तथ्य र बयान बाझिँदा पनि किशोरीलाल सोनीलाई साधारण तारेखमै किन छाडियो ?
२०६२ फागुन २३ गते बाँके जिल्ला साविकको नेपालगञ्ज नगरपालिका वडा नम्बर १५ सदरलाइनमा आफ्नै घरमा सुनचाँदी व्यवसायी दीपक हेमकर, उनका बुवा जगदेव हेमकार, आमा सीतादेवी हेमकार, हजुरआमा गुलाबदेवी हेमकार र घरमै काम गर्ने रामशनिश्वर खुना (चौधरी)को हत्या भयो ।
द्वन्द्वकालमा भएको उक्त घटनालाई सुरुमा लुटपाटका उद्देश्यका साथ भएको लुटपाट र डकैतीसँग जोडियो ।
प्रहरीले तत्कालीन समयमा ‘अनुसन्धान’ गरे पनि त्यो अनुसन्धानले कुनै नतिजा निकाल्न सकेन । बरु प्रहरीले जसरी अनुसन्धान गर्नुपथ्र्यो, त्यसरी अनुसन्धान गर्न नसकेको चाहिँ प्रष्ट नै बुझिन्छ ।
...
दीपक हेमकारको परिवारमा तत्कालीन समयमा ७ जना सदस्य बस्ने गरेका थिए ।
दीपक हेमकार, उनका बुवा जगदेव हेमकार, आमा सीतादेवी हेमकार, हजुरआमा गुलाबदेवी हेमकार, दीपककी श्रीमती भारतको लखनउ माइती भएकी दीपा सोनी हेमकार, दीपककी बहिनी प्रिती हेमकार र घरमा काम गर्ने रामशनिश्वर खुना उनको परिवारका सदस्य थिए ।
नेपालगञ्जको सदरलाइनमा दीपकको चल्तीको सुनचाँदी पसल थियो । आम्दानी पनि राम्रै थियो । सासू र बुहारीबीच कहिलेकाहीँ झगडा हुनेबाहेक अन्य कुरा सामान्य नै चलिरहेको थियो ।
तत्कालीन समयमा ३२ वर्षीय दीपकले भारत लखनउकी २० वर्षीय दीपा सोनीसँग विवाह गरेका थिए । दीपकको आर्थिक हैसियत राम्रो देखेपछि दीपाको बुवा किशोरीलाल सोनीकै योजनामा दीपा र दीपकको विवाह भएको थियो ।
विवाहपछि दीपकले तत्कालै सन्तानको अपेक्षासमेत गरेका थिए । तर गर्भाधान भए पनि दीपाले सन्तान जन्माउन चाहेकी थिइनन् । जसका कारण दीपाले पटक पटक गर्भपतन गराएकी थिइन् ।
घटनाको ठीक एक महिनाअघि २०६२ साल माघ २३ गते पनि दीपाले गर्भपतन गराइन् । अनि आफू बिरामी भएको भन्दै २०६२ साल फागुन २० गते दीपाको माइती भारतको लखनउ पुगिन् ।
यता दीपककी बहिनी प्रिती हेमकार एउटा एनजीओमा काम गर्थिन् । कामकै सिलसिलामा प्रिती बुटवलमा थिइन् । घरमा ५ जना मात्रै बस्दै आएका थिए ।
तर घरमा प्रिती नभएको र दीपा माइती गएकी समयमा दीपक हेमकारको परिवारकै हत्या हुन्छ ।
हत्यामा संलग्नको व्यापक खोजी हुन्छ । जिल्ला प्रहरी कार्यालय बाँके, अञ्चल प्रहरी, मध्यपश्चिम ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरोले पनि टोली बनाएर घटनाको अनुसन्धान गर्यो । तर प्रहरीलाई कुनै सफलता मिलेन ।
फोटो : हत्याको समयको फोटो
यहीबीचमा दीपककी श्रीमती दीपा सोनीले कसैलाई किटानी जाहेरी नदिई हत्याराको खोजी गरी कानुनी कारबाही गर्न माग गर्दै निवेदनसमेत दिइन् ।
.....
यता दीपक हेमकारका आफन्तहरूले भने सुरुदेखि नै हत्यामा दीपा सोनी र किशोरीलाल सोनीकै हात रहेको आरोप लगाइरहे । तर तत्कालीन प्रहरी नेतृत्वले घटनामा उनीहरूको संलग्नता हुनै नसक्ने भन्दै उनीहरूमाथि अनुसन्धान नै गरेन । जसको फलस्वरूप दीपाले दीपक तथा उनका परिवारको नाममा रहेको सबै सम्पत्तिमा प्रभुत्व जमाइन् र सम्पत्तिको मालिक बनिन् ।
हेमकार परिवारको हत्यापछि करिब ९ महिना नेपाल बसेकी दीपाले आफ्नो हक अधिकारमा रहेको सबै सम्पत्ति बेचिन् र भारत भागिन् ।
त्यसपछि मात्रै झस्किएको प्रहरीले घटनामा दीपा सोनी तथा उनका बुवा किशोरीलाल सोनीको संलग्नताको खोजी गरेको थियो ।
प्रहरीले जब किशोरीलालकै संलग्नताबारे खोजी सुरु गर्यो, त्यसपछि मात्रै हत्यामा किशोरीलाल सोनीको संलग्नताका केही तथ्यहरू बाहिर आउन थाले ।
फोटो : आरोपी किशोरीलाल सोनी र दीपा सोनी
तत्कालीन मध्यपश्चिम ब्युरोबाट खटिएको प्रहरीको विशेष टोलीले सोधपुछ गर्न थालेपछि एउटा तथ्य बाहिर आयो । घटनाको दिन बिहान किशोरीलाल सोनीसहितको अन्य ३ व्यक्तिलाई आफूले नेपालगञ्जमै भेटेको भन्दै स्थानीय कृपाराम भाटले प्रहरीसमक्ष बयान दिए ।
कृपाराम भाटको बयानमा भनिएको छ :
मिति २०६२/११/२४ गते बिहानै ०५:३० बजेको समयमा म आफ्नो पसलमा रहेको अवस्थामा तत्काल नाम थाहा नभएका हाल फोटो देखाउँदा चिनी नाम थाहा भएका किशोरीलाल सोनीसहितका तीन जना व्यक्ति आएका र निजहरूले बाटो भुल्यौँ रूपैडियासम्म पुर्याइदेऊ भनी भनेकामा मैले निजहरूलाई रूपैडियासम्म जाने बाटोसम्म पुर्याइदिएको हुँ, निजहरूलाई भारत रूपैडिया जाने बाटो देखाइदिएर म आफ्नो घरको कामधन्दामा लागे । निजहरूमध्ये एक जनाले झोलासमेत बोकेका थिए ।’
कृपाराम भाटको बयानले प्रहरीलाई किशोरीलाल सोनीको संलग्नताको केही क्लु मिल्यो ।
त्यति मात्रै होइन, घटनामा घरमा आफन्त बनेर आएकाहरूको संलग्नता रहेको बारे दीपक हेमकारकी छिमेकीले पनि प्रहरीसमक्ष बयान दिइन् । त्यसपछि तातेको प्रहरीले नेपालगञ्ज तथा भारतको रूपैडियाको होटल–होटल चहारेर लगबुकसमेत हेर्यो ।
प्रहरीको व्यापक खोजमा पत्ता लाग्यो कि घटनाको अघिल्लो दिन भारतको लखनउ सीतापुर रोड घर भएका किशोरीलाल सोनी अन्य ३ जना व्यक्तिसहित रूपैडियाको होटल मुस्कानमा बसेको भेटियो । सोनीसँगै भारत लखनउकै जलाल खान, अली हुसेन कसाई र फिरोज अन्सारी नाम गरेका व्यक्तिहरू पनि उक्त होटलमा बास बसेको भेटियो ।
हेर्नुहोस् २०६२ साल फागुन २२ गते रूपैडियाको होटल मुस्कानको लगबुक ।
तर जिल्ला अदालतमा किशोरीलाल सोनीको बयान हुँदा भने उनले वारदातको समयमा आफू लखनउमै रहेको बयान दिए । जब कि सरकारी वकिलको कार्यालयमा गरेको बयानमा भने उनी काम विशेषले रूपैडियाको होटल मुस्कानमा रहेको बताएका थिए ।
तर न्यायाधीशका समक्ष गरेको बयान र होटलको लगबुक तथा सरकारी वकिल र प्रहरीसमक्ष गरेको बयान बाझिए पनि यस बारेमा थप खोजबिन भने गरेको देखिँदैन ।
बाँकेका जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालको अगाडि किशोरीलाल सोनीले गरेको बयानमा आफू घटना भएको समयमा लखनउमै रहेको बयान दिएका छन् ।
उनले बयानको १३ नम्बर बुँदामा भनेका छन्, ‘मिति २०६२/११/२३ गते राति नेपालगञ्जस्थित न्यु दीप ज्वेलर्ससमेत रहेको घरमा दीपक हेमकार समेतको व्यक्तिको हत्या हुँदा म मेरै घर भारत लखनउमा थिएँ । मेरी छोरी दीपा उपचारको सिलसिलामा उक्त घटना हुनुभन्दा ५–७ दिन अगाडि माइती घर मेरो घरमा आएकी थिइन् । सो घटना भएको भोलिपल्ट बिहान अन्दाजी ८:३०–९:४० बजेतिर अनिल हेमकारले फोनमा जानकारी गराएपछि म मेरी छोरी दीपा लगायत सम्पूर्ण परिवार नेपालगञ्जमा आएका थियौँ । बेलुकी अन्दाजी ३ बजे आइपुगेका थियौँ ।’
हेर्नुहोस् न्यायाधीशसमक्ष सोनीले गरेको बयान
तर यसै विषयमा अनिल हेमकार भन्ने निलम सोनारको बयान भने किशोरीलालसँग बाझिएको छ । अनिल हेमकार भन्ने निलम सोनारले आफ्नो बयानमा घटनाबारे जानकारी पाएपछि बिहान ९:३० बजे दीपकको ससुरा किशोरीलाल सोनीलाई जानकारी गराएको बताएका छन् । जानकारी दिएपछि सोनीले आफू लखनउमै रहेको र तपाईं जाँदै गर्नुस् म आउँछु भनी जवाफ दिएको बयानमा उल्लेख छ । तर लखउनबाट कहीँ नरोकिई आफू ट्याक्सीमा रूपइडिया आई त्यहाँबाट नेपालगञ्ज आइपुग्दा सोनी पहिले नै घटनास्थलमा देखेको बयानमा उल्लेख छ । यो मान्छे कति चाँडो आइपुगेछ भनी आफन्तलाई सोध्दा किशोरीलाल सोनी त बिहान ११:३० बजे नै नेपालगञ्ज आइपुगेकाले घटना तिनै सोनीले गराएको र उनी त्यही आसपास रहेको आरोप लगाएका छन् ।
हेर्नुहोस्, निलम सोनारको बयान ।
तर जिल्ला सरकारी वकिलको कार्यालय बाँकेमा किशोरीलाल सोनीले दिएको बयानमा भने उनले घटनाको ३ दिन पहिले छोरीलाई लखनउ बोलाएको र घटनाको अघिल्लो दिन आफू रूपैडियाको मुस्कान होटलमा रहेको स्वीकार गरेका छन् ।
किशोरीलालको बयान : मुस्कान होटलमा बसेको हुँ, बाँकी केही बोल्न चाहन्न
सरकारी वकिलले बुँदा नम्बर २१ मा तपाईंहरूले नै उक्त घटना घटाई सम्पत्ति छोरीको नाममा नामसारी गराई फरार रहेको आरोप छ, यसमा के भन्नुहुन्छ भन्ने प्रश्न गरेका छन् ।
जवाफमा सोनीले घटनाको अघिल्लो रात आफू रूपैडियाको मुस्कान होटलमा आएर बसेको तर आफूले हत्या गरेको वा गराएको होइन, घटनाको सम्बन्धमा बाँकी म केही बोल्न चाहन्न भनी बयान दिएका छन् ।
जब कि सरकारी वकिलले यो बुँदामा मुस्कान होटलको केही कुरा सोधेका थिएनन् ।
किशोरीलाल सोनी र मुस्कान होटलको कनेक्सन धेरै स्थानमा भेटिएको छ । बयान मात्रै होइन, होटलको लगबुकमा पनि केएल सोनीका नाममा उनी बसेको देखिन्छन् र सरकारी वकिल कार्यालयमा समेत सोनीले सो कुरा स्वीकार गरेका छन् ।
तर न्यायाधीशका सामु भने सोनीले बयान फेरेका छन् । सोनीले बयान फेरे पनि जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालले सोनी घटनाको दिन लखनउमै रहेको अवस्था देखिँदैन र तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिएको भन्दै उनलाई पुर्पक्षका लागि थुनामै पठाउन आदेश दिएका थिए ।
हेर्नुहोस्, जिल्ला अदालत बाँकेले २०७५ साल कात्तिक १२ गते दिएको थुनछेक बहसको आदेश पर्चाको प्रमाणित प्रतिलिपि ।
पुर्पक्षकै लागि थुनामा पठाउने जिल्ला अदालत बाँकेको आदेशविरुद्ध सोनी पुनरावेदन अदालत दाङको नेपालगञ्ज इजलास पुगेका थिए । तर पुनरावेदन अदालतले पनि जिल्लाकै आदेशलाई सदर गर्दै पुर्पक्षकै लागि थुनामा पठाएको थियो ।
तर सो आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका सोनीलाई सर्वोच्च अदालतले भने २०७६ साल असार २७ गते ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार नदेखिएको’ भन्दै साधारण तारेखमै राखी मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत बाँकेलाई लेखी पठाएको छ ।
जब कि सोनीले विभिन्न स्थानमा दिएको बयान बाझिएको छ । लखनउस्थित सोनीको घरबाट नेपालगञ्ज आइपुग्न करिब १२ सय किलोमिटर रहेको छ । २ सय किलोमिटरको यात्रा पूरा गर्न छिटोमा पनि करिब ४ घण्टाको समय लाग्छ । तर ९:३० मा घटनाबारे जानकारी पाएको व्यक्ति ११:३० मा कसरी नेपालगञ्ज आइपुग्यो भनेर सर्वोच्च अदालतले पनि खोज्ने चेष्टा गरेन ।
दोस्रो सोनीले सरकारी वकिललाई दिएको बयानमा आफू घटनाको अघिल्लो दिन रूपैडियाको मुस्कान होटलमा रहेको बयान दिएका छन् र सो बयानमा उनले सहीछापसमेत गरेका छन् । प्रहरी निरीक्षक निशान्त श्रीवास्तवको प्रतिवेदनमा पनि रूपैडियाको होटल मुस्कानको लगबुकको प्रतिलिपि पेस गरिएको छ, जहाँ केएल सोनीका नाममा किशोरीलाल सोनीसहति अन्य ३ जना व्यक्ति होटलमा बसेको देखिन्छ । तर सर्वोच्च अदालतले भने त्यसलाई प्रमाण मानेन र सोनीलाई साधारण तारेखमै छाडिदियो ।