बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी एकतापछि यस्ता हुनेछन् एकीकृत पार्टीका मुख्य १० काम

बुधबार, २८ चैत २०७४, १३ : १५
बुधबार, २८ चैत २०७४


काठमाडौं– दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच कम्युनिष्ट पार्टी स्थापना दिवस अर्थात् २२ अप्रिल (वैशाख ९ गते) पार्टी एकता गर्ने तयारी छ ।

एकीकृत पार्टीका मुख्य चासो र मुद्दा के होलान् ?

र, एकीकृत पार्टीका सङ्गठनात्मक गतिविधि कसरी सञ्चालन होलान् ?

एमाले र माओवादीकै धेरै नेता–कार्यकर्ता र उनका शुभचिन्तकमा चासो छ ।

तर, यी चासो हल हुने गरी पार्टी एकताका लागि गठित कार्यदलले एकतापछि गरिने तत्कालीन ‘रोडम्याप’ तयार पारेको छ ।

एमाले नेता माधवकुमार नेपाल नेतृत्वको ‘राजनीतिक प्रतिवेदन’ लेखन कार्यदलले तयार पारेको एकीकृत पार्टीको राजनीतिक प्रतिवेदनमा यस विषयमा उल्लेख गरिएको छ ।

यो प्रतिवेदन कार्यदलले एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई बुझाइसकेको छ ।

कार्यदलले प्रतिवेदनमा एकीकृत पार्टीको ‘मुख्य कार्यभार’ बारे शीर्षकमा ‘रोडम्याप’ राखेको छ ।

‘एमाले र माओवादी पार्टी एकीकरणको निर्णयले जनताबाट बहुमत प्राप्त पार्टीबीच सरकार बनिसकेको छ । अब एकतापछिको एकीकृत पार्टी र यो सरकारबाट जनताले राष्ट्र र आफ्नो सुखद् भविष्यको अपेक्षा गरेका छन् । साथै, एकीकृत पार्टीका आगामी कार्यभारका बारे अन्तर्राष्ट्रिय जगतले पनि उत्सुकता र गम्भीरताका साथ हेरिरहेको छ ।’ प्रतिवेदनमा छ ।

यसैका आधारमा प्रतिवेदनमा मुख्यतः १० कार्यभारलाई समेटिएको छ ।

पहिलो कार्यभारका रूपमा संविधानको प्रभावकारी कार्यान्वयन छ ।

यसबाहेक दुई पार्टीबीच विगतमा रहेका मतभेद एकीकृत पार्टीमा नहोस् भनेर सङ्गठनका सबै तहका नेता कार्यकर्तालाई परिचालित गर्नुपर्ने काम पनि मुख्य कार्यभारमा समेटिएको छ ।
बुँदागत रूपमा यस्ता छन् १० कार्यभार

१– संविधानको प्रभावकारी कार्यान्वयन तथा लोकतन्त्रको सुदृढीकरण
प्रतिवेदनमा नेपालको संविधानले सबै वर्ग, तह, समुदाय, लिङ्ग र क्षेत्रका जनताका अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै नेपालको शासन व्यवस्थालाई समाजवाद उन्मुख दिशामा सञ्चालन गर्ने कुरा छ ।
यसबाहेक नेपालको उज्ज्वल भविष्यको मार्गनिर्देशन गरेको संविधानको मर्म र भावना अनुरूप प्रभावकारी कार्यान्वय गर्दै जाने भनिएको छ । संविधान कार्यान्वयन अन्तर्गत तीन तहको निर्वाचन सम्पन्न भइसकेको छ भने स्थानीय तह, प्रदेश र केन्द्रमा सरकार गठनको कार्य सकिएको कुरा उल्लेख छ ।

२– सबल एवम् सुदृढ पार्टीको निर्माण र विकास
प्रतिवेदनमा अन्तरिम विद्यानअनुरूप केन्द्रदेखि स्थानीयतहसम्म र पार्टी कमिटिदेखि जनसङ्गठनसम्म निश्चित समयभित्र बनाइसक्नुपर्ने र सबैको परिचालनलाई सुव्यवस्थित गरिनुपर्ने उल्लेख छ । विषेश त प्रतिवेदनमा पार्टी निर्माण र विकासलाई बढी महत्वका साथ राखिएको छ । एकतापछिको नयाँ पार्टी निर्माणलाई पूर्णता दिनु महत्वपूर्ण मानिएको छ ।

‘एकता महाधिवेशनको आयोजना’ उपशीर्षकमा छ, ‘पार्टी एकीकरणको आरम्भिक कार्य सम्पन्न भइसकेपछि उपयुक्त समयमा एकीकृत पार्टीको राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नुपर्नेछ ।’
निश्चित समयसीमाभित्र महाधिवेशनको ठोस काम अघि बढेपछि नयाँ सदस्यता दिने कार्य स्थगित हुने उल्लेख छ ।

कार्यकर्तालाई व्यापक प्रशिक्षण दिने साथै जनताका बीच कम्युनिष्ट पार्टीले सरकारमा रहँदा गरेका काम र राज्य सञ्चालनमा वामपन्थीको भूमिकाबारे सचेतना अभियान सञ्चालन गर्ने विषयसमेत छन् । प्रतिवेदनमा एकीकृत पार्टीको सङ्गठनात्मक अवस्थालाई बलियो र लोकप्रिय तुल्याउन प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने छ ।

त्यस्तै ‘पार्टी एकीकरणको औचित्य र महत्वबारे जानकारी’ उपशीर्षकमा, पार्टी एकीकरणलाई ऐतिहासिक महत्वका रूपमा उल्लेख छ । पार्टी एकीकरणको महत्वकाबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउने उल्लेख छ । जसले राष्ट्रियता, लोकतन्त्र, आर्थिक समृद्धिमा पार्ने दाबी छ । सकारात्मक प्रभाव तथा ल्याउन सक्ने उपलब्धिलाई जनता र पार्टी पङ्क्तिबीच व्यापक प्रचार गर्नुपर्ने उल्लेख छ । देशविदेशमा रहेका सबै नेपालीमाझ गोष्ठी, अन्तत्र्रिmया, जनसभामार्फत पार्टी एकीकरणका सन्दर्भमा छरिएका भ्रमलाई चिर्नुपर्ने प्राथमिकतामा छ ।

त्यस्तै ‘जनवादी केन्द्रीयताको अभ्यास र शुद्धीकरण अभियान’ उपशीर्षकमा  पार्टीमा देखापर्दै गएका वैचारिक एवम् चारित्रिक स्खलन, भ्रष्टीकरण, व्यक्तिवादी, अराजक प्रवृत्ति, नोकरशाही कार्यशैलीलाई सच्याउन जनवादी केन्द्रीयताको अभ्यासमार्फत योजनाबद्ध रूपमा शुद्धीकरण अभियान सञ्चालनमा उल्लाउने उल्लेख छ । अनियमितता र अपारदर्शिता हुन नदिन पार्टी विधिवत ढङ्गले सञ्चालन गर्दै कडा कदम चालिनुपर्ने रातोपाटीलाई प्राप्त प्रतिवेदनमा उल्लेख छ ।


३– राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धि  
बहुमत प्राप्त वामपन्थीहरूको सरकार सञ्चालनको अवसरको सदुपयोग गर्दै देशमा ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना साकार पार्न सुशासन, अर्थिक विकास, राजनीतिक स्थायित्व, दिगो शान्ति, राष्ट्रिय एकता, अखण्डता, स्वाधीनता, स्वाभिमानको मार्गमा कार्य अघि बढाउनुपर्ने प्रतिवेदनमा छ ।

भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था र जनताको दैनिक जीवनलाई सहज तुल्याउनका साथै देश र जनताको हितमा काम गर्न आवश्यकता अनुरूप सरकार सञ्चालन गर्दै वामपन्थीहरूको पक्षमा बलियो जनमत सिर्जना गर्नुपर्ने पनि एकीकृत पार्टीको कार्यभार राखिएको छ ।

राष्ट्रिय विकास र समृद्धिको अभियानमा सहयोग पु¥याउन ‘सरकार जनताका लागि, जनता देशका लागि’ भन्ने भावनासहित राष्ट्रिय समृद्धिमा जाने कार्यभार राखिएको छ । गरिबी, पछौटेपन, बेरोजगारी, अभाव र परनिर्भरताबाट देशलाई मुक्त पार्न सङ्घ, प्रदेश र स्थानीय तहमा विकास र समृद्धिको दिशामा सञ्चालित कार्यक्रमलाई सहयोग गर्नुपर्ने प्रतिवेदनमा छ ।

नेपालको विकास र समृद्धिका लागि देशभित्र जनशक्तिको उपयोग साथै परिचालन अत्यावश्यक रहेको प्रतिवेदनमा छ । लाखौंको सङ्ख्यामा देशबाट पलायन भइरहेको जनशक्तिलाई स्वदेशमै रोजगार उपलब्ध गराउने रातोपाटीलाई प्राप्त प्रतिवेदनमा छ ।


४– विपद् व्यवस्थापन तथा विपद्मा परेका जनतालाई सहयोग र पुनस्र्थापना
नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणबाट जोखिम क्षेत्रमा रहेको कुरा उल्लेख गर्दै प्रतिवेदनमा भनिएको छ, ‘जोखिम न्यून गर्न योजनाबद्ध कार्यक्रम लागू गर्नुपर्छ । विपद्मा परेकालाई राहतको व्यवस्था गर्नुपर्छ । विपद्को सामना गर्न पूर्वतयारीका लागि स्रोतसाधनको समुचित व्यवस्था गर्नुपर्छ ।’

पीडित जनताको पुनस्र्थापनाका लागि व्यवस्थित कार्यक्रम अगाडि बढाउने, पर्यावरणको रक्षा र जलवायु परिवर्तनका प्रतिकूल प्रभावको न्यूनीकरणजस्ता विषयमा पनि प्रमुख कार्यभार पनि रातोपाटीलाई प्राप्त प्रतिवेदनमा छ ।

५– स्वतन्त्र परराष्ट्र नीति र राष्ट्रिय हितको प्रवद्र्धन
प्रतिवेदनमा परराष्ट्र नीतिबारे भने खासै नयाँपन देखिँदैन । अमूर्त छ ।
प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रिय हितको रक्षा गर्न संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तमा आधारित हुँदै राष्ट्रिय हितअनुकूल परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनु पर्छ । असमान सन्धिसम्झौताको पुनरावलोकन गर्दै पारस्परिक लाभ, सम्मान, समानता र राष्ट्रिय हितअनुरूप नयाँ सन्धिसम्झौता गरिनुपर्छ ।’

स्थापित अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा अनुरूप क्रियाशील हँुदै यस्तै मर्यादा देशभित्र अन्य देशका नियोगहरू तथा नेपाल भ्रमणमा आउने विदेशी नेता र प्रतिनिधिमण्डलहरूसँगको भेटघाट सम्बन्धमा स्थापित गर्नुपर्ने कार्यभार रातोपाटीलाई प्राप्त प्रतिवेदमा छ ।

६– राष्ट्रिय सुरक्षाको सुदृढीकरण
प्रतिवेदनमा, ‘सरकारमार्फत राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्दै नेपालको आन्तरिक सुरक्षा प्रणाली र अवस्थालाई सुदृढ बनाउनुपर्ने’ उल्लेख छ ।
नेपालको समग्र सुरक्षामा कुप्रभाव पार्नसक्ने कुनै पनि विषय र कार्यलाई छुट दिन नहुने प्रतिवेदनको कार्यभारमा छ । आवश्यक कानुन निर्माण गर्नुपर्ने र देशका सबै क्षेत्रमा देशभक्ति तथा समाजप्रतिको कर्तव्यबोध गराइनुपर्ने उल्लेख छ ।

सरकार मार्फत राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्दै नेपालको आन्तरिक सुरक्षा प्रणाली र अवस्थालाई सुदृढ बनाउनुपर्ने उल्लेख छ ।
विश्व शक्तिका रूपमा विकसित दुई विशाल छिमेकीको बीचमा रहेको नेपालले एकातर्फ लाभ लिनसक्ने अवसर रहेको र अर्कोतर्फ नेपालको राष्ट्रिय हित, स्वतन्त्रता र स्वाभिमानका लागि सचेतन सक्रियता कायम राख्नुपर्ने आवश्यकता रहेको रातोपाटीलाई प्राप्त प्रतिवेदनमा छ ।

७– शान्ति प्रक्रियाका बाँकी कामको पूर्णता  
शान्ति प्रक्रियाका मुख्य काम सम्पन्न भइसकेको र सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता व्यक्तिहरूको छानविनसम्बन्धी आयोगको काम अझै पूरा हुन बाँकी रहेको भन्दै यी कामलाई महत्वका साथ पूरा गर्नुपर्ने रातोपाटीलाई प्राप्त प्रतिवेदनको सातौँ कार्यभारमा छ ।
 

८– राष्ट्रिय एकता, देशभक्ति र समाजवादमा आधारित उन्नत सभ्यताको निर्माण
समाजमा विद्यमान अन्धविश्वास, विभेद र कुप्रथाको अन्त्य गर्दै सुसंस्कृत समाजको निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने एकीकृत पार्टीको अर्को कार्यभार छ । श्रमप्रतिको सम्मान, जनताको सेवा र देशभक्तिको भावना बलियो बनाउन राज्यका सबै संयन्त्रहरू आवश्यकताअनुसार परिचालन गरिनुपर्नेमा जोड दिएको छ ।

कानुनले बन्देज गरेका, जनजीवनका लागि हानिकारक र सभ्य विश्वले अस्वीकार गर्ने किसिमका विभेद, कुरीति विकृतिविरुद्ध सचेतना अभियान सञ्चालन गर्ने प्रतिवेदमा छ । रातोपाटीलाई प्राप्त प्रतिवेदनमा छ, ‘विविधतामा एकता र सामाजिक सद्भाव कायम गर्न विभिन्न जाति, समुदाय र क्षेत्रका जनताबीच सहअस्तित्व, सहकार्य, सहजीवन र सद्भावको विकास र विस्तार गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्छ ।’
 

९– व्यवस्थित प्रचार संयन्त्रको उपयोग
कार्यदलले बुझाएको प्रतिवेदनमा प्रचार संयन्त्रलाई प्राथमिकतामा राखेको पाइन्छ ।
प्रतिवेदनमा पार्टीका सिद्धान्त, विचार, नीति, कार्यक्रम, कार्ययोजना र कार्यबारे जनता र पार्टी पङ्क्तिमा सही जानकारी दिने बताइएको छ ।

पार्टीमात्र नभई सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रम र कार्ययोजना तथा गरेका कामका बारे जनतालाई सुसूचित गर्ने, अवस्था र स्थितिको बारे पार्टीको विश्लेषणलाई दस्तावेजीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा लेखिएको छ, ‘विपक्षीहरूले गर्ने कुप्रचार एवम् भ्रममलाई चिर्ने कामलाई प्रभावकारी तुल्याउन प्रचार कार्यलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ ।’ त्यसको लागि प्रचार संयन्त्र र प्रचार सामग्रीको भरपुर उपयोग गर्नुपर्ने कुरा रातोपाटीलाई प्राप्त प्रतिवेदनमा छ ।

१०– वैचारिक कार्यभार
प्रतिवेदनको अन्तिम कार्यभारमा वैचारिक पक्ष राखिएको छ ।
नेपाली क्रान्ति नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेको र त्यसले माग गरेको नयाँ आम र विशिष्ट कार्यदिशासहित अघि बढेको निष्कर्ष छ । पार्टी नयाँ अभियानमा रहेकाले नेता कार्यकर्ता र सदस्यले अध्ययन संस्कृतिलाई पुनः स्थापित गर्नुपर्ने कार्यभारमा छ ।

पार्टीलाई वैचारिक, सङ्गठनात्मक र सांस्कृतिक रूपमा रूपान्तरण गर्ने भनिएको छ । आजको आवश्यकता अनुरूप सुव्यवस्थित, गतिशील र अनुशासित क्रान्तिकारी पार्टी बनाउनुपर्ने प्रतिवेदन छ ।
पार्टी एकीकरणलाई स्पष्ट एवम् व्यवस्थित रूपमा अघि बढाउन र समृद्धिको ठोस कार्यक्रम सम्पन्न गर्न थप अध्ययन, अनुसन्धान, छलफल, बहस, विश्लेषण र संश्लेषणसहित विचारको विकास गर्नु पार्टीको महत्वपूर्ण वैचारिक कार्यभार रहने रातोपाटीलाई प्राप्त प्रतिवेदनमा छ ।  

कार्यदल प्रतिबेदनका अन्य समाचार

एमाले–माओवादी कार्यदल प्रतिवेदन : यी हुन् एकताका ७ कारण

एमाले–माओवादी कार्यदल प्रतिवेदन : भारतसँगको सम्बन्धबारे मौन !

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप