मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा विग्रह ल्याउने नेविसङ्घको त्यो विवाद

शशांक– प्रकाशमानको विधानतः अडान
शनिबार, १९ पुस २०७६, ११ : २२
शनिबार, १९ पुस २०७६

काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) मा नयाँ नेतृत्व ल्याउने विषयमा जटिलता थपिँदै गएको छ ।

नेविसङ्घ नेतृत्वविहीन भएको आगामी माघ २८ गते एक वर्ष हुँदैछ । पार्टीले १२ औँ महाधिवेशन गराउन नसेकेको भन्दै गत वर्ष माघ २८ गते नैनसिंह महर नेतृत्वको निर्वाचित कार्यसमितिलाई राजीनामा दिन बाध्य पारिएको थियो । त्यसपछि फागुन २ गते बसेको केन्द्रीय समिति बैठकले महरको राजीनामा स्वीकृत गर्दै नेविसङ्घमा तदर्थसमितिबाट नेतृत्व चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दियो । तर, पार्टी नेतृत्व भागबण्डा र ‘एस म्यान’को खोजीमा रुमल्लिँदा यतिबेला नेविसङ्घ तदर्थ समिति गठनबारे सिर्जत विवादले माउ पार्टी काँग्रेसमा विग्रहको अवस्थामा छ ।

मङ्सिर २६ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पुस ११ गतेसम्म विभिन्न चरणका बैठक स्थगित गर्दै सहमतिको प्रयास गरिएको थियो । संस्थापन र इतर पक्षले वार्ता टोली खडा गरी पार्टीको १४औँ महाधिवेशन कार्यतालिका, विभाग र नेविसङ्घ गठन तथा तरुण दल विस्तारमा सहमति जुटाउने प्रयास गरेको थियो ।

तर नेविसङ्घको विवाद नसुल्झिएपछि इतरको उपस्थिति बिना गत ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने, पार्टीका विधानका दफा निलम्बन गर्ने, पार्टीका विभागको सङ्ख्या बढाउने र कार्यकाल सकिएको तरुण दलको म्याद थप्ने निर्णय लियो ।

पौडेल पक्षले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्षसहित १ सय १ सदस्यीय कार्यसमिति गठन गर्न माग गरेको थियो । अध्यक्षसहित बहुमत सदस्य सभापतिलाई, महामन्त्रीसहित ४० प्रतिशत हिस्सा आफूहरूलार्ई, अन्य पदाधिकारीमध्ये उपाध्यक्ष सिटौला र कोषाध्यक्ष उपसभापति विजयकुमार गच्छदार पक्षलाई भागबन्डा गर्ने पौडेल पक्षको प्रस्ताव थियो ।

तर, बैठकले नेविसङ्घबारे निर्णय लिन सकेन । नेविसङ्घबारे फेरि सहमति खोजिने भनिएको छ । गुटगत भागबण्डाका आधारमा विधान विपरीत तदर्थ समिति ल्याउने प्रयास गरिएको थियो, छ । नेविसङ्घ विधानले ३२ वर्षे उमेर हदको व्यवस्था गरेका छ । तर, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच ३२ वर्षमाथिबाट नेतृत्व ल्याउने विषयमा अंशबण्डामा कुरा मिलेको थिएन ।

त्यतिबेला पौडेल पक्षले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्षसहित १ सय १ सदस्यीय कार्यसमिति गठन गर्न माग गरेको थियो । अध्यक्षसहित बहुमत सदस्य सभापतिलाई, महामन्त्रीसहित ४० प्रतिशत हिस्सा आफूहरूलार्ई, अन्य पदाधिकारीमध्ये उपाध्यक्ष सिटौला र कोषाध्यक्ष उपसभापति विजयकुमार गच्छदार पक्षलाई भागबन्डा गर्ने पौडेल पक्षको प्रस्ताव थियो ।

यता सभापति देउवाले भने अध्यक्ष र चार महामन्त्रीसहित १ सय १ सदस्यीय कार्यसमितिको प्रस्ताव अघि सारेका थिए । तर यतिबेला नेविसङ्घ तदर्थ समिति गठनका लागि पूर्ववर्ती प्रस्तावबाट पौडेल पक्ष ब्याक भएको छ ।

११ गते भएका निर्णय सच्याएपछि आगामी दिनमा संस्थापन पक्षसँग वार्तामा बस्दा नेविसङ्घमा विधानतः गठनमा जोड दिने इतरपक्षको तयारी छ ।


शशांक– प्रकाशमानको विधानतः अडान

महामन्त्री शशांक कोइरालाले नेविसङ्घको नयाँ कमिटी विधानसम्मत आउनुपर्ने बताएका छन् ।

उनले भने, ‘यतिबेला नेवि सङ्घको विधानमा दोहोरो व्याख्य गरिँदैछ । २२ भन्दा बढी जिल्लामा विधानतः अधिवेशन भएको छ । के त्यसलाई भङ्ग गरेर फेरि ३२ माथिको नेतृत्व ल्याउने ? होइन भने अब आउने कमिटी ३२ मुनिबाट आउनुपर्छ भन्ने मेरो स्पस्ट धारणा छ ।’

विधान विपरीत कमिटी ल्याइए त्यसको विरुद्धमा उभिने उनले जिकिर गरे । पौडेलले मान्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘हामी सबै एक मत छौँ । शेरबहादुर देउवाजीले राजीवको नाम प्रस्ताव गर्दा रामचन्द्र दाइले त्यतिबेला उहाँको विकल्पमा मनोजमणिको नाम प्रस्ताव गरिएको मात्र हो । रामचन्द्र दाइ पनि विधानअनुसार कमिटी गठनको पक्षमा हुनुहुन्छ ।’

देउवाले नेविसङ्घका पूर्वउपाध्यक्ष ५० वर्ष आसपासका राजीव ढुङ्गानाको नाम अघि सारेका थिए ।

पार्टीमा लामो समय मौन बसेका कोइराला आफूले लिएको अडानमा सफल पनि भएको पाइन्छ । काँग्रेस निकट जनसम्पर्क समिति बेल्जियमको नेतृत्वमाथि सभापति देउवाले ‘कू’ गर्दा महामन्त्री कोइरालाले पुनर्वाहाली गराएका थिए । नेविसङ्घका विषयमा उनको लिएको अडानले विधान पक्षधरमा ३२ वर्षमुनिबाट नेतृत्व आउने आशा पलाएको देखिन्छ ।

यस्तै पौडेल पक्षबाट वार्ता टोलीको संयोजन गर्दै आएका नेता प्रकाशमान सिंहले विधानत नयाँ नेतृत्व ल्याउनेमा आफूहरुको जोड रहेको बताए ।

‘सभापतिजीले विधान विपरीत निर्णय हामीले अडान (स्टेन) लिन नसक्दा अहिलेको अवस्था आएको हो,’ विगतमा आफूहरुबाट भएको गल्तीको रियलाइज गर्दै उनले भने, ‘अब हामी त्यो गल्ती दोहोर्याउने पक्षमा छैनौँ । नेविसङ्घको नयाँ कमिटी विधानसम्मत आउँछ ।’

विधान कार्यान्वयनको मागमा रिले अनशन जारी

यता कृष्णप्रसाद सिटौला पक्ष विधानसम्मत नेतृत्व आउनुपर्नेमा जोड दिँदै आएको छ भने नेविसङ्घको निवर्तमान केन्द्रीय समिति पनि विधानको पक्षमा देखिएको छ ।

अध्यक्ष महर र महामन्त्री कुन्दनराज काफ्ले विधानसम्मत नेतृत्व ल्याइनुपर्ने भन्दै पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् ।

महरले भने, ‘विद्यार्थीको नेतृत्व विद्यार्थीबाट ल्याउने कुरा विधानले निर्देशित गरेको अवस्थामा पार्टी नेतृत्वले नेवि सङ्घलाई वृद्ध सङ्घ बनाउने चेस्टा गर्नुहुँदैन । नेविसङ्घको निवर्तमान कमिटी विधानतः नेतृत्व आउनुपर्छ भन्ने मान्यता राख्दछ ।’

आगामी फागुन १४ मा हुने स्ववियु निर्वाचनलाई मध्यनजर गरेर विधानतः विद्यार्थीको नेतृत्व विद्यार्थीलाई सुम्पिन उनले आग्रह गरे ।

३२ वर्षमुनिबाट नेतृत्व ल्याउँदा स्ववियु निर्वाचनमा सकारात्मक सन्देश जाने उनको बुझाइ छ । यता नेविसङ्घ निर्वतमान केन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा विधानसम्मत नयाँ कमिटी ल्याउन माग गर्दै पार्टी कार्यालय सानेपामा १७ दिनदेखि रिले अनशन जारी छ । विधान विपरीत कमिटी ल्याइए आमरण अनशन बस्ने त्रिपाठीको चेतावनी छ ।

उनलाई महामन्त्री काफ्लेले बलियो साथ दिएका छन् । त्रिपाठी नेतृत्वको टोलीले रिले अनशन थालेको दिन काफ्लेले उक्त निर्णयको स्वागत गर्दै फूलमाला लगाइदिएका थिए ।

उनले विधान विपरीत नेतृत्व आए विधानतः समानान्तर कमिटी गठन गरिने पनि बताए ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप