेका मल्ल यतिबेला देउवाविरुद्ध अग्रपंक्तिमा देखिन्छन् । मल्ल यतिबेला डा.शेखर कोइरालासँग नजिक देखिन्छन् ।

जिल्ला सभापतिहरुको सुझाव

जिल्ला सभापतिहरुले पार्टीलाई विधि–विधानअनुसार चलाउन सुझाव दिएका छन् । उनीहरुले पार्टीभित्रको ६०–४० को भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । नुवाकोटका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले भागबन्डाको राजनीति अन्त्य गरेर पार्टीलाई विधानअनुसार अगाडि बढाउनुपर्ने बैठकको निष्कर्ष रहेको बताए ।

उनले भने, ‘विधानअनुसार निर्णय लिने अधिकार सभापतिमा निहित छ । त्यहीअनुसार सभापतिले पार्टीलाई चलाउनुपर्छ । अब सबैले ६०/४० को अवधारणालाई अन्त्य गरिनुपर्छ । सभापतिले पनि त्याग, तपस्या, बलिदानीको हिसाबमा सबैको मूल्याँकन गरी अवसर दिनुपर्छ ।’ भागबन्डाबका कारण बलिदानी दिने कार्यकर्ताको पछि परेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप