बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

मङ्गलबार, २७ चैत २०७४, १५ : ००
मङ्गलबार, २७ चैत २०७४

काठमाडौं– पूर्व–पश्चिम रेलमार्ग, केरुङ–काठमाडौं रेलमार्ग, दिल्ली–काठमाडौं रेलमार्गपछि नेपाल बङ्गलादेश रेलमार्गको योजना अगाडि आएको छ ।

सरकारका सुशासन र विकासका प्राथमिकता बारे सुझाव दिन गत माघ ७ गते एमाले माओवादी पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष वामदेव गौतम संयोजकत्वको कार्यदल बनाएको थियो ।

७ सदस्य रहेको सो कार्यदलले तयार पारेको प्रतिवेदनमा नेपालदेखि बङ्गलादेशसम्म १३ किलोमिटर भूमिगत वा स्थल रेलमार्ग बनाउने योजना सुझाइएको छ ।

यो योजनालाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले जारी घोषणापत्रमा उल्लेख योजनाभन्दा अझै महत्वाङ्काक्षी योजनाका रूपमा हेरिएको छ ।

 नेपालदेखि बङ्गलादेशसम्म रेलमार्ग विस्तारका लागि परराष्ट्र मन्त्रालयबाट पहल थालिनुपर्ने र विज्ञ समूहमार्फत अध्ययन गर्न सकिने कार्यदलको सुझाव छ ।     

कार्यदलले तयार पारेको विविध विकास योजना कार्यान्वयनका सम्बन्धमा बनाइएको प्रतिवेदनको पाँचौं खण्डमा सडकमार्ग, रेलमार्ग र जलमार्गको योजना खाका अघि सारिएको छ ।

कार्यदलले निर्माणाधीन र नयाँ आयोजना गरी पूर्व–पश्चिम र उत्तर–दक्षिण लोकमार्गहरूको निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने खाका ल्याएको हो ।

यसका लागि विकास आयोजना कार्यान्वयन प्राधिकरणको अवधारणा ल्याइनुपर्ने कार्यदलको सुझाव छ ।  

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने रेलामार्ग

एमाले उपाध्यक्ष गौतम नेतृत्वको कार्यदलले पूर्व–पश्चिम र उत्तर–दक्षिण जोड्ने रेलामार्गहरूको निर्माण ५ देखि १० वर्षभित्र सम्पन्न गर्ने योजनाको खाका तयार पारेको छ । यस्तै पूर्वपश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्ग सँग–सँगै समानान्तर रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने महत्वाकाङ्क्षी योजना पनि जोडिएको छ ।  

कार्यदलले भनेको छ– ‘रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने, काठमाडांै–वीरगञ्ज रेलमार्ग पा“च वर्षभित्र सम्पन्न गर्ने, भित्रीमधेसका सडकहरूको रिअलाइन्मेन्टको समानान्तर हुनेगरी पूर्वपश्चिम कृषि तथा औद्योगिक रेलमार्गको सर्भे तथा डीपीआर तीन वर्षभित्र तयार गर्ने, हिमाली राजमार्गको समानान्तर दार्चुलाको टिङ्करदेखि ताप्लेजुङको पाथीभरासम्मको पूर्व–पश्चिम पर्यटन रेलमार्गको सम्भाव्यता अध्ययन पाँच वर्षभित्र सम्पन्न गर्ने ।’

४७ खर्बको पूर्व–पश्चिम रेलमार्ग : कसरी बन्दैछ, कति समय लाग्छ ?

यस्तै चैनपुर–काँढा–साँफबगर–धनगढी खण्ड रहेको सेती लोकमार्गको समानान्तर, हिल्सा–जुम्ला–नेपालगञ्ज, कोरला–पोखरा–लुम्बिनी, लामाबगर–जनकपुर र किमाथाङ्का–विराटनगर रेल्वेको सम्भाव्यता अध्ययन र विकास मोडालिटी तीन वर्षभित्र सम्पन्न गरी काम अघि बढाउने खाका तयार गरिएको हो ।

रेलसँगै सडक

कार्यदलले पूर्व–पश्चिम राजमार्गअन्तर्गत तराईमा ८ लेन र पहाडमा ६ लेनको सडक, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग तीन वर्षभित्र सम्पन्न गन लक्ष्य अघिसारेको छ । कार्यदलको प्रतिवेदनले भन्छ– ‘भित्रीमधेस लोकमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने र हिमाली लोकमार्ग पाँच वर्षभित्र सुरु गर्ने । उत्तर–दक्षिण जोड्ने कर्णाली, गण्डकी र त्रिशूली करिडोर सडक दुई वर्षभित्र र महाकाली, सेती, राप्ती, मस्र्याङ्दी, तामाकोशी, कोशी र मेची करिडोर सडक तीन वर्षभित्र सम्पन्न गर्ने ।’ यस्तै काठमाडौं–निजगढ दु्रतमार्ग चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि प्रतिवर्ष रु. १ खर्ब ४० अर्बको दरले दश वर्षका लागि १४ खर्ब लाग्ने अनुमान प्रस्तुत गरिएको छ ।

यस्तै राजमार्ग र प्रमुख सडकहरूको निर्माणको क्रममा पहाडी खण्डहरूमा टनेल बोरिङ मेसिन समेत प्रयोग गरी सुरुङ मार्गहरू निर्माण गर्ने कार्यदलको खाका छ ।

प्रतिवेदन भन्छ– ‘खुर्कोट–ढुङ्ग्रेवास, शक्तिखोर–बैरेनी, दुम्किबास–दाउन्ने–बरघाट, शिवपुर–कपिलवस्तु भालुबाङ, बुटवल–तानसेन, मेलबासा–धौलाकाँढा, हेम्जा–पातिचौर, नागढुङ्गा–नौबिसे र टोखा–छहरे सडक खण्ड र मध्यपहाडी लोकमार्गको आवश्यक स्थानमा सुरुङमार्ग निर्माण कार्य अघि बढाउने । पहिलो चरणमा निर्माण गरिने सुरुङमार्ग खण्डहरूको निर्माणका लागि एक वर्षभित्र टेन्डर गरिसक्ने ।’

काठमाडौंमा ५ वर्षभित्र रेल

कार्यदलले काठमाडौं उपत्यकामा बाहिरी चक्रपथ र उपत्यका बाहिरको चक्रपथ पाँचभित्र निर्माण गर्ने खाका बनाएको छ । यसका लागि करिब रु. ५० अर्ब लाग्न कार्यदलको अनुमान छ ।
यस्तै काठमाडांै उपत्यकामा मोनोरेल तथा मेट्रो रेल तीनदेखि पाँच वर्षभित्र निर्माण गर्ने बारे  कार्यदलको खाका छ ।

चीनबाट रेल : प्रचार कति, प्रगति कति ?

कार्यदलको प्रतिवेदनमा भनिएको छ–‘काठमाडांैको रिङरोडभित्र विष्णुमती, बागमती, धोबीखोला र मनोहरा करिडोर र बालाजु–सूर्यविनायक खण्डमा मोनोरेल निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गरिनेछ । काठमाडौं उपत्यकाको चक्रपथ वरिपरि, बूढानीलकण्ठदेखि सानेपा र साँगा भञ्ज्याङदेखि थानकोटसम्म भूमिगत साथै स्थलगत खण्ड समेतको मेट्रो रेल निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने ।’

कार्यदलले यसका लागि करिब  १०० अर्ब रूपियाँ लाग्ने अनुमान गरेको छ ।

नेपालदेखि बङ्गलादेशसम्म भूमिगत रेलमार्ग
वाम कार्यदलले तयार पारेको रोचक योजनामध्ये नेपालदेखि बङ्गलादेशसम्मको रेलमार्ग पनि एक हो ।

नेपाल र बंगलादेश बीच पर्ने १३ किलोमिटर भारतको भूभागमा सुरुङमार्ग÷स्थलगत रेलमार्ग निर्माण गर्ने योजना कार्यदलको प्रतिबेदनमा छ । 

 यसका लागि नेपाल, भारत र बङ्गलादेशको त्रिपक्षीय सहयोगमा निर्माण गर्न कूटनीतिक पहल गर्ने उल्लेख छ ।

परराष्ट्र मन्त्रालय र विज्ञ समूहमार्फत यो काम अघि बढाउन सकिने कार्यदलको ठहर छ ।

जलमार्ग स्थापना

सडक र रेल आयोजनाजस्तै ठूला नदीप्रणालीहरूमा जलमार्ग निर्माणको कार्य अघि बढाउनेबारे पनि कार्यदलको योजना खाका छ ।

कार्यदलले भनेको छ– ‘कोशी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गको सम्भाव्यता अध्ययन गरी जलमार्गको विकास गरिनेछ । छिमेकी मुलुकसँगको समन्वयमा समुद्रमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने कार्य अघि बढाइनेछ ।’

कार्यदलले रेल, सडक, जलमार्गका साथै हवाइमार्ग, सिंचाइ, पर्यटन, जलविद्युतलगायतका क्षेत्रबारे कार्ययोजनाका खाका तयार पारेको छ । ती क्रमशः प्रकाशन गर्नेछौँ ।

यी समाचार छुटाउनुभयो कि ?

एमाले-माओवादी एकतापछि यस्तो बन्नेछ एकीकृत पार्टी

एमाले–माओवादी एकता : दुई अध्यक्षका यस्ता हुनेछन् संयुक्त आठ अधिकार

काँग्रेसवारे यस्तो प्रतिवेदन लेख्यो एमाले–माओवादी कार्यदलले ?

एमाले–माओवादी एकतामा नयाँ प्रस्ताव : हरेक निर्णयमा दुवै अध्यक्षको हस्ताक्षर !

माओवादी मन्त्रीहरुको प्रचण्डसमक्ष गुनासो–प्रधानमन्त्रीज्यूको रवैया ठीक भएन

बामदेव नेतृत्वको कार्यदलको सिफारिस : सरकारले तत्काल गर्नुपर्ने यी हुन् काम

नेपाली समाजको चरित्र कस्तो, यस्तो लेखियो एकीकृत पार्टीको प्रतिबेदनमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप