शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेमकर परिवार हत्याका आरोपी किशोरीलालको अपराधकर्म : उदयदेखि वर्तमानसम्म

छोरीलाई पनि प्रयोग गरेर यसरी गरे सामूहिक हत्या
सोमबार, २० साउन २०७६, १४ : ४७
सोमबार, २० साउन २०७६

२०६२ साल फागुन २३ गते बाँके नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा हत्या गरिएका दीपक हेमकर परिवारका ५ सदस्यको हत्याका मुख्य आरोपी किशोरीलाल सोनी गत असार २७ गते सर्वोच्च अदालतको आदेशबाट साधारण तारेखमै रिहा भए ।

सर्वोच्च अदालतद्वारा ‘तत्काल प्राप्त प्रमाणको आधारमा कसुरदार ठहर गर्न सकिएन’ भन्दै उनलाई पछि फैसला बमोजिम हुने गरी साधारण तारेखमा छाडियो । उनलाई साधारण तारेखमा छाडेलगत्तै यस घटनाका पीडित परिवार र अनुसन्धानमा संलग्न प्रहरी नै ‘असुरक्षित’ महसुस गर्न थालेका छन् ।

भारतमा अपराध कर्मको ‘लम्बे लाइन’ बोकेका सोनी रिहा भएलगत्तै रातोपाटीले किशोरीलाल सोनी र घटना विवरण तथा बयान र मुद्दाबारे नेपालगञ्ज नै पुगेर विभिन्न व्यक्तिलाई भेटघाट गरेको छ । घटनामा उनको संलग्नतालाई पुष्टी गर्ने केही आधार तथा हत्यामा को-को व्यक्ति के-कसरी संलग्न थिए भनेरसमेत रातोपाटीले विशेष खोज गरेको छ ।

रातोपाटीको प्रदेश पाँचका ब्यूरो प्रमुख तेजेन्द्र केसी र विशेष संवाददाता प्रेम सुनार नेपालगञ्ज नै पुगेर विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन् ।

हेमकर परिवारको हत्या, किशोरीलाल सोनीको अपराध शृङ्खला, उनको उदयदेखि वर्तमानसम्म, भारतमा चलिरहेका केही मुद्दा आदिबारे शृङ्खला प्रस्तुत गर्दैछौँ । –सम्पादक

तालुमा कपालको रौँ भेट्न मुस्किल छ । उमेर ६७ वर्ष लागिसकेका एक वृद्ध । केही दिनअघि मात्रै जिल्ला कारागार बाँकेबाट रिहा भए ।

सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि बाँके जिल्ला अदालतले यी वृद्धलाई साधारण तारेखमा रिहा गरिदिएको थियो ।

ती वृद्ध थिए, किशोरीलाल सोनी । भारतीय नागरिक किशोरीलाल सोनीमाथि २०६२ साल फागुन २३ गते नेपालगञ्जका सुन व्यवसायी दीपक हेमकरको परिवारका ५ जना सदस्यको हत्या गरी लुटपाट गरेको आरोप लागेको थियो । त्यही मुद्दा पुर्पक्षका लागि थुनामा थिए । तर सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार भन्न मिलेन’ भन्दै उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि जिल्ला अदालत बाँकेले उनलाई रिहा गरिदिएको थियो । रिहालगत्तै सोनी भारत पुगे भने भारतमा उनले आफ्ना साथीहरुलाई ग्राण्ड पार्टीसमेत दिइसकेका छन् ।

सामान्य कालीगढ सोनी यसरी होमिए अपराधकर्ममा

लखनउको अदालतमा चलिरहेको मुद्दा, प्रहरीको मिसिल र पेश गरिएको तथ्य तथा प्रमाणलाई आधार मान्ने हो भने किशोरीलाल सोनीको अपराधकर्म करिब ४० वर्ष अगाडिबाट सुरु भएको हो ।

जतिबेला उनी २५÷२६ वर्षका थिए, त्यतिबेला उनी लखनउमै रहेको एक सुन पसलमा सामान्य कालीगढ (सुनका काम गर्ने कामदार) थिए । उनी लखनउको एक धनाढ्य सुन व्यवसायीको सुन पसलमा सुनका गरगहना बनाउने काम गर्दथे ।

सुन पसलमा काम गर्दै गर्दा उनले ती सुन व्यवसायीको सम्पत्ति कति छ र कमजोरी के हो भनेर पत्ता लगाए ।

उनलाई चाँडै धनी बन्ने भूत सवार भयो । केही भाडाका हत्यारा (कन्ट्याक्ट किलर) ल्याएर उनले आफू जुन सुन पसलमा काम गर्थे, त्यही सुन व्यवसायीका छोरालाई अपहरण गरे ।

अपहरणका मुख्य डिजाइनर सोनी भने अपहरणपश्चात पनि कामका लागि त्यही पसलमा गइरहे । यता, छोराको अपहरण भएपछि तनावमा रहेका सुन व्यवसायीसँग मध्यस्थता गर्ने काम भने तिनै सोनीले गरे । यतिसम्म कि उता आफ्नै मालिकका छोरालाई अपहरण गर्न लगाउने र यता ‘भला’ बनेर डिल गर्ने काम तिनै सोनीले गरे । त्यतिबेला पनि तथाकथित अपहरणकारीसँग डिल गरेर फिरौती बुझाउनसमेत उनी आँफै गएको भारतमा चलिरहेको मुद्दाको बयानमा उल्लेख छ ।

तर जब मोटो फिरौती रकम लिइयो, त्यसलगत्तै सोनीकै समूहले ती सुन व्यवसायीको छोराको हत्या गर्यो ।

हत्यालगत्तै प्रहरीसम्म पुगेको उक्त घटनामा पक्राउ परेका केहीले सोनीकै योजना मुताबिक काम गरेको बयान दिए । यद्यपि उक्त घटनामा पनि सोनीले आफ्नो संलग्नताको अस्वीकार गरिरहे । त्यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामै रहेको छ ।

त्यही घटनाबाट सोनीको अपराधकर्म सुरु भएको देखिन्छ ।

भारतमै सोनीको कर्तव्य ज्यान, चोरी तथा डाँकाका ४ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । लखनउ अदालतमा उनीविरुद्धको मुद्दा विचाराधीन अवस्थामै रहेको छ ।

त्यसपछि निरन्तर अपराधकर्ममा जोडिएका सोनीको अपराधकर्म अहिलेसम्म चलिरहेको भारतीय प्रहरीको समन्वयमा काम गरिरहेका एक प्रहरी अधिकारीले रातोपाटीलाई बताएका छन् ।


१३ वर्षमा समातिएका हत्या आरोपीलाई सर्वोच्चले ९ महिनामै ‘छाड्यो’ !


किशोरीलाल सोनी : मजदुरदेखि मालिकसम्म

कुनै दिन अरुको सुन पसलका कामदार रहेका भारत लखनउका किशोरीलाल सोनीको अहिले आफ्नै सुन पसल छ ।

लखनउ सीतापुर रोड प्रियदर्शन कोलोनीमा सोनीको आफ्नै बङ्गला पनि छ । सामान्य परिवारका सोनी अहिले धन्नाढ्य बनेका छन् । कम्पाउन्डसहितको उनको भव्य घरमा सिसिटिभी क्यामरा जडान गरिएको छ । घरमा सुरक्षाको लागि दुईवटा कुकर समेत पालिएको छ । सोनीसँग यतिबेला बैङ्क ब्यालेन्स पनि टन्नै छ ।

सामान्य कामदारको जीवनबाट आफूलाई यति धेरै सफल बनाउनमा भने उनको मेहनतभन्दा पनि अपराधकर्मसँग जोडिएको भारतीय तथा नेपाल प्रहरीको बुझाई छ ।

किशोरीलालको अहिले देखाउने पेशा सुन पसल भएपनि खास धन्दा भने व्यक्ति अपहरण, हत्या र डाँका नै हो भएको प्रहरीको निस्कर्ष छ ।

लखनउकै सीतापुरमा किशोरीलालले आफू काम गर्ने पसलका सञ्चालक राजेश अग्रवाल साँझ पसल बन्द गरेर घर जाने क्रममा गोली प्रहार गरेको प्रहरीको जाहेरमिा उल्लेख छ । त्यसैगरी सितापुरकै ओम प्रकाश त्रिपाठीको हत्या प्रयास गरेको मुद्दा पनि लखनउ अदालतमा चलिरहेको छ ।  

उनीमाथि भारतमा ४ वटा मुद्दा विचाराधीन अवस्थामा छ भने नेपालमा पनि नेपालगञ्जका हेमकर परिवारका ५ जनाको हत्याको आरोपमा मुद्दा चलिरहेको छ ।

यसरी भएको थियो दीपक हेमकर परिवारको हत्या

गणतन्त्र स्थापनाका लागि देशैभर आन्दोलन भइरहेको थियो । ५ राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीच ५ मंसिरमा विस्तृत शान्ति सम्झौता भइसकेपछि देशमा राजनीतिक परिवर्तनको माहोल बनेको थियो । राजाबाट प्रतिबन्ध लगाइएका राजनीतिक दल र नागरिक समूहबाटै जिल्ला जिल्लामा आन्दोलन भइरहेको थियो ।

२०६२ साल फागुन २३ गते ।

गणतन्त्र स्थापनाको आन्दोलनमा बाँके जिल्ला पनि अछुतो थिएन । आन्दोलनकै बीचमा जिल्ला प्रशासन कार्यालयले त्यहाँ कर्फ्यू लगाएको थियो । तर यही कर्फ्यूको बीचमा फागुन २३ गते राती दीपक हेमकर परिवारको हत्या हुन्छ ।

नेपालगञ्ज नगरपालिकाको वडा नम्बर ११ मा पर्ने सदरलाइनमा सुन चाँदीको व्यवसाय गर्ने व्यवसायी दीपक हेमकरसहित उनका हजुरआमा ८२ वर्षीय गुलाबदेवी हेमकर, ६२ वर्षका बुवा जगदेव हेमकर, ४५ वर्षकी आमा सीतादेवी हेमकर र उनीहरूको घरमा काम गर्ने १५ वर्षीय रामशनिश्चर चौधरीको घाँटी रेटेर हत्या भएको थियो ।

मासु काट्ने दाउ प्रयोग गरेर घाँटी रेटेर ज्यादै अमानवीय तवरले गरिएको उक्त हत्या सुरुमा लुटपाटका लागि कुनै आपराधिक समूहले गरेको दाबी गरियो । प्रहरीले त्यतिबेला नै हत्यामा कुनै चिनजानको व्यक्तिको संलग्नता रहेको निष्कर्ष निकाले पनि हत्यामा कसको कस्तो कनेक्सन थियो भन्ने पत्ता लगाउन सकेन । धेरै समिति र छानबिन भएपनि उक्त घटनामा को कसरी संलग्न थियो भनेर पत्ता लगाउन सकिएन ।

हेमकर परिवार हत्यामा किशोरीलाल कनेक्सन

भारतमा अपराधकर्ममा तल्लीन किशोरीलाल सोनीको नेपालमा अपराधको कनेक्सन ‘रोटी र बेटीको सम्बन्ध’बाट भएको देखिन्छ ।

भारतमै सुनको कारोबार गरिरहेका किशोरीलाल सोनीको छोरी दीपा सोनी र नेपालगञ्जका सुन व्यापारी दीपक हेमकरको चिनजान हुन्छ । ३० वर्षका दीपक हेमकर र १८ वर्षकी दीपा सोनीको चिनजान भएपछि भेटघाट र प्रेममा परिणत हुन्छ ।

त्यसपछि उनीहरुको विवाहको कुरा चल्छ ।

विवाह गर्ने भनेपछि दीपाका बुवा किशोरीलाल सोनी नेपालगञ्ज आएर दीपक हेमकरको सम्पत्ति तथा आर्थिक अवस्थाबारे जानकारी राख्छन् ।

दीपाको ‘प्रेम’मा डुबिसकेका बनेका दीपक जसरी पनि दीपालाई श्रीमतीका रुपमा घरमा भित्र्याउन चाहन्थे । दीपकले विवाहको प्रस्ताव राखेपछि दीपाका बुवा किशोरीलालले आफूसँग छोरीको विवाह गराउनका लागि कुनै सम्पत्ति नभएकाले सबै खर्च हेमकर परिवारले बेहोर्नु पर्ने सर्त अघि सारे । दीपकले हुनेवाला ससुरा किशोरीलाल सोनीको प्रस्ताव सजिलै स्वीकार गरे ।

२०६० सालमा भारत लखनउकी १८ वर्षकी दीपा सोनीको विवाह नेपालगञ्जका ३० वर्षका युवक दीपक हेमकरसँग धुमधामसँग भयो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार खासमा त्यो विवाह दीपकको सम्पत्ति हत्याउन गरिएको योजना मात्रै थियो र त्यो हत्या ‘प्लान्ड मर्डर’ थियो । प्रहरी भन्छ – दीपाले आफ्ना बुवा किशोरीलाल सोनीकै योजना मुताबिक दीपकलाई प्रेममा फसाउनेदेखि विवाह गरेकी थिइन् । हेमकर परिवारको हत्या गरेर करोडौँको सम्पत्ति हडप्न भने दीपा र किशोरीलाललाई करिब २ वर्ष लाग्यो । 

हत्याको योजनाबमोजिम दीपककी श्रीमती दीपा घटनाको २ दिन अगाडि मात्रै आफ्नो माइती भारतको लखनउ पुग्छिन् । अनि उताबाटै बुवा किशोरीलाल सोनीसहित ३ जना कसाई (मासु काट्ने व्यक्तिहरु) ल्याई २०६२ साल फागुन २३ गते राती परिवारका ४ सदस्य तथा एकजना कामदार गरी ५ जनाको सामुहिक हत्या गरिन्छ । हत्या गर्नका लागि किशोरीलाल सोनीले अलि हुसेन कसाई, फिरोज अन्सारी र नाम नखुलेका कसाई थरका अर्का एक व्यक्तिलाई रुपैडियाको होटलमा राखेर नेपाल ल्याएका थिए ।

घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार माइत हिँडेकी दीपा पनि घटनाको अघिल्लो दिन राती रुपैडियाको मुस्कान होटलमा बास बसेकी थिइन् । दीपासँगै उनका बुवा किशोरीलाल सोनी, कन्ट्रयाक्ट किलरहरु अलि हुसेन कसाई, फिरोज अन्सारी र अर्का नाम नखुलेका कसाई थरका व्यक्ति सोही होटलमा बास बसेका थिए ।

(उनीहरुले उक्त होटलमा बास बसेको कुरा नेपाल प्रहरीसँगको बयानमा पनि स्वीकार गरेका छन् ।)

पाहुना बनेर घरमै खाना, अनि हत्या गरेर भारत प्रवेश

प्रहरीले छिमेकी लिलावति देवी कौशलसँग लिएको बयानलाई आधार मान्ने हो भने हत्याको दिन दीपक हेमकरको घरमा पाहुनाहरु आएका थिए । राती पौने १२ बजे उक्त घरमा मीठो–मीठो तरकारीको बास्ना आएको थाहा पाएपछि पल्लो घरमा बस्ने उनले दीपककी आमा सीता देवीलाई ‘आज घरमा के छ ?’ भने सोधेकी थिइन् । जवाफमा उनल घरमा ४÷५ जना पाहुना आएको बताएकी थिइन् ।

तर त्यसको भोलिपल्ट परिवारका सबै सदस्यको हत्या भएको देखेपछि पाहुना बनेर आएका व्यक्तिहरुले नै हत्या गरेको पुष्टी भएको देखिन्छ ।

र मुस्कान होटलको रेकर्डमा उनीहरुको नाम देखिएकाले हत्यामा उनीहरु संलग्न रहेको प्रहरीको दाबी छ ।

हेर्नुहोस्, दीपक हेमकरका छिमेकीले अदालतमा दिएको बयान ।

हत्या गरेलगत्तै तत्कालीन समयमै करिब २८ लाखको धनमालसमेत लुटपाट गरी उनीहरुले लगेका थिए ।

दीपाले फोनमा भनेकी थिइन्, ‘पुलिसको जानकारी मिल चुकी है’

दीपक हेमकरका परिवारकै हत्या भएलगत्तै दीपा सोनी र उनका बुवा किशोरीलाल सोनी पति दीपकको घर नजिकैको एक घरमा डेरामा बसेका थिए । त्यही क्रममा उनले परिवर्तित नाम ‘त्रिभुवन चोक’ को घरबाट भारतमा रहेका बुवालाई फोन गर्ने गरेकी थिइन् ।

एकदिन उनले आफ्नो बुवालाई फोन गर्दै नेपाल नआउन र आफू पनि चाँडै सम्पत्ति बेचेर भारत आउने जानकारी दिएकी थिइन् । उनले फोनमा बुवालाई ‘पुलिसको जानकारी मिलचुकी है वापस मत आना । मुझे रोज बुलाके पुछताछ हो रही है । मैं यहाँका प्रोपर्टी जल्दी बिक्री करके आउँगी ।’ यो बयान परिवर्तित नाम ‘त्रिभुवन चोक’ले जिल्ला अदालत बाँकेलाई दिएका छन् । हेर्नुहोस् बयानको यो अंश ।

दीपककी आमाले छिमेकीसँग भनेकी थिइन्, ‘सम्धी त अपराधी रहेछन्, डर लागिरहेछ’

आफ्नो परिवारका सदस्यको असहमति हुँदाहुँदै पनि दीपक हेमकरले दीपा सोनीसँग विवाह गरेका थिए । विवाहको केही समयपछि दीपककी आमा सीतादेवीले छिमेकीलाई सम्धी (किशोरीलाल सोनी) अपराधी रहेको र भारतमा धेरै अपराध गरेको थाहा पाएकाले डर लागेको समेत बताएकी थिइन् । त्यो बयान पनि छिमेकीले जिल्ला अदालत बाँकेमा दिएकी थिइन् ।

नेपालपछि भारतमै पनि सासुको हत्या गरिन् दीपाले

त्यसो त हेमकर परिवारको हत्या भएको करिब २ वर्षमै सबै सम्पत्ति बेचेर किशोरीलाल सोनी र दीपा सोनी लखनउ पुगिसकेका थिए । त्यसको करिब ७ वर्षपछि दीपाले भारतकै एक युवासँग विवाह गरिन् ।

लखनउकै आशिष त्रिपाठीसँग दीपाले कुमारी भन्दै विवाह गरेकी थिइन् । तर उक्त विवाह पनि सम्पत्तिका लागि भएको भारत र नेपाल प्रहरीको बुझाई छ ।

विवाह गरेको १० महिनापछि नै खानामा विष हालेर सासु, ससुरा र श्रीमान्को हत्या गर्ने दीपाको योजना थियो । योजना मुताबिक तीनै जनालाई खानामा विष हालेर खाना दिएपनि श्रीमान् आशिष र ससुरा भने बाँच्न सफल भए ।

उक्त घटना गराउनुमा किशोरीलालको मुख्य भूमिका रहेको भन्दै लखनउकै प्रकाश लाला अग्रवालले जाहेरी दिएका छन् । उक्त मुद्दा पनि अदालतमा चलिरहेकै छ ।

हत्या भएको दुई सातामै सबै सुन गालेर लखनउ लगिएको थियो

जतिबेला हेमकर परिवारका ५ जनाको हत्याले नेपालगञ्ज शोक थियो, त्यति नै बेला दीपककी पत्नी दीपा सोनी र ससुरा किशोरीलाल सोनीलाई भने सम्पत्ति कसरी हात पार्ने भन्ने हतार थियो ।

घटना भएको केही समयदेखि नै दीपा र उनका बुवा किशोरीलाल सोनी नेपालमा रहेको हेमकार परिवारको सम्पत्ति कसरी भारत लैजाने भन्न तलिन्न देखिएको एक जनाले बयान दिएका छन् ।

यतिसम्म भएको थियो कि हत्या भएको दुई साता नबित्दै किशोरीलालले दीप ज्वेलर्सको सुन दुई पटक गालेका थिए । अनि गालेको सुन डिब्बामा राखेर लखनउ पुराएको कुरा दीप ज्वेलर्सका कामदारले अदालतमा बयान दिएका छन् ।

हेर्नुहोस् बयान

हेमकार परिवारका सदस्यले सम्पत्ति रोक्का राखी छानबिन गर्न र पुनः अंश लगाउन माग गर्दै सम्पत्ति रोक्का राख्न पुग्दा दीपाले सबै सम्पत्ति बेचिसकेकी थिइन् ।

अदालतमा दीपकका काका बलराम हेमकरले सम्पत्ति रोक्का राख्न माग गर्दै निवेदन दिएर कार्यन्वयनमा आउँदासम्म सबै सम्पत्ति विक्री भइसकेको र भारतमा पनि उनले विवाह गरिसकेको बयान दिएका छन् ।

पहिले अनुसन्धान गरिरहेको प्रहरीले त्यसपछि सोनीको परिवार नै व्यक्ति हत्यामा संलग्न रहेको पाएको थियो । सम्पत्तिका लागि विवाहको प्रपञ्च रच्ने र पछि हत्याकर्म गर्ने कुरामा उनीहरु पेशेवर नै रहेको देखिन आएको कुरा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले रातोपाटीलाई बताएका छन् ।

नेपालमा हेमकर परिवारको हत्या भएलगत्तै दीपक हेमकरकी श्रीमती भनिएकी दीपा हेमकरले हतार गरेर नेपालमा रहेको हेमकार परिवाको सम्पत्ति विक्री गरेकी कुरा पसलमा काम गर्ने सुरेश सुनारले अदालतका बयान दिएका छन् ।

दुःखको बेलामा समेत सुन पसल खोली सम्पत्ति लैजानको लागि दीपा र बुवा किशोरीलाल सोनीले निकै हतारमा काम गर्न लगाएको उक्त पसलका कामदार सुनारको बयानमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप