शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा प्रधानमन्त्री ओलीको सफाइ : ‘भारतसँगको सम्झौता 'लाइभ' छ, गल्ती भए जम्मेवारी लिन्छु’

आइतबार, ३० वैशाख २०७५, १४ : ०३
आइतबार, ३० वैशाख २०७५

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २ दिने नेपाल भ्रमण र दुई देशबीच भएको सम्झौता बारे संसदलाई जानकारी गराएका छन् । सङ्घीय संसदको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको २ दिने नेपाल भ्रमण दुवै देशको हितमा, आपसी सम्बन्ध र विश्वास बढाउन महत्वपूर्ण रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा भएका विभिन्न पक्षहरूबारे जानकारी गराउँदै नेपाली जनताले देखाएको देशभक्तिलाई धन्यवादसमेत दिए । भारतका प्रधानमन्त्री मोदीको राजकीय भ्रमणका बारेमा संसदले जानकारी पाउनु आवश्यक रहेको बताउँदै भ्रमणअघि नै जानकारी गराउन चाहे पनि संसद नचलेका कारण जानकारी गराउन नपाएको बताए । 

प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमणका क्रममा दुई देशका बीचमा कमी कमजोरी नहोस्, चुक्ने काम नहोस् भनेर मिडिया र सर्वसाधारणबाट निरन्तर खबरदारी भएको भन्दै त्यसलाई आफूले स्वागत गरेको बताए । उने भने– ‘नेपाली जनता र मिडियाले निरन्तर गरेको यस किसिमको खबरदारीलाई मैले सकारात्मक रूपमा लिएको छु । हाम्रो स्वाभिमान, भौगोलिक अखण्डताप्रति सजग नरहने हो भने यसलाई हामी बचाउन सक्दैनौँ । नेपाली जनताको जागरुकताले नै यी कुरालाई बचाउने हो ।’ 

भ्रमणअघि आफूले विभिन्न पार्टीका नेता, पूर्वप्रधानमन्त्रीहरू, पूर्वराजदूतहरू, विज्ञहरूसँग व्यापक छलफल गरेर सुझाव लिएको बताए । सबैको सुझाव राष्ट्र हितका विषयमा रहेको र स्वाभिमान झुक्न नदिई अगाडि बढ्न दिएको सुझाव आफूले पालन गरेको बताए ।

 

अभिनन्दनमा कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति 
प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कूटनीतिक मर्यादा विपरीतको  अभिव्यक्ति आएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको नाम नलिई अभिनन्दन समारोहमा उनको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको बताएका हुन् ।

जनकपुरमा भएको प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी रहेको बताएका थिए ।  

उनले भने– ‘नेपाल सरकारको परराष्ट्र सम्बन्ध परराष्ट्र मन्त्रालयले गर्छ । परराष्ट्र नीति सञ्चालन गर्नेबाट यो भएको होइन । नेपाल भारतका सम्बन्धमा हाम्रो नीति स्पष्ट सम्बन्ध छँदै छ ।’ उनले जनकपुरमा नेपाल

भारतबीच मित्रता अभिवृद्धि गर्ने क्रममा जनताको सकारात्मक सहभागिता रहेको समेत उल्लेख गरे । 

काठमाडौं–रक्सौल रेलमार्गको डीपीआरका लागि २ कार्यदल 

संसदमा बोल्दै प्रधामन्त्री केपी शर्मा ओलीले छिट्टै काठमाठौैं–रक्सौल रेलमार्गको डीपीआर तयार पार्ने काम भएको बताएका छन् । संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे जानकारी गराउँदै उनले २ कार्यदलले छिट्टै रेलमार्गको सर्भे सक्ने बताए । रेलमार्गको सर्भे र निर्माणका लागि भारतले लगानी गर्ने बताए । उनले डीपीआर तयार भएपछि तुरुन्तै सम्झौता गरेर काम गर्ने अघि बढ्ने बताए ।

यस्तै जलमार्गका बारेमा छिट्टै डीपीआर तयार पार्नेबारेमा सहमति भएको पनि उनले जानकारी गराए । यस्तै नेपाल भारतबीचमा चरम व्यापार असन्तुलन रहेको बताउँदै उनले यसबारेमा  आगामी ३ महिनाभित्र पुनरावलोकन गर्ने सहमति भएको पनि उल्लेख गरे ।
 

चारवटा हवाई रुट थप्ने सहमति 
प्रधानमन्त्री ओलीले  हवाई रुट थप्न भारतसँग सहमति भएको बताएका छन् ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा थप ४ वटा रुट थप्न प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको जानकारी गराए । हाल नेपाल प्रवेश गर्ने एउटा मात्रै हवाई रुट रहेको छ । 

‘अहिलेको कनेक्टिभिटीको जमानामा हवाइजहाज पस्ने रुट सिमरा हुँदै एक मात्रै छ । अब भैरहवा, विराटनगरतिरबाट पनि रुटहरू चाहिएको छ ।  दुई प्रमको तहमा थप चार रुट लिनका लागि प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको छ ।’, ओलीले भने, ‘सेप्टेम्बरभित्र अध्ययनको काम सम्पन्न गर्ने भनेका छौं ।’ उनले तराईमा रहेको डुबानको समस्या समाधान गर्न पनि भारतीय प्रमसँग गम्भीरताका साथ कुरा उठाएको पनि संसदलाई जानकारी गराए । 

रामायण सर्किट महत्वपूर्ण 
प्रधानमन्त्री ओलीले जनकपुरमा रामजानकी मन्दिरमा प्रधानमन्त्री मोदीले पूजा गरेको बताउँदै रामायण सर्किटको उद्घाटन सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गरे । यो सर्किटले धनुषाधाम, जनकपुर, वाल्मीकि आश्रम त्रिवेणीलगायतका क्षेत्रलाई समेटेर लैजाने उल्लेख गरे । जनकपुरदेखि अयोध्यासम्म बस सेवा सुरु भएको र अयोध्यामा त्यहाँका मुख्यमन्त्रीले स्वागत गरेको समेत उनले जानकारी गराए । साथै उनले दुई देशबीचमा मित्रता अभिवृद्धि गर्ने क्रममा जनकपुरका जनताको सकारात्मक सहभागिता रहेको उल्लेख गरे । 

ब्यापार असन्तुलन हटाउन पहल 
प्रधानमन्त्री ओलीले नेपाल भारतबीचको व्यापार असन्तुल हटाउने बारेमा पनि सहमति भएको बताएका छन् । नेपाल भारतबीचमा चरम असन्तुलन व्यापार असन्तुलन रहेको बताउँदै आगामी ३ महिनाभित्र व्यापार सम्झौता पुनरावलोकनका लागि अध्ययन गर्ने सहमती भएको जानकारी दिए । यस्तै चिया अदुवा निकासीमा भएको समस्या अध्ययन गरी समस्या समाधान गर्ने सहमति भएको पनि बताए । यस्तै छिट्टै दुई देशका कृषिमन्त्री बीच छिट्टै छलफल हुने उनको भनाइ छ । 

डुबान रोक्न संयुक्त कार्यदल
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली वर्षा याममा तराईका सीमाका भूभाग डुबानमा पर्ने समस्या रहेको बताउँदै समाधानबारे छलफल भएको जानकारी गराए । उनले भने– ‘सिमानामा पुल बनाउने, बाँध बाँध्ने कारण नेपालको भूभाग डुबानमा पर्ने समस्या छ । अघिल्ला भ्रमणमा पनि यो कुरा उठाएको थिएँ । यो भ्रमणमा पनि डुबानको समस्या उठाएको छु । भारतको आफ्नो जमिन र बस्ती बचाउनका लागि हाम्रो भूभाग डुबानमा पार्नु हुँदैन । भारत यसमा तयार भएको छ ।’ 

उनले डुबान समस्या समाधान गर्न संयुक्त कार्यदल बनाएर वर्षाअघि नै प्रभावित क्षेत्रमा अनुगमन गरी कति काम गर्न सकिन्छ ? त्यो निर्णय गर्ने र काम सुरु गर्ने निर्णय भएको जानकारी दिए । 
२०१४ मा भएको ऊर्जा व्यापार सम्झौतामा भारतले एकतर्फी आफ्नो लगानी ५१ प्रतिशत शर्त राखेको र त्यो दुवै देशको हितमा नरहेको बारे आफूले कुरा राखेको उनले बताए । यो नेपालमा लगानीलाई हतोत्साही गराउन खोजको आफूले स्पष्ट पारेको र भारतीय प्रधानमन्त्री यो विषयमा सहमत भएको उल्लेख गरे ।  

पाँच वर्षभित्र अरुण तेस्रो 

प्रधानमन्त्री ओलीले ५ वर्षभित्र अरुण तेस्रो जलविद्युत आयोजना तयार पार्नेबारे सहमति भएको बताएका छन् । उनले ट्रान्समिटर लाइनका लागि ४ वर्ष लाग्ने र आयोजना सम्पन्न हुन लाग्ने ५ वर्षमा ९ सय मेगावाटको आयोजना सम्पन्न हुने उल्लेख गरे । 

ऊर्जा बैङ्कको स्थापना गर्ने, बुटवल जयनगर ट्रान्समिटर लाइन विस्तार गर्नेबारेमा भारत  सकारात्मक रहेको उनको भनाइ छ । पञ्चेश्वर जलविद्युत आयोजना अगाडि बढाउने र टनकपुरमा १३ किलोमिटर लिङ्क रोड बनाउन प्रस्ताव राखेको र त्यसमा भारतको सहमती रहेको छ । 

यस्तै १९५० को सन्धि पुनरावलोकनका लागि दुई देशका बीचमा प्रबुद्ध समूह गठन गरेको र यो समूहले जुलाईसम्ममा काम सम्पन्न गर्ने उनले बताए । असमानताको यो सन्धिलाई समयानुकूल बनाउन सकिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो । 

यस्तै महेन्द्रनगरमा चार लेनको पुल निर्माण सकेपछि भारतको राजमार्गसम्म जोड्ने ६.८ किमि लामो ४ लेनको सडक निर्माण गर्न पनि आफूले प्रस्ताव राखेको संसदलाई जनाकारी गराए ।  
हुलाकी राजमार्ग बनिरहेको बताउँदै त्यसका लागि यसअघि नै भारतले ८० करोड दिएको र नेपालका तर्फबाट मुआब्जाको काम भइरहेको उनको भनाइ छ । 

भारतमा भएको नोटबन्दीका कारण नेपालमा परेको समस्या बारे आफूले कुरा उठाएको प्रधानमन्त्री ओलीको भनाइ छ । नेपालका लागि अरू थप बन्दरगाह आवश्यक पर्नेबारे भारतलाई जानकारी गराएको भन्दै त्यसबारे प्रधानमन्त्री मोदीले अध्ययन अघि बढाउने जनाएको उल्लेख गरे । 

सम्झौता लाइभ छ,  गल्ती भए जिम्मेवारी लिन्छु 

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीसँग भएको सहमति तथा सम्झौतामा राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हितलाई कमजोर हुने काम नगरिएको बताए । उनले भने– ‘हामीले गरेका लिखित, मौखिक सबै सहमति सम्झौता लाइभ छन्, पारदर्शी छन् । हामी हाम्रो राष्ट्रिय हितलाई  छोड्न सक्दैनौँ । जे भए पनि विरोध गर्ने, जे भए पनि समर्थन गर्नु वाञ्छनीय हुँदैन ।’ 
उनले प्रधानमन्त्रीको हैसियलले देशको शिर निहुरिन दिने, देशलाई हेपिन दिने वातावरण बनाउन नदिने बताउँदै भने– ‘यस देशको अन्नपानीले हुर्किएको मान्छेले देशहितको विरुद्धमा काम हुन दिन्नँ । यो भेट नेपालको हितमा र भारतको अहितमा भएको भन्ने होइन । भारतको पनि हितमा भएको छ ।’

सावधानी र सचेत प्रयासका साथ आफू प्रस्तुत भएको बताउँदै उनले थपे– ‘सम्झौताको लाइभ छ । कुनै गल्ती भएको रहेछ भने म जिम्मेवारी लिन्छु ।’ 

उनले नेपालको परराष्ट्र नीति भारत तथा चीन दुवैसँग समान हुने बताउँदै भने– ‘हामी हाम्रो राष्ट्रिय हितका लागि एकतिर मात्र ढल्किँदैनौँ । हामी दुवै देशसँग सम्बन्ध राख्न चाहन्छौँ । ३ वर्षअघि भारतसँगको सम्बन्ध तनावपूर्ण थियो । मैले नाकाबन्दी नखोली भारत जान्न भनेको थिएँ । नाकाबन्दी खोलेपछि गएँ ।’

उनले दुवै देशसँग पारस्परिक, भरपर्दो र विश्वासिलो सम्बन्ध बनाउने बताए । निकट दिनमा आफू चीन पनि जाने उल्लेख गरे । उनले भने– ‘अब हामीले सानो देश भनेर हीनताबोध गर्नुपर्ने छैन । पारस्परिक लाभका आधारमा दुई देशबीच सम्बन्ध बनाउँछौँ ।’ 

उनले हाम्रो अखण्डताविरुद्ध भारतका केही व्यक्तिले गैह्रजिम्मेवार अभिव्यक्ति दिएको बताउँदै नेपालको अखण्डका बारेमा प्रधानमन्त्री मोदीले नै स्पष्ट पारेको उल्लेख गरे ।  नेपालको अखण्डका विरुद्ध बेलाबेला गैह्रजिम्मेवार तत्व देखा पर्ने बताउँदै उनले प्रधानमन्त्री मोदीसँग हाम्रो सार्वभौमसत्ता, अखण्डता र हाम्रा आवश्यकताका बारेमा खुलेर कुरा भएको उल्लेख गरे । 
 

याे पनि छुट्याे कि !

सरकारले कुनै ‘राष्ट्रघात’ गरेको छैन, मोदीको नेपाल भ्रमण उपलब्धिपूर्णः प्रधानमन्त्री

संसदमा प्रधानमन्त्री ओली : मोदी नेपाल आउँदा चार वटा हवाई रुट थप्ने सहमति भयो

संसदमा प्रधानमन्त्री ओली : जनकपुरमा मुख्यमन्त्रीले कुटनीतिक मर्यादा उल्लंघन गरे

भारतपछि चीन जाने तयारीमा केपी ओली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप