बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१३ वर्षमा समातिएका हत्या आरोपीलाई सर्वोच्चले ९ महिनामै ‘छाड्यो’ !

छुटेलगत्तै पुगे भारत, अब कुन ठेगानामा म्याद तामेल गर्ने श्रीमान् ?
बिहीबार, ०२ साउन २०७६, १४ : ५८
बिहीबार, ०२ साउन २०७६

५ जना हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले ५ जना हत्या आरोपीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

२०६२ साल फागुन २३ गते बाँकेको नेपालगञ्जमा सुन व्यापारी दीपक हेमकरको परिवारका ५ जनाको हत्या गरी लुटपाटसमेत भएको घटनाका मुख्य आरोपीमध्येका एक थिए– किशोरीलाल सोनी । सोनी मृतक दीपक हेमकरका ससुरासमेत थिए ।

२०६२ साल फागुन ११ गते नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा सुन व्यापारी ३२ वर्षीय दीपक हेमकर, उनकी हजुरआमा ८२ वर्षीय गुलावदेवी हेमकर, बुबा ६२ वर्षीय जगदेव हेमकर, आमा ४५ वर्षीया सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो ।

१४ वर्ष पुरानो उक्त हत्याकाण्डमा प्रारम्भिक चरणमै हत्या परिवारकै सदस्यबाट भएको हुन सक्ने निष्कर्ष प्रहरीले निकालेको थियो ।

तर आरोपीहरु सबै भारतीय नागरिक भएकाले उनीहरुलाई पक्राउ गरी मुद्दा चलाउन सकिएको थिएन ।

तर पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र बाँके प्रहरीको विशेष टोलीले आरोपी किशोरीलाल सोनीलाई भारतको लखनऊबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

त्यसलगत्तै केही समय अनुसन्धान गरी बाँके प्रहरीले जिल्ला अदालत बाँकेमा हत्या तथा डकैतीको मुद्दा दायर गरेको थियो ।

सरकारवादी भएको उक्त मुद्दामा जिल्ला अदालत बाँकेले २०७५ साल कात्तिक १४ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यद्यपि आरोपी किशोरीलाल सोनीले भने आरोप अस्वीकार गर्दै आएका थिए ।

त्यसपछि सोनी उच्च अदालत दाङमा निवेदन दिँदै साधारण तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न पाउन माग गरेका थिए ।

उच्च अदालत दाङको नेपालगञ्ज इजलासले २०७५ साल पुस २६ गते जिल्ला अदालत बाँकेकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो ।

तर त्यस आदेशविरुद्ध सोनीले २०७५ चैत ५ गते सर्वोच्च अदालतमा कारागार बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

६ पटकको पेसी तारेखपछि गत असार २७ गते सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले सोनीको माग दावीअनुसार नै उनलाई साधारण तारेखमै छाड्ने आदेश दिएका हुन् ।

सर्वोच्च अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेशमा ‘तत्काल प्राप्त प्रमाणबाट दोषी नदेखिएको’ उल्लेख गरेको छ । साथै ‘जिल्ला र उच्च अदालतले थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने गरी गरेको आदेश बेरितको देखिएको’ पनि सर्वोच्चको आदेशमा उल्लेख छ ।

हेर्नुहोस्, सर्वोच्च अदालतले ५ हत्याका आरोपी किशोरीलाल सोनीलाई साधारण तारेखमा छाड्ने यो आदेश ।

सर्वोच्च अदालतबाट साधारण तारेखमै छाड्ने आदेश भएलगत्तै कार्यान्वयनको पत्र जिल्ला अदालत बाँके पुगेको थियो । त्यसलगत्तै आरोपी किशोरीलाल सोनी थुनामुक्त भई भारत पुगिसकेका छन् ।

प्रारम्भिक अनुसन्धान

नेपालगञ्जका सुन व्यापारी दीपक हेमकर परिवारको हत्या उनकै आफन्तबाट भएको अनुमान गरिए पनि उचित आधार र प्रमाण भेटिएको थिएन । तर प्रहरीले विभिन्न टोली खटाएर हत्याबारे अनुसन्धान गरिरहेको थियो ।

घटनाको करिब ६ महिनापछि हत्यामा दीपककै श्रीमती दीपा सोनी, दीपकका ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको र सो कार्य गर्नका लागि उनीहरुले भारत सीतापुरका ३ जना हत्याराहरुलाई सुपारी दिएको पत्ता लगाएको थियो ।

प्रहरी अनुसन्धानकै क्रममा दीपककै श्रीमती दीपा सोनी र ससुरा किशोरीलाल सोनीको संलग्नता रहेको तथ्यहरु फेला परेको थियो । यसबीच आरोपी दीपा सोनीले दीपकको नाममा रहेको घरसमेत बेचबिखन गरी भारतको लखनउ पुगिसकेकी थिइन् ।

****

हेमकर परिवार हत्याका आरोपी किशोरीलाल सोनीविरुद्ध भारतमै पनि ४ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको प्रहरीले जनाएको छ । सोनीविरुद्ध भारतमै कर्तव्य ज्यान अर्थात् व्यक्ति हत्या, हत्याको प्रयास, डाका र चोरीको मुद्दा चलिरहेको छ ।

****

यसरी गरेका थिए किशोरीलाल सोनीले हेमकर परिवारको हत्या

नेपालगञ्जका सुन व्यापारी दीपक हेमकरले भारत लखनउ, सीतापुरकी दीपा सोनीसँग विवाह गरेका थिए । तराई र भारतमा ‘रोटीबेटीको सम्बन्ध’ भनेझैँ विवाह पनि सामान्य नै थियो । ३० वर्षको उमेरमा नेपालगञ्जका दीपक हेमकरले लखनउकी १८ वर्षीय दीपा सोनीसँग विवाह गरेका थिए ।

जब दीपकको सम्पत्तिमाथि आरोपी किशोरीलाल सोनीले आँखा लगाए, तब हेमकर परिवारको हत्या गरी सुनचाँदी लुटपाट गर्ने योजना बनाए ।

आफ्नो योजनामा छोरी दीपा सोनीलाई उनले सुरुदेखि नै संलग्न गराए । टन्न सम्पत्ति हुने भएपछि दीपाले आफ्ना बुबाको योजना स्वीकार गरिन् र दीपक हेमकर तथा परिवारका सबै सदस्यको हत्या गर्ने योजना बन्यो ।

योजना बमोजिम भारतबाटै ‘कन्ट्याक्ट किलर’ नेपाल ल्याउने र उनीहरुबाटै हत्या गराउने योजना तयार भयो ।

हत्याको योजनाबमोजिम दीपककी श्रीमती दीपा २ दिन अगाडि मात्रै आफ्नो माइती भारतको लखनउ पुगिन् ।

यसरी समातिए १४ वर्षअघिको हेमकर परिवार हत्याकाण्डका मुख्य अभियुक्त

अनि उताबाटै मासु काट्ने व्यवसाय गर्दै आएका ३ जना हत्याराहरुलाई नेपालगञ्ज ल्याए । ती हत्याराहरुको प्रयोग गरेर २०६२ साल फागुन २३ गते राति परिवारका ४ सदस्य तथा एकजना कामदार गरी ५ जनाको घाँटी रेटेर सामुहिक हत्या गरियो । हत्या गर्नका लागि किशोरीलाल र दीपा सोनीले अलि हुसेन कसाई, फिरोज अन्सारी र नाम नखुलेका कसाई थरका अर्का एक व्यक्तिलाई प्रयोग गरेका थिए ।

घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार माइत हिँडेकी दीपा घटनाको अघिल्लो दिन राति रुपेडियाको मुस्कान होटलमा बास बसेकी थिइन् । दीपासँगै उनका बुवा किशोरीलाल सोनी र ‘कन्ट्याक्ट किलर’हरु पनि सोही होटलमा बास बसेका थिए ।

हत्या गरेलगत्तै तत्कालीन समयमै करिब २८ लाखको धनमालसमेत लुटपाट गरी प्रहरीलाई भ्रमित तुल्याउन घटनालाई लुटपाटको रुप दिन खोजे ।

त्यसको भोलिपल्टै दीपक हेमकरका ससुरालीका सबै सदस्य नेपाल आए र रोइकराइको नाटकसमेत गरे ।

शुरुमा प्रहरीको अनुसन्धान लुटपाटतिरै केन्द्रीत रह्यो । यसबीच, परिवारका सबै सदस्यको हत्या भइसकेपछि सम्पत्तिको हकदार स्वतः दीपा सोनी बनिन् । उनले आफूलाई समेत खतरा भएको भन्दै घटनाको ४ महिनापछि दीपकको घरलगायतका सबै सम्पत्ति बेचबिखन गरी भारत लागिन् ।

तर पछि अनुसन्धान गर्दै जाँदा प्राप्त परिस्थितिजन्य साक्ष्यहरु र घटनाक्रमका बारेमा खुल्दै गएका नयाँ नयाँ तथ्यहरुले शंकाको सुई सोनी परिवारतर्फ मोडियो ।  थप अनुसन्धान गर्दै जाँदा हेमकर परिवारको सामुहिक हत्या मृतक दीपककी पत्नी दीपा सोनी र उनका माइतीखलकका मानिसहरु मिलेर योजनाबद्ध ढंगले गरेको र सोही कार्यका लागि उनीहरुको विवाह समेत भएको टुंगोमा प्रहरी पुगेको थियो । हेमकर परिवारको हत्या कुनै अज्ञात व्यक्तिले लुटपाटका लागि गरेको घटना नभई ‘प्लान मर्डर’ भएको र मूलतः हत्याका पछाडि आर्थिक कारणनै रहेको प्रहरीको निष्कर्ष छ ।

*****

करिब साढे २ वर्ष लामो अनुसन्धानपछि घटनामा संलग्नहरुको इतिबृतान्त पत्ता लगाई नेपाल प्रहरीले २०७५ साल असोज १३ गते सोनीलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

*****

किशोरीलालबारे बुझ्न यतिसम्म गरेको थियो प्रहरीले

नेपाल प्रहरीको टाउको दुखाइका मुद्दाहरुमध्ये सबैभन्दा प्रमुख  हेमकर परिवारको सामुहिक हत्याकाण्ड पनि थियो । यो मुद्दाको अनुसन्धान गरी तहमा पुग्न प्रहरीमाथि ठूलो दवाब थियो र हत्यारालाई पत्ता लगाइछाड्न नेपाल प्रहरीले पनि धेरै मिहिनेत गरेको थियो । अपराधी पत्ता लगाउन नेपाल प्रहरीले आफ्ना अधिकृतहरुलाई किशोरीलालकै लखनउस्थिति घर नजिकै छ्दमभेषमा काम गर्न समेत पठाएको थियो । त्यस सिलसिलामा सीआईबीका अनुसन्धान अधिकृत र बाँकेकै प्रहरी अधिकारीले सीतापुर लखनउमा कोठा भाडामा लिई सामान्य कामदारका रूपमा समेत काम गरेर अनुसन्धान गरेका थिए ।

करिब साढे २ वर्ष लामो अनुसन्धानपछि घटनामा संलग्नहरुको इतिबृतान्त पत्ता लगाई नेपाल प्रहरीले २०७५ साल असोज १३ गते सोनीलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

खुर्सिदको बदलामा किशोरीलाल नेपाललाई भारतको ‘उपहार’ (भिडियोसहित)

त्यसलगत्तै प्रहरीले थप १ महिना लामो गहन अनुसन्धान गरी किशोरीलाल सोनी र अपराधका मतियारहरुका विरुद्ध जिल्ला अदालत बाँकेमा कर्तव्य ज्यान तथा डाँका मुद्दा चलाएको थियो ।

यद्यपि आरोपी किशोरीलाल सोनीले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका थिए ।

सोही सिलसिलामा जिल्ला अदालतले आरोपी किशोरीलाल सोनीलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो भने उच्च अदालत दाङले पनि जिल्लाको आदेश सदर गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

तर सर्वोच्च अदालतले भने उनलाई साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दियो । आदेशलगत्तै सोनी रिहा भए र भारत पुगे ।

सोनीविरुद्ध भारतमै कर्तव्य ज्यान, डाँका र चोरीका ४ मुद्दा

त्यसो त हेमकर परिवार हत्याका आरोपी किशोरीलाल सोनीविरुद्ध भारतमै पनि ४ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको प्रहरीले जनाएको छ । सोनीविरुद्ध भारतमै कर्तव्य ज्यान अर्थात् व्यक्ति हत्या, हत्याको प्रयास, डाका र चोरीको मुद्दा चलिरहेको छ ।

प्रहरीका अनुसार किशोरीलाल सोनी सुरुमा एक सामान्य कालीगढ मात्रै थिए । उनले भारतमै आफूले काम गर्ने सुन पसलका मालिकका छोराको अपहरण गरी मोटो फिरौती रकम लिएर पछि हत्यासमेत गरेका थिए । उनको अपराध कर्म त्यहीँबाट सुरु भएको प्रहरी स्रोतले बताएको छ ।

त्यसपछि सोनीको परिवार नै व्यक्ति हत्यामा संलग्न रहेको प्रहरीले बताएको छ । सम्पत्तिका लागि विवाहको प्रपञ्च रच्ने र पछि हत्याकर्म गर्ने कुरामा उनीहरु पेशेवर नै रहेको देखिन आएको कुरा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले रातोपाटीलाई बताएका छन् ।

नेपालमा हेमकर परिवारको हत्या भएलगत्तै दीपक हेमकरकी श्रीमती भनिएकी दीपा हेमकरले भारतमा अर्को विवाह गरिन् । दीपाको उक्त विवाह पनि सम्पत्तिका लागि नै भएको थियो । विवाहपछि दीपाले आफ्नो सासू, ससुरा र श्रीमान्कै हत्या प्रयास गरेकी थिइन् । दीपाले सासूको खानामा विष मिलाएर हत्या गर्न सफल भए पनि उनका श्रीमान र ससुरा भने बाँच्न सफल भएका थिए । यो हत्याकाण्डमा पनि किशोरीलाल सोनीकै योजना र संलग्नता रहेको नेपाल प्रहरीको भनाइ छ । सोही अभियोगमा किशोरीलाल र दीपा सोनीविरुद्ध भारतमा मुद्दा चलिरहेको छ ।

नेपाल प्रहरीले हत्याका आरोपी किटान नै गरेर सोनीलाई भारतबाटै ‘अपहरण’को शैलीमा पक्राउ गरेर नेपाल ल्याएको थियो । सोनीलाई पक्राउ गर्ने क्रममा नेपाल प्रहरीले धेरै जोखिम समेत उठाएको थियो । तर यति धेरै समय खर्चेर तथा जोखिम मोलेर भारतदेखि पक्राउ गरिएका व्यक्तिलाई सर्वोच्च अदालतले भने साधारण तारेखमै रिहा गर्ने आदेश दिएको छ ।

सोनीले बहसमा राखेका थिए वरिष्ठ अधिवक्ताहरु

सोनीले आफ्नो थुनछेक बहसका लागि नेपालका ४ जना वरिष्ठ अधिवक्ता तथा एकजना अधिवक्तलाई राखेका थिए । हत्या आरोपी किशोरीलाल सोनीको तर्फबाट उनको बचाउमा वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने र रमण श्रेष्ठ तथा अधिवक्ता चूडामणि पौडेलले बहस गरेका थिए ।

सरकारका तर्फबाट भने उपन्यायाधिवक्ता गङ्गाप्रसाद पौडेलले बहस गरेका थिए ।

मुद्दाको तामेली कहाँ गर्ने श्रीमान् ?

सर्वोच्च अदालतले साधारण तारेखमै रिहा गर्ने आदेश दिएलगत्तै आरोपी किशोरीलाल सोनी भारत पुगिसकेका छन् । अब अदालतले बोलाएको तारेखमा उनी उपस्थित नभएमा मुद्दाको तामेली कहाँ गर्ने भन्ने समस्या हुने देखिन्छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा २ मा विदेशी नागरिक भएको खण्डमा तत्काल प्राप्त प्रमाणबाट कसुरदार नदेखिए पनि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न सक्ने कुरा उल्लेख गरेको छ । थुनछेक, धरौटी तथा जमानतसम्बन्धी व्यवस्थाको दफा ६७ को उपदफा २ मा यस्तो लेखिएको छ ः

‘उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि कानुनबमोजिक कैदको सजाय हुन सक्ने अभियुक्तलाई देहायको अवस्थामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न सक्नेछ ।’

यही उपदफाको (ख) मा यस्तो लेखिएको छ ।

‘एक वर्ष वा सोभन्दा बढी सजाय हुन सक्ने कसुरको अभियोग लागेको अभियुक्तको नेपालमा स्थायी बसोवास नभएको र निजलाई थुनामा नराखेको खण्डमा निज भाग्ने र पछि पक्राउ पर्ने सम्भावना नरहेकामा ।’

यहाँ स्मरणीय कुरा के छ भने आरोपी किशोरीलाल सोनी भारतीय नागरिक हुन् । तर भारतीय नागरिक भए पनि अदालतले भने तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार नदेखिएको भन्दै उनलाई साधारण तारेखमै छाड्ने आदेश दिएको छ । यसले गर्दा कदाचित सोनी अदालतबाट दोषी ठहरिएमा पनि फैसला कार्यान्वयन गर्नमा ठूलो जटिलता उत्पन्न हुन सक्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप