केन्द्रीय संस्करण
मलेसिया रोजगारी

नेपाली युवतीको बयान : मलेसियामा रक्सी र लिभ–इन रिलेसनले सबै बिगार्यो

आदत बनेपछि छुट्टिन गाह्रो, त्यही भएर घर फर्किंदैनन्

person explore access_timeचैत १४, २०७५ chat_bubble_outline1
मदन ढुङ्गाना

रातोपाटी

चैत ६ अर्थात् मार्च २० को बिहानै क्वालालुम्पुरस्थित नेपाली दूतावासमा एक २५ वर्षीय युवती भेटिइन् । करिब ५ फिट २ इन्च उचाइ भएकी इलामकी उमा राई (नाम परिवर्तन) दूतावासमा सहयोग माग्नका लागि आएकी थिइन् ।

मलेसियास्थित जोहरबारुको एक उद्योगमा काम गर्ने उनी आफ्ना प्रेमीको निधन भएपछि शवलाई नेपाल पठाउन आग्रह गर्दै दूतावास आइपुगेकी थिएन् ।

जोहरबारु क्वालालुम्पुरबाट ३ सय ३० किलोमिटर टाढा छ । बसमा औसत ८५ किलोमिटरको गतिमा दैडिँदा पनि ४ घण्टाको यात्रामा जोहरबारु पुग्न सकिन्छ ।

आफ्ना प्रेमी बिरामी परेपछि तिनै प्रेमीलाई बचाउन उमाले जोहरबारुबाट उपचारका लागि क्वालालुम्पुर ल्याएकी थिइन् । तर उनले आफ्नो प्रेमीलाई बचाउन सकिनन् । क्षयरोग अर्थात् टीबी लागेर अन्तिम अवस्थामा पुगेका आफ्ना प्रेमी प्रेम बहादुर पुन (नाम परिवर्तन) लाई बचाउने उनको प्रयत्न सफल हुन सकेन । १९ मार्चको राति उमाले आफ्नो प्रेमीलाई गुमाइन् ।

त्यसपछि क्वालालुम्पुरस्थित नेपाली दूतावास आइपुगेकी उमाको भेट रातोपाटी टिमसँग भयो र उनले आफ्नो कथा यसरी सुनाइन् ।

नेपालदेखि मलेसिया यात्रा

मेरो नाम उमा राई (नाम परिवर्तन) हो । घर इलाममा पर्छ । म एक वर्ष अगाडि मात्रै मलेसियामा आएको हुँ । मलेसियाको जोहरबारु भन्ने स्थानमा रहेको एउटा कम्पनी (उद्योग)मा म प्याकेजिङको काम गर्छु ।

मलाई यहाँ बोलाउनुहुने पनि उहाँ (मृतक प्रेम) नै हो । उहाँले नै मलाई क्वालालुम्पुर बोलाउनुभएको हो । मलाई त यहाँ आउने रहर पनि थिएन । तर उहाँले पटक पटक बोलाउनुभएपछि म यहाँ आएँ ।

उहाँको घर सुर्खेत हो । उहाँले यता केही वर्ष काम गर्ने र पछि नेपाल फर्कने भन्नुभएको थियो ।

हाम्रो विवाह भएको होइन र थिएन । उहाँ र म दुवैजना सिङ्गल नै थियौँ । यहीँ आएर सँगै बस्ने र नेपाल गएर औपचारिक रूपमा विवाह गर्ने योजना थियो हाम्रो ।

यहाँ काम गरेर केही पैसा कमाउने र नेपाल गएर बस्ने सपना लिएर म यहाँ आएको हुँ ।

मलाई मलेसिया आउने कुनै रहर थिएन । उसले बारम्बार बोलाएपछि म आएँ । तर लास्टमा यस्तो (प्रेमको मृत्यु) भयो ।

हामी दुई जना रिलेसनसिपमा थियौँ । तर उसले चाहिँ घरमा हाम्रो विवाह भइसक्यो भनेको रहेछ । तर हाम्रो विवाह भएको चाहिँ थिएन । हाम्रो त्यस्तो केही प्रमाण पनि छैन । हामी मात्र रिलेसनमा थियौँ ।

हामी नेपाल गएर नै विवाह गर्ने तयारीमा थियौँ, तर आज यस्तो भयो ।

मैले उसको घरमा पनि भनिसकेँ । अब उसको शव कसरी पठाउने भनेर छलफल भइरहेको छ ।

म त लिगल नै छु । मेरो कन्ट्याक्ट पूरा भएको छैन । अब कन्ट्याक्ट पूरा भएपछि मात्रै जान्छु । म मलेसिया आएको एक वर्ष मात्रै भयो । कन्ट्याक्ट सकिन अझै दुई वर्ष बाँकी नै छ ।

जोहरबारुबाट क्वालालुम्पुर यात्रा

हामी जोहरबारुबाट क्वालालुम्पुर आएको एक साता भयो । उसलाई विगत एक महिनादेखि लगातार रुघा र खोकी लागिरहेको थियो । खकारमा रगत पनि आउन थालेको थियो । अलि बढी नै भएपछि उपचारका लागि यहाँ ल्याएको हो ।

यहाँ ल्याएपछि झन् बढ्यो । अस्ति (१८ मार्च, २०१९) मा उहाँ बेहोस नै हुनुभयो । त्यसपछि इमरजेन्सीमा राखेर उपचार गराउँदै थियौँ । अरू उपचारका लागि पहिले बिरामीलाई होसमा ल्याउनुपर्ने थियो । तर उहाँ होसमा नआई हिजो राति (१९ मार्च, २०१९) बित्नुभयो ।

बाहिर देख्दा ऊ त्यस्तो बिरामी जस्तो पनि देखिँदैनथ्यो । तर उसलाई खोकी लाग्ने भइरहन्थ्यो । सायद उसले आफ्नो रोग लुकाएको रहेछ । अनि खोकी लागेपछि औषधि किनेर खाने गरेको थियो । त्यसपछि ठीक हुन्थ्यो । हामीलाई लाग्यो, त्यो सामान्य रुघाखोकी होला । अनि सामान्य प्राइभेट मेडिकलमा गएर औषधि किनेर खाने गरिन्थ्यो । उसलाई फेरि ठीक हुन्थ्यो ।

तर विगत एक महिनादेखि उसलाई लगातार खोकी लाग्यो र खकारमा रगत पनि देखियो । त्यसपछि उसलाई टीबी भएको भन्ने शङ्का लाग्यो । त्यसपछि उसलाई नेपाल पठाउने कोशिश हुँदै थियो तर त्यो कोशिश मात्रै भयो ।

उहाँ धेरैजसो होटलमा काम गर्नुहुन्थ्यो । पछिल्लो समय साइनबोर्ड बनाउने कम्पनीमा काम गर्न थाल्नुभएको थियो । तर उहाँ इलिगल भएको कारणले तलब एकदमै थोरै आउँथ्यो ।

लिभिङ टुगेदर त सामान्य कुरा रहेछ

एउटा फ्ल्याट भाडामा लिएका थियौँ । त्यहाँ ३ वटा कोठा थिए । ३ वटा कोठामा सबै जना दुई दुई जना मिलेर लिभिङ टुगेदरमा बस्थ्यौँ ।

यहाँ त सबै यस्तै रहेछ । धेरैजसो लिभिङ टुगेदरमै बस्दा रहेछन् । यहाँ त यो सामान्य कुरा रहेछ ।

धेरैजसोको नेपालमा पनि फ्यामेली यता पनि फ्यामेली । कोही कोही यसरी लिभिङ टुगेदरमा नबस्ने पनि होलान् तर हाम्रोमा चाहिँ सबै त्यस्तै नै थिए ।

उनीहरुको नेपालमा पनि आआफ्नै परिवार थिए र यहाँ पनि उनीहरु लिभिङ टुगेदरमै बस्ने गरेका थिए । हामी बस्नेतिर सबैको नेपालमा पनि परिवार र बच्चाहरु थिए, यहाँ पनि उनीहरु लिभिङ टुगेदरमै बस्ने । यहाँ त यो सामान्य कुरा रहेछ ।

तर हाम्रो चाहिँ त्यस्तो होइन । ऊ पनि सिङ्गल हो र म पनि सिङ्गल नै हुँ । नेपालमा गएर बिहे गर्ने सोच थियो । तर हामीसँगै फ्ल्याटमा बस्ने अरू केटाकेटीको भने नेपालमै पनि परिवार भएकाहरु थिए । तर पनि उनीहरु यहाँ लिभिङ टुगेदरमै बस्थे ।

उसले आफ्नो परिवारलाई चाहिँ हामीले विवाह गरिसक्यौँ भनेको रहेछ । उसको परिवारले पनि मलाई साइनो अनुसार नै बोलाउँथे । कसैले बुहारी त कसैले भाउजू भन्थे ।

जब आदत बन्छ... ।

यहाँ त प्रायजसो सबै लिभिङ टुगेदरमै बस्दा रहेछन् । तर सबैलाई त्यस्तै भनेर दोष दिन चाहिँ मिल्दैन । कोही कोही त कम्पनीको होस्टलमा पनि राम्रैसँग बसेका छन् । तर अधिकांश कि त लिभिङ टुगेदरमा या त रिलेसनमा बस्ने र सातामा एक वा दुई दिन बाहिर होटलमा गएर बस्ने गर्दा रहेछन् ।

मैले धेरैजसो मान्छे घर नफर्किनु वा घरमा सम्पर्क नै नगर्नुको कारण चाहिँ त्यही बुझेँ ।

नेपालमा परिवार भए पनि उनीहरु यहाँ लिभिङ टुगेदर वा रिलेसनमै बस्ने । सबै थोक यहीँ हुने र आदत बन्ने रहेछ । अनि एकले अर्कोलाई छाड्न नसकेर पनि उनीहरु घर नजाने गर्दा रहेछन् ।

धेरै चाहिँ नेपाली केटा नेपाली केटीसँग नै बस्दा रहेछन् । केही केही नेपाली केटाहरु चाहिँ इन्डोनेसियन केटीसँग पनि बस्दा रहेछन् । म बस्ने फ्ल्याटभन्दा अर्को फ्ल्याटमा रहेका नेपाली केटाहरु इन्डोनेसियन केटीसँग बस्थे ।

वर्षौंसम्म घरमा सम्पर्क नगर्ने र कमाएको पैसा जति यहीँ रिल्याक्स गरेर बस्नेहरु धेरै छन् ।

कतिपयले घरमा पनि सम्पर्क गर्ने र पैसा पनि पठाउने तर यहाँ पनि लिभिङ टुगेदरमै बस्ने गर्छन् । तर कति त वर्षौंसम्म सम्पर्क नै नगरी यहीँ बस्ने गर्छन् ।  यस्तो सम्बन्धले समस्या ल्याउँछ ।

नेपालमा ‘रियल’ फ्यामेली, मलेसियामा ‘फेक’

नेपालमा रियल फ्यामिली हुन्छ । तर यहाँको फ्यामिली त फेक फ्यामिली हो ।

तर कतिपयले यहाँको अल्पकालीन सम्बन्धका लागि नेपालको फ्यामिली नै त्यागेकाहरु पनि हुँदो रहेछ ।

यहाँको मायाले गर्दा नेपालको घर परिवार र छोराछोरी बिर्सने पनि धेरै छन् । केटी पनि अर्कैसँग गइदिने पनि गर्दा रहेछन् ।

यहाँ ३ वर्षको भिसा लिएर आउने र १० वर्षसम्म नफर्कने गर्दा रहेछन्, कारण कतिपयका यही हुन् । कतिपयका आफ्नै समस्या पनि होलान्, तर अधिकांश त यहाँ रिलेसनमा बस्ने र छाड्न नसक्ने हुने रहेछ । यसको आदत बन्दो रहेछ । त्यही भएर पनि उनीहरु वर्षौंसम्म इलिगल भएरै मलेसियामा बस्दा रहेछन् ।

इलिगल भएर बसिसकेपछि कम्पनीमा काम गर्न पाउँदैन । आफ्नो ड्युटी हुँदैन, आम्दानी पनि राम्रो हुँदैन । बाँच्न मात्रै पुग्ने पैसा कमाउन सकिएला । त्यही भएर पनि जान नसकेको पनि हुनसक्छ ।

रक्सीले बिगारेको जिन्दगी

मलेसियामा रक्सी र पानीको मूल्य उस्तै रहेछ । यति धेरै रक्सी पाउने रहेछ, उनीहरु पानीभन्दा बढी रक्सी खान्छन् । जुनसुकै पसलमा हेरे पनि रक्सी हुन्छ ।

कम्पनीमै लिगल रुपमा काम गरिरहेकाहरु त त्यति बढी रक्सी खाँदैनन् । किनभने उनीहरुले आफ्नो ड्युटी पूरा गर्नुपर्छ । रक्सी खाएर गए उनीहरुलाई कारबाही हुन्छ । त्यसकारण उनीहरुले त्यति बढी खाँदैनन् ।

तर जो इलिगल बसिरहेका छन्, उनीहरुलाई कम्पनी गए नि भयो नगए नि भयो । त्यसकारण उनीहरु सधैँजसो रक्सी खाएर हिँडिदिन्छन् । उनीहरु भन्छन्, ‘तिमीहरुको पो एउटा कम्पनी छ त, मेरो त धेरैवटा कम्पनी छ नि ।’

फ्री टाइम धेरै हुन्छ, साथीभाइको सङ्गत बढी हुन्छ । त्यही भएर धेरैजसो रक्सीमै बरालिन्छन् ।

ऊ मात्रै ३२ वर्षको थियो । तर रक्सी र चुरोट धेरै खान्थ्यो । मैले कराएँ भने एक दुई दिन कम गथ्र्यो । तर जब साथीसँग भेट हुन्थ्यो, फेरि ताल त्यही हुन्थ्यो ।

ऊ सन् २०११ मा मलेसिया आएको हो । तर इलिगल भएकै ६ वर्ष भइसकेको रहेछ । मलाई त थाहा पनि थिएन । रक्सी र चुरोट धेरै खानुहुन्थ्यो । त्यसैले ज्यान लियो जस्तो लाग्छ । अर्को कुरा खाए पनि ज्यानको वास्ता नगरेर पनि ज्यान गयो जस्तो लाग्छ ।

मैले जति केयर गरे पनि उसले नै आफ्नो स्वास्थ्यको केयर गरेन । म मलेसिया आउँदा उसको ज्यान सुक्न थालिसकेको थियो । रक्सी र चुरोट बढी खाने गथ्र्यो ।

सरकारी अस्पताल जान नपाउने तर क्लिनिकमा गएर राम्रो उपचार हुन नसक्ने ।

सरकारी अस्पतालमा जान सबै कागजात चाहिने, त्यही भएर इलिगल भएकाहरुको उपचार राम्रो हुन सक्दैन ।

लिगल भएको भए बचाउन सकिन्थ्यो

ऊ लिगल थियो र कम्पनीमै काम गरिरहेको थियो भने ऊ बाँच्न सक्थ्यो ।

कम्पनीमै थियो भने नेपाल गएर टीबीको उपचार गर्न सकिन्थ्यो । तर यहाँ इलिगल भएकै कारण यो सब भयो ।

अब म परिवर्तन हुनै पर्छ

अब आजै म जोहरबारु जान्छु । कम्पनीको होस्टलमै बस्छु । कन्ट्र्याक्ट पूरा भएपछि मात्रै म घर जान्छु । म यहाँ आएको एक वर्ष भयो । अझै दुई वर्ष कन्ट्र्याक्ट बाँकी छ । कम्पनीमै रेगुलर ड्युटी गर्छु ।

म अहिले २५ वर्षको भएँ । मैले अरू केही सोचेको छैन । हाम्रो होस्टलमा नेपाली दिदीहरु हुनुहुन्छ । अब उहाँहरुसँग उतै बस्छु ।

चेतेपछिको भोगाइ

सकेसम्म त आफ्नो देश नछोडेकै राम्रो । यहाँ जति नेपालमा खट्ने हो भने त कमाइ नेपालमै बढी हुन्छ । त्यहाँ त आफ्नो घर हुन्छ, परिवार हुन्छ । बिरामी भए पनि त्यहाँ त उपचार हुन्छ ।

यहाँ त साथी मात्रै चिनेको हुन्छ । साथीहरुले सबै कुरा हेर्न पनि सक्दैन । त्यसकारण सकेसम्म त यहाँ नआएकै राम्रो ।

तर हामीले पनि सपना बोकेर आएको हुन्छ । नेपालमा भन्दा केही राम्रो होला भनेर आएको हुन्छ । तर सोचेको जस्तो सबै कुुरा हुनै सक्दैन ।

यहाँ आएपछि सबै जना चेन्ज भइहाल्दा रहेछन् । खै यहाँको मौसम नै यस्तै हो कि ।

हुँदिनँ भन्दा पनि यहाँको माहोल, वातावरण । यता उता जहाँ बस्यो, त्यहीँको बानी परिहाल्दो रहेछ ।

नेपालबाट यहाँ आएपछि मान्छेको मन र इच्छाहरु नै चेन्ज भइहाल्दो रहेछ । मलेसियामा आएर राम्रो गर्ने त ज्यादै थोरै छ जस्तो लाग्छ । धेरै त यहाँ मोजमस्ती गर्ने, परिवारलाई सम्पर्क नगर्ने, यहाँ एक्लै छु जे गरे पनि हुन्छ भन्ने पनि छन् । यसले सबैभन्दा बढी समस्या ल्याएको छ जस्तो लाग्छ । मलेसियामा रक्सी चुरोट र रिलेसनले सबैथोक बिगारेको छ ।

कमेन्ट

  1. March 29, 2019, 1:53 p.m. Atit Sangam
    Due to Alcohol Nepali reputation is bad in this world not only in Malaysia even gulf country they have spoiled their name.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...