शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

सोमबार, २६ चैत २०७४, १० : ५६
सोमबार, २६ चैत २०७४

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले सरकारमा ‘एकलौटी’ निर्णय लिन थालेको भन्दै असन्तुष्ट बनेका माओवादी केन्द्रका मन्त्रीहरूले आज पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको निवासमा छलफल भएको हो । 

एकैपटक ३० सचिव सरुवालगायत निर्णयमा प्रधानमन्त्रीले सरकारमा सहभागी दल र मन्त्रीसँग सामान्य छलफलसमेत नगरेको माओवादी मन्त्रीहरुको गुनासो थियो । यही गुनासो लिएर उनीहरुले पार्टी अध्यक्ष प्रचण्डलाई भेट गरेका हुन् । अन्य मन्त्रालयसँग भएका अधिकार कटौती गरेर प्रधानमन्त्री कार्यलय मातहत लगिएकोमा पनि माओवादी मन्त्रीहरु असन्तुष्ट छन् ।

यस्तो छलफलमा सहभागी एक मन्त्रीका अनुसार उनीहरुले प्रचण्डसमक्ष प्रधानमन्त्री ओलीको ‘कार्यशैली ठीक’ नभएको र यस विषयमा गंभीर कुरा गर्न प्रचण्डलाई सुझाव दिएका छन् । छलफलमा सहभागी एक मन्त्रीले रातोपाटीसँगको कुराकानीमा भने, ‘हामीले प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन, तपाईं एकपटक गंभीर रुपमा कुरा गर्नुस् भनेर प्रचण्डलाई भन्यौँ ।’

प्रधानमन्त्रीज्यूले माओवादीका मात्रै होइन, एमालेकै तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई पनि चक्मा दिएको प्रचण्डलाई जानकारी गराएको ती मन्त्रीले बताए । 

मन्त्रीलाई थाहा नभएको ‘मन्त्रिपरिषदको निर्णय’ !

माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्री विहान आठ बजे प्रचण्डकहाँ गएका थिए । करिव एक घण्टा छलफल भएको थियो । 

प्रधानमन्त्रीले सामान्य प्रशासन मन्त्रालयका सचिव शंकर कोइराला र मुख्यसचिव रेग्मीलाई राखेर सचिव सरुवाको निर्णय गरेका थिए । चैत्र २० गते भएको यो निर्णयमा कोही पनि मन्त्री जानकार थिएनन् । एमालेकै मन्त्रीहरु पनि प्रधानमन्त्री ओलीको यो निर्णयप्रति असन्तुष्ट छन् । 

गृह मन्त्रालयबाट राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमातहत लैजाने निर्णयमा पनि प्रधानमन्त्रीले एकलौटी गरेको माओवादीको गुनासो गर्दै आएको थियो । 

भेटका क्रममा मन्त्रीहरुले आफ्नो मन्त्रालयबाट भए गरेका कामबारे प्रचण्डलाई ब्रिफिङ समेत गरेका थिए । यस्तै पार्टीले सम्हालेका मन्त्रालयलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल भएको शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए । 
उनका अनुसार  माओवादीका मन्त्रीहरुले सम्हालेका मन्त्रालयलाई प्रभावकारी बनाउन योजनाबद्ध रुपमा अघि बढ्नेबारे छलफल भएको पनि छलफल भएको उनको भनाई छ । उनका अनुसार मन्त्रालयको नीति तथा कार्यक्रम नै बनाएर अघि बढिनेछ । 
यस्तै सरकारले ल्याउने आगामी नीति तथा कार्यक्रममा के कस्तो कार्यक्रम समावेश गर्ने भन्नेमा पनि सामान्य छलफल भएको पोखरेलले  जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप