केन्द्रीय संस्करण
अभियुक्त पक्राउ गर्न पुगेका प्रहरी अधिकारीको बयान

हेमकर परिवारको सामूहिक हत्याकाण्ड : भारतीय अभियुक्त पक्रन २ वर्षसम्म ठेलामा तरकारी बेचे नेपाली प्रहरीले

आफूलाई छाड्न किशोरीलालको एक करोड भारुको अफर

person explore access_timeसाउन २१, २०७६ chat_bubble_outline3

२०६२ साल फागुन २३ गते बाँके नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा हत्या गरिएका दीपक हेमकर परिवारका ५ सदस्यको हत्याका मुख्य आरोपी किशोरीलाल सोनी गत असार २७ गते सर्वोच्च अदालतको आदेशबाट साधारण तारेखमै रिहा भए ।

सर्वोच्च अदालतद्वारा ‘तत्काल प्राप्त प्रमाणको आधारमा कसुरदार ठहर गर्न सकिएन’ भन्दै उनलाई पछि फैसला बमोजिम हुने गरी साधारण तारेखमा छाडियो । उनलाई साधारण तारेखमा छाडेलगत्तै यस घटनाका पीडित परिवार र अनुसन्धानमा संलग्न प्रहरी नै ‘असुरक्षित’ महसुस गर्न थालेका छन् ।

भारतमा अपराध कर्मको ‘लम्बे लाइन’ बोकेका सोनी रिहा भएलगत्तै रातोपाटीले किशोरीलाल सोनी र घटना विवरण तथा बयान र मुद्दाबारे नेपालगञ्ज नै पुगेर विभिन्न व्यक्तिलाई भेटघाट गरेको छ । घटनामा उनको संलग्नतालाई पुष्टी गर्ने केही आधार तथा हत्यामा को-को व्यक्ति के-कसरी संलग्न थिए भनेरसमेत रातोपाटीले विशेष खोज गरेको छ ।

रातोपाटीकोप्रदेश पाँचका ब्यूरो प्रमुख तेजेन्द्र केसी र विशेष संवाददाता प्रेम सुनारनेपालगञ्ज नै पुगेर विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन् ।

हेमकर परिवारको हत्या, किशोरीलाल सोनीको अपराध शृङ्खला, उनको उदयदेखि वर्तमानसम्म, भारतमा चलिरहेका केही मुद्दा आदिबारे शृङ्खला प्रस्तुत गर्दैछौँ । –सम्पादक

मदन ढुङ्गाना/तेजेन्द्र केसी

बाँके । बाँके जिल्लाको चिर परिचित व्यापारिक शहर नेपालगञ्ज । त्यहाँ रहेको रुपैडियासँगै नेपाल–भारत सीमा जोडिएकोले भारत जाने आउने क्रममा मानिसहरुको भीडभाड चलिरहन्छ । सीमानाका भएका अधिकांश ठाउँमा आर्थिक चलखेल धेरै हुने भएकाले अपराधका घटना पनि तुलनात्मक रुपमा धेरै नै हुन्छन् । यसबाट बाँके जिल्लाको नेपालगञ्ज शहर पनि अछुतो थिएन । अपराधकै शृङ्खलामा एउटा नयाँ घटना जोडियो २०६२ साल फागुन २३ गते ।

घटना विवरण :

मिति : २०६२ साल फागुन २३ गते ।

नेपालगञ्जको मुख्य केन्द्र त्रिभुवन चोक नजिकै रहेको एक धनाढ्यको घर । प्रत्येक दिन बिहानै खुल्ने ढोका त्यसदिन अबेलासम्म पनि खुलेन ।

शंका लागेर छिमेकीहरुले घरभित्र चिहाए । तर ढोका भित्रैबाट बन्द थियो ।

बाहिरबाटै बोलाए, कुनै आवाज आएन ।

कुनै छिमेकीले देखे घरको पछाडिको बार्दलीमा डोरी झुण्डिरहेको थियो । झन् शंका बढ्यो, उनीहरुले प्रहरीलाई खबर गरे ।

प्रहरी आउँदासम्म पनि घरको ढोका खुलेन । प्रहरीहरु ढोका फोडेरै भित्र गए ।

भित्र दृश्य विभत्स थियो ।

नेपालगञ्जका नाम चलेका सुनचाँदी व्यवसायी दीपक हेमकरसहित परिवारका ४ सदस्य र एक कामदार गरी ५ जनाको घाँटी रेटेर हत्या गरिएको थियो ।

घटनास्थलमा रगतको अहाल थियो ।

ज्यादै विभत्स र भयभीत पार्ने यो तस्वीर प्रहरीसँगै स्थानीयले पनि देखे ।

नेपालगञ्ज नगरपालिकाको वडा नम्बर ११ मा पर्ने सदरलाइनमा सुनचाँदीको व्यवसाय गर्ने व्यवसायी दीपक हेमकरसहित उनका ८२ वर्षीय हजुरआमा गुलाबदेवी हेमकर, ६२ वर्षीय बुवा जगदेव हेमकर, ४५ वर्षीय आमा सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय किशोर रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो ।

हत्यासँगै तत्कालीन समयमै झन्डै २९ लाख मूल्य बराबरको सुन र चाँदीको सामानसमेत हत्यारा समूहले लिएर गएको थियो ।

नेपाल प्रहरीको रेकर्डमा अहिले पनि यो हत्याकाण्डलाई ‘हेमकर परिवार हत्याकाण्ड’ भनेर राखिएको छ र यो घटनामा संलग्न व्यक्ति कानुनीरुपमा किटान भइसकेका छैनन् । तर प्रहरीको निस्कर्षचाहिँ के छ भने यो घटनामा दीपक हेमकरकै ससुरा भारत लखनउका किशोरीलाल सोनी र दीपककी श्रीमती दीपा सोनीकै हात रहेको छ ।

२०६२ सालको फागुन महिना । देशमा एकातिर संकटकाल थियो भने अर्कोतिर राजनीतिक दलको आन्दोलन पनि चलिरहेकै थियो । साँझ नेपालगञ्जमा कफर््यु लगाइएको थियो । साँझ ८ बजेपछि भोलिपल्ट बिहानको ५ बजेसम्म सडकमा हिँडडुल गर्न निषेध गरिएको थियो ।

कर्फ्युको कडाइकाबीच चिनजानका ५ जना फागुन २२ गते साँझ ‘पाहुना’ बनेर व्यवसायी दीपकको घरमा आइपुग्छन् । दीपकले उनीहरुलाई स्वागत गर्छन् । त्यो रात त्यहीँ बस्न भन्छन् । तर ती ५ जना ‘पाहुना’ नभएर हत्यारा समूह हुन्छ ।


१३ वर्षमा समातिएका हत्या आरोपीलाई सर्वोच्चले ९ महिनामै ‘छाड्यो’ !

हेमकर परिवार हत्याका आरोपी किशोरीलालको अपराधकर्म : उदयदेखि वर्तमानसम्म


राती १२ बजेसम्म घरमा मीठा–मीठा परिकार बनाएर खान्छन् । त्यसपछि सबैजना सुत्न जान्छन् । मस्त निन्द्रामा भएको बेला दीपकको परिवारका सदस्य र कामदारको पालैपालो घाँटी रेटेर हत्या गरिन्छ । मासु काट्ने ‘कसाई’ ल्याएर रुद्रघण्टी काटिएको हुन्छ । प्रहरीको भनाई अनुसार घाँटी धेरै पनि काटिएको छैन, जहाँ रेट्दा मानिस मर्छ, त्यति भाग मात्र काटिएको छ ।

हत्यापछि घरमा भएको सुन तथा नगद लिएर त्यो समूह घरको पछिल्लो बार्दलीबाट डोरीको सहायता लिई तल झरेर बिहानपख भारततर्फ लाग्छन् ।

भोलिपल्ट बिहान पुगेको प्रहरीले घटनाको अनुसन्धान गर्दै मुचुल्का उठाउँछ । तत्कालीन समयमा घटना चिनजानका व्यक्तिले नै लुटपाटको लागि गराएको निश्कर्ष प्रहरीले निकाल्छ । तर घटनामा को कसरी संलग्न छ भनेर प्रहरीसँग कुनै ‘क्लू’ हुँदैन ।

घटना भएको समयमा दीपककी श्रीमती दीपा सोनी माइत गएको र बहिनी प्रिती हेमकर बुटवलमा रहेकाले बाँचेको बताइन्छ ।

फागुन २३ गते नै हेमकर परिवारको हत्याको सूचना लखनउमा रहेकी दीपककी श्रीमती दीपा सोनी र उनको परिवारमा पुग्छ । लगत्तै उनीहरु नेपालगञ्ज आउँछन् र रोइकराइ सुरु हुन्छ ।

घटनाको छानबिनमा लागेको प्रहरीले त्यतिबेलासम्म कुनै सुराक पाउँदैन । आँखा अगाडिका अभियुक्तहरु छुट्छन् ।

घटना भएको १३ दिनभित्र दीपककी श्रीमती दीपा सोनीले पसल र घरमा रहेको केही सुनचाँदी पनि आफ्नो जिम्मामा लिन्छिन् ।

५० किलोभन्दा बढी सुन घरभित्रै 

यो घटनापछि घरको खानतलासी गर्दा घरमा लुकाई राखिएको अवस्थामा ५० किलोभन्दा बढी सुन भेटिएको थियो । त्यो दीपकको आफ्नै थियो भने १ सय किलोभन्दा बढी सुन धरौटीमा राखी विभिन्न व्यक्तिलाई पैसा दिइएको पाइएको थियो ।

धरौटीमा राखेको सुन विभिन्न व्यक्तिहरुलाई पैसा लिएर फिर्ता दिइएपनि दीपकको आफ्नै सुन करिब ५० किलोग्राम भने सबै दीपालाई जिम्मा लगाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले रातोपाटीलाई बताए ।

२०६२ सालमा सुनको मूल्य प्रतितोला करिब २१ हजार रुपैयाँ रहेको थियो । प्रति १० ग्रामको मूल्य १८ हजार हुँदा पनि एक किलोको मूल्य १८ लाख रुपैयाँ र ५० किलोको मूल्य कम्तिमा पनि ९ करोड रुपैयाँ हुन्थ्यो । सुनकै मूल्य ९ करोड र घर तथा बाँकी रकम गरी करिब १२ करोड रुपैयाँ दीपाले आफ्नो हातमा पारिन् ।

प्रहरी अनुसन्धानमै गडबड, मिलेमतोको आशंका

तत्कालीन समयमा जिल्ला तहमा रहेका प्रहरीका अनुसन्धान अधिकारी र नेतृत्वले आर्थिक लेनदेन गरी घटनामा संलग्नलाई बचाएको आरोप पनि लागेको छ । तत्कालीन समयमा जे जसरी अनुसन्धान गर्नुपर्ने थियो, तथ्य र प्रमाणहरु खोजी गर्नुपर्ने थियो, प्रहरीले त्यो गरेन । दीपकको सबै सम्पत्ति तत्कालै रोक्का राख्नुपर्ने भएपनि प्रहरीले त्यो समेत गर्न चाहेन । जसका कारण अपराधीलाई सम्पत्ति हत्याउन र प्रमाण मेटाउन सहज भयो ।

जब प्रहरीको टोली फेरियो ....

यस घटनामा संलग्नलाई सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीयबासीले आन्दोलनसमेत गर्न थाले । नेपाल प्रहरीको पनि टाउको दुखाईको विषय बनेको यो घटनामाथि छानबिनका लागि विभिन्न टोली परिचालित भए ।

करिब ६ महिनापछि गहन खोजबिन सुरु गरेको प्रहरीले पत्ता लगायो कि घटनाको अघिल्लो रात किशोरीलाल सोनी, दीपा सोनी र ३ जना कन्ट्रयाक्ट किलर भारतस्थित रुपैडियाको एक होटलमा बास बसेका थिए ।

माइत गएकी भनिएकी दीपासमेत रुपैडियाको होटलमा बसेको भेटियो भने ससुरा किशोरीलाल सोनी पनि त्यहीँ थिए । त्यसबाहेक अन्य ३ जना व्यक्ति पनि त्यही होटलमा बास बसेको पाइएपछि प्रहरीले केही केरकार गर्न थालेको थियो ।


जब बाँके प्रहरीमा सबल नेतृत्व आयो, त्यसपछि यो केस सल्टाउन प्रहरीहरु लागे । यस घटनाका अभियुक्त जसरी पनि पक्राउ गर्ने प्रहरी योजना बन्यो । योजना बमोजिम प्रहरीका अनुसनधान अधिकृतहरु लखनउ पुगेर सबै वस्तुस्थिति बुझ्न थाले ।


त्यस घटनापछि किशोरीलाल र दीपामाथि प्रहरीले निगरानी बढाएको थियो । प्रहरीको निगरानीपछि किशोरीलाल नेपाल आउनै छाडेका थिए भने दीपा पनि छिटोभन्दा छिटो सबै सम्पत्ति बेचेर नेपालबाट भाग्न चाहिन्थन् । तर नयाँ आएको प्रहरी नेतृत्वले पनि दीपालाई सामान्य सोधपुछबाहेक अरु केही गरेन । त्यसपछि दीपा पनि आफू असुरक्षित रहेको भन्दै भारत भागिन् ।

पछि प्रहरीले घटनामा किशोरीलाल र दीपाको संलग्नताको अन्य तथ्य तथा प्रमाणहरु पनि भेट्यो । घटना भएको भोलिपल्ट बिहान किशोरीलालसहित ५ जनालाई नेपालगञ्जकै एक स्थानीयले रुपैडिया पुराएको भेद खुल्यो, जतिबेलासम्म सबै जना भारत पुगिसकेका थिए ।

यी सबै तथ्य र प्रमाणले घटनामा दीपककी श्रीमती दीपा र किशोरीलाल सोनीकै हात रहेको निश्कर्षमा पुगेपनि भारतीय नागरिक भएको कारण पक्राउ गरी नेपाल ल्याउन सम्भव भएन र केस ‘पेण्डिङ’मै रह्यो ।

अभियुक्त पक्राउ गर्न लखनउमा २ वर्ष बिताए प्रहरीले

जब बाँके प्रहरीमा सबल नेतृत्व आयो, त्यसपछि यो केस सल्टाउन प्रहरीहरु लागे । यस घटनाका अभियुक्त जसरी पनि पक्राउ गर्ने प्रहरी योजना बन्यो । योजना बमोजिम प्रहरीका अनुसनधान अधिकृतहरु लखनउ पुगेर सबै वस्तुस्थिति बुझ्न थाले ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीमा कार्यरत एकजना इन्सपेक्टर र बाँके प्रहरीमै कार्यरत एकजना सई घटनाको विस्तृत अनुसन्धानको लागि भन्दै लखनउमा पुगे ।

ठेलामा तरकारी बेच्ने बनेर अनुसन्धान र रेकी

नेपालका प्रहरी भारत पुगेर अनुसन्धान गर्नु र अभियुक्तलाई पक्रेर नेपाल ल्याउन त्यति सहज थिएन । यद्यपि उनीहरुले वस्तुस्थिति बुझ्न र अभियुक्त पक्राउ गर्न धेरै मिहेनत गरेका थिए ।

अभियुक्तलाई शंका नहोस् भनेर प्रहरी अधिकारीहरु टाउकोमा फेटा गुँथेर सामान्य तरकारी बेच्ने व्यापारी बनी ठेलामा तरकारी बेच्न उनीहरुको घर वरपर घुमिरहे ।

किशोरीलाल सोनीको घर, पसल, दुरी आदि सबैबारे जानकारी राखे ।

घटनामा संलग्नहरुको फोटोसमेत खिच्न भ्याए । किशोरीलालकै पसलमा गएर चाँदीको सस्तो औँठीसमेत बनाउन भ्याए र व्यक्ति यकिन गरे । घटना भएको दिन पुर्याउन जाने व्यक्तिलाई फोटो देखाएर ती व्यक्ति यिनै थिएसमेत भनेर ‘क्रस भेरिफाई’ समेत गरे ।

घटनामा संलग्न व्यक्ति तिनै भएको ठहर भयो । त्यसबाहेक लखनउका ‘इन्टेलिजेन्स’ प्रयोग गरेर हत्यामा संलग्न कन्ट्रयाक्ट किलरहरुसमेत पहिचान गरे ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनीहरुले हत्यामा संलग्न ३ जना कसाईको घर ठेगाना पत्ता लगाई फोटोसमेत खिचिसकेका थिए ।

त्यसपछि उनीहरु सबैलाई ‘उठाउने’ प्रहरीको योजना बन्यो ।

जिम जान्थिन् दीपा सोनी

जतिबेला प्रहरी अधिकारीहरु किशोरीलाल सोनी, दीपा सोनी र ३ जना हत्याराको ‘रेकी’ गर्न लखनउमा पुगेका थिए, त्यतिबेला दीपा जिम गर्न जाने गर्थिन् । दीपा प्रत्येक दिन २ बजे जिम जान्थिन् र ४ बजे फर्किन्थिन् । उनको दैनिकी त्यो भन्दा फरक थिएन ।

पहिले दीपालाई उठाउने योजना असफल

नेपाल प्रहरीका अधिकारीले पहिले दीपालाई नै उठाउने कोशिससमेत गरेका थिए ।

दीपा प्रत्येक दिन २ बजे जिम जाने र ४ बजे फर्कने गरेकाले ४ बजे बाटोमा आउँदा उठाउने योजना बनेको थियो । जिमबाट घर आउँदा बाटोमा एउटा सानो गल्ली थियो । स्कुटरमा आवतजावत गर्ने दीपाको स्कुटर लडाएर उनलाई उठाउने प्रहरीको योजना बन्यो ।

२०७५ सालको साउनमै दीपाको स्कुटर लडाएर उठाउने योजना बन्यो । योजना बमोजिम दीपा जिमबाट फर्केलगत्तै अर्को स्कुटरमा रहेका प्रहरीले उनको स्कुटरलाई लात्ताले हाने । दीपा स्कुटरसहित लडिन् । तर तत्कालै त्यहाँ स्थानीयहरु आएर ‘के भो ?’ भन्न थालेपछि प्रहरी आफ्नो योजनामा असफल भयो । दीपालाई उठाउने प्रहरीको योजना असफल बन्यो । त्यो सामान्य ‘दुर्घटना’ भन्दै सबै आ–आफ्नो बाटो लागे । पछि फेरि दीपालाई उठाउने आँट प्रहरीले गरेन । किनभने कुनै जानकारी बाहिर गएमा उनीहरुलाई झनै खतरा हुन सक्थ्यो भने मिसन फेल हुन सक्थ्यो ।

त्यसपछि उनीहरुले किशोरीलाल सोनीलाई मात्रै मुख्य टार्गेट बनाए ।


पक्राउ परेलगत्तै सुरुमा किशोरीलालले आफूलाई किन अपहरण गरेको भनेर सोधेका थिए । आफूहरु नेपालको प्रहरी भएको र दीपक हेमकर परिवारको हत्याका सम्बन्धमा पक्राउ गरेको भनेलगत्तै आत्तिएका किशोरीलालले त्यतिबेलै प्रहरी अधिकारीलाई १ करोड भारतीय रुपैयाँको अफर गरेका थिए । तर उनीहरुले अफर लत्याएर धेरै जोखिम मोलेर सोनीलाई नेपाल ल्याएका थिए ।


मिति : २०७५ साल असोज १२ गते ।

भारत लखनउको प्रियादर्शनी कोलोनीको भव्य महलमा बस्ने किशोरीलाल सोनीको दैनिकी भनेको बिहान ८ बजे घरबाट ५ सय मिटरको दुरीमा रहेको सुन पसलमा जाने र बेलुका ७ बजे फर्कने थियो । त्यहाँबाहेक उनी अन्त कहीँ जाने गरेका थिएनन् । सँधैको एउटै दैनिकी भएपछि प्रहरीले सोनीलाई एकदिन उठाउने निधो गर्यो । पसलबाट स्कुटरमा आएका सोनीलाई रोक्ने र गाडीमा हाल्ने योजना तयार भयो । योजना बमोजिम उनीहरुले भारतमै एउटा सेतो कार एउटा स्कुटर भाडामा लिए । अपरेशनमा ५ जना प्रहरी खटिए ।

त्यसपछि बाटोमा कार ल्याएर राखियो र दुईजना प्रहरी स्कुटरमै बसेर आए । जब सोनी कार रोकिएको नजिकै आए, उन चढेको स्कुटर रोकियो र उनलाई अपहरणको शैलीमा कारमा हालियो । उनको स्कुटर नेपाल प्रहरीले चलाएर केही परसम्म लग्यो । त्यसपछि स्कुटर छाडेर सबैजना कारमै बसे ।

कारको नम्बर र हुलिया पहिचान हुनसक्ने भन्दै बीच बाटोमै उनीहरुले आफ्नो हुलिया बदले भने कारसमेत बदलेर अर्कै कारमा आए ।

त्यसपछि विभिन्न दुःख झेल्दै उनीहरुले किशोरीलालालाई नेपाल ल्याइपुर्याए ।

प्रहरीकै इन्काउण्टर हुनसक्थ्यो

भारतको लखनउबाट किशोरीलाल सोनीलाई अपहरण गरी नेपाल ल्याइरहँदा सोनी अपहरणमा परेको समाचार सार्वजनिक भइसकेको थियो । लखनउको प्रियदर्शनी कोलोनीबाट नेपालगञ्ज आइपुग्न छिटोमा पनि करिब ४ घण्टा लाग्थ्यो । किनभने लखनउको त्यस स्थानबाट नेपालगञ्ज आइपुग्न सिधै आएपनि १ सय ६३ किलोमिटर टाढा थियो । त्यसमाथि अभियुक्त ‘उठाएर’ आएको प्रहरीलाई सुरक्षित बाटो जानु थियो । त्यसकारण पनि उनीहरुलाई लामो र सुरक्षित बाटो  प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

तर, लखनउ र पूरै यूपीमा सुन व्यापारी अपहरणमा परेको समाचार भाइरल बनेपछि यदि नेपाल प्रहरीका ‘अपहरणकारी’लाई भारतीय प्रहरीले देखेमा इन्काउण्टर गर्न सक्ने खतरासम्म थियो । यता, नेपाल प्रहरीसँग हतियारसमेत थिएन । धेरै जोखिम मोलेर भए पनि नेपाल प्रहरीको टोली अभियुक्तलाई नेपाल ल्याउन सफल भयो । 

किशोरीलालको १ करोड भारुको अफर

पक्राउ परेलगत्तै सुरुमा किशोरीलालले आफूलाई किन अपहरण गरेको भनेर सोधेका थिए । आफूहरु नेपालको प्रहरी भएको र दीपक हेमकर परिवारको हत्याका सम्बन्धमा पक्राउ गरेको भनेलगत्तै आत्तिएका किशोरीलालले त्यतिबेलै प्रहरी अधिकारीलाई १ करोड भारतीय रुपैयाँको अफर गरेका थिए । तर उनीहरुले अफर लत्याएर धेरै जोखिम मोलेर सोनीलाई नेपाल ल्याएका थिए ।

करिब एक महिना अनुसन्धान गरेर जिल्ला अदालत बाँकेमा उनीविरुद्ध मुद्दा दायर गरे । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दियो ।

तर किशोरीलालले भने कारागार बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत तुलसीपुर दाङको नेपालगञ्ज इजलाशमा निवेदन दिए । उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलाशले पनि जिल्लाकै आदेश सदर गर्दै थुनामै राखेर अनुसन्धान गर्न आदेश दियो ।

तर त्यस आदेशमा पनि चित्त नबुझाएर सोनीले सर्वोच्च अदालतमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने भन्दै गएको चैत ५ गते निवेदन दिए । त्यस निवेदनमाथि ६ पटक पेसी सरेर गएको असार २७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले उनीहरुलाई साधारण तारेखकै रिहा गर्ने आदेश दिए ।

सर्वोच्चको आदेश लगत्तै सोनी थुनामुक्त भएर फेरि भारत पुगिसकेका  छन् । यद्यपि उनको मुद्दा भने अझै पनि जिल्ला अदालत बाँकेमा विचाराधीन नै छ ।

कमेन्ट

  1. Aug. 7, 2019, 7:59 p.m. Sk
    अब यी साला इश्वोरी प्रसाद र पुरुसोत्तम लाई नै उठाउनु पर्छ ।।
  2.  0 Reply
  3. Aug. 7, 2019, 7:55 a.m. kamal
    nepal ko kanun jamma 2,4 janako hatma xa k garne ye vatmara harulai goli hannu ni baru nepal pules le gareko kam lai salam garna chana xu
  4.  0 Reply
  5. Aug. 7, 2019, 7 a.m. Hari
    साला न्यायधिसनै बिकेपछी कस्को बाउको के लाग्छ।
  6.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...