शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मातृका यादव मन्त्री भएपछि सुरु भयो फेरि त्यही चर्चा

सोमबार, १४ फागुन २०७४, १७ : ००
सोमबार, १४ फागुन २०७४

काठमाडौँ -वन मन्त्री भएको बेला २०६५ असार ४ गते जिल्ला विकास समिति ललितपुरका एलडीओलाई शौचालयमा थुनेर चर्चामा आएका मातृका यादव पुनः मन्त्री भएका छन् । 

उनको नाम मन्त्रीमा टुङ्गो लाग्ने वित्तिकै शौचालयमा एलडीओलाई थुनेको घटनालाई सबैले स्मरण गर्न थालेका छन् ।
उनले उद्योग तथा आपुर्ति मन्त्रीको रुपमा सोमवार सपथ लिएका छन् । 

ललितपुरमा बिनाइजाजत सञ्चालनमा आएका ढुङ्गा खानीको विवादलाई लिएर ललितपुरका तत्कालीन एलडीओ डण्डुराज घिमिरेलाई थुनेका थिए ।  मातृका यादवले वाहवाही कमाएका थिए । भ्रष्टहरूलाई यसरी नै तह लगाउनुपर्छ भनी मातृका यादवको पक्षमा जनमत तयार भएको थियो ।

त्यति मात्रै होइन, त्यतिबेला उनले रक्तचन्दन तस्करीलाई पनि चर्चामा ल्याएका थिए । उनी आफै रातिराति गएर ट्रकका ट्रक रक्तचन्दन समातेर सिंहदबारमा थन्क्याएका थिए । रक्तचन्दनको पनि तस्करी हुन्छ भने कुरा त्यतिबेला मात्र जनताले थाह पाएका थिए । तर, उनी मन्त्रीबाट हट्ने वित्तिकै रक्तचन्दनको चर्चा फेरि हरायो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रधानमन्त्री निवास बालुवाटारमा भनाभन गरेको विषय पनि त्यतिबेला निकै चर्चामा आएको थियो । पछि उनी भूमि सुधार तथा व्यवस्था मन्त्री बन्दा सिरहामा जग्गा कब्जाको विषयलाई लिएर विवादमा तानिएका थिए ।

यिनै मातृका यादव मन्त्री बन्न लागेका हुन् । इमानदार र हठी नेताको रूपमा परिचित मातृका यादव त्यही कारणले माओवादी पार्टी छाडेर हिँडेका थिए । उनी माओवादी पार्टी छाडेर हिँडेपछि छुट्टै समूह चलाएर मधेसमा आन्दोलनको सुरुवात गरेका थिए ।

दुई वर्ष अगाडि माओवादीमा फर्केका यादव धनुषा १ बाट पहिलो पटक प्रतिनिधिसभा चुनाव जितेका हुन् । माओवादी शन्ति प्रकृयामा आएपछि अन्तरिम सांसद बनेका मातृका यादव पहिलो संविधानसभा चुनावमा समानुपातिक सांसद बनेका थिए । उनी सांसद हुँदैको अवस्था पार्टी छाडेका थिए र त्योसँगै उनको सांसद पद पनि गएको थियो ।

२०७० को संविधानसभा चुनाव बहिष्कार गरेका मातृका यादव धनुषा १ बाट चुनाव जितेपछि उनी मन्त्री बन्न लागेका हुन् ।
राजनीतिक यात्रा

२०३४ मा नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरु गरेका मातृका यादव विसं २०३६–३८ सम्म उनी सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने । त्यसताका उनको एउटा भाषणले सबै विद्यार्थीले उनलाई नै मत हालेको कुरा त्यतिबेला निकै चर्चित थियो । विस २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बने । त्यसताका सङ्गठन भूमिगत थियो । राजधानीबाट उनी इन्द्रचोकबाट पक्राउ परे ।

उनी विद्यार्थीभन्दा पनि पार्टीमा बढी सक्रिय थिए । चौम (चौथो महाधिवेशनका पोलिटब्युरो सदस्य (पीबीएम) समेत रहेका उनी सिरहा मिर्चैया बडहराका जयगोविन्द साहबाट वर्गीय र सैद्धान्तिक कुराको ज्ञान लिएका थिए । त्यसताका उनले सबैला (उनको गाउँ) क्षेत्र उनले खुबै तताएका थिए ।

२०३८ चैतमा समातेर उनलाई डिल्लीबजार खोरमा चार महिनासम्म राखिएको थियो । त्यहाँ उनले ठूलो सङ्घर्ष गरेका थिए । जेलभित्रै अश्रुग्यास र गोली चल्यो । आफूलाई रिहा गर्नुपर्ने माग राख्दा जेलका नाइकेहरू मातृका यादवमाथि आक्रमण गर्न गएका थिए । त्यतिबेला मातृका यादव लगायतले जेलको गेट कब्जामा लिएका थिए । विसं २०३९ मा जेलबाट छुटेपछि उनी पार्टीमा सक्रिय भए । विसं २०४० मा देव गुरुङको नेतृत्वमा विद्यार्थी सङ्गठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय व्युरो सदस्य थिए, उनी । यहाँसम्म आइपुग्दा उनी ‘होल टाइमर’ कार्यकर्ताका रूपमा पार्टीमा सक्रिय भइसकेका थिए ।

२०४२ तिर उनीमाथि विभिन्न झुठा मुद्दा लगाएर जेल चलान गरियो । त्यतिबेला मातृका नौ महिना जेलमा बसे । २०४४÷४५ तिर पार्टी जनयुद्धमा जाने बहुसङ्ख्यकको माग थियो । त्यतिबेला मातृका क्षेत्रीय ब्युरो सदस्य थिए । २०४६ तिर पार्टीले भौतिक प्रशिक्षण सुरु गयो । त्यसमा पनि उनी सक्रिय रहे । फेरि उनी पक्राउ परे । झण्डै १८ महिनासम्म उनलाई खरखजाना, राजकाज, ज्यानलगायतका मुद्दामा जलेश्वर जेलमा राखियो ।

पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका क्रान्तिकारी धारमै सक्रिय थिए । २०५०÷५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । उनलाई केन्द्रीय समितिमा ल्याउने कुरा भयो । उनी रामवृक्ष यादव मास्टर साहेबलाई केन्द्रीय सदस्य बनाउनुपर्ने अडान राखे र आफू गएनन् । २०५१ मा पार्टीको तेस्रो विस्तारित वैठकपछि पार्टी नेकपा (माओवादी) बन्यो । पार्टी भूमिगत बन्यो । उनी धनुषामा केन्द्रित रहे । २०५६ मा श्रीमतीको उपचारका क्रममा काठमाडौँ आउँदा पक्राउ परे उनी । एक वर्षसम्म उनलाई बेपत्ता पारियो । २०५८ मा फेरि उनी जेलमा परे । २०५९ मा सरकारसँग पहिलो वार्तामा उनी जेल मुक्त भए भने दोस्रो वार्तामा टोलीका सदस्य बने । २०६० मा फेरि दिल्लीबाट पक्राउ परे । २०६३ को वैशाख अन्तिमतिर उनी छुटे  ।

उनी अन्तरिम व्यवस्थापिका संसदमा वनमन्त्री बनेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवाद कारण उनी मन्त्रीबाट राजीनामा दिएर हिँडेका थिए । २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद बने । सभासद भएकै बेला उनी पार्टीबाट अलग भए । पार्टीबाट अलग हुने बेला उनले सभासद्बाट पनि राजीनामा दिए । २०६५ माघ २९ गते माओवादी पुनर्गठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर उनी आन्दोलनमा अघि बढे ।

मधेस आन्दोलन

मधेस आन्दोलन राष्ट्रिय समिति गठन गरेर मधेसमा आन्दोलन सुरु गरेका थिए । मधेसवादी दलहरूले आन्दोलन सुरु गर्दा उनी त्यस अघिदेखि नै आन्दोलनमा थिए तर सानो पार्टी र सानो समूह भएका कारणले चर्चामा आएका थिएन । उनले आन्दोलन बलियो बनाउनका लागि हरेक मधेसवादी दलको घरघर पुगेका थिए । महागठबन्धन बनाएर आन्दोलनमा जानुपर्छ भनी उनले निकै प्रयास गरेका थिए । त्यही प्रयास स्वरूप एक पटक उनले राजेन्द्र महतो र जेपी गुप्तासँग गठबन्धन गर्न सफल भएका थिए तर त्यो धेरै दिन चल्न सकेन ।

एक मधेस एक प्रदेशको मुद्दा हालसम्म नछाडेका मातृका यादवले डेढ वर्ष अगाडि माओवादी केन्द्रसँग एकीकरण गरेका हुन् । पार्टीसँग एकीकरण गरेपछि पार्टीको कार्यालय सदस्यसहित उनी मधेसका इन्चार्ज पनि भए ।

शिक्षा

मातृकाप्रसाद यादवले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रवीणता प्रमाणपत्र (आईएड) सम्मको शिक्षा हासिल गरेका छन् । परिवारको आर्थिक स्थितिका कारण उनले विद्यालयको शिक्षा नियमित रूपमा पूरा गर्न सकेनन् । झण्डै पाँच वर्षजति उनले आफ्नो नियमित पढाइ छाड्नु पर्यो । पछि फेरि विद्यालयमा भर्ना भएर एसएससी सिद्धयाए, उनले । डा. श्रीकृष्ण यादवको सल्लाहमा उनी सिरहा क्याम्पसबाट आईएड गरे ।

त्यहाँ उनी हेमनारायण यादवको आफन्तको घरमा बालबालिकाहरूलाई ट्युसन पढाएर आफू पनि पढ्थे । एसएलसी पास भएपछि कीर्तिपुर आएका थिए । त्यहीँ उनको भेट श्रीकृष्ण यादवसँग भएको थियो । उनी पक्लिहवा क्याम्पसमा पढ्न गएका थिए । श्रीकृष्ण यादवले त्यहाँ कार्यरत जगत नारायण यादवसँग भेट्न पठाएका थिए ।

पक्लिहवामा पहिलो सूचीमा उनको नाम निस्केको थियो तर घर गएकाले अन्तिम दिनमा मात्रै इन्डिया हुँदै उनी त्यहाँ पुगेका थिए । एड्मिसन नभएपछि उनी काठमाडौँ फर्के । त्यसपछि उनी आईएडका लागि सिरहा क्याम्पसतिर लागेका थिए । त्यहाँ उनी विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए ।  

 

थप समाचार

 

उपप्रधानमन्त्री बनिसकेका  इश्वरको मन्त्रीमै सपथ ! (जीवनीसहित)

गृहमन्त्री बनेका बादल हुन् चाहिँ को ?

दोस्रो पटक मन्त्रिपरिषद विस्तार : पोखरेल, खतिवडा, थापा र यादवले लिए सपथ

सरकारमा उपेन्द्रलाई सहभागि गराउने प्रयासः बालुवाटारमा के भयो छलफल ?

आज माओवादीका दुई जनाले मात्रै सपथ खाने

माओवादीले बुझायो मन्त्रीहरुको नामः प्रचण्डको सचिवालय

मन्त्रिमण्डल विस्तार हुँदै, फाेरमलाई पनि समेट्ने प्रयास

माओवादी मन्त्रीको सूचि तयार

माओवादी मन्त्रीको सूचि तयार, बादल गृहमन्त्री पक्का, केही बेरमा प्रधानमन्त्रीलाई सिफारिस गर्ने तयारी

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप