शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल समूहलाई ४३ जिल्ला सभापतिको साथ, देउवाले दिए ‘बर्खास्ती’को चेतावनी

सोमबार, २१ पुस २०७६, १८ : ५६
सोमबार, २१ पुस २०७६

काठमाडौं । नेपाली काँग्रेस संस्थापन इतर पक्षले पार्टीमा उत्पन्न पछिल्लो विवादबारे आफूनिकटका जिल्ला सभापतिसँग पराशर्म थालेको छ । संस्थापन इतर समूहलाई ४३ जिल्लाका जिल्ला सभापतिले साथ दिएका छन् । 

 सोमबार पार्टी कार्यालय सानेपामा ४३ जिल्ला सभापतिसँग वरिष्ठ नेता रामचन्द्र पौडेलसहित देउवाको विपक्षमा खडा भएका नेताहरुले छलफल गरेका हुन् । 

पौडेलसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, चन्द्र भण्डारी गगन थापा, नविन्द्रराज जोशीलगायतको सहभागिता रहेको भेलामा इतर पक्षका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइराला भने उपस्थित भएनन् । 

बैठकको सुरुमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पछिल्लो विवादबारे फेहेरिस्त सुनाएका थिए । उनले मंसिर २६ गतेदेखि पुस ११ गतेसम्म भएको छलफल र सहमतिको प्रयासबारे बैठकमा ब्रिफिङ गरेका थिए । 

मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पुस ११ गतेसम्म पटक पटक स्थगित गर्दै सहमतिको प्रयास गरिएको थियो । तर, सहमतिबिनै संस्थापन पक्षले पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिकासहित विभिन्न सांगठनिक विषयमा निर्णय लिएको थियो । 

भेलामा पौडेलले उक्त निर्णय सच्याउनुको विकल्प नभएको भन्दै आफूले जिल्ला सभापतिसँग परामर्श आवश्यक गरेर आगाडि बढ्न खोजेको बताएका थिए । बैठकमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि धारणा राखेका थिए ।

कोइरालाले सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनमा प्रभाव पार्नेगरी निर्णय लिएकाले यस विषयमा जिल्ला सभापति चनाखो हुनुपर्ने धारणा राखेका थिए ।

विवाद समाधानका लागि पौडेल पक्षबाट वार्ता टोलीको संयोजक समेत रहेका सिंहले वार्ताको नाटक मञ्चन गर्दै बहुमतको दम्भ देखाएको बताएका थिए ।

बैठकमा प्रमुख नेताहरु विवादको अन्तरकथा सुनाएपछि जिल्ला सभापतिको धारणा राख्ने क्रम जारी छ । सोमबारको भेलामा  कास्की सभापति कृष्ण केसी, बर्दियाका सभापति सञ्जय गौतम, धादिङका सभापति रमेश धमला, रोप्पाका सभापति अम्मरसिंह पुन, झापाका सभापति उद्धव थापालगायतले धारणा राखेका थिए । 

बैठक विधानका धारा निलम्बनमाथि लिइएको निर्णयप्रति केन्द्रित देखिएको छ । केन्द्रीय नेतादेखि जिल्ला सभापति समेतले क्रियाशील सदस्यतासम्बन्धी विधानका केही प्रावधान निलम्बनबारे चर्को विरोध गरेका थिए । 

धादिङ जिल्ला सभापति रमेश धमलाले विधानको धारा निलम्बन गरेर केन्द्रदेखि जिल्लासम्म संस्थापन इतर पक्षलाई किनारा आउन खोजिएको आरोप लगाए । यद्यपि उनले यो पार्टी नेतृत्व विरुद्धको भेला नभएको दाबी गरे ।

विधानका प्रावधान निलम्बन जस्तो विषयमा बहुमतको निर्णयबाट विधान विपरीत निर्णय लिनु पार्टीका लागि दुर्भाग्य भएको उनले बताए । यस्तै रोल्पा जिल्ला सभापति अम्मर सिंह पुनले सभापतिले विधान विपरीत निर्णय लिएर काँग्रेसका कर्मठ कार्यकर्तामाथि अपमान गरेको आरोप लगाए । 

महासमति बैठकले गरेको निर्णयको मसी नसुक्दै विधान विपरीत विधानका प्रावधान निलम्बन गरिएको बताएका थिए । यस्तै नुवाकोट जिल्ला सभापति जगदिश्नरसिंह केसीले पार्टी कसैको पेवा नभएको भन्दै नेतृत्वको स्वच्छेचारी कदमविरुद्ध जिल्ला सभापतिहरु उभिने बताए । 

उनले भने, ‘काँग्रेसका लागि आफ्नो पूरा जीवन बिताएका छौँ । सभापतिले गुटको नेतृत्व अरुलाई किनारा लाउने खेल गर्नु हुन्न । पार्टीको विधान विपरीत भएका निर्णय सच्याउनु पर्नेमा हाम्रो जोड रहन्छ ।’ 

यता गुटको भेला हुँदै गर्दा पार्टी कार्यालयको प्राङ्गणमा पौडेल निकट विद्यार्थीहरुले सभापति देउवाविरुद्ध नाराबाजी समेत गरेका थिए । 

यसैबीच सभापति देउवाले पौडेल पक्षको भेला प्रभावित गर्ने प्रयास गरेको पाइएको छ । उनले सानेपाको बैठकमा सहभागी नहुन आइतबार साँझ जिल्ला सभापतिलाई आन्तरिक सुर्कलर जारी गरेका थिए । 

देउवाले बैठकमा सहभागी हुनेलाई कारबाहीको धम्की समेत दिएको एक नेताले बताए ।  उनका अनुसार देउवाले केही जिल्ला सभापति आफूविरुद्ध खुलेर लागेको भन्दै उनीहरुलाई कारबाही तयारी थालेको समेत बताएका थिए । यो कुरा देउवाले आफू पक्षीय नेताहरुको बैठकमा समेत बताएका छन् । 

देउवा निकट एक केन्द्रीय सदस्यले पनि सभापतिले  आन्तरिक बैठकमा आफूविरुद्ध लाग्ने ६ जना जिल्ला सभापतिलाई ‘बर्खास्त’ गर्ने कुरा गरेको बताए । उनले ती सभापति को–को रहेको भन्नेबारे चाहिँ खुलाउन चाहेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप