मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले कुनै ‘राष्ट्रघात’ गरेको छैन, मोदीको नेपाल भ्रमण उपलब्धिपूर्णः प्रधानमन्त्री

आइतबार, ३० वैशाख २०७५, १२ : २२
आइतबार, ३० वैशाख २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्र हितविपरितका कुनै सन्धीसम्झौता नभएको स्पष्ट पारेका छन् ।  आइतबार संघीय संसदको बैठकलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

सम्बोधनका क्रममा ओलीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । ओलीले मोदीको  नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै  भ्रमण ऐतिहासिक भएको दाबी पनि गरे ।  उनले मोदीको भ्रमण नेपाल र भारत दुबै देशको हितमा रहेको पनि बताए । 

उनले तीन वर्षअगाडि नेपाल भारतबीच रहेको तनावपूर्ण सम्बन्ध सुधार भएर अहिले सामान्य अवस्थामा आइपुगेको पनि बताए । 

‘तीन वर्षअघि नेपाल भारतबीच तनावको स्थिति थियो । त्यतिबेला म प्रधानमन्त्री हुँदा नाकाबन्दी लागिरहेको थियो । नाकाबन्दीको अवस्थाबाट हामी अहिलेको अवस्थामा आइपुगेका छौं’, ओलीले भने । उनले नेपाल जुनसुकै देशसँग  सन्तुलित सम्बन्ध कायम गर्न स्वतन्त्र रहेको पनि बताए । 

आफू नाकाबन्दी खोलेर भारत गएसँगै सम्बन्ध सुधारको नयाँ आयाम सुरु भएको भन्दै ओलीले  सम्बन्ध बराबरीको हैसियतामा हुने पनि स्पष्ट पारे । देशको  आवश्यकता र  प्राथमिकताका आधारमा छिमेकीसँग सम्बन्ध र व्यवहार हुने उनको भनाई थियो । 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिमा  पनि नेपाल आफ्नो आवश्यकता र  प्राथमिकतामा अघि बढ्दा कुनै  चित्त नदुख्ने र सहयोग हुनेमा खुलस्त प्रकट भएको धारणा राखे । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप