बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यसचिवको गाडीमा अस्तित्वमै नभएको नम्बर प्लेट !

बुधबार, ३० फागुन २०७४, १२ : २२
बुधबार, ३० फागुन २०७४

काठमाडौँ । मुख्यसचिव अर्थात् निजामती सेवाका सर्वोच्च व्यक्ति । सम्पूर्ण कर्मचारीतन्त्रलाई नियमन र निरीक्षण गर्ने व्यक्ति । त्यसबाहेक प्रधानमन्त्रीसँग प्रत्यक्ष जोडिएर देशको नीति निर्माण तहमा काम गर्ने व्यक्ति । 

मुख्यसचिवज्यूलाई देशको सामान्य कानुन थाहा नहुने कुरा कल्पना गर्नसमेत सकिँदैन । मुख्यसचिव हुनुअघि गृह मन्त्रालयकै सचिव भएर काम गरेको व्यक्तिलाई सवारीसाधनसम्बन्धी नीति र कानुन थाहा नहुने भन्ने कुरा पनि भएन ।

तर मङ्गलबार हामीले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले अवैध रातो नम्बर अर्थात् निजी नम्बर प्रयोग गरेर सरकारी गाडी चलाएको समाचार प्रकाशन गर्दैगर्दा प्रधानमन्त्री कार्यालयअगाडि एउटा गाडी देखियो । 

बा १५ च ४१८६ नम्बरको यो सवारी नम्बर अहिले यातायात व्यवस्था कार्यालयको लगतमा छैन । यो गाडी अहिले आन्तरिक राजस्व विभागको नाममा दर्ता छ र यस गाडीको सरकारी नम्बर बा २ झ २००५ हो र हुन्डाइको टक्सन जिपमा सवार गर्ने व्यक्ति हुन्, नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मी ।

मुख्यसचिवको कार्यालय पनि प्रधानमन्त्री कार्यालयमै हुने भएकाले यो गाडी प्रधानमन्त्री कार्यालयकै गेट अगाडि नै थियो । हामीले यस गाडीमै रहेका चालकलाई यो गाडी सरकारी हो कि निजी हो भनेर सोध्यौँ । उनले सरकारी गाडी भएको बताए । तर सरकारी नम्बर चाहिँ कति हो भनेर भन्न सकेनन् । अनि निजी नम्बरको स्वीकृति कहिलेसम्म छ भनेर सोध्यौँ । चालकले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

हामीले यो गाडीको डिटेल्स यातायात व्यवस्था कार्यालयसँग माग्यौँ । यस गाडीको सरकारी नम्बर बा १५ च ४१८६ भएको पत्ता लाग्यो र यस गाडीलाई आन्तरिक राजस्व विभागले किनेर बा २ झ २००५ मा दर्ता गरेको भेटियो ।

राम्रा गाडी जति हाकिमलाई ?
हामी आन्तरिक राजस्व विभागमा पनि पुग्यौँ । तर यो गाडी विभागले किनेलगत्तै अर्थ मन्त्रालयलाई बुझाएको रहेछ । राम्रो र नयाँ गाडी देखेपछि गृहसचिव हुँदा हालका मुख्यसचिव लोकदर्शन रेग्मीले आँखा लगाएका रहेछन् । उनले अर्थ मन्त्रालयबाट उक्त गाडीको माग गरी आफैले प्रयोग गरिरहेका रहेछन् । 

सरकारी गाडी कुनै उच्च पदस्थ सरकारी कर्मचारीले प्रयोग गर्नु कुनै नौलो र अनौठो विषय भएन । विषय त यो हो कि मुख्यसचिव नै चढ्ने गाडी गैरकानुनी ढङ्गले चल्यो भने के गर्ने ?

यो पनि पढ्नुहोस्

परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !

समाचार प्रभाव : परराष्ट्र सचिवले सच्याए गल्ती

अस्तित्वमै नभएको नम्बर प्रयोग
हो, मुख्यसचिव लोकदर्शन रेग्मीले प्रयोग गरिरहेको बा १५ च ४१८६ नम्बर अहिले अस्तित्वमा नै छैन । यो नम्बर खारेज भएर अहिले बा २ झ २००५ मा दर्ता कायम छ । 

हुन त सेतो प्लेटलाई अस्थायी रूपमा रातो नम्बर बनाउने प्रावधान पनि छ । सम्बन्धित मन्त्रालयको पत्रका आधारमा गृह मन्त्रालयले अधिकतम १ वर्षसम्मका लागि अस्थायी नम्बर उपलब्ध गराइदिन यातायात व्यवस्था कार्यालयलाई सिफारिश गरिदिन्छ । तर मुख्यसचिव रेग्मीले भने न रातो नम्बर कायम गरिदिन माग गरेका छन्, न त गृहले त्यस्तो सिफारिश नै दिएको छ । तर पनि मुख्यसचिव रेग्मीले आफूखुशी सरकारी गाडीलाई निजी बनाएर टक्सन जिप बेफिक्री हुइँकाएका छन् ।

यातायात व्यवस्था कार्यालयको रेकर्डअनुसार यो गाडीले २०७३ को पुस मसान्तसम्मका लागि मात्रै अस्थायी नम्बर पाएको थियो । तर मिति गुज्रिएको १४ महिना पुग्दा पनि मुख्यसचिव रेग्मीले त्यही नम्बरमा आफ्नो जिप चलाइरहेका छन् ।

आखिर निजामती सेवाकै उच्चतम पद । न ट्राफिकले समात्ने आँट गर्ने, न कसैले चेकजाँचको दुस्साहस गर्ने । अनि त कसले छुने, मुख्यसचिवले ! बेफिक्री अवैध नम्बर प्रयोग गरेर सडकमा गाडी कुदेकै छ । 
यस विषयमा मुख्यसचिव कार्यालयका उपसचिवलाई हामीले सम्पर्क गर्यौँ । तर उनले गाडीको बारेमा कुनै जानकारी दिन नमिल्ने बताए ।

प्रधानमन्त्री कार्यालयका सचिव पनि अवैध रातो प्लेट प्रयोग गर्दै
मुख्यसचिव लोकदर्शन रेग्मी मात्रै होइन, प्रधानमन्त्री कार्यालयका सचिव चढ्ने अर्को कारमा पनि अवैध रूपमा रातो प्लेटको नम्बर प्रयोग भइरहेको छ । बा १६ च ९३८४ नम्बरको हुन्डाई कार पनि प्रधानमन्त्री कार्यालयका सचिवले प्रयोग गर्छन् । यो कारको सरकारी नम्बर बा २ झ २९३६ हो । सरकारी प्लेटको यो गाडीले २०७४ साउन १ गतेदेखि २०७४ कात्तिक ३० गतेसम्मका लागि निजी नम्बरको स्वीकृति पाएको थियो । यातायात व्यवस्था कार्यालयले २०७४ को कात्तिक मसान्तसम्मका लागि भनेर यो गाडीलाई बा १६ च ९३८४ नम्बरको रातो प्लेट उपलब्ध गराएको थियो । तर मिति सकिएको ४ महिना पूरा हुँदा पनि यो गाडीमा अझै रातो प्लेट प्रयोग गरिँदै छ, जुन अवैध हो ।    
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप