बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी

बिहीबार, ०६ जेठ २०७८, २२ : ५६
बिहीबार, ०६ जेठ २०७८

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने भएको छ ।

शुक्रबार बिहान ९ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने काँग्रेस नेताहरुले बताएका छन् ।

यसबारे काँग्रेस सभापति देउवाले पार्टीका नेताहरुसँग विहीबार साँझै टेलिफोन संवाद गरिसकेका छन् । नेताहरुसँगको कुराकानीपछि सभापति देउवा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा कदम उठाउनुपर्ने निष्कर्षमा पुगेको बुझिएको छ ।

काँग्रेस नेता रमेश लेखकले राष्ट्रपतिबाट विहीबार जारी नयाँ सरकार गठनसम्बन्धी आह्वानबारे चर्चा गर्दै रातोपाटीसँग भने, ‘यो त अति भयो । यो देशमा संविधान विधि, पद्दति केही पनि छैन भन्ने कुराको नमुना हो यो । यो विषयमा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउनुपर्ने अवस्था आएको छ ।’

संविधानको गम्भीर उल्लंघनको घटना एकपछि अर्को हुन थालेकाले काँग्रेसले कडा कदम चाल्नुपर्ने बेला आएको लेखकको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गणतन्त्र र लोकतन्त्रमाथि खतरा पैदा भएको लेखकले बताए । उनले भने, ‘यो देशबाट गणतन्त्र जान्छ भने विद्या भण्डारीका कारणले जान्छ । लोकतन्त्र जान्छ भने केपी ओलीका कारणले जान्छ । यो कुरा जनतामा लैजानका लागि पनि महाअभियोग र अविश्वासको प्रस्ताव ल्याउनुपर्छ ।’

राष्ट्रपतिविरुद्धको महाअभियोग पास हुने अवस्था नबनेपनि त्यो ठाउँसम्म पुग्नुपर्ने अवस्था आएको उनले बताए । काँग्रेस नेता लेखकले रातोपाटीसँग भने, ‘भोलि यो लडाइँमा महाअभियोग पास होला न होला, अलग कुरा हो । तर,  त्यो ठाउँसम्म जाने कुरा हो यो ।’

महाअभियोग पास हुन संसदको दुई तिहाइ चाहिने संवैधानिक व्यवस्था छ । विपक्षी दलसँग महाअभियोग पास गर्ने गणित भने छैन ।

शुक्रबार बिहानको बैठकमा यिनै विषयमा छलफल हुने लेखकले बताए । उनले भने, ‘अविश्वासको प्रस्ताव लिएर जाने हो कि ? अथवा महाअभियोग पनि लिएर जाने हो कि ? वा अर्को सरकार बनाउनका लागि तयारी गर्ने हो कि, यिनै विषयमा छलफल हुन्छ ।’

विहीबार साँझ आफूसँगको भएको कुराकानीमा यसबारे छलफल गर्न देउवा पनि तयार भएको लेखकले बताए ।

यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहमत नै देखिएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको पौडेलको टिप्पणी छ ।

यस्तै काँग्रेसका नेता  गगन थापाले पनि महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्नुपर्ने बताएका छन् । थापाले भने, ‘विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौँ । सुझबुझ पुर्याऔं र यिनले दिएको समयअगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं ।’

वरिष्ठ अधिवक्ता शम्भु थापाले विपक्षी दलहरूलाई पनि संविधान र संसद बचाउन शुक्रबार नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सुझावका छन् ।

‘संसद बचाउने हो भने भोलि नै यो प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव राख्नुपर्छ र नयाँ प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर संसदबाट प्रक्रिया सुरु गर्नुपर्छ,’ रातोपाटीसँग थापाले भने, ‘अहिलेको अवस्थामा संसद बाँच्न जरुरी छ ।’

उता माओवादी अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिले संविधान र लोकतन्त्र मास्न खोजेको भन्दै यो क्षम्य नहुने बताएका छन् । प्रचण्डको आक्रोश हेर्दा माओवादीले पनि राष्ट्रपतिमाथि महाअभियोग लगाउने काँग्रेसको प्रस्तावलाई समर्थन जनाउने संकेत देखिएको छ ।


 

 


 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप