शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी गाडी लिएर पूर्वमाननीयहरू ‘फरार’

शुक्रबार, ०२ चैत २०७४, १३ : ३७
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ । सरकारी गाडी सरकारी कामकाजका लागि हो । सरकारी कामकाजलाई चुस्त र दुरुस्त राख्न इन्धन, चालक आदि सबै सरकारले नै उपलब्ध गराई सरकारी सवारीसाधनको प्रयोग हुन्छ । तर यस्ता कतिपय सरकारी सवारीसाधनमा भने वर्तमान तथा पूर्वमाननीयहरूको रजाइँ छ ।

सरकारी सवारीसाधन आवश्यकताअनुसार पदमा रहँदा प्रयोग गर्न पाइन्छ । तर केही माननीय र पूर्वमाननीयहरूले भने आफू पदबाट हटिसक्दासमेत सरकारी स्रोत र साधनको दुरुपयोग गरिरहेका छन् । 
२०७४ साल जेठ २४ गते शेरबहादर देउवाको नेतृत्वमा मन्त्रीमण्डल गठन भयो । त्यो मन्त्रीमण्डलमा सामान्य प्रशासन मन्त्रालय माओवादी केन्द्रको हातमा पर्यो । माओवादीका टेकबहादुर बस्नेत सामान्य प्रशासनमन्त्री बने । 

पटक पटक थप गरिएको मन्त्रीमण्डलमा भदौ ४ गते माओवादीका तर्फबाट ८ जना राज्यमन्त्रीहरू थपिए । तीमध्ये एक थिए, माओवादी केन्द्रका सांसद वोङ्दी शेर्पा । खेजेनिम–१ ताप्लेजुङका शेर्पा माओवादी युद्धकालदेखिकै नेता थिए । मन्त्री बन्न आकाङ्क्षी बनेपछि माओवादी केन्द्रले उनको नाम सामान्य प्रशासन राज्यमनत्रीमा पठायो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाए र शेर्पाले राज्यमन्त्रीको कुर्सी सम्हाले । 

त्यसबेला सामान्य प्रशासन मन्त्रालयले राज्यमन्त्री वोङ्दी शेर्पाका लागि बा १ झ ९१०९ नम्बरको सेतो स्करपियो गाडी उपलब्ध गरायो । शेर्पाले मन्त्रालयको मात्रै होइन, आफ्नो व्यक्तिगत र राजनीतिक कार्यक्रममा जाँदा पनि यही गाडी प्रयोग गरे ।

स्थानीय तह निर्वाचनमा काँग्रेससँग मिलेर चुनाव लडेको माओवादीले प्रदेश र सङ्घीय निर्वाचनमा भने एमालेसँग तालमेल गर्यो । चुनावी तालमेल मात्रै गरेन, बिस्तारै पार्टी एकीकरण नै गर्ने भन्दै घोषणा गर्यो । त्यसपछि चिढिएको काँग्रेसले माओवादी मन्त्रीहरूलाई २०७४ को असोज ३१ मा विनाविभागीय बनाइदिए । विनाविभागीय बनाइए पनि उनीहरूले सेवा सुविधा भने लिन छाडेनन् । सामान्य प्रशासन राज्यमन्त्री बनेका वोङ्दी शेर्पाले पनि मन्त्रालयबाट पाउने सेवा सुविधा छाडेनन् । 

विनाविभागीय बन्दासम्म त ठिकै थियो तर मन्त्री पद नै खुस्किसकेपछि पनि पूर्वमाननीय शेर्पाले सामान्य प्रशासन मन्त्रालयको सो गाडी अझै फिर्ता गरेका छैनन् । सामान्य प्रशासन मन्त्रालय आन्तरिक प्रशासन शाखाका एक अधिकारीका अनुसार गाडी फिर्ता माग्दा वोङ्दीले उल्टै थर्काउने गरेका छन् । ती अधिकारी भन्छन्, ‘हामीले पूर्वमाननीयज्यूसँग पटक पटक उक्त गाडी उपलब्ध गराइदिन आग्रह गर्यौँ । तर उनी हामीलाई उल्टै थर्काउँछन् । पहिले अरू नेता र मन्त्रीका गाडी माग अनि म पनि ल्याउँला पो भन्छन् ।’ अहिले त फोन गर्दा पनि सम्पर्कमा छैनन् । त्यही भएर हामीले गृह मन्त्रालयलाई गाडी फिर्ता ल्याइदिन पत्र लेखेका छौँ ।’

यो पनि पढ्नुहोस्

परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !

समाचार प्रभाव : परराष्ट्र सचिवले सच्याए गल्ती

मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट !

प्रधानमन्त्रीज्यू, मुख्यसचिवलाई कानुन लाग्दैन ?

पूर्व माननीय भन्छन्, उतै सोध्नुहोस्
सरकारी गाडी लगेर पदमा नरहँदा पनि फिर्ता नगरेको विषयमा हामीले पूर्वसामान्य प्रशासन राज्यमन्त्री वोङ्दी शेर्पालाई सम्पर्क गर्यौँ । हामीले सरकारी गाडी किन फिर्ता नगर्नुभएको हो भनेर सोध्यौँ, उनले त्यो विषय उतै (सामान्य प्रशासन मन्त्रालयमै) सोध्नु भन्दै हाम्रो फोन काटे । 

उद्योग राज्यमन्त्री रेशम लामा 'फरार'
सामान्य प्रशासन राज्यमन्त्री वोङ्दी शेर्पा मात्रै होइन, तत्कालीन उद्योग राज्यमन्त्री रेशमबहादुर लामा पनि सरकारी गाडी लिएर फरार भएका छन् । देउवा सरकारमा राप्रपा प्रजातान्त्रिकबाट सुनिलबहादुर थापा उद्योगमन्त्री बनेका थिए । पटक पटक बिस्तार गरिएको मन्त्रीमण्डलमा २०७४ साल भदौ २६ गते रेशमबहादुर लामाले उद्योग राज्यमन्त्रीको कुर्सी पाए । राज्यमन्त्री बनेपछि शेर्पाले उद्योग मन्त्रालयबाट सवारी सुविधा लिए । लामालाई मन्त्रालयले बा २ झ ११४१ नम्बरको टाटाको जिप उपलब्ध गराइदियो । करिब १ करोड मूल्य पर्ने उक्त जिप लामाले मन्त्रालयको मात्रै होइन, आफ्नो व्यक्तिगत काममा पनि प्रयोग गर्दै आए । 

सरकारमा सहभागी दल माओवादी केन्द्र वाम गठबन्धनतिर लागेपछि तत्कालीन उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले पनि वाम गठबन्धनलाई सहयोग गर्ने भन्दै पत्रकार सम्मेलन गरे । त्यसलगत्तै पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिकले राज्यमन्त्री लामालाई पार्टीबाट निष्काशन गरेको घोषणा गर्र्दै राज्यमन्त्री पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्रसमेत लेख्यो । 

तत्कालै लामा मन्त्रीबाट निष्काशित भए । तर मन्त्री पदबाट हटाइएको पत्र सामान्य प्रशासन मन्त्रालयमा आउन थप एक महिना लाग्यो । मन्त्री पद खुस्के पनि लामा पुसको पहिलो सातासम्म मन्त्रालयमा आइरहे । 

मन्त्रालयमा पत्र आएपछि सामान्यका कर्मचारीले राज्यमनत्री पदबाट हटाइएको बारे जानकारी गराए । त्यसपछि भने लामा मन्त्रालय आउन छाडे । तर उनले प्रयोग गर्दै गरेको बा २ झ ११४१ नम्बरको गाडी भने फिर्ता गरेनन् । 

मन्त्रालय भन्छ, ‘लामा सम्पर्ककै छैनन्’

सरकारी सवारीसाधन लिएर फिर्ता नगरेपछि तत्कालीन उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई मन्त्रालयले धेरै पटक सम्पर्क गरेर गाडी फिर्ता ल्याइदिन आग्रह गर्यो । सुरु सुरुमा फोन उठाएर ल्याइदिन्छु भने पनि अहिले मन्त्रालयको फोन पूर्वमाननीय लामाले उठाउनै छाडेका छन् । कतिबेला त मन्त्रालयबाट फोन जानेबित्तिकै मोबाइल अफ गर्ने गरेको मन्त्रालयका कर्मचारी बताउँछन् । उद्योग मन्त्रालयका प्रशासन शाखाका अधिकारी भन्छन्, ‘पहिले पहिले त सम्पर्कमै थिए । अहिले त कि फोन लाग्दैन । फोन लागे पनि उठाउँदैनन् र एकछिनपछि मोबाइल अफ गरिदिन्छन् । उनी त अहिले फरार नै भएका छन् ।’

पटक पटक सम्पर्क गर्न खोज्दासमेत लामा सम्पर्कमा नआएपछि उद्योग मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै पूर्वमाननीय लामाबाट गाडी जफत गरी फिर्ता ल्याइदिन आग्रह गरेको छ ।

यस विषयमा लामासँग सम्पर्क गर्दा लामाले आफूसँग गाडी नभएको र यसबारे आफूलाई केही थाहा नभएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप