शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

शनिबार, २४ चैत २०७४, १५ : ५७
शनिबार, २४ चैत २०७४

बबिता शर्मा

काठमाडौं– एमाले र माओवादी एकताका लागि तीन वटा विषयमा सहमति नजुटेको भन्दै कार्यदलले अधुरो प्रतिवेदन बुझाएको छ । तर, महत्वपूर्ण बुँदामा चाहिँ कार्यदल प्रवेश नै गरेको छैन् । 

त्यसै गरी पार्टीको अन्तरिम विधानले दुई पार्टी अध्यक्ष रहने र उनीहरुले प्रयोग गर्ने आठ वटा अधिकार तोकेको छ । विधानमा पनि एउटा मुद्दा चाहिँ छुटेको छ । 

त्यो विषय हो, हस्ताक्षरको । 

दुई कार्यदलले बनाएका राजनीतिक र विधान प्रतिवेदनमा नसमेटिएको एउटा विषय पार्टी एकतामा समस्या बन्न सक्छ ।

विकल्प के हुन्छ ? 

अहिले दुवै पार्टीको शीर्ष सीमित नेताबीच मात्रै संवाद छ । 

उच्च राजनीति स्रोतका अनुसार पार्टीका हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर गर्नुपर्ने माओवादीले प्रस्ताव गरेको छ । 

यस विषयमा प्रचण्डले पार्टीभित्र अनौपचारिक छलफल समेत गरेको माओवादी केन्द्रीय कार्यलयका एक सदस्यले बताए । 

‘एकीकृत पार्टीको अध्यक्षमा दुवैको समान हैसियत समान हुनुपर्छ भन्ने सैद्धान्तिक सहमति बनेको छ । दुई जना पार्टी अध्यक्ष रहने भनेपछि एक जना कार्यकारी जस्तो र अर्को सेरमोनियल जस्तो हुँदैन ।’ ती नेताले रातोपाटीसँग भने, ‘दुवै अध्यक्षको समान अधिकार हुन्छ । यसको मतलव साना–ठूला जुनसुकै निर्णय गर्दा पनि दुवै अध्यक्षको हस्ताक्षर हुनपर्छ । एक जनाले गरेर हुन्न । त्यसैले अध्यक्ष द्धयको हस्ताक्षर चल्ने गरि निर्णय हुनुपर्छ ।’ 

पार्टी निर्णयमा दुवै अध्यक्षकोे हस्ताक्षरको विषय यस अघि उठेको थिएन । 

एमाले र माओवादीले वैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरिरहेका छन् । 

नेपाल कम्युनिष्ठ पार्टीको स्थापनाका दिन पार्टी एकता गर्ने निर्णय पार्टी एकता संयोजन समिति वैठकले गरिसकेको छ । 

यसका लागि पार्टी एकताको लागि गठित दुवै कार्यदलले आफ्नो जिम्मेवारी सकिसकेका छन् । 

राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल र विधान मस्यौदा कार्यदलका तर्फवाट तयार पारिएको मस्यौदा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हस्तान्तरण भैसकेको छ । 

कार्यदलमा तीन कुरा चाहिँ विवादमै थिए । त्यसकारण विवादित विषयसहित कार्यदलले प्रतिवेदन बुझाएको छ । 

चैत्र १३ गते वसेको अन्तरिम विधान मस्यौदा कार्यदलको अन्तिम वैठकमा तीन कुरामा विवाद देखिएको थियो । 

प्रस्तावनामा जनयुद्ध शव्द लेख्ने वा नलेख्ने, पार्टीको चुनाव चिन्ह र पार्टी कमिटिमा कुन पार्टीवाट कति व्यक्ति रहने भन्ने विषय कार्यदलले टुङ्गो लगाउन सकेको थिएन् । 

केहि दिन अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता ५०–५० आधारमा हुनुपर्ने अभिब्यक्ति दिएका थिए । एमालेले माओवादीले राखेको तीन वटै अडानमा सहमति जनाउन नसकिने अभिव्यक्ति दिईरहेको छ । 

माओवादीले आफ्नो ‘पोजिशन’ कायमै रहेको बताएको छ । ‘पार्टी एकता समानताका आधारमा हुने भनेर पहिलै सहमति भएको हो । सहमतिकै आधारमा पार्टी एकता हुन्छ’ माओवादीका ती नेताले भने । 

‘दोस्रो कुरा पार्टी अध्यक्षले ५०–५० हुनुपर्छ भन्नुको मतलव केन्द्रदेखि प्रदेश र जिल्लातहसम्म यस्तै हुन्छ भनेको होइन् । संख्याका आधारमा भन्दा पनि सैद्धान्तिक रुपमा समानताको आधारमा पार्टी एकता भनेको हो ।’ ती नेताले भने, ‘मुख्य त केन्द्रिय कमिटिमा बरावर हुनुपर्छ । हामीले अध्यक्षलाई यहीँ सुझाव दिएका छौँ ।’

जनयुद्ध शब्दमा पनि माओवादीको ‘कठोर अडान’ छ । 

‘गणतन्त्र, संघीयता, समावेशी–समानूपातिक, धर्मनिरपेक्षतालगायतका सवै एजेन्डा जनयुद्धको बलमा स्थापना हुने तर, जनयुद्ध एकीकृत पार्टीले अस्वीकार गर्ने भन्ने हुँदैन ।’ प्रचण्डसँग नियमति संवादमा रहेका ती नेताले भने, ‘ऐतिहासिक जनयुद्ध स्वीकर गर्नुपर्छ । हामी यो अडानमा कायमै छौँ ।’

शीर्ष नेतृत्वले टुङ्गाउने गरी कार्यदलले विवादित विषयसहितको मस्यौदा बुझाएको थियो । 

प्रधानमन्त्री भारत भ्रमण सकेर फर्केपछि विवादित विषयमा सहमति जुटाउने दुवै पार्टीका नेताहरुको भनाई छ । 

केही दिन अघि माओवादी केन्द्र अध्यक्ष प्रचण्डले पार्टी कमिटीहरुमा फिप्टी फिप्टी सहभागिता हुनुपर्ने अडानलाई सार्वजनिक गरेपछि एमाले नेतृत्व झस्किएको थियो । एमालेले पनि जनयुद्ध, सूर्य चिन्ह र ५०–५० सहभागितामा सहमति हुननसक्ने अडान सार्वजनिक गरेपछि बढेको अन्यौल हटाउने विषयमा समेत संयोजन समिति बैठकमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप