शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीज्यू, मुख्यसचिवलाई कानुन लाग्दैन ?

शुक्रबार, ०२ चैत २०७४, १० : १९
शुक्रबार, ०२ चैत २०७४

काठमाडौँ– हाम्रो कर्मचारी संयन्त्र कति अराजक छ ?

सेवाग्राहीले खरदारदेखि सचिवसम्मको कार्यशैली राम्रोसँग बुझेका छन् ।

आज हामी एक अर्का ‘अराजक’ उच्च पदस्थ कर्मचारीको कुरा गर्दैर्छौं ।

सरकारी नम्बर प्लेटलाई अवैधानिक रूपमा निजी नम्बर प्लेटमा परिवर्तन गरेर मुख्यसचिवले सवारी चलाएको विषयमा बुधबार रातोपाटीले समाचार प्रकाशन गरेको थियो ।

तर, बिहीबार साँझसम्म मुख्यसचिवले आफ्नो गल्ती सच्चाएका छैनन् ।

प्रधानमन्त्री कार्यालयको परिसरमै रहने र कर्मचारीको सबैभन्दा उच्च पद मानिने मुख्य सचिव यही गाडी चढ्छन् ।

मुख्यसचिवले आफूखुशी निजी नम्बर प्रयोग गरी यो कार चलाइरहेका छन् ।

जबकि हामीले परराष्ट्र सचिवले प्रयोग गरेको रातो नम्बर प्लेटको गाडीबारे समाचार प्रकाशित गरेको केही घण्टामै उनले गल्ती सच्याएका थिए ।

यो पनि पढ्नुहोस्

परराष्ट्र सचिव नै चढ्छन् ‘अवैध’ गाडी !

समाचार प्रभाव : परराष्ट्र सचिवले सच्याए गल्ती

तर, मुख्य सचिव लोकदर्शन रेग्मी यति ‘अराजक’ देखिए ।

फर्जी नम्बर प्लेटबारे सम्पूर्ण प्रमाणसहितको समाचार आउँदा पनि उनले यसलाई सच्याउनेतिर ध्यान दिएका छैनन् ।

जबकि प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री भएको सुरुकै दिनदेखि सुशासनको मुद्दालाई निकै जोडजोडले उठाइरहेका छन् ।

बा २ झ २००५ नम्बरको सरकारी टक्सन कारलाई मुख्यसचिव लोकदर्शन रेग्मीले बा १५ च ४१८६ को नम्बर राखी रातो प्लेटमा चलाइरहेका छन् ।

सम्बन्धित मन्त्रालयको पत्रका आधारमा गृह मन्त्रालयले अस्थायी रूपमा निजी नम्बर उपलब्ध गराइदिन यातायात व्यवस्था कार्यालयलाई पत्र लेख्न सक्छ ।

तर, मुख्यसचिव रेग्मीले चढेका यो गाडीले लिएको बा १५ च ४१८६ नम्बरको अस्थायी स्वीकृतिको मिति भने २०७३ सालको पुसमै सकिएको छ । यद्यपि मुख्यसचिव रेग्मीले आफूखुशी निजी नम्बर प्रयोग गरी यो कार चलाइरहेका छन् ।

बुधबार रातोपाटीमा समाचार प्रकाशित भएपछि हामीले अर्को दिन  मुख्य सचिवले गल्ती सच्याउँछन् वा सच्याउँदैनन् भन्ने चासो राख्यौँ ।

हाम्रा संवाददाता मदन ढुङ्गाना यसको निगरानी गर्न प्रधानमन्त्री कार्यलय परिसर पुगे ।

तर, बिहीबार दिनभर यो गाडी मुख्यसचिवको कार्यालय अगाडि भेटिएन ।

साँझपख भने यो गाडी फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइपुग्यो ।

तर, त्यही पुरानै नम्बरमा । अर्थात फर्जी नम्बर प्लेटमा ।

फोटो : बिहीबार साँझ प्रधानमन्त्री कार्यालयअगाडि मुख्यसचिवको कार
 

समाचार प्रकाशित भएपछि पनि मुख्यसचिवले यो गाडीमा सरकारी नम्बर प्रयोग गरेका छैनन् ।

यस विषयमा हामीले बिहीबार मुख्यसचिवको कार्यालयलाई सोध्यौँ ।

मुख्यसचिवको कार्यालयले केही गल्ती भएको भन्दै तत्कालै गल्ती सच्याउने बताएका थिए ।

तर, बिहीबार साँझसम्म पनि उक्त गाडीमा निजी नम्बर नै भेटिएपछि हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरलाई सोध्यौँ ।

उनले यसबारे आफूलाई भर्खरै जानकारी आएको भन्दै गैरकानुनी रूपमा रातो नम्बर प्रयोग भएको भए तत्कालै गल्ती सुधार गर्ने बताए ।

आवश्यकताअनुसार केही सवारीसाधनले अस्थायीरूपमा रातो नम्बर लिएको भन्दै मुख्यसचिवकै गाडीको म्याद सकिएको भए तत्कालै सेतो नम्बर प्रयोग गर्ने पनि कुँवरले बताए ।

ट्राफिक भन्छ : यातायातले अनुरोध गरे हामी कारवाही गर्छौं
यस विषयमा हामीले महानगरीय ट्राफिक प्रहरीसँग कुराकानी गर्यौँ ।

तर ट्राफिक प्रहरीले भने यस्तो विषयमा आफूले सोझै कारवाही गर्न नमिल्ने जानकारी दियो । ‘यदि कसैले आफूखुशी रातो नम्बर प्रयोग गरी सरकारी गाडी चलाएको छ भने त्यो गलत हो । यातायात व्यवस्था विभागले कारवाहीका लागि अनुरोध गरे हामी तत्कालै कारवाही गर्छौं ।’

यातायातका प्रवक्ता भन्छन्, ‘मुख्यसचिव भन्दैमा छाडिँदैन’
हामीले अवैधरूपमा सरकारी गाडीलाई निजी नम्बर प्रयोग गरी दुरूपयोग भइरहेको विषयमा यातायात व्यवस्था कार्यालयका प्रवक्ता तुलसीराम अर्याललाई बतायौँ ।

यस्तो सवारीसाधन कारवाहीको दायरमा आउँछन् कि आउँदैनन् त ?
अर्यालकाअनुसार यातायात व्यवस्था ऐनअनुसार आफूखुशी वा अनधिकृतरूपमा रातो वा सेतो नम्बर प्रयोग गरेमा त्यस्ता सवारीसाधनलाई २ सयदेखि १ हजार रुपियाँसम्म जरिवाना गरिने प्रावधान छ ।
कुनै कुनै अवस्थामा यस्ता गाडीलाई नियन्त्रणमा पनि लिन सकिने अर्यालले बताए ।

अनि मुख्यसचिवकै गाडीलाई पनि तपाईंले कारवाही गर्न सक्नुहुन्छ त भन्ने हाम्रो प्रश्नमा प्रवक्ता अर्यालले भने, ‘व्यक्ति जो भए पनि कानुन सबैलाई बराबरी हो । यदि गल्ती गरेका छन् भने मुख्यसचिव भनेर छाड्ने कुरा भएन । हामी यसबारेमा तत्कालै यातायात व्यवस्था कार्यालयसँग जानकारी माग्छौँ र स्वीकृति नलिई चलाएको भए २४ घण्टाभित्रै कारवाही गर्छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप