बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियाली कम्पनी भन्छन् : हामी नेपाली कामदार लिन आतुर छौँ, नेपालको रोजगारी गुम्दैन

सोमबार, १८ चैत २०७५, १३ : ११
सोमबार, १८ चैत २०७५

क्वालालुम्पुर । नेपालबाट मलेसियामा रोजगारीका लागि कामदार जान नपाएको १० महिनाभन्दा बढी भयो । गएको जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्दप्रायः नै छ । मलेसियाको प्रमुख ‘सोर्स कन्ट्री’ रहेको नेपालबाट सरकारले यथाअवस्थामा कामदार लैजान प्रतिबन्ध लगाएपछि मलेसियाको श्रम बजारमा समेत कामदारको अभाव खड्किएको छ ।

मुख्यतः सेक्युरिटी गार्डको काममा मलेसियामा चरम अभाव रहेको छ, जसका कारण पछिल्ला दिनमा अवैधानिक नेपाली कामदारलाई सेक्युरिटी गार्डकारूपमा काममा लगाउन थालिएको छ ।

गएको जेठ २ गते श्रममन्त्री गोकर्ण विष्टले नेपाली कामदारहरुले चर्को शुल्क तिरेर मलेसिया जानुपरेको भन्दै नेपालमा सञ्चालनमा रहेका ‘मिडल म्यान’ संस्था तथा यसका प्रक्रियाहरुलाई एकतर्फीरूपमा खारेज गरेका थिए । त्यो निर्णयसँगै मलेसियाको रोजगारी बन्द भएको छ । तर मन्त्रीको यो निर्णयले आगामी दिनमा नेपाली कामदारलाई भने फाइदा पुग्ने भएको छ ।

जतिबेला श्रममन्त्री गोकर्ण विष्टले यो निर्णय लिँदै थिए, त्यतिबेला नेपालबाट मलेसिया रोजगारीमा जान चाहनेहरुले प्रतिव्यक्ति कम्तीमा एक लाख रूपैयाँ तिर्नुपरिरहेको थियो । सेक्युरिटी गार्डका रूपमा बाहिर जाने केही केहीले ५५ देखि ६० हजार तिरे पनि अधिकांशले एक लाख रूपैयाँभन्दा बढी रकम तिर्नुपरिरहेको थियो । तर नेपाल सरकारले एकतर्फी रूपमा मलेसिया रोजगारीको प्रक्रिया बन्द भएको घोषणा गरेसँगै त्यसको ५ महिनापछि अर्थात् कात्तिक १२ गते नेपाल र मलेसिया सरकारबीच नेपाली कामदारलाई लाग्ने सम्पूर्ण खर्च मलेसियास्थित रोजगारदाता कम्पनीबाट बेहोर्ने तथा मलेसियन नागरिकसरह तलब र अन्य सुविधा उपलब्ध गराउने गरी एमओयु भयो । यद्यपि त्यो एमओयू अझै कार्यान्वयनमा आइसकेको भने छैन । अन्य कुरा यथावत रहेमा आगामी मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसको दिनबाट मलेसिया रोजगारी खुल्ने सम्भावना छ ।

नेपाल र मलेसिया सरकारबीच भएको यस सहमतिलाई लिएर मलेसियामा रहेका कम्पनी पनि ज्यादै उत्साहित देखिएका छन् । रातोपाटीको टिम क्वालालुम्पुर पुगेर केही रोजगारदाता कम्पनीको भ्रमणसमेत गरेको थियो । आखिर के भन्छन् त मलेसियाका रोजगारदाताहरु ? के उनीहरु सबै खर्च आफै बेहोरेर नेपाली कामदार लैजान तयार छन् त ? यहाँ रोजगारदाता कम्पनीका केही भनाइलाई प्रस्तुत गरिएको छ ।

हामी नेपाली कामदार लिन आतुर छौँ : मुहम्मद सेक्युरिटी

क्वालालुम्पुरमा सेक्युरिटी गार्ड सप्लाई गर्ने कम्पनी छ, महमुद सेक्युरिटी एसडीएन बीएचडी । मलेसियाको ९ वटै प्रान्तमा आफ्नो शाखा रहेको दाबी गर्ने यस सेक्युरिटीमा अहिले पनि करिब २ सय जना नेपाली सेक्युरिटी गार्डको माग रहेको छ । क्वालालुम्पुर, सेलाङ्गोरलगायत स्थानका कम्पनीहरुले यस सेक्युरिटीसँग नेपाली सेक्युरिटी गार्डको माग गरेका छन् । तर नेपालबाट सेक्युरिटी गार्ड लिनका लागि नयाँ प्रक्रिया सुरु नभएकाले उनीहरुले कामदारको ‘सप्लाई’ गर्न पाएका छैनन् । अहिलेसम्म त उनीहरुले बिस्तारै बिस्तारै भन्दै रोकिरहेका छन् । तर अब पनि यो प्रक्रिया सुरु नभएमा भने उनीहरुले बाध्य भएर अर्को विकल्प रोज्नुपर्ने हुन्छ ।

उनीहरुसँग रहेको अर्को विकल्प भनेको सारावाङ पुगेर त्यहीँका नागरिकलाई सेक्युरिटी गार्डका रूपमा लिनु नै हो । तर मलेसियाकै मान्छेले सेक्युरिटी गार्डको काम गर्न नरुचाउने र इमानदारिताका साथ काम नगर्ने भएको कारणले उनीहरु नेपाली सेक्युरिटी गार्डका लागि कुरिरहेका छन् ।

महमुद सेक्युरिटीका सीईओ रादिन रोस्लान बिन रादिन साउदी भन्छन्, ‘हामीसँग नेपाली सेक्युरिटी गार्डको विकल्प छैन । कम्पनी आफैले नेपाली सेक्युरिटी गार्ड चाहियो भनेर माग गर्छन् । तर अहिले हामीले नेपाली सेक्युरिटी गार्डको सप्लाई गर्न सकिरहेका छैनौँ । त्यसकारण हामी नेपाली सेक्युरिटी गार्डको पर्खाइमै छौँ ।’

महमुद सेक्युरिटीका सीईओ बिन रादिन साउदीका अनुसार धेरैजसो कम्पनीहरुको पहिलो रोजाइमा नेपाली सेक्युरिटी गार्ड रहेका छन् । नेपाली सेक्युरिटी गार्डले इमानदारिताका साथ काम गर्ने र ‘बहादुर’ भएको कारण पनि उनीहरु नेपाली सेक्युरिटी गार्डलाई लिन चाहन्छन् ।

त्यसो त मलेसियाको कानुनी आधार पनि सेक्युरिटी सेक्टरमा मलेसियाली र नेपालीबाहेक अन्य देशकालाई अनुमति नै छैन । कानुनतः मलेसियाली सेक्युरिटी गार्ड नपाएको अवस्थामा उनीहरुले नेपालीलाई मात्रै गार्डका रूपमा लिन सक्छन् । त्यसकारण पनि मलेसियामा नेपाली सेक्युरिटी गार्डको विकल्प छैन ।

हामी सबै प्रक्रिया पूरा गर्न तयार छौँ तर खोलिदिनु पर्यो : अनुग्राह सेक्युरिटी

महमुद सेक्युरिटी मात्रै होइन, अनुग्राह सेक्युरिटीका म्यानेजिङ डाइरेक्टरको गुनासो पनि त्यस्तै छ । उनीहरुसँग पनि धेरैभन्दा धेरै नेपाली सेक्युरिटी गार्डको माग छ । तर नेपालबाट कामदार मलेसिया आउने क्रम रोकिएको हुँदा अहिले कुनै पनि कम्पनीलाई कामदार दिन नपाएको अनुग्राह सेक्युरिटीका प्रबन्ध निर्देशक दातो हाजी अब्दुल अजिज बिन अब्दुल सलाम गुनासो छ । प्रबन्ध निर्देशक अजिज बिन अब्दुल सलाम भन्छन्, ‘हामीलाई नेपाल र मलेसिया सरकारले गरेको एमओयूमा कुनै समस्या छैन । हामी यो सहमतिबाट खुशी छौँ र सबै खर्च बेहोर्न हामीलाई कुनै समस्या पनि छैन । यो हाम्रो दायित्व पनि हो । तर अब नेपालबाट कामदार मलेसिया आउने बाटो भने खुल्ला हुनुपर्छ र दुवै देशले यसका लागि पहल गर्नुपर्छ ।’

अजिज बिन अब्दुल सलामका अनुसार मलेसियामा रहेका अधिकांश सेक्युरिटीले नेपालबाट सेक्युरिटी गार्ड ल्याउँदा सबै खर्च रोजगारदाता कम्पनीले बेहोर्ने गरेका छन् । कतिपय सेक्युरिटी कम्पनीहरुले त एकजना कामदार नेपालको गाउँबाट काठमाडौँमा आउँदा लाग्ने गाडी भाडा, काठमाडौँमा बस्न र खान लाग्ने खर्च, मेडिकल लगायतका अन्य सबै खर्च, हवाई टिकट आदि सबै दिने गरेका छन् । त्यसबाहेक कमिसनबापत नेपालका म्यानपावर कम्पनीहरुलाई करिब २० हजार नेपाली रूपैयाँ समेत दिने गरेका छन् । त्यसकारण अहिले नेपाल र मलेसिया सरकारबीच भएको यो सहमतिले वैधानिकता पाएको र यसले नेपाली सेक्युरिटी गार्डका लागि ज्यादै फाइदा पुर्याउने उनले बताए ।

मलेसियामा रहेका ठूला इलेक्ट्रिोनिक्स कम्पनीहरुले त पहिलेदेखि नै सबै खर्च बेहोरिरहेको भन्दै यसले अब साना कम्पनीहरुलाई पनि बाध्य पारेको र यसले नेपालीहरुको हित हुने बताए ।

मलेसियामा रहेका कम्पनीहरुका लागि नेपाली कामदारको विकल्प नरहेको भन्दै चाँडोभन्दा चाँडो यो प्रक्रिया सकियोस् भन्ने चाहिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘मलेसियाको कानुनले मात्रै होइन, नेपालीप्रतिको विश्वास र इमानदारिताका कारणले नेपाली सेक्युरिटी गार्डको कुनै विकल्प छैन । हामी सहमतिप्रति खुशी छौँ र सबै खर्च बेहोर्न तयार पनि छौँ । तर मात्र मलेसियाले कामदार ल्याउन पाउने बाटो भने खुला हुनुपर्छ ।’

सहमतिले नेपालीको रोजगारी गुम्दैन

अहिले कतिपयले नेपाल र मलेसियाबीच श्रम सम्झौता भएसँगै नेपालीको रोजगारी खोसिने बताइरहेका छन् । तर मलेसियाली कम्पनी र उद्योग भने नेपालीको रोजगारीमा कुनै कमी नआउने बताइरहेका छन् ।

मलेसियाले तत्कालका लागि नेपाल र बङ्गलादेशसँग यस प्रकृतिको श्रम सम्झौता गरेर एकै प्रकृतिबाट कामदार लिने प्रयत्न गरेको छ । जसका कारण दुवै देशबाट कामदार लिँदा लाग्ने सबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने हुन्छ । त्यसकारण रोजगारदातालाई नेपाललाई छाडेर बङ्गलादेश जानुपर्ने कुनै कारण वा बाध्यता रहँदैन ।

त्यसबाहेक मलेसियाले नेपालसँग गरेको जस्तै सम्झौता अन्य देशहरुसँग पनि गर्न खोजिरहेको छ । त्यसकारण मलेसियाली कम्पनीलाई जुन देशबाट कामदार ल्याए पनि खर्च करिब करिब उस्तै लाग्छ । नजिकका देशहरुबाट कामदार ल्याउँदा हवाई भाडा कम लागे पनि अन्य सबै खर्च आफैले बेहोर्नुपर्ने भएपछि उनीहरुलाई जुन देशबाट कामदार ल्याए पनि त्यो खर्चमा कुनै कटौती हुन सक्दैन ।

बरु मलेसियामा नेपाली कामदारको राम्रो छवि रहेको कारणले पनि उनीहरु नेपाली कामदारलाई नै लिन चाहिरहेका छन् र नेपाली कामदार पर्खिरहेका छन् । त्यसकारण श्रम सम्झौताले कुनै असर नगर्ने र आफ्नो पहिलो रोजाइमा नेपाली कामदार नै रहेको मलेसियाली कम्पनीहरुले रातोपाटीसँगको कुराकानीमा बताएका छन् ।

यो पनि पढ्नुहोस्:

आइतबारबाट मलेसिया रोजगारी खुल्ने हौवा मात्रै 

मलेसिया कामदार ल्याउन रोजगारदाताले तिर्छन् डेढ लाख बढी

मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको मापदण्ड नेपाल आइपुग्यो, अब तत्कालै आवेदन मागेर सूचीकृत गरिने

मलेसियाली कम्पनीको लापरवाहीले ३२ नेपाली कामदार समस्यामा, यस्तो छ ‘अवैध’ कथा

मलेसिया रोजगारीको ‘डेडलक’ चाँडै सकिन्छ : राजदूत उदयराज पाण्डेसँगको अन्तरवार्ता

नेपाली युवतीको बयान : मलेसियामा रक्सी र लिभ–इन रिलेसनले सबै बिगार्यो

 

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप