श्रीमानसहित ५ जनाको हत्या हुँदा दीपाले काठमाडौँमा किन गरिन् ‘ऐयासी’ ?
२०७६ साल भदौको पहिलो साता नेपालगञ्जको सदरलाइन पुग्दा त्यहाँ एउटा झकिझकाउ सुनचाँदी पसल भेटियो । सदरलाइनको राम सहारे ज्वेलर्स अहिले त्यहाँको चल्तीको गहना पसल हो ।
त्यसो त यो पसल आजभन्दा १४ वर्ष अगाडि पनि उत्तिकै चल्तीको पसल थियो । फरक यत्ति थियो कि त्यतिबेला यो पसल न्यू दीप ज्वेलर्सको नाममा सञ्चालित थियो ।
त्यतिबेला यो पसल नेपालगञ्जका सुनचाँदी व्यापारी जगदेव सोनार, उनका भाइ बलराम सोनार, अर्का भाइ निलम सोनार र जगदेवका छोरा दीपक सोनारले चलाइरहेका थिए । र, नेपालगञ्जमा यो चल्तीको सुनचाँदी पसल थियो । यद्यपि उनीहरु सबैले आफूलाई ‘हेमकार’ भन्दथे ।
नेपाली हिन्दु समाजमा सोनारलाई तल्लो जातिका रूपमा लिइन्थ्यो । जसका कारण पढेलेखेका जगदेवका भाइ बलराम सोनारले आफ्नो पारिवारिक थरलाई सोनारबाट ‘हेमकार’ भन्ने बनाए ।
संस्कृतमा ‘हेम’ भनेको सुन र ‘कार’ भनेको काम गर्ने व्यक्ति भन्ने बुझाउँछ । पढेलेखेका बलरामले सोनारभन्दा समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गराउनका लागि पारिवारिक थर नै हेमकार लेख्न सुरु गराएका थिए ।
सदरलाइनको यही हेमकार परिवारले चलाएको दीप ज्वेलर्स त्यहाँको चल्तीको सुनचाँदी पसल थियो । पसलबाटै यो परिवारको आम्दानी पनि राम्रो थियो । उनीहरुको आफ्नै घर थियो र राम्रो आम्दानी गर्ने पसलसमेत थियो यो ।
...
२०६२ साल फागुन २४ गते बिहान । जगदेव हेमकारको घरमा कुनै चहलपहल थिएन । बिहान सबेरै ५ बजेदेखि नै मानिसहरु उठ्ने घरमा बिहान ७ बजेसम्म पनि कुनै चहलपहल नदेखिएपछि छिमेकीहरु जगदेवकै एक पारिवारिक सदस्यसहित घरभित्र पसे ।
जब छिमेकीहरु घरभित्र पसे, त्यहाँ भयानक दृश्य देखे । हेमकार परिवारको ५ जनाको घाँटी रेटेर हत्या भएको थियो ।
बाँके जिल्ला साविकको नेपालगञ्ज नगरपालिका वडा नम्बर १५ सदरलाइनमा आफ्नै घरमा सुनचाँदी व्यवसायी दीपक हेमकर, उनका बुवा जगदेव हेमकार, आमा सीतादेवी हेमकार, हजुरआमा गुलाबदेवी हेमकार र घरमै काम गर्ने रामशनिश्वर खुना (चौधरी)को हत्या भएको थियो । हत्याको समयमा दीपक हेमकारकी श्रीमती दीपा सोनी हेमकार र बहिनी प्रिती हेमकार घरबाहिर भएकाले उनीहरु भने बाँच्न सफल भए । हेमकार परिवारको हत्या हुँदा दीपा सोनी उपचारका लागि भन्दै उनी माइतीघर भारतको लखनउ पुगेकी थिइन् भने प्रिती हेमकार जागिरको सिलसिलामा बुटवलमा रहेकी थिइन् । जसको कारण उनीहरु दुई जना बाँचे पनि अन्य सबै सदस्यको हत्या भयो ।
द्वन्द्वकालमा भएको उक्त घटनालाई सुरुमा लुटपाटका उद्देश्यका साथ भएको डकैती र कर्तव्य ज्यान भनियो । तत्कालीन समयमा माओवादीले उक्त घटना गराएको भन्दै दोष माओवादीप्रति थुपरियो ।
यद्यपि माओवादीले केही समयपछि नै विज्ञप्ति जारी गर्दै उक्त घटनामा माओवादीको कुनै संलग्नता नरहेको भन्दै घटनाको थप अनुसन्धान गर्न पनि आग्रह गर्यो ।
...
२०६२ साल फागुन २३ गते राति नै हेमकार परिवारका ५ जना सदस्यको घाँटी रेटी हत्या गरिएको थियो । हत्याको समयमै करिब २८ लाख रूपैयाँ बराबरको सुनचाँदी र गहना लुटेर लगिएको थियो । हत्याराहरु घरमै पाहुना बनेर आएका थिए । उनीहरुले मिष्ठान्न भोजन गरे, अनि मध्यरातमा परिवारका सबै सदस्यको घाँटी रेटेर हत्या गरे । हत्याराले सुतिरहेका प्रत्येक व्यक्तिलाई खानामा केही मिसाएर वा केही सुँघाएर बेहोस बनाई पालैपालो हत्या गरेका थिए । प्रहरीको रिपोर्टलाई मान्ने हो भने हत्या भएकाहरु कसैले पनि प्रतिकार गरेको देखिँदैन । यसको मतलब उनीहरु बेहोसी अवस्थामै थिए । त्यसकारण पनि हत्याराले पान खाँदै आराम गर्दै पालैपालो सबैको हत्या गरेका छन् । अनि बिहानपख घरको पछिल्लो पट्टिको झ्यालबाट घरमै रहेको साडीको डोरी बनाएर त्यही डोरीबाट तल झरेर ‘फरार’ भएका थिए ।
...
हेमकार परिवारको हत्याबारे प्रहरीले बिहान ७ः१५ बजे जानकारी पाएको थियो । त्यो लगत्तै पूरै नेपालगञ्जभरि हत्याकाण्डबारे हल्ला फैलिइसकेको थियो । पूरै नेपालगञ्ज त्यतिबेला सदरलाइनमा थियो ।
प्रहरीले घटनास्थलको फोटो खिच्ने, हतियार बरामद गर्ने लगायतको ‘अनुसन्धान’को काम गर्यो ।
घटनाको समयमा दीपक हेमकारका काका अर्थात् जगदेव हेमकारका भाइ अनिल हेमकार भन्ने निलम सोनार भारतको लखनउमै थिए । जगदेवको परिवारका सदस्यहरुको हत्या भएकाबारे स्थानीय बिनी टण्डनले फागुन २४ गते बिहान ८ः३० बजे फोन गरेर अनिललाई जानकारी दिन्छिन् । जानकारी पाएपछि अनिल नेपाल आउन खोज्छन् । तर आफूसँग तत्काल पैसा नभएकाले स्थानीय एक व्यक्तिसँग ५ हजार भारतीय रूपैयाँ सापट माग्छन् र उनी बिहान ९ः३० बजे ट्याक्सी लिएर परिवारसहित रूपइडियातर्फ लाग्छन् । त्यही बेला अनिलले दीपक हेमकारका ससुरा तथा दीपा सोनीका पिता किशोरीलाल सोनीलाई फोन गरी घटनाबारे जानकारी गराउँछन् ।
बिहान करिब ९ः३० बजे किशोरीलाल सोनीलाई फोन गर्दा घटनाबारे पहिले जानकारी नभएको, आफू लखनउको निरालानगरमा रहेको भन्दै अनिललाई जाँदै गर्न र आफू पनि केही समयमै हिँड्ने बताउँछन् ।
किशोरीलालले त्यसो भनेपछि अनिल त्यहाँबाट ट्याक्सी चढेर कहीँ पनि नरोकिई ट्याक्सीमै रूपैडिया आउँछन् । त्यसपछि त्यहाँबाट अर्को गाडी चढेर नेपालगञ्जको अस्पतालमा पुग्छन्, जहाँ हेमकार परिवारको शव राखिएको थियो ।
तर अनिल कहीँ नरोकिई नेपालगञ्ज आइपुग्दा दिउँसो २ः३० देखि ३ बजेको समयमा आइपुग्छन् । तर अनिल त्यहाँ पुग्दा किशोरीलाल सोनी पहिले नै अस्पतालमा पुगिसकेका हुन्छन् । अनिलले परिवारका अन्य सदस्यहरुलाई किशोरीलाल कुनबेला आइपुगेछ भनेर सोध्दा बिहान ११ बजे नै आइपुगेको भन्ने सुन्छन् ।
अनिललाई अचम्म लाग्छ, लखनउको निरालानगरबाट सीतापुर रोडमा रहेको घरमा पुगेर तयारी गरी हिँड्दा कम्तीमा १ घण्टा लाग्छ । अनि त्यहाँबाट १ सय ९० किलोमिटर टाढा रहेको नेपालगञ्ज आइपुग्न कम्तीमा पनि ४ घण्टा लाग्छ । त्यसकारण ९ः३० मा फोनबाट जानकारी पाएको व्यक्ति नेपालगञ्ज आइपुग्न कम्तीमा पनि साढे ५ घण्टा अर्थात् अपरान्ह ३ बजे अगाडि नेपालगञ्ज आइपुग्न सक्दैन । तर किशोरीलाल ११ बजे नै नेपालगञ्ज आइपुग्नु शङ्काको विषय भएको र किशोरीलाल सोनीले नै उक्त घटना गराएको र निज सोनी रूपैडिया आसपास रहेको निलम सोनारको दाबी छ ।
....
यस्तो थियो हत्याको ‘मास्टरप्लान’, यसरी भयो दीपाको बिहे दीपकसँग
घटनामा संलग्न अनुसन्धान अधिकारीको रिपोर्टलाई आधार मान्ने हो भने दीपा र दीपकको विवाह नै हत्या गरी सम्पत्ति हडप्ने मास्टरप्लानका साथ भएको थियो ।
दीपकको विवाहको उमेर भइसकेको थियो । त्यसकारण जगदेव हेमकार आफू र भाइहरुलाई प्रयोग गरी छोरा दीपकका लागि केटी खोज्न थालेका थिए । केटी खोज्ने र हेर्ने क्रममा जगदेव पहिले लखनउको मौलानी भन्ने स्थानमा पुगेका थिए । त्यहाँ एक डाक्टरकी छोरीलाई जगदेवले हेरे । उनी अलिक मोटी भएको कारण जगदेवलाई खासै मन परेन । त्यसपछि जगदेवले विश्वाँमा रहेको किशोरीलाल सोनीको घरमा पुगी छोराका लागि वधु हेरे । किशोरीलालको माइली छोरी दीपा सोनी सुन्दर युवती थिइन् । दीपालाई हेर्नेबित्तिकै जगदेवलाई मन पर्यो । त्यसपछि उनी घर फर्किए र केटीहरुको बारेमा कुरा गरे ।
दीपा अत्यन्तै सुन्दर युवती भएको बुवाको बयानपछि दीपक हेमकार आफै वधु हेर्नका लागि आमालाई साथमा लिएर विश्वाँ पुगे । दीपालाई देख्नेबित्तिकै दीपकले मन पराए । अनि विवाहका लागि कुरा अगाडि बढाउन भने ।
यहीबीचमा किशोरीलाल सोनी नेपालगञ्ज आएर दीपकको सम्पत्ति तथा आर्थिक हैसियतबारे जानकारी लिए । तत्कालीन समयमा नै करिब ५ करोडको सम्पत्ति देखेपछि किशोरीलालले जसरी पनि छोरीको विवाह दीपकसँग नै गराउने योजना बनाउँछन् । विवाहबारे टुङ्गो लगाउन पटक पटक दबाब दिन्छन् ।
तर सोनी परिवारको बारेमा बुझ्ने क्रममा दीपकका काका अनिल हेमकारले किशोरीलालविरुद्ध हत्या र लुटपाटको मुद्दा चलिरहेको थाहा पाए । त्यस्तो थाहा पाएपछि उनले भतिज दीपक र दाइ जगदेवलाई ‘रिस्ता’ जोड्न ठीक नहुने सुझाव दिए ।
तर दीपाको सौन्दर्यमा मोहित बनेका दीपकले आफूले बिहे गरे दीपासँगै गर्ने, नगरे कोहीसँग पनि नगर्ने भनेर जिद्दी गर्न थालेपछि हेमकार परिवारले बाध्यतामै २०६० सालमा दीपक र दीपाको विवाह गराइदिएको थियो ।
जतिबेला दीपाको दीपकसँग विवाह भएको थियो, त्यतिबेला दीपाको उमेर २० वर्ष थियो भने दीपकको उमेर ३२ वर्ष भएको थियो ।
...
दीपकको घरमा दीपा बुहारी बनेर आएपछि त्यसको केही समयमा नै दीपा र सासू–ससुराबीच खटपट सुरु भएको थियो । नेपालगञ्जमै रहँदा पनि दीपा अन्य पुरुषसँग हिँड्ने गरेको, पार्कमा घुम्न जाने गरेको परिवारमा मिल्न नसकेको भन्दै बारम्बार झगडा हुने गरेको थियो ।
विवाहको केही समयमै दीपा गर्भवती बनिन् । दीपकको उमेर पनि ३२ वर्ष भइसकेको भन्दै दीपक तथा परिवारले सन्तान जन्माउन आग्रह गरे । तर दीपाले सन्तान जन्माउन इन्कार गरिन् र २०६१ सालको वैशाख÷जेठमा पहिलो पटक गर्भपतन गराइन् ।
यता परिवारमा टकराव भइ नै रह्यो । पारिवारिक टकराव बढी हुन थालेपछि दीपा र दीपकले एउटा भान्सा तथा जगदेव, सीतादेवी, गुलाबदेवी र घरमा काम गर्नेले अर्को भान्सा सुरु गरे ।
२०६१ सालकै अन्त्यतिर दीपा फेरि अर्कोपटक गर्भवती बनिन् । तर त्यतिबेला पनि उनले सन्तान जन्माउन इन्कार गरिन् र गर्भपतन गराइन् । यही विषयलाई लिएर परिवारमा झगडासमेत भयो । त्यही झगडापछि किशोरीलाल सोनीले भारतबाट केही आपराधिक समूहका व्यक्ति ल्याएर धम्क्याए ।
किशोरीलालको पृष्ठभूमि बुझेका हेमकार परिवारले किशोरीलालविरुद्ध केही गरेनन् । बरु पारिवारिक विषय भएको भन्दै यसलाई मिलाउने बताए ।
यद्यपि दीपाको पृष्ठभूमि र क्रियाकलापप्रति हेमकार परिवारको पनि आपत्ति कायमै थियो । दीपा लखनउमै हुँदा पनि दुई जना प्रेमी रहेको जानकारी पाएका परिवारले नेपालगञ्जमै पनि स्थानीय युवाहरुसँग बढी घुलमिल गरेको उनीहरुलाई मन परेको थियो । त्यसकारण दीपालाई निगरानीमा राख्नुपर्ने भन्दै दीपकलाई भनिरहेका थिए ।
पछिल्लो पटक दीपा २०६२ माघमा फेरि गर्भवती बनिन् । गर्भवती बने पनि दीपाले यस पटक पनि सन्तानलाई जन्म दिन इन्कार गरिन् र आफूखुशी २०६२ साल माघ २३ गते नेपालगञ्ज मेडिकल कलेज पुगेर गर्भपतन गराइन् ।
गर्भपतन गराएको करिब १ महिनापछि २०६२ साल फागुनको २० गते दीपा आफूलाई सञ्चो नभएको भन्दै माइतीघर भारतको लखनउ गइन् ।
यहीबीचमा दीपकको परिवारको हत्या गर्ने र सम्पत्ति हत्याउने योजना बन्यो । योजनाअनुसार दीपाका बुबा किशोरीलाल सोनीले अन्य ३ जना कन्ट्याक्ट किलर जलाल खाँ, अलि हुसेन कसाई र फिरोज अन्सारीलाई साथमा ल्याएर फागुन २१ गते राति नेपालगञ्जको सिमाना रूपैडियाको होटल मुस्कानमा बस्छन् ।
उनीहरु सबै एउटै कोठामा बस्छन् र फागुन २२ गते ११ बजे होटलबाट निस्कन्छन् । अनि उनीहरु योजना बमोजिम सम्पूर्ण तयारी गरी नेपालगञ्जमा कफ्र्यु लाग्ने समय रातको ९ बज्नुभन्दा केही समय अगाडि ज्वाइँ दीपक हेमकारको घर सदरलाइन पुग्छन् ।
घरमा पाहुना बनेर आएका सम्धी र उनका साथीहरुको हेमकार परिवारले स्वागत गर्छन् । त्यसपछि घरमा मीठा मीठा परिकार पकाएर खान्छन् र उनीहरु सबै सुत्नका लागि आ–आफ्नो कोठामा जान्छन् ।
उनीहरुले हेमकार परिवारको खानामा केही नसालु पदार्थ मिसाएर दिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीको दाबी छ । नसालु पदार्थकै कारण उनीहरु सबै निद्रामा रहेको बखत हत्यारा समूहले पालैपालो घाँटी रेटेर हत्या गरेको प्रहरीको दाबी छ । त्यसपछि घरमा रहेको केही सुनचाँदी र नगद लिएर हत्यारा समूह त्यहाँबाट भागेको आरोप छ ।
जब दीपा भारतबाट आइन् ...
नेपालगञ्जमा हेमकार परिवारको हत्या भएको ‘औपचारिक जानकारी’ पाएपछि दीपा, उनकी आमा र बुबा नेपालगञ्ज आउँछन् । त्यसपछि क्रियाक्रमको तेस्रो दिनदेखि नै दीपाले सम्पत्तिको खोजबिन र बिक्री वितरण सुरु गरिन् । हेमकार परिवार हत्याको केही समयमा नै दीपाले दीपकको नाममा रहको अधिकांश सम्पत्ति आफ्नो नाममा ल्याउन थालिन् । जगदेवका भाइ बलराम हेमकरसँग मिलेर उनले सुन पसल पनि खोल्न थालिन् । तर सुन पसल खोल्नुको उद्देश्य सुनको बिक्री गर्नु मात्रै रहेको थियो ।
....
नेपालगञ्ज क्षेत्रमा हेमकार हत्यामा संलग्न किशोरीलाल सोनी नै हो भन्नेबारे चर्चा सुरु भयो । किशोरीलालको आपराधिक पृष्ठभूमि दीपाको रबैया आदिका कारण पनि यो हत्या दीपा र किशोरीलालकै योजनामा भएको नेपालगञ्जबासीको शङ्का थियो । सदरलाइन क्षेत्रमा उनीबारे शङ्का र चर्चा सुरु हुन थाल्यो ।
मुख बन्द गराउन स्थानीय युवासँग दीपाको मोजमस्ती
घटनामा आफू र आफ्नो बुबाको संलग्नताबारे खोजबिन र कुराकानी सुरु भएपछि डराएका किशोरीलाल सोनी र दीपा सोनीले एउटा योजना बनाए । सदरलाइन क्षेत्रका चल्तीका युवालाई हातमा लिने ।
त्यतिबेला सदरलाइन क्षेत्रका ४ जना युवाहरु परिवर्तित नाम सुब्बा, बिण्टु, मुन्ना र ऐतराजलाई साथमा लिए । त्यसपछि पहिले २ जनालाई दीपाको बुबा किशोरीलाल सोनीले काठमाडौँ लिएर आए । बिन्टु र ऐतराजलाई काठमाडौँ ल्याएर किशोरीलालले सुन्धाराको एउटा होटलमा राखे । करिब ४ दिनसम्म किशोरीलाले ती युवाहरुलाई डान्सबार, क्लबm दोहोरीदेखि सुरा र सुन्दरी सबै व्यवस्था मिलाए । अनि आफू नेपालगञ्जमै बस्नुपर्ने भएकाले सहयोग गर्नसमेत भने ।
किशोरीलाल काठमाडौँमै रहेको अवस्थामा दीपाले नेपालगञ्जकै अर्का युवा मुन्नालाई लिएर काठमाडौँ आइन् । कहिल्यै मदिरा नखाने दीपाले त्यसबेला मुन्नासँगै बसेर मदिरा खाइन् भने मुन्नासँग ४ दिन सँगै बसेर ऐयासी गरिन् । दीपासँगको ऐयासीको सम्बन्धमा मुन्नाले अनुसन्धान अधिकृतलाई पनि सबै कुरा बताएका थिए ।
नेपालगञ्जका चल्तीका ३ जना युवाको मुख बन्द गराइयो । तर नेपालगञ्जकै अर्का व्यक्ति सुब्बाले दीपाको ऐयासीबारे जानकारी पाए । किशोरीलालले २ युवालाई लिएर गएको र दीपाले पनि एक युवासँग मस्ती गरेको थाहा पाएपछि सुब्बाले पनि मौका खोजे । अनि उनले हल्ला गर्न थालेपछि दीपाले फेरि सुब्बासँग पनि केही दिन मोजमस्ती गरेर नेपालगञ्ज फर्किइन् ।
नेपालगञ्जका यी ४ युवा त्यस्ता व्यक्तिहरु थिए, जसले भन्दा सदरलाइन क्षेत्रमा आन्दोलन गराउन वा आन्दोलन रोक्न सक्थे । उनीहरुमध्ये २ जना स्थानीय गुण्डा चरित्रका व्यक्ति थिए भने एकजना स्थानीय युवा नेता थिए । अनि एक जना चाहिँ बोलीबचन राम्रो भएको ऐयासी युवा थिए । यी ४ जनालाई कब्जामा लिएपछि जे पनि हुनसक्थ्यो । त्यही कारण किशोरीलाल सोनी र दीपा सोनीले उनीहरुसँग मोजमस्ती गर्दै र गराउँदै मुख बन्द गराएका थिए ।
आफूले दीपासँग काठमाडौँ पुगेर मोजमस्ती गरेकोबारे स्थानीय एक युवाले प्रहरीसँगको कुराकानीमा पनि स्वीकार गरेका छन् ।
त्यसपछि ९ महिना नेपालगञ्ज बसेका किशोरीलाल सोनी र दीपा सोनीले आफ्नो अधिकारको सबै सम्पत्ति बेचेर भारत फरार भएका थिए ।
त्यसपछि मात्रै हत्यामा दीपा र किशोरीलाल सोनीको संलग्नता रहेको भन्दै खोजबिन सुरु हुन थालेको थियो ।
भारतमा अर्को बिहे गरेर सासूको हत्या
नेपालमा श्रीमान दीपक हेमकारसहित परिवारका ५ सदस्यको हत्या गराउन सफल भएकी दीपाले भारतमै सन् २०१६ मा आशिष त्रिपाठीसँग विवाह गरिन् ।
विवाहको केही समयपछि नै दीपाले आशिषको सम्पत्तिको विवरण राख्न थालिन् । यहीबीचमा आशिषको आमा अर्थात् दीपाकी सासूको खानामा विष हालेर हत्या गरिन् । लामो समयदेखि बिरामी रहेकी आशिषकी आमाको मृत्यु सामान्य नै भनियो ।
दीपाले आशिषको सम्पत्तिबारे सबै जानकारी राखेपछि आपराधिक समूहका व्यक्तिहरुसँग सम्पर्क गर्दै हत्याको योजना बनाएको आशिषले जानकारी पाए । यसबारेमा दीपा र उनको परिवारलाई के हो भनी सोद्धा छोरीलाई तनाव नदिन र दिएमा नेपालमा जस्तै घटना गराइदिने भन्दै किशोरीलाल सोनीले आशिष त्रिपाठीलाई धम्की दिए ।
त्यसपछि डराएका आशिष त्रिपाठीले लखनउको डिस्ट्रिक मजिस्ट्रेट र प्रहरी प्रमुखलाई नै घटनाबारे सबै जानकारी गराई सुरक्षाको माग गरे । त्यो निवेदनमा उनले किशोरीलाल सोनी सन् १९९९ देखि २००१ सम्म जेलमा समेत बसेको र मुद्दा अझै पनि विचाराधीन रहेको जानकारी गराए । त्यसलगत्तै आशिष त्रिपाठीलाई लखनउ प्रहरीले सुरक्षा दिएर राख्यो ।
हेर्नुहोस्, आशिष त्रिपाठीले दिएको निवेदन
त्यसो त किशोरीलाल सोनीविरुद्ध भारतमा चलिरहेको मुद्दा पनि रातोपाटीले प्राप्त गरेको छ । सोनीविरुद्ध भारतमै हत्या र डकैतीमा ३ वटा मुद्दा चलिरहेको छ ।
हेर्नुहोस् उजुरी विवरण ।
जब नेपाल प्रहरीले २०७५ साल असोज १३ गते राति किशोरीलाल सोनीलाई भारतबाटै पक्राउ गरेर ल्यायो । त्यसलगत्तै दीपा सोनी भने भारतबाट भागेर दक्षिण अफ्रिका पुगेकी छिन् । उनी अहिले पनि दक्षिण अफ्रिकामै रहेको नेपाल प्रहरीले बताएको छ ।
(अनुसन्धान अधिकृतसँगको कुराकानीमा आधारित)