सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–७ : ‘खै सिन्डिकेट हटायो भन्छन्, माइक्रोमा कुचुक्क परेर जानुपर्छ’
स्थान – रत्नपार्क
समय– साँझ ५ बजे, जेठ १७ गते
यातायात– माइक्रो ।
गत शुक्रबार ११ गतेदेखि रातोपाटी संवाददाता अञ्जु तामाङ र फोटो पत्रकार सुवास श्रेष्ठले सरकारले सिन्डिकेट अन्त्यको घोषणापछि सार्वजनिक यातायातमा यात्रुले महसुस गरे नगरेको जान्ने कोसिस गरेको आज एक साता भयो ।
एक सातामा हामी यो निश्कर्षमा पुग्यौँ कि, सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य त भयो तर, यात्रुले त्यसको महसुस गर्न पाएका छैनन् ।
रातोपाटी संवाददाता र फोटो पत्रकारले ‘रियालिटी टेस्ट’–७ अन्तर्गत सुन्धारादेखि बूढानीलकण्ठसम्म जाने बेलुकाको समयमा माइक्रोका यात्रुहरूसँग सिन्डिकेटका बारेमा बुझे ।
यात्रा निकै सकसपूर्ण रहेको कुरा भनाइमा पनि छ र फोटोमार्फत त झनै छर्लङ्ग देखाइरहेका छौँ । सिन्डिकेट अन्त्यपछि ठूलो परिवर्तन यात्रुहरूले खोजेका छैनन् ।
मात्रै सकस पूर्ण यात्रा नहोस्, आधादेखि १ घण्टासम्म सवारी साधन कुर्नु नपरोस्, उभिएरै यात्रा गरे पनि सहज होस्, सकेसम्म सिटमा मात्रै यात्रु राखियोस् भन्ने यात्रुको माग छ ।
सिन्डिकेट हट्नुभन्दा पहिला जस्तो थियो, अअहिले पनि यात्रुको दुख उस्तै छन् । विकल्पविनै सिन्डिकेट हटाएको देखिएको छ । सिन्डिकेट अन्त्यले व्यावसायीलाई करको दायरमा त ल्याएको छ, तर उनीहरु यात्रुप्रति अझै अनुदार छन् । यात्रुको दुखसँग व्यावसायीलाई कुनै मतलव छैन् । बरु, सरकारसँगको रिस यात्रुसँगै पोखेका छन् ।
‘रियालिटी टेस्ट’–१ शुक्रबार उनीहरूले टिचिङ अस्पताल महाराजगञ्जको बस स्टपबाट नयाँ बानेश्वरसम्म नेपाल यातायातको यात्रा गरेर ‘रियालिटी टेस्ट’ गरेका थिए, जहाँ नेपाल यातायातका यात्रुले सिन्डिकेटको अन्त्यपछि पनि यात्रुलाई कुनै फरक नपरेको बताएका थिए ।
आइतबार ‘रियालिटी टेस्ट’–२ भएको थियो साझा यातायातको । संवाददाता तामाङ र फोटो पत्रकार श्रेष्ठले आइतबार गोँगबुबाट ललितपुरको पुल्चोकसम्म साझा यातायात निकै भीड देखे । सिन्डिकेट अन्त्यपछि पनि यहाँ यात्रुहरूले सहज रूपमा यात्रा गन पाएका छैनन् । पहिला जस्तो थियो अहिले पनि, त्यस्तै अवस्था छ ।
‘रियालिटी टेस्ट’–३ अन्तर्गत सिटी यातायातको जोरपटीदेखि रत्नपार्कसम्म यात्रा गरेर यात्रुसँग कुरा गरेका थिए । त्यहाँ पनि सिन्डिकेट हटेपछि कुनै पनि परिवर्तन नभएको यात्रुहरूको भनाइ थियो ।
‘रियालिटी टेस्ट’–४ अन्तर्गत अन्नपूर्ण यातायातमा यात्रा गरेर यात्रुसँग कुराकानी गरेका थिए ।
रत्नपार्क, भृकुटीमण्डप, माइतीघर, बबरमहल, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर, पेप्सीकोला हँुदै काँडाघारीसम्म जाने अन्नपूर्ण यातायातमा उनीहरू (सोमबार साँझ ५ बजे) रत्नपार्कदेखि कोटेश्वारसम्म चढेका थिए ।
बिहानका यात्रुहरूसँग सिन्डिकेटको बारेमा बसमा नै यात्रा गरेर रिपोर्टिङ गर्दा खासै परिवर्तन नभेटिएको यात्रुहरूको गुनासो सुनिरहँदा साँझको यात्रामा पनि सिन्डिकेटको बारेमा यात्रुसँग बुझ्ने प्रयत्न गरेका थिए । त्यो समयमा बिहानको समस्या भन्दा पनि अझ धेरै सकस पूर्ण देखियो ।
सिन्डिकेट हटेपछि अहिलेसम्म सार्वजनिक यातायातमा परिवर्तन आए नआएको बारेमा ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुसँगको कुराकानी हामीले समेटेका थियौँ ।
‘रियालिटी टेस्ट’–४ सम्ममा उपत्यकाको ४ वटा रुट र ठूला सवारी साधनमा यात्रा गर्ने यात्रुहरूसँगको कुराकानी समेटेका थियौँ ।
‘रियालिटी टेस्ट’–५ अन्तर्गत (बुधबार) माइक्रोमा यात्रा गर्ने यात्रुहरूसँगको कुराकानी समेटेका थियौँ । रत्नपार्कदेखि बानियाटारसम्म सञ्चालन हुने माइक्रोमा यात्रा गर्ने यात्रुसँग सिन्डिकेट अन्त्यपछि माइक्रोमा यात्रा गर्दा परिवर्तन आए नआएको बारेमा बुझेका थिए ।
बेलुकाको समयमा घर जानका लागि निकै लामो समयदेखि लाइनमा बसिरहेका यात्रुहरूसँग कुराकानी गरेका थिए । सिन्डिकेटपछि माइक्रोको यात्रामा पनि खासै परिवर्तन नआएको पाइएको छ ।
‘रियालिटी टेस्ट’–६ अन्तर्गत संवाददाता र फोटोले (बुधबार) बेलुका फोर्स यातायातमा यात्रा गरेर सिन्डिकेट अन्त्यपछि परिर्वतन आए नआएको बारे बुझेका थिए ।
फोर्स यातायात लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, टेकु, कालिमाटी, टङ्केश्वर, डल्लुदेखि ढल्कु, नयाँ बजार, सोह्रखुट्टेसम्म जाने एक मात्र यातायात हो । त्यसमा भीड नहुने त कुरै भएन । उनीहरू कुपण्डोलदेखि टङ्केश्वरसम्म झुण्डिएर नै यात्रा गरेका थिए ।
कम सवारी साधन हँुदा झुण्डिएर भए पनि घर जान बाध्य भएको कुरा फोर्स यातायातमा देखेका थिए । माइक्रोभन्दा अलि ठूलो अनि बसभन्दा सानो आकारको यो फोर्स यातायातमा सिटभन्दा धेरै उभिएर नै यात्रा गर्न बाध्य थिए । यो यातायातमा भने सहचालक थिएनन् । गाढीमा चढ्न र ओर्लन सहचालक नभएका कारण यात्रुहरूलाई भाडा बुझाउन पनि गाह्रो भइरहेको थियो ।
‘रियालिटी टेस्ट’–७ अन्तर्गत सुन्धारादेखि बूढानीलकण्ठसम्मको यात्रामा केही यात्रुहरू कुराकानी भएको छ ।
श्री भवनी खड्का
मेरो घर कपन हो । सुन्धारामा मेरो आफ्नै व्यवसाय छ । म ५६ वर्षको भएँ । कपन जाने गाडी कुरेको निकैबेर भयो । एउटा आयो, त्यही पनि निकै भीड । बूढोमान्छे त्यो भीडमा जानै सकिनँ । छोरालाई मोटरसाइकल लिएर आइज भनेँ ।
अरू बेला घर जानेबेलामा दैनिक गाडी कुर्ने समय भनेको आधादेखि एक घण्टासम्म हो । खै सिन्डिकेट हटायो भन्छन्, माइक्रोमा कुचुक्क परेर जानुपर्छ । त्यो पनि भनेको समयमा पाइँदैन् । मैले अहिलेसम्म कुनै पनि परिवर्तन पाएको छैन नानी ।
सिटमा मात्रै मान्छे राख्ने, समय आउने, समयमा गाडी छुट्ने जस्ता कुनै पनि कुरामा परिवर्तन भएको देखिनँ ।
मिनकुमारी घले
म ५७ वर्षकी भएँ । मेरो घर बूढानीलकण्ठ हो । अहिले सपिङका लागि न्युरोडतिर आएकी थिएँ । गाडीमा सिट त धेरैजसो त पाउँदै पाइँदैन नि नानी, उभिएरै जानुपर्छ ।
ज्येष्ठ नागरिकका सिटमा पनि युवाहरू नै बस्छन् । म त आफूभन्दा बूढाबूढी आउँदा सिट छोडिदिन्थँे तर अहिलेका युवामा त्यस्तो सोच छैन ।
ओमकारनाथ पन्त
म अहिले ७८ वर्ष भएँ । मैले ६३ वर्षसम्म शिक्षण पेसा गरेँ । बूढानीलकण्ठ स्कुल, त्रिचन्द्र कलेज पनि पढाएको छु ।
धेरैजसो म आफ्नै सवारी साधनमा हिँड्छु, निकै कम सार्वजनिक यातायातमा हिँड्ने गर्छु । त्यही पनि तपाईंलाई के परिवर्तन पाएँ भन्नु खै, भन्न लायक केही पनि पाएको छैन । यी उभिरहेको छु । सिट मैले पाउनुपर्छ भनेको होइन । यात्रा गर्दा सहज होस् मात्रै भनेको हो ।
हामीले मागेका केही पनि होइनौँ, सरकारले नै बनाएको नियम पालन गरियोस् भन्ने कुरा गरेका हौँ ।
प्रनिशा तामाङ
निरबाराही विद्यालय टेकुमा कक्षा ९ मा अध्ययनरत छु ।
बूढानीलकण्ठको हात्तीगौँडादेखि टेकु अध्ययनका लागि पुग्छु । सुन्धारासम्म हिँडेर जान्छु, हिँडेर आउँछु ।
साथीहरू पनि यही विद्यालयमा पढ्ने भएका कारण यहाँ आएकी हुँ । गाडीमा हिँड्दा कहिलेकाहीँ सिट पाउँछ कहिले झुण्डिनुपर्छ । जहिले यस्तै छ । परिवर्तन नभएको कुरालाई के भयो भन्नु ?
‘रियालिटी टेस्ट’ का अन्य समाचार
सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’ — ६ : अझै उभिएर यात्रा गर्नुपर्ने बाध्यता
सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–५ : उस्तै छ माइक्रोको दादागिरी
सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–४ : ‘घरबाट निस्कन मन लाग्छ तर गाडीकै पीर लाग्छ’
सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–३ : सिटी यातायातका यात्रुले के महसुस गरे ?
सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–२ : साझा यातायातमा यात्रुलाई केही सहजता भयो कि भएन ?
सिन्डिकेट अन्त्यको ‘रियालिटी टेस्ट’–१ : नेपाल यातायातमा यात्रुलाई सहज भयो त ?