शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

शुक्रबार, २३ चैत २०७४, १५ : ३२
शुक्रबार, २३ चैत २०७४

काठमाडौं– एमाले माओवादी पार्टी एकीकरणको गृहकार्य अन्तिम अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्केलगत्तै बाँकी रहेका केही प्राविधिक विषयमा सहमति जुटाएर आगामी बैशाख ९ गते पार्टी एकताको घोषणा गर्न दुवै दल सहमत भैसकेका छन् । 

त्यसका लागि प्रधानमन्त्री ओली दिल्ली जाने अघिल्लो दिन बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुवै दलले आ–आफ्ना नेता कार्यकर्तालाई घोषणा सभा भव्य बनाउन कार्यकर्तालाई निर्देशन जारी गर्ने निर्णय गरिसकेका छन् ।

पार्टी एकता भएपछि बन्ने एकीकृत कम्युनिष्ट पार्टीले अरु पार्टीप्रति कस्तो दृष्टिकोण बनाउला ? या नेपाल कम्युनिष्ट पार्टीको नजरमा काँग्रेस लगायतका पार्टीलाई कसरी विश्लेषण गर्ला भन्ने आमचासो छ । 

‘एमाले नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको राजनीतिक प्रतिवेदन एकता संयोजन समितिलाई जिम्मा लगाइसकेको छ’ कार्यदलमा रहेका एक सदस्यका अुनुसार उक्त प्रतिवेदनमा मुलुकका सवै पार्टीहरुप्रति विश्लेषण गरिएको छ । कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाईसकेको छ । 

एकीकृत पार्टीको नजरमा काँग्रेस

प्रतिवेदनमा काँग्रेसलाई हेर्ने दृष्टिकोणबारे १८ पेजमा उल्लेख गरिएको छ । 

जसमा काँग्रेस पार्टी पुँजिपति बर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको चित्रण गरिएको छ । त्यस्तै एकीकृत पार्टीले काँग्रेसलाई ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टीका रुपमा लिनुपर्ने उल्लेख गरेको कार्यदलका एक सदस्यले बताए । 

उनका अनुसार ढुलमुले, सम्झौतपरस्त र दलाल प्रवृतिकै कारण काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पुर्णता पाउन नसकेको निश्कर्ष निकालिएको छ । 

‘नेपालको दलाल तथा नोकरशाही पुँजिपति बर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली काँग्रेसले नै गरेको छ ।त्यसैले अन्तराष्ट्रिय एकाधिकार पुँजिबादसँग यसको घनिष्ट एवं अन्योयाश्रित सम्बन्ध छ । यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्षमा बुझ्नुपर्छ’ प्रतिवेदनमा छ । 

एकीकृत पार्टीले काँग्रेसको यहि बर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारण उसले लगाउने गरेको प्रजातान्त्रिक सामाजवादको नारा औपचारिकता र ढोंगमा परिणत भएको ठहर गर्नेछ ।  

यसैगरी काँग्रेस राष्ट्रिय स्वाधिनता र हितका सन्दर्भमा दृढतपुर्व उभिन नसक्ने पार्टीका रुपमा चित्रित गरेको छ । काँग्रेसले सरकारको नेतृत्व गर्दा कैयौ पटक राष्ट्रिय हित विपरित सन्धिसम्झौता गरेको, आत्मसर्मपणबादी नीतिको पक्षपात गरेको, २००७ सालको दिल्ली सम्झौतादेखि २०७२ सालको नाकावन्दी त्यसका उदाहरणका रुपमा लिनुपर्ने एकीकृत पार्टीको प्रतिवेदनमा छ । 

त्यस्तै, काँग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी भएपनि लोकतन्त्रका मुल्यमान्यता अनुसरण गर्न नसकेको तथा भ्रष्टचारी र भ्रष्टहरुको संरक्षक बनेको एकीकृत पार्टीको निश्कर्ष छ । तर, काँग्रेससँगको सहकार्यमा भने एकीकृत पार्टी तयार रहने संकेत गरेको छ । 

विगतमा हामीले सामन्तबादविरुद्धका आन्दोलनमा पठटकपटक सहकार्य गरेका हौ, भविश्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा सम्बृद्धिको सवालमा उ तयार भएसम्म सहकार्यको नीति लिइने तर बैचारिक र राजनीतिक रुपमा कम्युनिष्ट अन्दोलन र सर्वहारा वर्गले प्रतिस्पर्धा गनपर्ने मुख्य शक्ति नै काँग्रेस नै हुने उल्लेख छ । 

फोरम र राजपाप्रतिको धारणा

तराई मधेसमा दुई पार्टी संघीय समाजवादी फोरम र राजपा नेपाललाई तराइ मधेसका पार्टीका रुपमा लिएको छ । दुवै पार्टीको नीति समान भएपनि केही भिन्नता रहेको एकीकृत पार्टीले विश्लेषण गरेको छ । 
एकीकृत पार्टीले संघीयसमाजवादी फोरमलाई राजपा भन्दा अलि बढि राष्ट्रबादी ठानेको छ । ‘कतिपय बेला ढलमुल देखिएपनि संघीय समाजवादी फोरम राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको पक्षमा तुलनात्मक रुपमा सही ढंगले उभिने गरेको छ’ कार्यदलको प्रतिवेदनमा छ ।

जातिय, भाषिक र संघीयताको विषयमा फोरमको सोच र नीतिमा केही संर्किणता र अतिवाद प्रकट हुने गरेको र त्यस्ता प्रवृतिको आलोचना गर्दै उसँग सहकार्य गर्न सकिने निश्कर्ष निकालिएको छ । तर, राजपा नेपालले जातीय, भाषिक र संघीयताका विषयमा अतिवादको पक्षपोशष गरेको उसको ठहर छ । त्यस्तै राजपाले तराई–मधेसका बचेखुचेका सामान्त र दलाल पुँिजपति बर्गको एउटा हिस्साको प्रतिनिधित्व गरेको जनाइएको छ ।

‘यसले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अस्वीकार गर्दै तराई मधेसलाई छुट्टै देश बनाउने घोषणा गरेकाले गम्भिरतापुर्वक लिएर यो प्रवृतिलाई कुनै हालतमा छुट दिन नहुने निश्कर्ष निकालेको छ । जसलाई एकीकृत पाटीृको राजनीतिक प्रतिवेदनले पृथकताबादी प्रवृति भनेको छ । तर सम्भव भएसम्म यी दुवै पाटीसँग एकता र सहकार्यको नीति लिन सकिने उल्लेख छ ।

तीनवटै राप्रपा सामन्तवादी अवशेष

प्रतिवेदनले पुर्व पञ्चहरु सम्मिलित तीनवटै पाटीलाई मुलत सामन्तबादी अवशेषको भनेको छ । यी तीनै पार्टीले  हिन्दु राज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजेको उल्लेख छ । जसका कारण हालै भएको निर्वाचनमा यी तिनै पार्टीलाई जनताले तिरस्कृत गरेको निश्कर्ष निकालिएको छ । 

अन्य बामपन्थी शक्ति कस्ता ?

एकीकृत पार्टीले नेकपा मसाल, नेमकिपा, मोहन बैद्य र अन्य कम्युनिष्ट पार्टीहरु तथा बामपन्थी समुहहरु राजनीतिमा क्रियाशिल रहेको जनाएको छ । तर, उनीहरु जडसुत्रीय, संकीर्ण, आत्मकेन्द्रीत चिन्तन भएकाले उनीहरुको व्यवहारको आलोचन गर्दै उनीहरुलाई एकतामा सामेल गर्न जोड दिइएको छ । 

‘उनीहरुसँग राष्ट्रियता, लोकतन्त्र , सम्बृद्धि र समाजववादका विषयमा कार्यगत एकता र सहकार्य गर्ने पहल गर्नुपर्छ तर सैद्धान्तिक र बैचारिक संघर्षको नीति हुनेछ’ भनिएको छ ।

नेत्रविक्रम चन्दबारे
नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई उग्रवामपन्थी भनिएको छ । उसले नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त परिवर्तनर्ला सस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै शसस्त्र आन्दोलनलाई तत्कालिन कार्यसुचि बनाएको ठहर गरेको छ । 
विप्लवको उक्त नीति आजको आवाश्यक्ता नभएको भन्दै यसले परिवर्तनलाई कमजोर पर्ने भएकाले राजनीतिको मुलधारमा ल्याउने प्रयत्न गर्नूपर्नेमा जोड दिइएको छ ।  

आफ्नै निश्कर्ष चाँही कस्तो ?

अरु पार्टीको राजनीतिक विश्लेषण गरेको एकीकृत पार्टीले आफ्नै विश्लेषणचाहि कसरी गरेको छ त ? 

नेपाल कम्युनिष्ट पार्टी 

‘नेपाल कम्युनिष्ट पार्टी सर्वहारा श्रमजीवी बर्गको राजनीतिक प्रतिनिधि हो । यसले बर्गीय तथा सामाजिक उत्पीडनमा परेका सवै उत्पीडित समुदाय,देशभक्त, र आमजनसमुदायको हितको समेत प्रतिनिधित्व गर्छ ।  त्यस्तै यसले राष्ट्रिय पुँजीबाद र राष्ट्रिय पुँजीपति वर्गको हितको पनि रक्षा गर्छ ।’

यो पार्टी सामन्तबाद विरोधी पुँजीबादी जनवादी क्रान्तिको मुल नेता भएको उल्लेख छ । माक्र्सवाद लेनिनवाद पथ प्रदशक सिद्धान्त मानिएको छ । ‘समाजवाद रणनीतिक लक्ष्य हो ,सर्वहारा श्रमजीवी बर्गको नेतृत्वमा सम्पुर्ण वर्गलाई गोलबद्ध गरी शान्तिपुर्ण प्रतिश्पर्धाको माध्यमबाट समाजवादको निनर्माण गर्नु यसको आम राजनीतिक कायृदिशा हो ।संविधानको कार्यन्वयन, एवं परिमार्जन, शान्तिपुर्ण प्रतिश्पर्धाबाट सरकार निर्माण, राष्ट्रिय स्वाधिनताको रक्षा, सामाजिक न्यायसहितको सम्बृद्धि, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव र समाजवादको आधार निर्माण पार्टीको मुख्य कार्यभार र विशिष्ट राजनीतिक कार्यदिशा हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप